ढड्डा प्रणालीदेखि डिजिटल बैङ्कसम्मको यात्रा – Online Khabar


कुनै समय टाट पल्टिने अवस्थामा पुगिसकेको राष्ट्रिय वाणिज्य बैङ्कको वित्तीय सूचकाङ्क आज सन्तोषजनक अवस्थामा पुगी सक्षम बैङ्कका रूपमा बजारमा प्रतिस्पर्धा गरिरहेको छ । वि.सं.२०२२ साल माघ १० गते तत्कालीन राजा महेन्द्रबाट उद्घाटन गरिएको यस बैङ्कले ५५ वर्ष पूरा गरी आजबाट ५६ औं वर्षमा प्रवेश गर्दासम्म देशको वित्तीय स्रोतको उच्चतम परिचालनबाट आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान गर्दै आइरहेको छ ।

बैङ्क स्थापनाकालमा देशको सीमा क्षेत्र र अधिकांश भागमा भारतीय मुद्रा चलनचल्तीमा थियो । त्यसताका नेपाली मुद्राको चलनचल्ती बढाउने, छरिएर रहेको बचतलाई सङ्कलन गरी उद्योग र वाणिज्य क्षेत्रमा स्रोतको परिचालनबाट रोजगारी सृजना गर्ने, वित्तीय पहुँचको विस्तार गर्ने, आर्थिक विकास र वित्तीय स्थायित्व कायम गर्न सघाउ पुर्याउनु बैङ्कको उद्देश्य रहेको थियो ।

सुरुको अवस्थामा जनशक्तिमा आधारित रहेर ढड्डा प्रणालीबाटै बैङ्कले वित्तीय स्रोत साधनको परिचालन गरी आम नागरिकमा बैङ्किङ सेवा दिई नागरिकलाई बैङ्किङ कारोबारमा आकर्षण हुन सिकाइरहेको थियो । त्यस बेलासम्म नेपाली बैङ्किङ क्षेत्रमा बैङ्कका अन्तर्राष्ट्रिय आधारभूत नियमहरू, मापदण्डहरू लागू भएका थिएनन् ।

वि.सं. २०४१ सालपछि निजी क्षेत्रबाट नेपालमा तत्कालीन नेपाल अरब बैङ्क -हालको नबिल बैङ्क) को स्थापना भएपछि नेपालमा प्रविधिमा आधारित प्रतिस्पर्धी आधुनिक बैङ्किङ सेवाको सुरुवात भयो । तत्पश्चात् नेपालमा बैङ्कका आधारभूत मापदण्डका नियमहरू विस्तारै लागू हुँदै जान थाले ।

बैङ्कका आधारभूत मापदण्डका नियमहरू, जस्तै- ब्याजदर गणना विधि, आम्दानी गणना, कर्जा प्रोभिजनिङ व्यवस्था, कर्जाको वर्गीकरण, पुँजी वृद्धि, जोखिम भारित सम्पत्तिमा आधारित पुँजी व्यवस्था, सरकारी जमानत, टेलर सिस्टम, कर्जा, असुलीसम्बन्धी व्यवस्था, मानव संशाधन विकास, सम्पत्ति व्यवस्थापन, वासलात ल्ाागू भएपछि बैङ्कहरू व्यावसायिक हुन थाले ।

अन्य सरकारी स्वामित्वका बैङ्कहरूमा जस्तै राष्ट्रिय वाणिज्य बैङ्कमा पनि व्यवस्थापन, लेखा, अर्थशास्त्रसम्बन्धी पढेका दक्ष जनशक्तिलाई अवसर नदिई विनाप्रक्रिया तोक आदेशको भरमा सिधै अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई भर्ती दिइयो र बैङ्कले लगानी गरेका कर्जाहरू बिग्रँदै जान थाले । फलस्वरूप बैकको वित्तीय अवस्था कमजोर भई साख खस्कियो ।

बैङ्क लामो समयसम्म लगातार घाटामा सञ्चालन भइरहँदा टाट पल्टिने अवस्थामा पुगेपछि सरकारले बैङ्कलाई जोगाउन विभिन्न अध्ययन रिपोर्टहरूका सुझावका आधारमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू गर्‍यो ।

वित्तीय क्षेत्र सुधार कार्यक्रम

विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र डिएफआईडीको सहयोगमा आएको वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत राष्ट्रिय वाणिज्य बैङ्कको वित्तीय अवस्था सुधारका लागि वि.सं. २०५९ माघ २ गतेबाट व्यवस्थापन करारमा दिइयो । यस क्रममा अमेरिकी नागरिक ब्रुस एफ. हेन्डरसनको नेतृत्वमा आठ सदस्यीय व्यवस्थापन समिति र १० जना चाटर्ड एकाउन्टेन्ट सहित १८ जनाको समूहले बैङ्क व्यवस्थापन जिम्मा सम्हाली भाखा नाघेको कर्जा घटाइयो ।

प्रविधिको प्रयोगबाट बैङ्किङ सेवा दिन थालियो । लामो समयदेखि नभएका लेखापरीक्षणहरू अद्यावधिक हुन थाले । शाखा व्यवस्थापन, पुँजी वृद्धिको लागि योजना पेस, आवश्यक नीति नियम, कार्यविधिको निर्माण, मुनाफा वृद्धि, कर्मचारी स्वेच्छिक अवकाश कार्यक्रम ल्याई कर्मचारीहरूको सङ्ख्या घटाइयो । कर्मचारीको उत्पादकत्व बढ्न थाल्यो । परिणामस्वरूप भाखा नाघेको कर्जा ६० प्रतिशतबाट हाल चार प्रतिशतमा झरेको छ ।

२२ अर्ब रुपैयाँले ऋणात्मक रहेको बैङ्कको खुद सम्पत्ति हाल २४ अर्बले धनात्मक रहेको छ । प्रायः घाटामा सञ्चालन हुने गरेको यस बैङ्कले हाल नेपालको बैङ्किङ क्षेत्रमा सबैभन्दा बढी खुद मुनाफा गर्न थालेको छ । करिब ६ को वर्ष वित्तीय क्षेत्र सुधार कार्यक्रमले बैङ्कको वित्तीय स्वास्थ्यमा अक्सिजनको काम गरेकाले यसबाट बैङ्कले उल्लेख्य उपलब्धी हासिल गरी बैङ्कको वित्तीय अवस्थामा सुधार ल्याई प्रतिस्पर्धी क्षमता, ख्याती र बैङ्कप्रतिको जनभरोसालाई बढाएको छ । वित्तीय क्षेत्र सुधार कार्यक्रमपछि कार्यक्रम सम्हालेका मध्येका एक सदस्य जनार्दन शर्माले प्रमुख कार्यकारी अधिकृतका रूपमा बैङ्कमा कार्यरत रही बाँकी सुधार कार्यलाई निरन्तरता दिए ।

त्यसपछि वि.सं. २०६८ सालमा बैङ्कमा लामो समयसम्म कार्य गरेका कृष्णप्रसाद शर्मा खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रूपमा आए । उनको कार्यकालमा सम्पादन भएका बैङ्कमा नयाँ कर्मचारीहरू नियुक्ति, एबीबीएस प्रणालीको विकास, कर्जा असुली, ठुला आयोजनाहरूमा व्यवसाय वृद्धि, एसेट्स क्वालिटी, शाखा विस्तार जस्ता महत्त्वपूर्ण कार्यहरूले बैङ्कको प्रतिस्पर्धी क्षमता बढ्न थाल्यो ।

वास्तविकता

बैङ्कको सम्पत्ति तथा स्रोत साधन पर्याप्त भएर पनि त्यसको अधिकतम सदुपयोग हुन सकिरहेको थिएन । यसैबीच दोस्रो खुला प्रतिस्पर्धाबाट नेपाल बैङ्कमा महाप्रबन्धक भई कार्य गरिसकेका किरणकुमार श्रेष्ठ पहिलो चार वर्षे कार्यकालका लागि वि.सं. २०७२ सालमा बैङ्कको प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त भए ।

श्रेष्ठको कार्यकालमा बैङ्कको व्यवसाय वृद्धि, शाखा विस्तार, कर्जा असुली, नयाँ कर्मचारीहरूको नियुक्ति, कर्मचारीहरूको दक्षता अभिवृद्धि, डाटाबेस सेन्ट्रलाइज, वैकल्पिक च्यानलको विकास, सहुलितपूर्ण कर्जा लगानी, ग्राहक सेवा, डिजिटल बैङ्किङ, लेआउट तथा सम्पत्ति व्यवस्थापन, एनआईडीसीलाई मर्जर, विभिन्न सङ्घ संस्थाहरूसँग समझदारी, मिडियासँगको सम्बन्धजस्ता कार्यहरूले प्राथमिकता पाए । फलस्वरूप यस बैङ्कको उत्पादकत्व बढ्यो र लागत घट्यो ।

सबैभन्दा सस्तो ब्याजदरमा कर्जा लगानी भई बैङ्कको मुनाफामा अत्यधिक वृद्धि भई आ.व. २०७५/०७६ मा मुनाफा बैङ्किङ क्षेत्रकै सबैभन्दा बढी पाँच अर्ब पाँच करोड रुपैयाँ पुग्यो । श्रेष्ठको व्यावसायिक योजनाअनुरूप बैङ्कका अधिकांश वित्तीय सूचकाङ्कहरू सकारात्मक भए र बैङ्कले प्रथमपटक नेपाल सरकारलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्यो ।

आ.व. २०७४/०७५ मा राष्ट्रिय वाणिज्य बैङ्क, वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा रह्यो र नेपाल सरकार अर्थ मन्त्रालयद्वारा सम्मानित हुन पुग्यो ।

हाल ३० लाखभन्दा बढी ग्राहकलाई २ सय ४५ भन्दा बढी शाखाहरूबाट आधुनिक, भरपर्दो, ग्राहकमैत्री बैङ्किङ सेवा दिइरहेको यस बैङ्कले २ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैङ्कले खासगरी उद्योग, व्यापार, कृषि, हायरपर्चेज, विपन्न वर्ग, आयात/निर्यात, जमानत, शिक्षा, पर्यटन, जलविद्युत्, पूर्वाधार, व्यक्तिगत जस्ता क्षेत्रहरूमा वित्तीय स्रोत उपलब्ध गराई रोजगारी सृजना तथा देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गरिरहेको छ ।

बैङ्कले सीप, क्षमता र योजना भएका तर पुँजी र धितो नभएका युवाहरूलाई लक्षित गरी विनाधितो बिउ पुँजीका रूपमा १५ लाख रुपैयाँसम्म १० ओटा शीर्षकमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराई नागरिकलाई उत्पादनसँग जोड्ने उद्देश्य बोकेको सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ कार्यक्रमलाई सघाउ पुर्याइरहेको छ ।

एकै प्रकृतिका दुईभन्दा बढी सरकारी संस्थाहरूलाई मर्जर गर्ने नीतिअनुरूप वि.सं. २०१६ मा स्थापना भई औद्योगिक क्षेत्रमा लगानी गर्दै आइरहेको एनआईडीसी डेभलपमेन्ट बैङ्कलाई राष्ट्रिय वाणिज्य बैङ्कमा वि.सं. २०७५ बैशाख १९ गते मर्ज गरेपछि बैङ्कको सम्पत्ति, संरचना र व्यवसायमा वृद्धि भई आम नागरिकले थप कम लागतमा बैङ्किङ सेवा उपभोग गर्न पाइरहेका छन् । बैङ्कले पुँजी बजारको थप विकास गर्न र पुँजी बजारको लाभ दूरदराजमा रहेका नागरिकमा पुर्याउनका लागि सहायक कम्पनीको रुपमा आरबिबि मर्चेन्ट बैङ्किङको सेवा सञ्चालन गरिरहेको छ ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको नेतृत्वमा सञ्चालन भएको क्लिन एन्ड स्मार्ट आरबीबी विथ कन्सोलिडिएसन अभियानले लामो समयसम्म थन्केर बसेका, प्रयोगमा नआएका सम्पत्तिहरूको कार्यविधिअनुसार धुल्याई बैङ्कलाई भौतिक एवं हरेक तवरबाट सफा र स्वच्छ बनाउन सहयोग पुगेको छ । विभिन्न कारणले लामो समयदेखि असुली हुन नसकेका भुक्तानी समय नाघेका अर्बौं मूल्यका कर्जाहरुको असुली, लिलामी तथा बैङ्कले त्यस्ता सम्पत्ति सकार गरी बैङ्कलाई वित्तीय रूपमा सबल र स्वस्थ बनाउने कार्य यस अवधिमा सम्पन्न भएका छन् ।

त्यस्तै लामो समयदेखि मिलान हुन नसकेका विभिन्न हिसाबहरु मिलान गर्ने कार्यले प्राथमिकता पाई रिकन्सिलेसन सिस्टमलाई चुस्त दुरुस्त बनाइएको छ ।

सूचना प्रविधि र अन्य

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको कोर बैङ्किङ सˆटवेयर -सीबीएस) डिस्टि्रब्युटेड डाटाबेस प्रणालीबाट सेन्ट्रलाइज डाटाबेस प्रणालीमा परिवर्तन गरिएको छ । कोर बैङ्किङ प्रणालीलाई सेन्ट्रलाइज डाटाबेस प्रणालीमा परिवर्तन गरेपछि बैङ्कमा डाटाको विश्वसनीयता बढ्ने, रिपोर्टहरू निकाल्न सजिलो हुने, वैकल्पिक वितरण माध्यमहरूको कार्यसम्पादनमा वृद्धि भई ग्राहकहरूलाई थप आधुनिक, डिजिटल र भरपर्दो बैङ्किङ सेवा प्रवाह गर्न सहज हुने छ ।

बैङ्कले वैकल्पिक च्यानलहरू एटीएम सेवा, मोबाइल बैङ्किङ, अनलाइन बैङ्किङ, पोस सेवा, सी-आस्वा, कनेक्ट आईपीएस, क्यूआरकोड, शाखारहित बैङ्किङमार्फत विद्युतीय कारोबार गर्न सकिने गरी मजबुत सूचना प्रविधिको व्यवस्था गरेको छ । अहिले बैङ्कको कुल कारोबार सङ्ख्याको ६० प्रतिशत भन्दा बढी कारोबार विद्युतीय माध्यबाट हुने गरेको छ ।

खास गरी पछिल्लो समय युवा पुस्ता प्रविधिमा बढी अभ्यस्त भइरहँदा शाखामा उपस्थित भएर लिने परम्परागत बैङ्किङ सेवामा परिवर्तन आएको छ । विश्वको जुनसुकै कुनाबाट बैङ्किङ सेवा लिन सक्ने डिजिटल बैङ्कको मोडल विकास भइरहेको विश्व परिवेशलाई राष्ट्रिय वाणिज्य बैङ्कले पनि आत्मसाथ गरिरहेको छ ।

बैङ्किङ व्यवसाय जोखिमयुक्त छ । बैङ्किङ व्यवसायमा नयाँ-नयाँ तवरबाट बैङ्किङ प|mडका घटनाहरू देखिन थालेकाले कम्प्लायन्सका बुँदाहरू कडाइका साथ लागू गर्नु जरुरी भएको छ । तसर्थः राष्ट्रिय वाणिज्य बैङ्कले पछिल्लो केही वर्षमा आˆना सम्पूर्ण कर्मचारीहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम, विषयगत स्वदेशी तथा विदेशी बैङ्किङ तालिमहरू प्रदान गरी नियमित रूपमा कर्मचारीको दक्षता अभिवृद्धि गरिरहेको छ ।

अनिवार्य अवकाशका कारण ठुलो सङ्ख्यामा कर्मचारीको अवकास भएपछि राष्ट्रिय वाणिज्य बैङ्कले चाटर्ड एकाउन्टेन्ट, एमबीए, सूचना प्रविधि अधिकृत, सूचना प्रविधि सहायक, वित्तीय विश्लेषक, कृषि अधिकृत, कानुन अधिकृत, इन्जिनियर जस्ता विषय पढेर लोक सेवाको परीक्षा उत्तीर्ण गरी आएका दक्ष युवा कर्मचारीहरूबाट सेवा दिइरहेको छ ।

अहिले राष्ट्रिय वाणिज्य बैङ्कमा युवा कर्मचारीको हिस्सा ठूलो छ । कर्मचारीहरूको औसत उमेर ३६ वर्ष मात्र रहेकाले पनि बैङ्क आˆना ग्राहकलाई छिटो र चुस्त डिजिटल बैङ्किङ सेवा दिन तत्पर छ, सक्षम छ ।

अझै नागरिकको ठुलो हिस्स्ाा वित्तीय सेवाको पहुँचबाट वञ्चित छ । राष्ट्रिय वाणिज्य बैङ्कले आˆना हरेक शाखाहरूबाट प्रत्येक त्रैमासमा वित्तीय चेतनामूलक वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी नागरिकमा बैङ्किङ सेवाको बारेमा शिक्षा दिइरहेको छ ।

बैङ्कले नियमानुसार आˆनो नाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व -सीएसआर) मा छुटयाई समाजमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद, सामाजिक कार्य तथा मानवीय कार्यमा बर्सेनी खर्च गर्दै आइरहेको छ । गत वर्ष सीएसआरमा उत्कृष्ट कार्य गरेबापत बैङ्कले अन्तर्राष्ट्रियस्तरको एसिया मनी अवार्डसमेत प्राप्त गरेको छ ।

राष्ट्रिय बैङ्क दिवस

हरेका वर्षको डिसेम्बर ४ का दिनलाई अन्तर्राष्ट्रिय बैङ्क दिवसको रूपमा मनाउने चलन छ । नेपालमा आधुनिक बैङ्कको सुरुवात भएको लामो समय भइसक्दा पनि सबैले मान्ने, मनाउने राष्ट्रिय बैङ्क दिवस हालसम्म प्रचलनमा आउन सकेको छैन ।

नेपालको पहिलो बैङ्क नेपाल बैङ्कको स्थापना दिवस कार्तिक ३० गते वा केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कको स्थापना दिवस बैशाख १४ गते वा अरू कुनै एक दिनलाई राष्ट्रिय बैङ्क दिवसको रूपमा मनाउन सकिन्छ । सो दिन बचत, लगानी, कर, कर्जा, बजेट तथा वित्तीय सेवाका बारेमा आम नागरिकमा चेतना जगाई वित्तीय शिक्षाको ज्ञानमार्फत बढिरहेको अनौपचारिक आर्थिक कारोबारलाई औपचारिक कारोबारमा रूपान्तरण गर्न सघाउ पुर्याउन सकिन्छ ।

विभिन्न आर्थिक एकाइहरूमा छरिएर रहेका बचतलाई सङ्कलन गरी आवश्यक क्षेत्रमा वित्तीय साधन परिचालन गर्दै आइरहेको राष्ट्रिय वाणिज्य बैङ्क विभिन्न वित्तीय सूचकाङ्कहरूका आधारमा नेपालको पहिलो बैङ्क हो । सरकारी संस्थानहरुको  सेवा प्रवाह चुस्त, दुरुस्त र ग्राहकमैत्री हुँदैनन्, भौतिक सम्पत्तिहरु भाँचिएका, पुराना, बिगि्रएका हुन्छन्, कार्यालयहरु सफा हुँदैनन् भन्ने आममानिसको धारणालाई राष्ट्रिय वाणिज्य बैंकले गलत साबित गरिरहेको छ ।

अहिले राष्ट्रिय वाणिज्य बैङ्कको सेवा प्रणाली, भौतिक पूर्वाधार, ग्राहकसँगको व्यवहार, सरसफाइ, गुनासो सुन्ने प्रणाली, व्यवस्थापन सूचना प्रणाली कुनै निजी प्रतिस्पर्धी बैङ्कको भन्दा कम छैन, जुन बैङ्कको शाखामा गएर प्रत्यक्ष अनुभव गर्न सकिन्छ ।

यस बैङ्कले आम नागरिकलाई बैङ्किङ प्रणालीमा आबद्ध हुन सिकाउँदै अर्थात् वित्तीय शिक्षा दिँदै सरकारी नीतिको कार्यान्वयमा सघाउ पुग्ने गरी नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरी वित्तीय स्थायित्वका लागि ५५ वर्षदेखि कार्य गर्दै आइरहेको छ ।

आगामी दिनमा आधुनिक वित्तीय उपकरणहरूको उपयोग, सूचना प्रविधिको महत्तम प्रयोग एवं संस्थागत कार्यदक्षतामा समयानुकूल सुधार गर्दै वित्तीय सेवालाई अझ प्रतिस्पर्धात्मक एवं उत्तरदायित्वपूर्ण बनाई निजी क्षेत्रका बैङ्कहरूले समेत अनुकरण गर्न सक्ने गरी आम नागरिकमा सरल र सहज बैङ्किङ सेवा प्रवाहमा अग्रणी भूमिका निर्वाह गर्ने कार्यमा राष्ट्रिय वाणिज्य बैङ्कलाई सफलता मिलोस् शुभकामना ।

(उप्रेती राष्ट्रिय वाणिज्य बैङ्कमा कार्यरत छन् ।)



Source link