26.3 C
Surkhet
Monday, March 1, 2021
घर समाचार Karnali News आजदेखि नेपालमा कोभिड खोपको दोस्रो चरण: अब कसको पालो?

आजदेखि नेपालमा कोभिड खोपको दोस्रो चरण: अब कसको पालो?

आजदेखि नेपालमा कोभिड खोपको दोस्रो चरण: अब कसको पालो?

अक्सफोर्ड विश्वविद्यालय तथा आस्ट्राजेनेका कम्पनीले विकास गरेको अनि भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको दश लाख मात्राको कोभिशिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि माघ १४ गतेदेखि नेपालमा शुरु भएको खोप अभियान सोमवारदेखि दोस्रो चरणमा प्रवेश गर्ने अधिकारीहरूले बताएका छन्।

एघार दिनसम्ममा देशभरिका करिब दुई सय केन्द्रहरूबाट एक लाख ८४ हजार जनाले पहिलो मात्राको खोप लगाएपछि पहिलो चरणको अभियान शनिवार सम्पन्न भइसकेको बताइएको छ।

दोस्रो चरणमा कसको पालो?

पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोरोनाभाइरस उपचार तथा व्यवस्थापनमा अग्रपङ्तिमा खटिएकाहरूलाई खोप लगाइएको छ।

सोमवारदेखि शुरु हुने दोस्रो चरणमा भने सार्वजनिक कामका निम्ति भिडभाड हुने निजी तथा सरकारी कार्यालयका कर्मचारी एवम् धेरै मानिसहरूसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने जिम्मेवारी भएकाहरूलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयको योजना छ।

“ब्याङ्कहरू, मालपोत तथा नापी कार्यालय, स्थानीय निकायहरू, खानेपानी तथा विद्युत कार्यालय, दूरसञ्चारसँग सम्बन्धित कार्यालय र सञ्चारकर्मीहरूलाई लक्षित गरेर सोमवारदेखि खोप लगाइनेछ,” कोभिड १९ खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले बीबीसीलाई बताएका छन्।

यो चरणमा करिब तीन लाख मानिसलाई खोप लगाउने योजना रहेको उनले बताए।

“विभिन्न निकायहरूका निम्ति विभिन्न अस्पतालमा खोप केन्द्र तोकेर अभियान सञ्चालन हुनेछ,” उनले बताए।

उमेर समूहलाई अर्को चरणदेखि मात्र लगाइने

खासगरी पहिलो चरणमा नै करिब सवा चार लाख मानिसलाई खोप लगाउने सरकारको योजना थियो।

तर त्यसको आधाभन्दा कम्तीले मात्रै खोप लगाए।

खोप लगाएका स्वास्थ्यकर्मीहरू
तस्बिरको क्याप्शन,प्रदेश २ का स्वास्थ्यकर्मीहरू जस्तै देशभरिका स्वास्थ्यकर्मीहरू पहिलो प्राथमिकतामा राखिएका थिए

“पहिलो कारण त हामीले धेरै जिल्लामा एउटा मात्र खोप केन्द्र राखेका थियौँ जसले गर्दा धेरै महिला स्वास्थ्य स्वयंसेविकालाई पायक नपरेर छुटेको हुनसक्छ। दोस्रो कारण चाहिँ यो छोटो समयको अभियान भएकाले पनि हुनसक्छ,” उनले भने।

डा. उप्रेतीका अनुसार पहिलो चरणमा छुटेकाहरूले आफ्नो पालो कुर्नुपर्नेछ।

दोस्रो चरण सकिएपछि फागुनको दोस्रो साताबाट शुरु हुने भनिएको अर्को चरणबाट मात्र उमेर समूहका मानिसहरूलाई खोप दिन थालिने पनि उनले बताएका छन्।

धेरै उमेरका व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै धेरैले टिप्पणी गरेका छन्।

खोप कहाँबाट आउँदै?

अहिले नेपाल सरकारसँग भारत सरकारले अनुदानमा दिएको दश लाख मात्राको कोभिशील्डमात्र उपलब्ध छ जसमध्ये झन्डै दुई लाख मात्रा प्रयोग भइसकेको छ।

त्यसैले आगामी चरणहरूका लागि थप खोप नल्याई हुँदैन।

त्यसका लागि दुई-तीनवटा विकल्पमा कुराकानी अगाडि बढिरहेको बताइन्छ।

पहिलो त अन्तर्राष्ट्रिय खोप सहयोग सञ्जाल कोभ्याक्सले साढे २२ लाख मात्राको खोप नेपाललाई पठाइदिने वाचा गरेको छ।

“या त फेब्रुअरीको मध्यपश्चात् या त मार्चको पहिलो दुई साताभित्र कोभ्याक्सले खोप पठाइदिने बुझिएको छ,” डा. उप्रेतीले भने।

त्योबाहेक आफ्नै पहलमा भारतको सिरम इन्स्टिचुटसँग बीस लाख मात्राको खोप ल्याउने प्रयास भइरहेको उनले बताए।

गत साता नेपाल र चीनका परराष्ट्रमन्त्रीहरूसँगको कुराकानीमा चीनले पनि पाँच लाख मात्रा खोप अनुदानमा दिने बताइएको छ।

तर त्यसको लागि भने नेपालको नियामक निकायबाट पहिले सो खोपको प्रयोगका निम्ति स्वीकृति हुनु जरुरी हुन्छ।

विश्वबजारमा कोभिड खोप ल्याउन खासगरी मध्यम तथा न्यून आय भएका देशहरूमाझ तँछाडमछाड भइरहेको बेला नेपालले छरछिमेक तथा अन्य देश तथा विश्वस्वास्थ्य सङ्गठनजस्ता निकायसँग निरन्तर सम्वाद गरेर आफ्नो निम्ति खोपको जोहो गरिहाल्न विज्ञहरूले सुझाएका छन्।