एक डाक्टर, जसले आफ्नै शरीरलाई प्रयोगशाला बनाए – Online Khabar


१ फागुन, काठमाडौं । पिठ्युँमा झोला भिरेका । कम्मरमा ज्याकेट बाँधेका । स्पोर्टस् सुज लगाएका । ट्राउजर र टिसर्टमा ठाँटिएका । कतै एकसुरले हिँडिरहेका ।

कता हिँडिरहेका ?

जहाँ पनि । गन्तव्य र दूरीको के लेखाजोखा ? उनी त एक यायावर जस्ता । हातमा खानेकुराको झोला झुन्ड्याउँछन् । स्टेथोस्कोप बोक्छन् । तपाईंलाई यी पात्र त्यसबेला घतलाग्दो लाग्नसक्छन्, जब उनको प्रायोगिक जीवनको आयामबारे खोतल्नु हुन्छ ।

त्यसपछि तपाईंलाई लाग्नेछ, उनी आफैंमा एक प्रयोगशाला हुन् । उनको स्वअध्ययन, आफैंमाथि प्रयोग र त्यसको निचोड गजब लाग्न सक्छ ।

अब बिस्तारमा उनको परिचय खुलाऔं ।

नाम– डा. दिलजन मन्सुर

उपनाम– कर्ट साल्भाटोर

शैक्षिक योग्यता– एमबिबिएस/एमडि (इन्टर्नल मेडिसिन)

फुजियान मेडिकल युनिभर्सिटीबाट पढाइ सकेर नेपाल आए । थापाथलीको प्रसूति गृह अनि ओम अस्पतालमा इन्टर्न गरे । त्यसपछि २०१२ देखि २०१६ सम्म मेडिकेयर अस्ताल चाबहिलमा र सन् २०१५ देखि २०१७ सम्म ओम अस्पतालमा ‘मेडिकल अफिसर’को रुपमा काम गरे ।

मोटामोटी कथा यत्ति हो । तर, उनको जीवन बुझ्न यति मात्र काफी छैन ।

ज्यानले बेइमान गरेपछि

करिब पाँच फिट चार इन्च अग्लो ज्यान । तौल ७५ केजी । मोटोपन तीव्रतासाथ बढ्दो छ । बेलायतमा छँदा उनलाई आफ्नो शरीर आफैंलाई भार भयो । सोचे, ‘केही त गडबड छ ।’

नेपाल फर्किएपछि उनी जीम धाउन थाले । बडिबिल्डर बन्न होइन, मोटोपन घटाउन । तन्दुरुस्त रहन ।

आफैंमाथि गरिएको प्रयोगबाट उनले के पाए भने, मान्छेले गाईजस्तो चर्ने होइन । बरु बाघजस्तो शिकार गरेर खाने हो । जे भेट्यो, त्यही खाने

पाँच महिना भयो जीम धाएको । समस्या ज्यूँको त्यूँ । केही समय नबित्दै एमडीको छात्रवृत्ति पाए । अध्ययनका लागि उनी चीन उडे । चीन गएको ६ महिनामा दुर्घटनामा परे । दायाँ पाखुरा भाँचियो । अब के गर्ने ? जीम धाउन नहुने भयो । दौडिन नसकिने भयो । जबकि ज्यान मोटाएको मोटाएकै ।

‘व्यायाम गर्ने, खाना थोरै खाने, कुद्ने, उफ्रिने गरेपछि मोटोपन घट्छ भन्ने लागेको थियो’ उनले सुनाए, ‘थोरै क्यालोरी खाने र धेरै बर्न गर्ने ।’ तर, शारीरिक गतिविधि नै गर्न नसक्ने भएपछि मोटोपन कसरी घटाउने ?

पर्‍यो फसाद !

अब एउटै विकल्प रह्यो–‘खानामा कटौती गर्ने ।’ तर, खानामा छाक छाड्दैमा शरीर चुस्त–तन्दुरुस्त हुन्छ त ? शरीरको प्रणालीलाई चुस्त–दुरुस्त राख्न पोषक तत्व चाहिन्छ । अधिकांश पोषक तत्व खानाबाट नै प्राप्त हुने हो । यदि खाना नै कटौती गरेमा मोटोपन नियन्त्रण हुन्छ कि कुपोषण ?

मेडिकल साइन्सका विद्यार्थीलाई खानामा कटौती गर्ने कुरा अलि पाच्य भएन । अन्ततः उनी ‘फुड साइन्स’भित्र छिरे ।

भरपेट खाने, मोटोपन घटाउने

खानेकुराले शरीरभित्र कसरी काम गर्छ ? खानेकुराले मोटोपनमा कस्तो भूमिका खेल्छ ? उनी घोत्लिए । पाएजति पुस्तक र खोज–अध्ययनका सामाग्री छिचोले । र, उनले के पाए भने शरीर मोटाउनु र दुब्लाउनुमा खानाको उति धेरै भूमिका हुँदैन । ‘थोरै खायो, धेरै कुद्यो भने दुब्लाउने, धेरै खायो भने मोटाउने,’ उनले सुनाए, ‘शरीरले यसरी काम गर्दैनरहेछ ।’

उनका अनुसार शरीरभित्र दुईवटा इनर्जी स्रोत हुन्छ । एउटा, केटोनमा र अर्को ग्लुकोजमा । जस्तो कुनै पनि बच्चा जन्मनासाथ उनीहरु किटोसिसमा बाँच्छन् ।

‘सामान्य भाषामा बुझाउँदा हाम्रो शरीरभित्र नै २ सय २० भोल्टको इनर्जी छ । तर, हामी जेनेरेटर बालेर अतिरिक्त इनर्जी खपत गरिरहेका छौं,’ उनी भन्छन् ।

उनले आफ्नो तर्कलाई स्पष्ट पार्न यस्तो उदाहरण दिन्छन् ।

‘एउटा सानो बच्चा जन्मँदा नै २ सय २० भोल्टको इनर्जी लिएर जन्मिएको हुन्छ । उनीहरुको शरीरमा जुन इनर्जी हुन्छ, त्यो ग्लुकोज होइन । ९ महिनासम्म स्तनपान गरिरहँदा पनि बच्चाको शरीरमा किटोसिसबाटै इनर्जी प्राप्त भइरहेको हुन्छ । ९ महिनापछि हामी उनीहरुलाई ठोस आहार दिन थाल्छौं । तब किटोसिस बन्द भएर ग्लुकोज इनर्जी आउने रहेछ । यो तथ्य बुझेपछि मलाई के लाग्यो भने मभित्र जुन इनर्जी स्रोत (किटोसिस) छ, त्यसलाई पुनः जगाउनु पर्छ ।  ग्लुकोजबाट इनर्जी लिने प्रक्रियालाई न्यूनीकरण गर्नुपर्छ । यसो गरेपछि जीवन प्राकृतिक लयमा फर्कन्छ ।’

उनले आफ्नो खानाबाट अन्न, प्रशोधित र चिनीजन्य खानेकुरा अर्थात ग्लुकोज र फ्रुक्टोज पूर्णतया हटाइदिए । नतिजा के भइदियो भने, चार हप्तामै केही केजी तौल घट्यो ।

‘के गर्ने त भनेर अध्ययन गर्न थालें । यसका लागि खानाबाट कार्बोहाइड्रेट र फ्रुक्टोज कतौती गर्नुपर्ने रहेछ । यो प्रयोग मैले आफैंमाथि गरें र त्यसले सकारात्मक नतिजा दियो । अनावश्यक मोटोपनबाट म पूर्णतः मुक्त भएँ,’ उनले नतिजा सुनाए ।

मान्छेले गाईजस्तै चर्ने होइन, बाघले जस्तै खाने हो



आफैंमाथि गरिएको प्रयोगबाट उनले के पाए भने, मान्छेले गाईजस्तो चर्ने होइन । बरु बाघजस्तो शिकार गरेर खाने हो । जे भेट्यो, त्यही खाने । जतिबेला पनि खाने प्रवृत्तिलाई उनी ‘गाईजस्तो चर्ने’ भन्छन् । ‘हाम्रा पूर्खाहरुले चरेनन्, बरु शिकार गरे र बाघले जस्तै खाए,’ उनी सुनाउँछन्, ‘त्यसैले उनीहरु तन्दुरुस्त र बलियो भए । न मोटोपनको डर भो, न कुपोषणको ।’

उनले शरीरलाई प्राकृतिक खानामै निर्भर गराए । तयारी, प्रशोधित, प्याकेटबन्द, स्टोरेज गरिएको, कृत्रिम खानेकुरा पूर्णत त्यागे । मौसम अनुसारको खानेकुरा मात्र खाने । अर्थात् प्रकृतिसँगै खानपानको तालमेल मिलाउने ।

डाइटिङ गर्नु भनेको आफैंलाई बिरामी बनाउनु हो । अन्धाधुन्द डाइटिङ गर्दा शरीरको पाचन संरचना जसरी ध्वस्त हुन्छ

‘प्रकृतिले दिएको खानेकुरा मनग्ये खानुपर्छ,’ उनी भन्छन्, ‘यो खाने, त्यो नखाने भन्ने हुँदैन । आफ्नो हावापानी, माटो, ऋतु अनुसार उत्पादन हुने रैथाने खानेकुरा जति खाए पनि हुन्छ ।’

तर, हामीले खानाको यो भेद छुट्याउन नसकेको उनको ठम्याइ छ । भरपुर तरकारी खाने, माछामासु खाने, बोसोयुक्त  खाने, घिउमा खाने । जति भोक लाग्छ खाने । चार थाल खान मन छ भने, त्यति नै खानुपर्छ । उनी यसै भन्छन् ।

‘हाम्रा पुर्खाहरु शिकार गरेर खान्थे । बँदेल मार्ने हो कि, मृग । बिहान उठेर शिकार खेल्न जाने । दिनभर कुदेर सिकार मार्ने र राति ल्याएर भरपेट खाने,’ उनी थप्छन्, ‘तर, आजभोलि हामी चर्न थालेका छौं । बिहान ओछ्यान छाड्नुअघि चिया र बिस्कुट । त्यसपछि फेरि नास्ता । अनि खाना, फेरि खाजा । शरीरमा भएको खानेकुरा राम्ररी प्रयोग हुन नपाउँदै फेरि अतिरिक्त खानेकुरा थप्छौं ।’

हामीले खाएको खानेकुरा शरीरले उचित मात्रामा लिन्छ । नचाहिने खानेकुरालाई शरीरले बोसोको रुपमा स्टोरेज गर्छ । यो हाम्रो कलेजो र मांशपेशीमा स्टोरेज हुन्छ । यही कारण हाम्रो शरीरमा बोसो लाग्न थाल्छ । यहीँबाट गडबडी सुरु हुन्छ । नसा साँघुरिन्छ । उच्च रक्तचाप, मधुमेह, थाइराइड आदि ।

म १८ घण्टामा एकपटक खान्छु, २४ घण्टामा एकपटक खान्छु । तर, खाना खाँदा बाघले जस्तो खान्छु । कम्तिमा १२ घण्टासम्म शरीरलाई भएको खानेकुरा खर्च गर्न दिनुपर्छ ।

दुब्लाएर स्वस्थ हुने होइन, स्वस्थ भएर दुब्लाउने हो । हामीले जति क्यालोरी लिन्छौं, उत्ति नै खर्च गरियो भने, शरीर सन्तुलित हुन्छ । तन्दुरुस्त हुन्छ । मानौं हाम्रो शरीरलाई २५ सय क्यालोरी चाहिन्छ । यदि हामीले १५ सय क्यालोरी खान थाल्यौं भने, सुरुको महिना चार, पाँच केजी तौल घट्छ । तर, अर्को महिनादेखि के हुन्छ भने शरीरको मेटाबोलिज्म सुस्त हुन्छ । सबैभन्दा जीवनको ठूलो गल्ती भनेको डाइटिङ गर्नु हो । डाइटिङ गर्नु भनेको आफैंलाई बिरामी बनाउनु हो । अन्धाधुन्द डाइटिङ गर्दा शरीरको पाचन संरचना जसरी ध्वस्त हुन्छ, यसले थकान, कमजोरी ल्याउँछ ।

चाहिने कुरा, चाहिदो समयमा खाएर निरोगी र तन्दुरुस्त हुने हो ।

तौल घटाउनका लागि जीम जानुपर्छ, ट्रेडमिलमा दौडनुपर्छ, खानाको मात्रा घटाउनुपर्छ भन्ने कुरा व्यवहारिक र वैज्ञानिक होइन रहेछ । थरीथरीका सप्लिमेन्टहरु लिनुपर्छ भन्ने कुरा भ्रम रहेछ । हरेक दिन पसिना चुहिनेगरी शारीरिक श्रम गर्नुपर्छ । चाहे घर सफा गर्नुहोस् वा बगैंचामा गोडमेल । त्यसपछि प्राकृतिक खानेकुरा खानुपर्छ । बडिबिल्डर बन्नु छ भने तपाईंका लागि जीम जानु अनिवार्य हुन्छ । तर, सिक्स प्याक बनाउनका लागि वा शरीरलाई फिट एन्ड फाइन राख्नका लागि यो जरुरी छैन ।

उनी भन्छन्, ‘मोटोपन घटाउनुछ भने तपाईं भरपेट खानुहोस् । केबल खाने शैली बदल्नुहोस् ।’

उनी भन्छन्, ‘प्रशोधित तेल विषालु हो । जनावरको बोसोलाई दाल–तरकारीमा भुटुन बनाउनुहोस् ।’

उनी भन्छन्, ‘सधैं फलफूल खानु उचित होइन । फलफूल त सिजनमा एकपटक मात्र खानुहोस्, जतिबेला त्यो प्राकृतिकरुपमै फल्छ ।’

उनी भन्छन्, ‘थोरै–थेरै खाना धेरैपटक खाएर पाचन क्रियालाई कुनै लाभ मिल्नेवाला छैन । आफ्नो मेटाबोलिज्म वा पचाउने क्षमता सुधार्नु छ भने त्यसपछि मात्र खाना खानुहोस्, जब तपाईंलाई उल्कै भोक लाग्छ ।’

उनी भन्छन्, ‘तन्दुरुस्तीका लागि जीम धाउनुभन्दा राम्रो विकल्प हो, घरमा शारीरिक श्रम गर्नु । बिहान एक घण्टा मस्त पसिना आउनेगरी बारी खन्नुहोस्, बगैंचा गोड्नुहोस्, सिलिन्डर बोक्नुहोस्, पानीको जार उचाल्नुहोस्, घर सफा गर्नुहोस् ।’

र, उनी सारमा भन्छन्, ‘स्वस्थ रहन, तन्दुरुस्त रहन, मोटोपन घटाउन, दीर्घरोगबाट मुक्त हुन खाना र खानपान शैलीमा ध्यान दिनुहोस् । खाना नै सम्पूर्ण औषधि हो ।’

उनको यो तर्क मात्र होइन, प्रयोग पनि हो । यस्तो प्रयोग उनले आफैंमाथि गरेका छन् । अर्थात उनको शरीर आफैंमा एक प्रयोगशाला हो ।



Source link