बालबालिकाको लागि समय व्यवस्थापन

बालबालिकाको लागि समय व्यवस्थापन

बच्चाका लागि उठ्ने र सुत्ने तालिका निश्चित गरौं । सकेसम्म राती चाडै सुत्न दिनुपर्छ । बच्चाको सुत्ने समय ८ वा ९ घण्टा छुट्याउनुपर्छ । यस हिसाबले राती कतिबेला सुत्छ, त्यसको ८÷९ घण्टापछि बच्चालाई उठाउनुपर्छ । वा, उठ्ने बानी गराउनुपर्छ ।

सकेसम्म बच्चा सुत्ने समयमा परिवारका अरु सदस्यहरुले पनि सुत्ने तालिका तय गरौं । आफु टिभी हेर्ने वा कुराकानी गर्दै बस्ने र बच्चालाई चाहि जबरजस्ती सुनाउने प्रयास त्यती फलदायी नहुन सक्छ । त्यसैले बच्चाका लागि आफु पनि निर्धारित समय तालिका अनुसार सुत्ने र उठ्ने गरौं । यो बच्चाका लागि मात्र होइन, आफ्नो लागि पनि फाइदाको कुरा हो ।

बच्चालाई दिनमा चार वा पाँच पटक खानेकुरा ख्वाउनुपर्छ । यस हिसाबले समयको विभाजन गरौं, ताकि उनीहरुलाई अपच नहोस् र भोक पनि नलागोस् । अर्थात निश्चित समयअवधीमा खानेकुरा दिने गरौं । बिहान उठेपछि ब्रेकफास्ट, खाना, नास्ता फेरी खाना । यसरी खानेकुराको तालिका तय गरौं ।

यसले गर्दा बच्चाले निश्चित समयमा खाने गर्छन् । उनीहरुको स्वास्थ्यका लागि फाइदाजनक कुरा हो । साथसाथै यसले समय व्यवस्थापनमा पनि प्रभावकारी काम गर्छ ।

बच्चाको दैनिक तालिका तय गर्दा उनीहरुको खेल्ने वा मनोरञ्जन गर्ने समय छुट्याउनुपर्छ । बिहानको समय भन्दा पनि साँझ घर फर्केपछि उनीहरुलाई खेल्नका लागि अतिरिक्त समय मिलाइदिने गरौं । र, यसका लागि सकेसम्म आउडडोर गेममै प्रेरित गरौं । मोवाइल, ल्यापटपको गेमलाई निरुत्साहित गरौं ।

यसबाहेक होमवर्क वा पढाई पछि निश्चित समय टिभी हेर्न दिनुपर्छ । टिभीमा सकेसम्म बाल कार्यक्रम वा कार्टुन च्यानलहरु उपयोगी हुन्छन्, जो बच्चाको मनोविज्ञान अनुसार तयार गरिएको हुन्छ ।

दिनभरको तालिकामा पढ्ने र होमवर्क गर्ने समय तालिका पनि निर्धारण गरौं । साँझ खेलेर आइसकेपछिको समय यसका लागि उपयुक्त हुन्छ । कति अभिभावकले बच्चालाई स्कुलबाट फर्कनसाथ होमवर्क गराउन बाध्य पार्छन् । स्कुलमा पढेर आएका उनीहरुलाई केहि समय विश्राम चाहिन्छ । दिनभर स्कुलमा विताएका उनीहरु त्यस लगत्तै पढ्न बस्दा त्यो सिकाइ प्रभावकारी हुँदैन ।

अभिभावकले के बुझ्नुपर्छ भने, बच्चाले होमवर्क गर्ने वा पढ्ने भनेको शिक्षकका लागि होइन । आफैले बुझ्न वा जान्नका लागि हो । त्यसैले यसका लागि हतार गर्न जरुरी छैन । बच्चा जब फ्रेस हुन्छ, तब होमवर्क वा पढाइमा समय दिनुपर्छ ।

यो सप्ताहान्तमा पारिवारिक वैठक बस्ने गरौं । वैठकमा आफ्ना बच्चाहरुलाई भनौ कि स्कुल टाइमदेखि लिएर बेड टाइमसम्मको दिनचर्या अबदेखि फरक हुन्छ । उनीहरुलाई अब के गर्नुपर्छ भन्ने बिस्तारमा बताउने । राति सुत्नुभन्दा अगाडि सबै काम सक्नुपर्छ भन्ने राम्ररी सम्झाउनुपर्छ ।

बच्चाहरुले स्कुलबाट घर आएपछि के गर्नुपर्छ भनेर नियम बनाइदिने गरौं । जस्तो कि जुत्ता, ज्याकेट वा ब्यागलाई आफ्नो ठाउँमा राख्ने । लन्च बक्स र पानीको बोतल खाली गर्ने । त्यसपछि होमवर्क गर्न बस्ने । उनीहरुलाई यो पनि बताइदिने कि आफ्नो काम गरेनन् भने त्यसको परिणाम के हुन्छ ।

साँझ पर्नुभन्दा केही अगाडिको समय बच्चाहरुलाई रमाएर खेल्न दिने गरौं, आफ्नो इच्छाको काम गर्न दिनुपर्छ । यदि बच्चामा धेरै जोश छ भने केही बेर साइकल चलाउन दिनुपर्छ, बच्चा थाकेको छ भने स्न्याक्स खुवाउने गरौं । तर, यसका लागि पनि सिमित समय छु्ट्याउनुपर्छ ।

होमवर्कलाई दुई वा तीन भागमा विभाजित गर्नु राम्रो हुन्छ । राति सुत्नुभन्दा अगाडि  ३ पटकसम्म होमवर्क गराउन सकिन्छ । कुनै बास्केट वा सानो ठाउँ निश्चित गरौं जहाँ बच्चाका आवश्यकताका कुराहरु राखिएको होस । यही ठाउँमा बच्चाको ती चिजहरु पनि राखौं जुन उनीहरुले बाबुआमालाई देखाउनुपर्ने छ । शिक्षकले दिएका नोट्स, स्कुलमा हुने कार्यक्रमको सूचना । यसो गर्दा बिहान–बिहानको टेन्सनबाट बच्न सकिन्छ ।

रातको खानापछि टिभी हेर्न वा मोबाइल चलाउन नदिने । यतिबेला साना बच्चाहरुको ओछ्यानमा जाने समय पनि हुन थाल्छ । यही बेला बच्चाहरुलाई बिहानका लागि ब्याग तयार गर्न लगाउनुपर्छ । बच्चाहरु बेडमा जाने समय निश्चित गरौं । साथै बिहान निश्चित समयमा उठ्न प्रेरित गरौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0