अमेरिका छाडेर स्वदेशमा स्ट्रबेरीको उत्पादन र अनुसन्धान – Online Khabar


२६ माघ, चितवन । राम्रो काम र आकर्षक सुविधा लिएर अमेरिकाको फ्लोरिडास्थित स्ट्रबेरी इन्टोमोलोजी ल्यावमा काम गर्दथे, सप्तरी राजविराजका ससन देवकोटा । त्यहाँ झण्डै तीन वर्ष काम गरेपछि उनलाई स्वदेश फर्किने र आफूले जानेको सीप र दक्षता देशकै माटोमा पोख्ने हुटहुटी चल्न थाल्यो ।

चितवनको रामपुरबाट बिएससी एजी सकाएर इन्टोमोलोजीमा स्नातकोत्तर गर्न यूनिभर्सिटी अफ् फ्लोरिडा पुगेका ससनले सन् २०१८ मा देश नै गएर स्टबेरीको व्यवसायिक उत्पादन र थप अनुसन्धान गर्ने निष्कर्ष निकाले ।

सुरूमा आएर बिराटनगरको रंगेली र काठमाडौंमा केही साथीहरूसँग मिलेर स्ट्रबेरी खेती गरे । आफूले जानेको ज्ञान नेपालकै माटोमा पोख्ने उनको धोको फैलिदै यतिबेला चितवनसम्म आएको छ ।

‘समथल र गर्मी हुने सामुदि्रक क्षेत्रमा समेत स्ट्रबेरीको खेती हुने देखेका ससनलाई त्यो भन्दा कयौं गुणा उपर्युक्त मौसम र हावापानी भएको आफ्नो देशमा किन हुँदैन भन्ने कुराले सबैभन्दा बढी घोच्यो,’ अनलाइनखबरसँग उनले भने ।

आफ्नो जीवनको ६ वर्ष स्ट्रबेरीको उत्पादन र अनुसन्धानमा नै बिताएका ससनले इजिप्टमा जस्तै गरी नेपालमा पनि स्ट्रबेरीको खेती गर्ने योजना बनाएका छन् । उनका अनुसार इजिप्टमा पर्यटनपछि दोस्रो आर्थिक उपार्जनको वस्तुमा पर्ने गरेको छ, स्ट्रबेरी । स्ट्रबेरीको व्यवसायिक उत्पादन र निर्यातबाट इजिप्टको आर्थिक अवस्था मजवुद बनेको उनको बुझाइ छ ।

नेपालमा स्ट्रबेरीको वर्षभरी नै उत्पादन गर्न सकिने वातावरण रहेको उनले बताए । ‘हाम्रोमा त सबै खालको विविधता छ नि,’ ससन भन्छन्, ‘अहिले हामीले ८ प्रजाती लगाएर अनुसन्धान र उत्पादन दुबै गरिरहेका छौं ।’

सन् २०१८ देखि बिराटनगर, काठमाडौं, धरान र चितवनमा अमेरिकन प्रजातिका स्ट्रबेरी लगाइएको छ । अहिले उनले स्ट्रबेरी खेती गर्न चितवनको भरतपुर-५ मा १ बिघा १७ कठ्ठा जग्गा भाडामा लिएका छन् । झण्डै २० लाख लगानी गरेका छन् । एउटा नयाँ बिरुवाको ३४ रुपैयाँका दरले १३ हजार बिरुवा स्पेनबाट ल्याएर लगाएका छन् ।

सिजनमा दैनिक २ सय किलो स्ट्रबेरी चितवनमा उत्पादन हुने उनले दावी गरे । गत वर्ष विराटनगरमा लगाइएको १० कठ्ठाबाट १३ लाख र काठमाडौंमा २० रोपनीमा लगाएको स्ट्रबेरीबाट ३० लाख कमाएको ससन बताउँछन् । बिराटनगर र धरानमा प्रदेश सरकारको कृषि मन्त्रालयले केही सहयोग गरेको छ ।

‘मैले अमेरिकामा नै पैसा कमाएको थिएँ, पैसाकै लागि भए त अझै बस्थेँ होला, यहाँ माटो खेलाउन किन आउथेँ र ?’ ससन भन्छन्, ‘देशमा आएपछि पैसा कमाउनेे मात्रै लक्ष्य लिएको छैन, केही सिकाउने र केही गर्ने उद्देश्य लिएको छु, टिममा काम गरेको छु ।’

बजार नबुझी क्याकुलेटर थिच्ने र अन्धाधुन्द उत्पादनमा लाग्ने नभई युवाहरुलाई यसको बजारको सुनिश्चितता गर्दै यसमा होमिने योजना उनको छ । यसका लागि सरकारी तवरबाट नै काम गरौं भन्ने प्रस्ताव आफूहरुले गरेको उनले बताए । उनी भन्छन्, ‘हामी त रिसर्चर हो । केही देखेर नै काम गरिरहेका छौं, यसमा सरकारले कानूनी जटिलता फुकाउओस्, अनुसन्धानमा सहयोग गरोस्, केही गर्छु भनेर आउने युवाहरुलाई उत्प्रेरणा थपोस् ।’

स्ट्रबेरी पछि सिडलेस वाटर मेलनको खेती गर्ने योजना आफूहरुको रहेको ससनले बताए ।

बिरुवा ल्याउन मुस्किल

स्ट्रबेरीको बिरुवा नेपाल ल्याउन निकै मुस्किल भएको देवकोटा बताउँछन् । मातृ बिरुवा बि्रडरको ‘राइट प्रोटेक्सन’ गर्ने प्रतिवद्धता र विश्वासमा मात्रै ल्याउन सकिन्छ । अनैतिक ‘प्रोपागेशन’ हुँदैन भन्ने विश्वास नभएसम्म ब्रिडरले बिरुवा नदिने हुँदा विश्वास ठूलो कुरा हुने देवकोटाको भनाइ छ । मातृ बिरुवा ल्याएर त्यसबाट ‘डटर’ बिरूवा उत्पादनका लागि लगाउने गरिन्छ ।

नेपालमा उत्पादन प्रयोजनका लागि मात्रै ब्रिडरले बिरुवा दिने गरेका छन् । स्ट्रबेरीको बिरुवा ल्याए पनि ब्लू बेरीको बिरुवा दिन युनिभर्सिटी अफ फ्लोरिडाको बि्रडरले नमानेको ससन बताउँछन् । माउ बिरुवाले छाडेको लहराबाट दुबोजस्तो गरी ‘डटर’ बिरुवा उत्पादन गर्ने गरिन्छ । १ लाख माउ बिरुवाबाट ३० लाखसम्म ‘डटर’ बिरुवा उत्पादन गर्न सकिने उनले बताए ।

कानुनी रुपमा सरकारको ठोस नीति नहुँदा स्ट्रबेरीको बिरुवा ल्याउन समस्या हुने गरेको छ । यसका लागि आवश्यक पहल सरकारसँग मिलेर गरेको उनले बताए ।

उत्पादन: पहाडमा प्रतिबोट एक केजी, तराईमा आधा

स्ट्रबेरीको उत्पादन सबैभन्दा बढी माघ १५ देखि फागुन १५ सम्म हुन्छ । स्ट्रबेरी चिसो रुचाउने प्रजाति भएकाले ५ देखि १५ डिग्री तापक्रम भएको रातको समयमा बढी फूल्छ । २५ डिग्री तापक्रममा राम्रो विकास हुने देवकोटा बताउँछन् । काठमाडौं र पहाडी क्षेत्रमा एउटा बोटबाट एक केजी र तराईमा ५ सयदेखि ६ सय ग्रामसम्म उत्पादन लिन सकिन्छ । तराईमा उपर्युक्त समय छोटो हुने र गर्मी सुरु भैहाल्ने हुँदा उत्पादन कम हुने गरेको उनको भनाइ छ ।

बिरुवामा सुलसुले (माइट), पुलती वर्गका किराहरु लाग्ने हुँदा सचेतना अपनाउनुपर्ने देवकोटाले बताए । स्ट्रबेरी बहुवर्षीय बाली भए पनि पुरानो बिरुवालाई राखि रहँदा खर्च बढी र कम फल लाग्ने हुँदा व्यवसायिक उत्पादकले नयाँ बिरुवा नै लगाउनुपर्ने बताउँछन्, देवकोटा ।

‘ए’ ग्रेडको स्ट्रबेरीको मूल्य प्रतिकेजी ७ सयदेखि ८ सयसम्म पर्छ । बिरुवा रोप्नका लागि उपर्युक्त समय तराईका लागि भदौ अन्तिम साता र पहाडका लागि भदौ पहिलो हप्ता हो । असोजभन्दा ढिला गर्न हुँदैन । पहाडी क्षेत्रमा भदौको सुरुकै हप्ता रोप्दा चिसो अघि नै एक बाली लिन सकिन्छ । बिरुवा रोपेको ८ हप्तादेखि १० हप्तामा फल्न थाल्छ ।

स्ट्रबेरी चाँडै नै बिग्रने भएकाले बजारमा केही समस्या छ । टिपेको २४ घण्टाभित्र नै बेचिसक्नुपर्ने भएकोले बजारीकरण गाह्रो छ । कोल्ड चेन स्टोरमेन्टेन गर्दा बढी खर्च लाग्छ । कोल्ड च्याम्बर र प्रिकुलिङ लगाउँदा बढी खर्च लाग्छ । उपभोक्ताले किनेर घरमा फ्रिजमा राखे ५/७ दिनसम्म उपभोग गर्न सकिन्छ ।

स्ट्रबेरीको फ्लोजनको मार्केट पनि राम्रो हुने देख्छन् उनी । स्ट्रबेरीमा रोग प्रतिरोधात्मक क्षमता बढाउने तत्व पाइन्छ । भिटामिन ‘सी’, मिठो फ्लेवर, हेर्दा आकर्षक देखिने भएकाले यसको बजार निकै राम्रो हुने तर्क देवकोटाको छ । उनी भन्छन्, ‘हाम्रोमा फलफूल खाने संस्कारको विकास खासै भएको छैन, स्याउ, सुन्तला र केरामात्रै फलफूल जस्तो गरिन्छ, स्ट्रबेरीका बारेमा बुझाउन त बाँकी नै छ ।’

बिरुवा उत्पादनको राइटसँगै व्यवसायिक युवा र आधुनिक तरिकाले खेती सुरु हुने उनी बताउँछन् । ‘परम्परागत ढंगबाट खेती लगाउ कसैलाई भन्दैनौं, पुरै प्राविधिक तालिम, सहयोग र मार्केटिङको योजनासहित जाने लक्ष्य छ,’ ससन भन्छन्, ‘उत्पादन बढेपछि मूल्य घट्छ र सबैको पहुँचमा पुग्छ भन्ने सोचेका छौं ।’ अहिले उत्पादन भएको स्ट्रबेरीलाई भाटभटेनीमा बेच्ने गरिएको छ । यहाँको तरकारी मण्डीलेसमेत मागेको छ ।

स्ट्रबेरीमा पीएचडी गर्दै श्रेष्ठ

कृषि तथा वनविज्ञान विश्वविद्यालयको महोत्तरीमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजका प्रिन्सिपल विशाल श्रेष्ठले स्ट्रबेरीको उत्पादन वृद्धि, उन्नत जातको छनौट लगायतका विषयमा देवकोटाकै फर्ममा पीएचडी गरिरहेका छन् । उनले एक स्वदेशीसहित ८ प्रजातिका अनुसन्धान गरिरहेको बताए ।

श्रेष्ठले गर्ने अनुसन्धानमा स्ट्रबेरीलाई अगाडि पाक्ने जात, पछाडि पाक्ने जात, १२ महिना गर्न सकिने उत्पादन, उच्चतम जातको छनौट, बढी गुलियो र टिकाउ, गुलियोपन बढी भएको जात, रोगप्रतिरोधात्मक गुण बढी भएको जात लगायतका विषय समेटिनेछन् । श्रेष्ठले भने, ‘ग्रोथ हर्मोनहरु कुनमा राम्रो छ । बढी फलाउन सकिन्छ की साइज बढाउन वा धेरै दिनसम्म टिकाउन सकिन्छ की, वा अगाडि वा पछाडि फुलाउन सकिन्छ की । कुन-कुन स्टेपले अगाडि पछाडि गर्दा फुलाउन सकिन्छ, त्यसले बजारमा कस्तो प्रभाव पार्छ भनेर हेर्छौं ।’

लगातार दुई वर्षसम्म विरुवाको जातीय परीक्षण गर्ने त्यसबाट छनौट भएका उपर्युक्त ३/४ जातमा मसिनोसँग काम गरिने श्रेष्ठले बताए । चार वर्षमा देशको हावापानी र माटो सुहाउँदो उपर्युक्त जातको छनौट गरी उत्पादनका लागि उपयोगी हुने निष्कर्ष पिचएडीमा समेटिने श्रेष्ठले बताए ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0