चरित्र भनेको के हो ? – Online Khabar


हामी सानो छँदा गाउँमा कहिलेकाहीँ एकजना वृद्ध एकल महिला आउनुहुन्थ्यो, जसलाई हामी ‘साधुनी आमै’ भन्थ्यौं । उहाँलाई सम्झिँदा मलाई निधारभरि चाउरी, शरीरमा पहेँलो धोती सारी, निधारमा गेरू रंगको टिका, उदास आँखाहरू भएकी एकल महिलाको झलक आउँछ ।

यताउति सबैजनाले साउती मारेर भन्थे– साधुनी आमै बोक्सी हो, उनको आँखामा आँखा जुधाएर कहिल्यै नहेर्नु, बिरामी बनाइदिन्छिन् । उहाँलाई हेरेर कतिजना बिरामी भए कसैले कहिल्यै भनेन । तर, यस्तैयस्तै कुरा सुनेर म उहाँको छेउमा जान डराउँथे ।

सिद्धार्थ गौतम बस्ने राजदरबार जस्तैजस्तै थियो हाम्रो गाउँ । विलासी जीवनशैली थिएन तर गरिबी, विभेद र दु:ख हामीले सानो छँदा कहिल्यै महसुस गरेनौं । अलिक ठूलो भएर स्कुल जान थालेपछि घरमा नियमित आउने साप्ताहिक र मासिक पत्रिका पनि पढ्न थालियो । घरमा चौध इन्चको भए पनि टेलिभिजन आयो । देश–विदेशका खबरहरू पढ्न र हेर्न थालियो । काठमाडौंलगायत देशका विभिन्न स्थानमा बोक्सीको आरोपमा महिलालाई दिसा खुवाउने, डाम्ने, यातना दिने आदि समाचार पढ्न थाल्यौं ।

झुम्का सानो गाउँ भएपनि दुईवटा ठूलाठूला सिनेमा हलहरू थिए । इनरूवा, इटहरीजस्ता सहरहरूबाट र राजमार्गदेखि परपरका देहातका गाउँबाट पनि सिनेमा हेर्न मान्छेहरू झुम्का बजार आउँथे । मनकामना चलचित्र मन्दिरमा कुनै सुपरहिट हिन्दी सिनेमा चलेको थियो । १२ बजेको सो भिड भएर हामी ३ बजेको सो हेर्न गएका थियौं । दिदीहरू, गाउँका छिमेकिहरू, आफ्नै उमेरका साथीहरूको हाम्रो समूह ठुलो थियो । सिनेमा हेर्ने मान्छेहरूको यति भिड थियो कि ठेलाठेल गर्दै हामी हलभित्र पस्दै थियौं । कसैको जब्बर हातले मेरो शरीरलाई बेस्सरी मुसार्यो (पातली, सानी फुच्ची केटीको शरीर, मुसार्नेलाई के सन्तुष्टि मिल्यो होला । तर, म बेस्सरी आत्तिएँ ।)

पहिलोपल्ट शारीरिक दुर्व्यवहारको शिकार भएकी म यतिबेला जब तीन वर्षका पाँच वर्षका कलिला बालिकाहरू बलात्कृत भएको सुन्छु, तब लाग्छ, मान्छेको मस्तिष्क सदियौंदेखि यौनको मामिलामा अस्वस्थ र पागल छ ।

सोचेँ– मजस्तो बच्चीको शरीरलाई त यस्तो गर्छन्, अरू तरूनी शरीरहरूलाई त्यो भिडमा केके गर्छन् होला ? यस्तै घटनाहरूबाट मेरो बाल मस्तिष्कमा एक प्रकारको छाप बस्दै गयो । मैले बुझ्दै गएँ, हाम्रो समाज र संस्कृति महिलाहरूको लागि मैत्री छैन ।

जति ठूली हुँदै गए, त्यति मैले हाम्रो समाजमा हुने महिलाप्रति गरिने विभेदहरू देख्दै गएँ । मैले जून घरपरिवार, छिमेक र गाउँलाई राजदरबार जस्तै सुरक्षित र सुखसयल भएको महसुस गर्थें, त्यहीँ मैले विभेदका स्वरूपहरू बिभिन्न रूपमा देख्न र महसुस गर्न थालेँ ।

हामी सानो छँदा पनि अनमेल विवाह गर्ने, वृद्ध लोग्ने चाँडो मर्ने, विधुवा पत्नीले जीवनभरि अर्को विवाह नगर्ने र त्यही एकल महिलालाई बोक्सीको आरोप लाग्ने, बिभिन्न चारित्रिक लान्छना लाग्ने घटनाहरू देख्दै जान थाले । अचम्म र चित्त नबुझ्ने कुरा के थियो भने, पत्नी मरेकी लोग्ने मान्छेले भने झन् भर्खरकी महिलासँग दोस्रो विवाह गरिहाल्थे । विवाह नगरी बसेका एकल लोग्ने मान्छेलाई बोक्सो भनेको, हेपेको, डामेको, दिसा खुवाएको कहिल्यै सुनिएन ।

२०४६ सालमा प्रजातन्त्र आउँदा म निकै सानी थिएँ । तर बाल र्यालीमा प्रजातन्त्र जिन्दावाद, पञ्चायती व्यवस्था मूर्दावाद भन्दै प्लेकार्ड बोकेर झुम्का बजार घुमेको अझै याद छ । २०५० को चुनावी माहौलमा झुम्का बजारमा एउटा ठूलो आमसभा थियो । विद्या भण्डारीको प्रतिक्षामा सम्पूर्ण सुनसरीका मान्छेहरू झुम्काको बजारमा खचाखच भरिएका थिए । भर्खरै बिधवा भएकी महिला नेत्री विद्या भण्डारीलाई हेर्न र सुन्न हामी पनि गर्मी र प्यासको वास्ता नगरी घन्टौं पर्खिएर बसेका थियौं ।

अहिले म जति वर्षकी भए, त्यति नै वर्षकी विद्या भण्डारी सेतो सारी लगाएर मन्चमा उक्लिन् र भाषण गर्न थालिन् । उनलाई देखेर त्यतिबेला मलाई लाग्थ्यो – राजनीति गर्ने, विशेष गरी कम्युनिस्ट पार्टीमा लाग्ने महिलाहरूले सायद विभेद भोग्नु पर्दैन होला ।

त्यतिबेला सम्ममा हामीले रसियन कम्युनिस्ट साहित्यका नेपाली अनुवाद साहित्य, मोदनाथ प्रश्रित र प्रदीप नेपालका पुस्तकहरू पढ्ने अवसर पाइसकेका थियौं । यस्तो लाग्थ्यो , कम्युनिस्ट समुदायमा महिलाप्रति विभेद हुँदैन र मनमनै सोच्थें– म सधैं कम्युनिस्ट भइरहनेछु ।

विद्या भण्डारीले अत्यन्त लोकप्रियताका साथ चुनाव जित्नुभयो । केहि वर्षमा म पनि ‘टिनएजर’ भएँ । नेपाली राजनितीप्रति मलाई बडो उत्सुकता थियो । ठूलो भएपछि तिमी के बन्छौ भन्दा म भन्थें– नेपालको पहिलो महिला प्रधानमन्त्री बन्छु ।

स्कुल पढ्दा पढ्दै मलाई अन्तस्करणबाट प्राप्त भएको ज्ञान थियो- निर्णायक तहमा नपुगिकन र आर्थिकरूपमा आत्मनिर्भर नभइकन स्वतन्त्र र विभेदरहित जिन्दगी बाँच्न सकिन्न । हामीलाई परिवारबाट पनि छोरी मान्छेले झन् राम्रोसँग पढ्नुपर्छ । भविष्यमा आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ भनेर निरन्तर प्रेरणा दिनुहुन्थ्यो । निर्णायक तहमा पुग्नलाई राजनीति गरेर नियम–कानुन बनाउने प्रतिनिधि सभामा पुग्नुपर्छ भन्ने लाग्थ्यो मलाई ।

विद्या भण्डारीले चुनाव जितेको केही वर्षपछि उहाँको चरित्रलाई लिएर नेपाली मिडियामा निकै नकारात्मक कुराहरू आउन थाले । मदन भण्डारी जीवित हुँदै विद्या भण्डारीले पनि नेपाली राजनीतिमा सक्रिय भूमिका निभाउनुभएको थियो । उहाँको त्यो योगदानको कहिल्यै चर्चा भएको सुनिएन ।

केहि वर्षसम्म मलाई विद्या भण्डारीले दोस्रो विवाह गरे हुन्थ्यो भन्ने लागिरहन्थ्यो । उहाँमाथि गरिने घोचपेचहरूले मलाई हाम्रो समाज एकदमै असुरक्षित छ भन्ने बोध गराइरहन्थ्यो । म उहाँलगायत सम्पूर्ण महिलाहरूलाई सुरक्षित देख्न चाहन्थेँ सायद । मेरो अविकसित मस्तिष्कले सोच्ने गर्थ्यो- कुनै दिन विद्या भण्डारीलाई पनि बोक्सी भनेर दुर्व्यवहार गरे भने कसरी हेर्ने ? सुन्ने ? अनि उहाँलाई न्याय कसले दिने ? उहाँले बोक्सी भनेर अपमानित हुनु परेन । तर, त्यो दिनदेखि आजसम्म आइपुग्दा उहाँले सुन्नुपरेको चारित्रिक लान्छना के बोक्सीको आरोपभन्दा कम छ र ?

आफू सँगसँगै कम्युनिस्ट आन्दोलनमा सहयात्री भएर हिँडेका अथवा पछि आएका कामरेडहरूले बारम्बार खुलेआम उहाँको चरित्रमाथि व्यंग, आरोप र अश्लील जोक गरिरहँदा, त्यो अपमानको घुट्को पिउन कति गाह्रो हुन्छ होला ! नेपाली राजनितीमा सिंगो जीवन नै अर्पित गरेको जस यहि हो ?

चरित्र भनेको के हो ? कोहीसँग सुत्नु अथवा नसुत्नु चरित्र हो कि ! अथवा कोही विपरीत लिंगीसित सँगसँगै सहकार्य गर्नु, सँगै खानु, सँगै हिँड्नु नै चरित्रको परिभाषा हो ? चरित्र भन्ने कुरा महिलाको हकमा मात्र लागू हुने हो कि अथवा कर्तव्यनिष्ठ भएर आफू हिँडेको बाटोमा निरन्तर हिँडिरहनु चरित्र हो ? आफ्नो देश र समाजको लागि सधैं भलो हुने काम गर्नु, कसैलाई दु:ख नदिनु, नराम्रो व्यवहार नगर्नु पो चरित्र हो । अथवा के हो चरित्र ?

अरबौंको भष्ट्राचार गर्नेहरू चरित्रहीन हुन्छन्, हुँदैनन् ? दिनदिनै नयाँनयाँ स्त्रीका शरीरसँग भोग गर्नेहरू चरित्रहीन हुन्छन् कि हुँदैनन् ? प्रमाणबिना कोही नारीमाथि चरित्रहीनताको आरोप लगाउने अधिकार तपाईं कम्युनिस्ट र अकम्युनिस्ट नेता भनाउँदाहरूलाई कसले दियो ?

नेपाली राजनीतिमा निर्णायक तहमा पुगेका अन्य महिलाहरू पनि छन् । श्रीमान् भएका ती महिलाहरूमाथि चारित्रिक कमेन्ट गरेको मैले सुनेकी छैन । सधैं विद्या भण्डारीलाई नै किन चरित्रको बात लगाइन्छ ? के एकल महिलाले माथिल्लो ओहोदामा पुग्नु हुँदैन ? उहाँको काम र योग्यतामाथि बहस गरौं न ! उहाँलाई रचनात्मक सुझाव दिने गरौं न ! एउटा राष्ट्रपति जस्तो ओहोदामा बसेको महिलामाथि त यस्तो आरोप र व्यवहार गरिन्छ भने अन्य सर्वसाधारण नेपाली महिलामाथि कस्तो व्यवहार भै राखेको होला ?

विद्यार्थी राजनीतिमा सक्रिय हुँदै गएपछि मेरो आत्मनिर्भर महिला हुने योजनामाथि तुषारापात भयो । राजनीतिमा स्थापित हुन निकै त्याग, तपस्या र बलिदान गर्नुपर्ने रहेछ भन्ने थाहा पाएपछि म पत्रकारिता पढ्न थालें ।

मैले काम गर्ने मिडियाका सम्पादकले एक दिन मलाई एउटा फिल्ड रिपोर्टिङमा पठाउनुभयो । माइक्रो बसभरि आठ/नौजना पुरुष पत्रकार थिए र म एक्ली महिला पत्रकार । कलंकीबाट हामीले मलेखुनिर स्थापना भएको राजमार्ग अस्पतालको उद्घाटनमा जानु थियो । स्कुल पढ्दा पनि जिल्लास्तरीय कार्यक्रमहरूमा प्राय: म एक्लै महिला विद्यार्थी सहभागी हुन्थेँ । केटाहरूको ग्रुपमा सँगै बस्ने, पढ्ने र हिँड्ने बानी लागेको थियो । अत: मलाई केटा सहकर्मी अथवा साथीसँग कहिल्यै डर लाग्दैन थियो । त्यतिबेला पनि मलाई कुनै पुरुष पत्रकारसँग डर लागेन ।

त्यो ट्रिपमा अस्पताल पुगुन्जेल बाटोभरि काठमाडौं नाम चलेका महिला नेता, नेपाल टेलिभिजन र अन्य मिडियामा काम गर्ने मैले अति आदर गर्ने दिदीहरूका बारेमा विभिन्न एनजीओहरूमा काम गरिरहेका प्रभावशाली महिलाहरू र भर्खरै नेपाली मिडियामा प्रवेश गरेका शारीरिक रूपमा आकर्षक महिलाहरूको ‘सो कल्ड चरित्र’को बारेमा पुरुष साथीहरूले निकै चर्चा गरे ।

मलाई त्यो ट्रिपमा कसैले शारीरिक दुर्व्यवहार गर्ने प्रयास गरेन । तर, मानसिक दुर्व्यवहारको शिकार भएर म काठमाडौं फर्किएँ । पत्रकारिता मेरा लागि नयाँ क्षेत्र थियो । त्यो ट्रिपले म कस्तो क्षेत्रमा प्रवेश गर्नेबारे सोच्दै छु भनेर पुनर्विचार गर्न बाध्य बनाइदियो । त्यसपछि केही समय मैले एउटा एफएममा रिपोर्टिङको काम गरेँ ।

रिपोर्टिङ गर्न जाँदा केही मजस्तै नयाँ महिला रिपोर्टरहरूसँग बस्न खोज्थेँ । हामी पुरूष पत्रकारको तुलनामा निकै कम हुन्थ्यौं । कता कताबाट पुरूष पत्रकारहरू हाम्रो जिउमा हात हाल्न आइपुग्थे । कहिले हामी डटपेनले औंलामा मर्ने गरी हानिदिन्थ्यौं, कहिले हामी चिमोटीदिन्थ्यौं । कार्यक्रम सकिएपछि हामी महिला रिपोर्टरहरू एकअर्कासँग यस्तो कुरा र अनुभव बारेमा चर्चा गर्थ्यौं । हामीलाई सार्वजनिक स्थलमै दुर्व्यवहार गर्न आउने त्यस्ताहरूलाई उठेर गाला चड्काउने हिम्मत किन आएन ? अहिले म सोच्ने गर्छु ।

अहिले अस्ट्रेलिया आएको एघार वर्षपछि पनि म नेपालमा महिलाहरूमाथि गरिने कमेन्ट र मिडिया कभरेज देखेर उत्तिकै स्तब्ध हुन्छु । जुन देशमा देशकै उच्चस्तर ओहोदामा पुगेकी महिलामाथि यतिसम्म निकृष्ट लान्छना लगाइन्छ, त्यो समाजमा अन्य महिलामाथि कतिसम्म अत्याचार गरिन्छ होला ?



Source link