विस्मृतिमा बौद्धिकताका मियो


२०७५ सालसम्म विभिन्न सार्वजनिक समारोहमा आनन्ददेव भट्टको उपस्थिति नबिराई हुन्थ्यो । अझ प्रगतिशील संघ-संगठनका कार्यक्रममा त उनी नै केन्द्र रहन्थे । निर्भिक स्वभावका बौद्धिक व्यक्तित्व भट्ट पनि आफ्ना समकालीन र अग्रजसँग निरन्तर संवादमा हुन्थे ।

२०७५ देखि भट्टलाई केही मानसिक समस्या देखा पर्‍यो । उनलाई बिर्सिने रोग अर्थात् ‘अल्जाइमर्स’ भएको रहेछ । २०७७ देखि यही रोगले निकै च्याप्दै लगेपछि ८७ वषर्ीय भट्ट घरबाहिर निस्कन छाडेका छन् ।

शारीरिक अस्वस्थताकै बीच २०७६ फागुन २४ गते उनलाई ‘सार्वजनिक राष्ट्रिय अभिनन्दन’ गरियो । सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भट्टकै उचाइ बराबरको धातुमा कँुदिएको ५ फिट ४ इन्च अग्लो अभिनन्दन-पत्र प्रदान गरे ।

प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मयलाई समृद्ध बनाउन साहित्यकार भट्टको अथक योगदान रहेको बताउँदै भनेका थिए, ‘उहाँको बौद्धिक बलले हाम्रो समाज यहाँसम्म आइपुग्न धेरै काम गरेको छ ।’

अस्वस्थताकै बीच पनि भट्टले अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै आफू सधैं साहित्य, संस्कृतिको प्रगतिशील मोर्चामा लाग्ने बताएका थिए । प्रज्ञा प्रतिष्ठानले यसैवर्ष उनलाई आजीवन सदस्यता दिएको छ ।

श्रीमती सुशीला भट्टका अनुसार आनन्ददेव मानिसको भीड देख्दा बोल्न खोज्छन् । डिल्लीबजार, कालीकास्थान निवासी आनन्ददेव-सुशीला भट्ट दम्पत्तिका दुई सन्तान डा. शौरभदेव र निर्झरदेव भट्ट छन् ।

श्रीमती भट्टका अनुसार जीवनभर लेख्ने-पढ्ने काम गरेका आनन्ददेव अहिले पत्रपत्रिका पढ्न सक्तैनन् । घरमा बसिरहँदा आफ्ना पुस्तकहरु भने हेर्छन् ।

कोरोना महामारीका कारण भट्ट निवासमा अहिले आउजाउ बन्द गरिएको छ । ‘शिक्षा, साहित्य, राजनीति र संगठनमा सक्रिय रहेकाले उहाँको साथी-समूहको आकार निकै ठूलो छ’, सुशीला भन्छिन्, ‘कोरोनाले गर्दा भेटघाट बन्द गरिएपनि धेरैले फोनबाट सोधपुछ गरिरहनु भएको छ ।’

साहित्य, प्राध्यापन र राजनीतिका त्रिवेणी

शिक्षा, साहित्य र राजनीतिका त्रिवेणी आनन्ददेव भट्ट वि.सं. १९९३ असोज २५ गते जुम्लाको खलङ्गामा जन्मिएका हुन् । पुख्र्यौली घर बैतडीको पल्लाचौडली रहेका भट्टले २०४८ पछि बैतडीमा केही समय राजनीति गरे ।

प्रारम्भीक शिक्षा जुम्लामै लिएका उनले कक्षा ६ देखि कक्षा ८ सम्म पाल्पाको तानसेनमा बढे । त्यसबेला कविवर माधवप्रसाद घिमिरेले तानसेनको पद्मोदय पब्लिक हाइस्कुलमा भट्टलाई नेपाली पढाएका थिए ।

त्यही सेरोफेरोले आफूलाई साहित्यमा रुची भएको भट्टले बताएका छन् । उनकाअनुसार, त्यतिबेला तानसेनको टक्सार टोलमा धवल पुस्तकालय खोलिएको थियो । त्यो पुस्तकालयमा काठमाडौंबाट ‘आँखा’ र दार्जिलिङबाट ‘भारती’ साहित्यिक पत्रिका आउँथ्यो ।

पाल्पापछि भट्ट काठमाडौं आएर पढ्न थाले । यहाँ उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनले आफूमा पारेको प्रभावलाई २००८ सालमा ‘चारतारे झण्डा’ शीर्षकको कविता लेखेर व्यक्त गरेका थिए ।

भट्ट त्यही बेलादेखि साहित्य लेखन र कम्युनिस्ट आन्दोलनमा सकृय भए । २०१३ सालदेखि ‘इन्ऽेणी’ पत्रिकाले उनको रचना प्रकाशित गर्न थाल्यो । २०१५ सालमा उनको खण्डकाव्य ९७ साल प्रकाशित भयो ।

छ दशकमा भट्टका कविता, कथा, समालोचना, अनुवाद र शिक्षापद्धति सम्बन्धि तीनदर्जन पुस्तक प्रकाशित छन् । तिमीलाई देख्दा, यूरी गागरिन, साहिंली मैयां -खण्डकाव्य २०१८), अब हिमाल बोल्छ, गुरास, आमा बोलाउँछिन्, जोवनकै थुम्कोबाट, ओमर खयामलाई जवाफ, समालोचनाको बाटोतिर, जनताको साहित्य आदि उनका बढी चर्चित कृति हुन् ।

साहित्यका सबै विधामा कलम चलाएपनि भट्ट समालोचक र चिन्तकका रुपमा प्रसिद्ध छन् । उनले ३५ वर्ष त्रिभुवन विश्वविद्यालय अन्तर्गतका धनकुटा, धरान, चितवन तथा अंग्रेजी केन्द्रीय विभागमा प्राध्यापन गरे । त्रिवि पाठ्यक्रम विकास केन्ऽमा उपनिर्देशक रहेका बेला उनले २०५० चैत्र ७ गते सहप्राध्यापक पदबाट राजीनामा दिए ।

२००९ मै नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका भट्ट पार्टीको बैतडी जिल्ला र सेती अञ्चल सचिव भए । ‘नेपाल बुद्धिजीवी परिषद’को उपाध्यक्ष र जनसांस्कृतिक संगठनमा पदाधिकारी रहेर काम गरे । राजनीतिक र साहित्यिक आन्दोलनमा पटक-पटक गिरˆतार भएका उनी कारागार चलान समेत भए ।

२०४६ सालको जनआन्दोलनमा साहित्यकारको टोली भट्टकै सकि्रयतामा सडकमा आयो । पञ्चायती शासन व्यवस्थाबिरुद्व कालोपट्टी बाँधेर त्रिचन्द्र कलेजमा धर्ना बसेका पारिजात, वाशु शशील, आनन्ददेव भट्ट लगायत साहित्यकारहरुमाथि प्रहरी दमन भएको थियो ।

****

२००९ सालमा खुलेको प्रगतिशील लेखक संघ (प्रलेस) मा आनन्ददेव भट्ट २०१६ मा सहसचिव र २०५८ मा अध्यक्ष भएका थिए । जीवनभर प्रगतिशील लेखनमा रहेका उनलाई उक्त संस्थाको मियो मानिन्छ ।

साहित्यकार अमर गिरी प्रलेसमा भट्टको सर्वाधिक योगदान रहेको बताउँछन् । उनका अनुसार जीवनभर प्रगतिशील आन्दोलनमा होमिएका भट्ट सबैका लागि प्रेरणा हुन् । उनी भन्छन्, ‘आन्दोलनमात्र होइन शिक्षा, साहित्य, समालोचनामा उहाँको योगदानले नेपाली वाङ्मयलाई बलियो बनायो ।’

सांस्कृतिक चिन्तक निनु चापागाईं भने भट्टलाई समालोचक र उदयीमान प्रतिभालाई प्रोत्साहन दिने व्यक्तिको रुपमा बढी स्मरण गर्छन् । उनी भन्छन्, ‘कविता, कथा लेखनबाट साहित्य आउनुभएका उहाँ मूलतः प्रगतिवादी समालोचक हुनुहुन्छ ।’

आफूले जीवनकै पहिलो पुरस्कार आनन्ददेव भट्टलबाट पाएको सम्भिmन्छन्, चापागाई । ‘भोजपुरमा कविता सुनाउँदा भट्टले मलाई दुई रुपैयाँ पुरस्कार दिनुभएको थियो’ उनी सम्झन्छन्, ‘उहाँले हामीलाई सधैं प्रोत्साहन गर्नुभयो । लेख्न, संगठन गर्न र विचारमा अडिग रहन प्रेरित गर्नुभयो ।’

चापागाईका अनुसार भट्टले प्रलेस प्रतिभा पुरस्कार लगायत अन्य प्रगतिशील पुरस्कार स्थापनाका लागि आर्थिक सहयोग समेत गर्दै आएका छन् ।

प्रलेसका पूर्वअध्यक्ष मातृका पोखरेल चितवनमा राजा महेन्ऽले भेट दिदा भट्टले जनताको नासो प्रजातन्त्र जनतालाई नै सुम्पन आग्रह गरेका थिए । महेन्द्रले स्थापना गरेको पञ्चायति व्यवस्थाको विरोधमा उनी सधैं लागिरहे । यो घटनाबाट भट्टको निर्भीक स्वभावको परिचय झल्किन्छ ।

२०६२ मा मातृका पोखरेलसंगको अन्तर्वार्तामा भट्टले प्रगतिशील लेखन सशक्त बन्दै गएको बताएका थिए । नेपालको राजनीतिक परिवर्तन तथा गणतन्त्र स्थापनाका लागि प्रगतिशील लेखकहरूको ठूलो भूमिका रहेको भट्टको निचोड थियो । पोखरेल भन्छन्, ‘प्रगतिशील लेखकहरू कित्ताकित्तामा रहेको बेला आनन्ददेव भट्टको त्यो भनाई निकै प्रभावकारी भएको छ ।’

(भट्ट परिवार र साहित्यकारहरूसँगको कुराकानीमा आधारित)



Source link