बलात्कारको विरोधमा जिउँदै शव बनेकी अन्शु – Online Khabar


३० माघ, काठमाडौं । शुक्रबार दिउँसो २ बजे बसन्तपुरबाट सेतो कपडा र बाँसको खटमा एउटी महिलाको शव अगाडि बढ्यो । शवको अघिअघि जौ-तिल छर्ने र शंख बजाउनेहरू थिए भने पछाडि थियो महिलाहरूको ठूलो जुलुस ।

बसन्तपुर-न्युरोड हुँदै शव रत्नपार्क आइपुग्दासम्म हेर्नेहरूको ठूलो भिड लागिसकेको थियो । पैदलयात्रीहरू पनि आन्दोलनमा ‘कोही शहीद भएछ कि’ भन्दै शव हेर्न जम्मा भए । त्यही क्रममा एक जना वृद्धले बाँसको खाटमाथि २० रुपैयाँ चढाइदिए ।

तर, बाँसको खाटमाथि शव बनेर लडेकी महिला भने सामान्य हलचल गरिरहेकी थिइन् । उनलाई आकाशे पुल र घरको छतबाट आफूलाई हेरिरहेका मानिसतिर नजर डुलाउँथिन् । अपराधीहरूको हातबाट मृत्युवरण गर्नुपर्दाको पीडा  कल्पना गरेर आँखा बन्द गर्थिन् ।

यसरी जिउँदै शव बनेर खटमा चढेकी पात्र हुन्, अन्शु खनाल । केपी ओली सरकारको प्रतिगमनविरुद्ध भएको ‘महिला मार्च’मा सांकेतिक विद्रोह जनाउँदै उनी जिउँदै शव बनेकी हुन् ।

सडक नाटकको झल्को दिने यस किसिमको प्रस्तुतिलाई आधुनिक कलाको भाषामा ‘पर्फर्मेन्स आर्ट’ भनिन्छ । अन्शु यही पर्फर्मेन्स आर्ट देखाउँदै प्रतिगमनको विरोध गर्न जिउँदै शव बनेकी हुन् ।

गोरखा, आरुघाट घर भएकी अन्शु कविता लेखन र पत्रकारिता गर्छिन् । यसबाहेक नाटक र कलामा पनि उनको रूचि छ । यो नाटक देखाउने परिकल्पनाकारको श्रेय पनि उनलाई नै जान्छ ।

शव बनेर बलात्कार तथा प्रतिगमनको विरोध जनाउने शैली दिमागमा आएको सम्झिँदै अन्शु भन्छिन्, ‘एकदिन मैतीदेवीको बाटो हिँँड्दै गर्दा मलाई शव बनेर कला देखाउने सोच दिमागमा आयो । त्यो कुरा साथीहरूलाई भनेपछि नाटक देखाउने तय भयो ।’

अन्शुको यो परिकल्पनालाई कलाकार रसिक राज, राजु झल्लुप्रसाद, प्रज्जव अधिकारी तथा प्रभात तिमल्सिनाले साथ दिए । यसपछि यो युवा टोलीले नाटकको अभ्यास गर्न थाल्यो । करिब एक साताको अभ्यासपछि शव बोकेर विरोध गर्ने तय भएको उनी सुनाउँछिन् ।

भन्छिन्, ‘हामीले वास्तविक जीवनकै झल्को दिनेगरी नाटक देखाउने मनशायले शव-यात्राको प्रस्तुति दिएका हौं । जहाँ शव जलाउन लैजाँदा प्रयोग हुने सबै रीति देखाइएको छ ।’

यसअघि पनि अन्शु, रसिक राज र उनीहरूको संस्था ‘आभा फर क्रियटिभिटी’ले सडक आन्दोलनहरूमा कला प्रस्तुत गरिसकेको थियो । त्यही अनुभवको जगमा उनीहरूले बलात्कार र प्रतिगमनको विरोध गर्न शव-यात्रा प्रदर्शन गरे । यसपटक अन्शुको सांकेतिक शव बोक्नेमा उनका श्रीमान रसिक राज पनि थिए । रसिक राज कलाकार तथा चित्रकार हुन् ।

चरम पीडा अनुभव गरेँ : अन्शु 

शव बनेर एक घन्टासम्म बाँसको खटमाथि बस्दा निकै पीडा अनुभव गरेको सुनाउँछिन् अन्शु । भन्छिन्, ‘मलाई शव बनेर सुत्दा शरीर होइन, मन दुखेको छ । किनभने मलाई त यति सकस भयो भने बलात्कार भोग्नेलाई कति पीडा हुन्छ होला !’

नारीमाथिका अत्याचार सम्झेर भावुक भएकी अन्शु नाटक सकिएपछि पनि निकै गम्भीर देखिन्थिन् । कलिलो उमेरका युवतीमाथि भएका बलात्कार र हत्याको घटनाहरूप्रति चिन्तित थिइन् ।

२१ वर्षीय अन्शु कात्रो ओढेर खटमा पहिलोपटक चढेको भएपनि उनलाई स्ट्रेचरमा चढेको भने अनुभव थियो । ‘बाल्यकालमा निकै बिरामी पर्ने गर्थें’ उनले सुनाइन्, ‘त्यसरी बिरामी हुँदा गाउँको बाटोमा स्ट्रेचर चढेको कारण आज शव बन्दा अप्ठ्यारो लागेन ।’

अन्शुको नक्कली मलामी बनेका प्रभात तिमल्सिना पनि शव बोक्दाको वास्तविक पीडा अनुभव गरेको बताउँछन् । आधा शरीरमात्र ढाक्ने सेतो कपडा लगाएर शव बोकेका प्रभात आफन्तको शोक परेझैं महसुस भएको सुनाउँछन् । भन्छन्, ‘बलात्कारपछि हत्या गरिएका दिदीबहिनीको शव बोक्दा तिनका आफन्तलाई कति पीडा हुन्छ भन्ने बल्ल सोच्न पाएँ ।’

यता अन्शु शव बनिरहँदा उनको पछाडि महिलाहरूको ठूलो जुलुस ‘बलात्कारीलाई फाँसी दे !’ भन्ने नारासहित सिंहदरबार घेराउ गर्न हौसिएको थियो ।

बृहत् नागरिक आन्दोलनअन्तर्गत भएको उक्त महिला-मार्चमा महिला अभियन्ता, विद्यार्थी तथा साहित्यकारहरू सहभागी थिए । उनीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसाको घोर भत्र्सना गर्दै सामूहिक मार्च गरेका थिए ।

मोहना अन्सारी, रीता परियार, शृङ्खला खतिवडा, माल्भिका सुब्बा, अर्चना थापा, अन्शुलाई बोकेको शवसँगै जुलुसमा थिए । अभियन्ताहरूले अन्शुको र उनको समूहको कलाको खुलेर प्रशंसा गरे ।

अन्शु पनि शुक्रबारको प्रस्तुतिबाट झन् धेरै आत्मविश्वास बढेको स्वीकार गर्छिन् । जिउँदैमा शव बन्न तयार भएकी उनी सबै प्रकारका विभेदमाथि महिलाहरूले विद्रोह गर्नुपर्ने मान्यता राख्छिन् । अनि छातीमा हात राखेर बाचा गरिन्, ‘नारीमाथिका सबै अत्याचारविरूद्ध यसरी नै आवाज उठाइरहने प्रतिज्ञा गरेको छु ।’



Source link