‘जनता सडकमा निस्किन थालेपछि तानाशाहको सातो गयो’ – Online Khabar


३० माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै राज्यविरुद्धको कसुरमा बिहीबार दिउँसो एक बजे निवासबाटै गिरफ्तार गरिएकी रामकुमारी झाँक्रीलाई प्रहरीले साढे पाँच घण्टापछि छाड्यो ।

प्रहरीले गरेको सोधपुछका क्रममा उनले राष्ट्रपति संस्थाप्रति सधैं सम्मान रहेको बताएकी छन् । शुक्रबार बिहान अनलाइनखबरसँगको कुराकानीमा पनि उनले राष्ट्रपति संस्थाबारे सम्मान जनाउने तर व्यक्तिको प्रवृत्तिबारे बोल्न नछोड्ने बताइन् । झाँक्रीले भनिन्, ‘सम्मानित राष्ट्रपति संस्थाप्रति जहिले पनि मर्यादा छ । व्यक्तिको प्रवृत्तिविरुद्ध हामी सडकमा छौं । लडेर पराजित गर्छौं । हाम्रो उपलब्धिमाथि आक्रमण गर्दै निरंकुशतातर्फ लागेका कार्यकारीको साक्षी बस्ने राष्ट्रपतिलाई त कारबाही हुन्छ ।’

प्रस्तुत छ, झाँक्रीसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंशः

पूर्वी सहयोद्धाहरूविरुद्ध देश दौडाहादेखि प्रहरी गिरफ्तारीसम्म खेपिरहनु भएको छ । कतिको थकान महसुस भएको छ ?

भौतिक रूपमा थकाइ लाग्ने त भइरहन्छ तर तानशाहलाई घुँडा टेकाउने आत्मविश्वास छ । तानाशाहहरू दुनियाँमा टिकेका पनि छैनन् । ती केही समय उदाएर अस्ताएका छन् । उनीहरूको दुखद् अन्त्य भएको छ । त्यो आत्मविश्वास बाँकी छ । राजनीतिक थकाइ छैन ।

यतिका वर्षपछि फेरि आफ्नाहरू विरुद्ध सडक संघर्ष गर्नुपर्दा कस्तो अनुभव भइरहेको छ ?

दुर्भाग्यपूर्ण अवस्था हो । हामी कहिल्यै नखोसिने लोकतन्त्रका लागि लडौं भनेर आहृवान गर्दा विद्यार्थीहरूले यो भनेको के हो भन्थे । हामीले इतिहास सम्झायौं, २००७ सालमा लडेर लोकतन्त्र ल्यायौं, ०१७ सालमा खोसियो । ३० वर्ष लडेर २०४६ सालमा ल्यायौं, फेरि २०५९ सालमा खोसियो । अब चाहिँ नखोसिने लोकतन्त्र सुनिश्चित गर्ने हो । त्यो भनेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हो, जहाँ निर्वाचनको माध्यमबाट जनताका प्रतिनिधि राज्यको उच्च ओहोदामा पुग्छन् । उनीहरू जनताप्रति उत्तरदायी बन्छन् । उनीहरू वास्तवमै जनताका प्रतिनिधि हुनेछन् । त्यो शासन व्यवस्था लोकतान्त्रिक, जवाफदेही र पारदर्शी हुनेछ भने विद्यार्थीहरूलाई आन्दोलनमा प्रेरित गर्‍यौं ।

२०६२/०६३ को क्रान्ति पूरा गर्दा हाम्रो पुस्ता फ्रन्टलाइनमा थियो । निर्णायक तहमा भने हाम्रो पुस्ता थिएन । त्यो बेला लड्दै गर्दा हामीले सोचेका थियौं-जनताका छोराछोरी, तपाईं हामी जस्तै इतिहासले किनारामा पारेका मान्छेहरू मूलप्रवाहमा आउनेछन्, राज्यको उच्च तहमा वा कार्यकारी पदमा पुग्नेछन् । राम्रो नेपाल बन्छ । त्यस्तो संकल्प थियो ।

२०६३ पछिका आठ वर्ष कठिन यात्रा पार गर्‍यौं । त्यो विचारधाराको कुरा थियो । कुनै वस्तुलाई कसरी हेर्छौं र कस्तो बनाउँछौं भन्ने लडाइँ थियो मूलतः संसदभित्र । त्यसमा हाम्रो पनि एकखाले पोजिसन भयो होला । २०७२ मा नयाँ संविधान जारी भयो । संविधान जारी हुँदा सबैभन्दा धेरै दीपावली गर्नेमध्ये म पनि थिएँ । यद्यपि संविधानमा केही असन्तुष्टि थिए, उहाँहरूले पनि असहमति राख्नुभएको थियो । उहाँहरूलाई त्यसबेला मैले भनेको पनि थिएँ- सहमति र विमतिका बीच संविधान जारी भएपनि हामी एकैठाउँमा छौं । संविधानले समाजवादमा जाने ढोका खोलेको छ । प्राप्त उपलब्धि संस्थागत गरेर अझ अगाडि बढ्न सकिन्छ भन्नेमा उहाँहरू पनि सहमत हुनुहुन्थ्यो ।

तर हिजो बिहीबार भएको मेरो गिरफ्तारीले ती दिन पनि सम्झाइदिएको छ । हुन त मलाई सामाजिक सञ्जालमा खड्गप्रसाद ओलीले तयार पारेका साइबर स्यालहरूले आक्रमण गरेको आज मात्रै होइन । मैले गएको वर्ष सार्वजनिक खर्च कटौती गरौंभन्दा ममाथि आक्रमण भयो । अहिले त हामी वारपारको लडाइँमा छौं । देशभर हिँडिरहँदा मेरो क्रियाको प्रतिक्रिया भइरहेकै थियो । तर यो तहसम्म पुग्छन् जस्तो चाहिँ लागेको थिएन ।

मैले आफ्नो अभिव्यक्ति स्वतन्त्रताभित्र रहेर भनेकी थिएँ, राष्ट्रपति संस्था नेपाली जनताको शीर हो, यो संस्थाप्रति सधैं सम्मान छ । तर त्यहाँ जाने पात्र र प्रवृत्तिविरुद्ध प्रश्न उठाइन्छ । आवश्यक पर्‍यो भने परास्त पनि गरिन्छ । यो त भन्दै आएकै कुरा हो । यो विषयमा मलाई निशाना बनाएर पक्राउ गरे । एउटा तानाशाह ढल्ने बेला अन्तिम प्रयास जस्तो लाग्छ ।

पक्राउ परेको पाँच घण्टासम्म के-के भयो ?

त्यस्तो केही भएन । चार वटा प्रश्न सोधिएको थियो- तपाईं त्यहाँ कार्यक्रममा गएको हो वा होइन ? मैले हो भनेँ । तपाईंका विरुद्ध यस्तो-यस्तो आरोप छ भनियो । मैले होला, ती मान्छेको हुन् थाहा छैन भनेँ । बोलेको हो, होइन भनियो । मैले हो भनेँ । राष्ट्रपति संस्थाप्रति जहिल्यै सम्मान छ । हिजो पनि थियो, आज पनि छ, भोलि हुनेछ, त्यो संस्था हामीले नै लडेर ल्याएका हौं । तर प्रत्येक व्यक्ति र संस्थाले सम्मानित हुनुलाई संविधान, कानुन पालना गर्नुपर्छ ।

मैले सडकमै पनि यही भन्ने गरेकी छु, हाम्रो राजनीतिक उपलब्धिमाथि आक्रमण गर्ने, निरंकुश बन्ने कार्यकारीको साक्षी बस्ने राष्ट्रपतिलाई त कारबाही हुन्छ  । कारबाही राष्ट्रपति संस्थालाई होइन, निरंकुशताको साक्षी बस्ने व्यक्तिलाई हुन्छ । संस्था कारबाहीमा पर्‍यो भने त राजशाही जस्तो शासन व्यवस्था हुन्छ ।

भनेपछि विद्यादेवी भण्डारीविरुद्ध बोल्न छोड्नुहुन्न ?

उहाँहरू सच्चिने सम्भावना छैन । संविधान र कानुनको दायरामा आउनुहुन्छ भने जनतालाई सार्वजनिक हिसाबले भन्नुपर्छ । किनभने, उहाँहरू जनताप्रति उत्तरदायी हुनुपर्छ । त्यसो हुँदा कुनै आपत्ति भएन । अन्यथा, उहाँहरू राजा ज्ञानेन्द्र जस्तै सडकको जनउभारको कारबाहीमा पर्नुहुन्छ ।

राष्ट्रपतिमा महिला हुनुहुन्छ । उहाँलाई तपाईंले अप्ठ्यारोमा पार्नुभयो पनि भनिँदैछ नि ?

राष्ट्रपति अभिभावकीय संस्था हो । कानुनले निर्माण गरेको वैधानिक व्यक्ति हो । त्यहाँ आसिन हुनेले संविधान र कानुन अनुसार मर्यादा पाउँछ । त्यहाँ महिला भएबापत छुट्टै, दलित भएबापत छुट्टै मर्यादा हुँदैन । त्यहाँ बस्ने कि शासक हुन्छ कि त संविधानको पालक र जनताका सेवक हुन्छ । विद्यादेवी भण्डारी शासक बन्न खोज्दै हुनुहुन्छ ।

तर, राष्ट्रपति भण्डारीको राजनीतिक उदयबारे तपाईंले दिएको अभिव्यक्तिमा बढी आपत्ति भएको देखिन्छ । लैङ्गिक संवेदनामा ध्यान दिनु भएन कि ?

म आफैं महिला, लैङ्गिक संवेदनालाई बेवास्ता गरेर आफ्नै बारेमा गलत कुरा त गर्दिनँ होला नि । प्रधानमन्त्रीका हरेक गलत कदमको साक्षी किनारा मात्र होइन, प्रमाणितकर्ता बनिरहनुभएको छ, राष्ट्रपति । उहाँ एउटा व्यक्तिप्रति यति धेरै जिम्मेवार अनि देश र जनताका समस्याहरूका बारेमा बेखर बनिरहनुभएको छ । यो सन्दर्भमा विद्या भण्डारी नेताका रूपमा कसरी अगाडि आउनुभयो भनेर बताएको हुँ । उहाँलाई पहिले सेतो साडी लगाएर जनताकी छोरी भनेर चुनाव जिताइयो । बिस्तारै उहाँले एउटा गुटको संरक्षण गर्नुभयो र पछि त्यही गुटको रक्षाकवज बन्नुभयो । अन्ततः उहाँले संविधानमा हुँदै नभएको अधिकार प्रधानमन्त्रीले प्रयोग गर्दा पनि परामर्श समेत नगरी संसद् विघटन सदर गरिदिनुभयो ।

राजनीति भनेको धेरै ठूलो कुरा हो । राजनीतिक पृष्ठभूमि भएकाले धेरै परसम्म देख्छ । संवेदना प्रयोग गरेर आएकाहरू त्यसैमा खेलिरहन्छन् । उहाँले २०७२ सालमा राष्ट्रपति भएपछि अनेमसंघको अध्यक्ष छोड्नुभएन, कार्यबाहक दिनुभयो । गुटप्रति त्यत्रो लोभ देखाउनुभयो । उहाँ साझा नेता बन्छु भनेर आएकै होइन । खड्गप्रसाद ओलीको रोजाइमा परेर राष्ट्रपति बन्नुभयो । माधवकुमार नेपाल, झलनाथ खनालहरूले साथ दिनुभयो । अहिले त्यसैको फल भोग्दै हुनुहुन्छ उहाँहरू । हामीले गलत मान्छेलाई राष्ट्रप्रमुख बनाएछौं भन्ने प्रमाणित भएको छ ।

मन्त्रिपरिषद्, न्यायालय, व्यवस्थापिकाको आ-आफ्नै प्रक्रिया छ । मन्त्रिपरिषद्को निर्णय ‘म्याचुअर’ हुन ७२ घण्टा लाग्थ्यो, अहिले २४ घण्टा बनाइएको छ । सर्वोच्चमा कुरा उठेपछि मात्र संसद् विघटन प्रकरण राजपत्रमा छापेर लैजानुभयो । यति साह्रो फर्जी काम गर्ने खड्गप्रसाद ओली र यसको साक्षी विद्या भण्डारी । यसले उहाँलाई कहाँ ठीक देखायो ? कसरी सबैको अभिभावक देखायो त ?

राष्ट्रपतिलाई महाभियोग लगाएर अहिले हटाउने, भोलि हटाउने भन्ने तयारीको परिणाम पनि भनिँदैछ नि ?

महाभियोग लगाउने सम्बन्धमा औपचारिक अनौपचारिक तयारी भएको जानकारी मलाई छैन । त्यो भएकै थिएन । संसद् विघटन गर्नुअगाडि यस्तो आक्रोश पनि थिएन ।

प्रधानमन्त्रीले जे भन्नुपर्छ मलाई भन्नुहोस्, राष्ट्रपतिलाई नभन्नुहोस् । यसले गणतन्त्रलाई कमजोर बनाउँछ भन्दै हुनुहुन्छ । तपाईंचाहिँ किन राष्ट्रपतिलाई नै भन्नुहुन्छ ?

विद्यादेवी भण्डारी नेपाली गणतन्त्रको प्रतीक होइन, राष्ट्रपति मात्र हो ।

गणतन्त्रलाई कमजोर पार्न राष्ट्रपतिविरुद्ध खनिने काम भइरहेको प्रधानमन्त्रीको अर्को भनाइ छ । यसमा के भन्नुहुन्छ ?

सबै कुरा हातमा लिएको तानाशाहले मलाई नै ६ घण्टा पनि थुन्न सकेन, अब यस्ता कागजका तानाशाह बाँकी रहन्नन्

गणतन्त्रलाई कमजोर पार्न उहाँ आफैं निरन्तर लागिरहनुभएको छ । उहाँका वकिलहरूले भन्दैछन्- उहाँसँग त श्री ३ को, श्री ५ को अधिकार छ । उहाँ गणतन्त्रको प्रधानमन्त्री होइन, राजा हुन खोजिरहनुभएको छ । उहाँलाई संविधान, दल केही चाहिएको छैन । उहाँले संघीय गणतन्त्र नेपालका सम्माननीय राष्ट्रपति संस्थालाई संसदमा ‘मेरो सरकार’ भन्न लगाउनुभयो । त्यसको पनि म कटु आलोचक थिएँ ।

तपाईंहरूको आन्दोलन प्रधानमन्त्री फेर्नलाई मात्र होइन भनेर जनताले कसरी विश्वास गर्ने ?

आजको मूल समस्या यही हो । खड्गप्रसाद ओलीलाई त हटाउँछौं, तर त्यो प्रवृत्ति हटाउन सक्छौं होला त ? गणतन्त्र ल्याएर कस्ता-कस्ता मान्छेलाई प्रतिष्थापित गरेका रहेछौं त ! त्यसैले, खड्गप्रसाद ओलीको प्रतिगमनविरुद्ध लड्दै गर्दा व्यक्ति मात्र नभएर यस्तो प्रवृत्ति पनि अन्त्य हुने गरी संस्था, संस्कार सुुनिश्चित गर्नपर्ने भएको छ । यसमा जनतालाई कसरी विश्वास दिलाउनुहुन्छ भनेर हाम्रै दुई अध्यक्षप्रति पनि मेरो प्रश्न छ ।

आन्दोलन सफल हुनेमा कति विश्वस्त हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग सेटिङको भ्रमबाहेक अरू केही छैन । अब त्यो पनि च्यातचुत हुन्छ । उहाँको उदय नै पारदर्शी थिएन । निर्वाचनपछि उहाँ राष्ट्रपतिले दिएको नियुक्तिपत्र गोजीमा बोकेर धुम्बाराही जानुभयो । त्यसपछि बल्ल माधव नेपालको प्रस्ताव र प्रचण्डको समर्थनमा संसदीय दलको नेता हुनुभयो । त्यसपछि प्रधानमन्त्रीबाट शेरबहादुर देउवाको राजीनामा आयो ।

त्यसैबेला मलाई यसरी कुनै व्यक्तिलाई निर्विकल्प नेतृत्वका रूपमा छोड्नुहुँदैन, कसै न कसैले उम्मेदवारी देओस् भन्ने लागेको थियो । तर उहाँहरू मिलेपछि कसैले हिम्मत गरेनन् । त्यसरी राज्यका महत्वपूर्ण अंगहरू आफ्नो मातहत ल्याउनुभयो । राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण, समाज कल्याण परिषद्हरू प्रधानमन्त्री कार्यालयमा तान्नुभयो । न्यायालय, अख्तियार, मानवअधिकार आयोगहरूमा सेटिङ गर्न थाल्नुभयो । अनेक बहानामा राष्ट्रपतिलाई दोहोर्‍याउने, प्रचण्डलाई फकाउने काम भए । राष्ट्रिय सभा अध्यक्षमा आफ्नो वफादारलाई लगेर राखे । कृष्णबहादुर महरा प्रकरणपछि सभामुखमा पनि आफ्नो मान्छे राख्ने प्रयत्न भएकै हो । यसरी राज्य कब्जाको योजना अगाडि बढाइयो ।

यति धेरै शक्तिशाली बनिसकेका प्रधानमन्त्रीविरुद्ध लडेर जित्ने आत्मविश्वास छ ?

अब यस्ता कागजका तानाशाह बाँकी रहन्नन् । सबै कुरा हातमा लिएको तानाशाहले मलाई नै ६ घण्टा पनि थुन्न सकेन । नेताहरूले कडा प्रतिक्रिया दिन थालेपछि, नागरिक समाज बोलेपछि, मिडियाले मुद्दा बोकेपछि र जनता सडकमा निस्किन थालेपछि तानाशाहको सातो उड्यो ।



Source link