कथा: जेठीआमा – Online Khabar


गहुँगोरो वर्णकी जेठीआमा उमेरले जेठाबा भन्दा करिब तीन वर्षले जेठी छिन् । शान्त, सरल स्वभावका कारण गाउँमा उनलाई रुचाउने धेरै छन् । उनलाई दया, माया र करुणाको प्रतिमूर्ति भन्दा पनि अतिशयुक्ति नहोला । साधारण लेखपढ गर्न सक्ने, उनीसँग घर-व्यवहार चलाउने कुरामा जेठाबाले सधैं सल्लाह लिने गर्दथे । घर व्यवहार चलाउने क्रममा कहिलेकाहिँ कुराहरू बाझिन गएमा आफ्ना कुराहरु प्रष्ट राखेर उनी ओझेल हुन्थिन् । एक-दुई दिनपछि जेठीआमाले भनेकै कुरा लागू हुन्थ्यो ।

त्यसैले होला जेठाबाले जेठीआमालाई बुद्धिमान र लच्छिन कि छ मेरी जहान भन्ने गर्दथे । जेठाबाले जेठीआमाको प्रसंशा गर्न कन्जुस्याइँ गर्थेनन् पनि । दुवैको माया प्रेम औधी थियो । इस्ट-मित्र नातेदार र छिमेकीको पनि जेठीआमाप्रति उच्च सम्मान थियो ।

छोरा-बुहारीलाई विदेश पठाउन मन त जेठीआमाको पटक्कै थिएन तर जेठाबाको हठ र छोरा-बुहारीको इच्छाको अगाडि उनको केही जोर चलेन । छोरा-बुहारी विदेश गएपनि यता दिनहरू सबै राम्रै सुबिस्तासँग चलेको थियो । छोरा-बुहारीले विदेशबाट बेला-बेलामा फोन गरिरहन्थे । छोरा-बुहारीको विदेशबाट बा-आमालाई बोलाहट भएपछि उनको पनि खुसिको सीमा नै थिएन । झन् नाति जन्मिएको खबरले जेठीआमालाई पनि कतिखेर नातिलाई भेटौं झैं भइरहेको थियो। उनीहरूको पहिलो सन्तान, विदेशको ठाउँ, पहिलो अनुभव। कसरी नातिलाई हुर्काउलान भन्ने हुटहुटी उनमा थियो ।

बुढा-बुढीको भिसा लागेपछि छोरा-बुहारीलाई कोसेलीस्वरूप सुकाएको सिस्नाको साग, गुन्द्रुक, घरमा बनाएको घिउ र नातिको लागि तोरीको तेल आदि जम्मा गरेर दुवैजना विदेश गए । उहाँ पुगेपछि त्यही त हो ! छोरा बुहारी दिनभर काममा जान्थे । जेठाबा प्राय: डुल्न जान्थे । जेठीआमा भने दिनभर नाति हेरेर बस्थिन्। विदेशमा आफ्ना घर-परिवारको खुसीमा आफ्नो दिन चर्या यतिकै व्यतीत गरेकै थिइन् । बेलुका दिनभर जेठाबाले भेटेका, देखेका कुराहरु सुन्थिन र दङ्ग पर्थिन् । कहिलेकाही सबैजना बाहिर घुम्न जान्थे । विदेशी माहोल देखेर जेठीआमा पनि दङ्ग थिइन् । भेट भएका नेपालीहरूको तौरतरिका देखेर मनमनै ‘नेपाली कुकुरको बेलायती भुकाइ’ भनेको यही त होला नि भन्थिन् ।

तीन महिनाको बसाइ कति छिटो सकिएछ जेठीआमालाई पत्तै भएन । जेठाबा र जेठीआमासँगै स्वदेश फर्किए । फर्कने क्रममा ट्रान्जिटमा उनीहरूको एकजना नेपालीसँग भेट भयो । त्यो मान्छे निकै रोयो । सेतै कपाल पाकेको मान्छे रोएको देख्दा जेठाबाको मन सारै कुँडिएको थियो ।

०००

विदेशबाट फर्केको केही दिनमै गाउँमा एउटा सामान्य घटना घट्यो । सामान्य विषयमा छलफल हुँदै गर्दा जेठाबाको एकजना छिमेकीसँग भयंकर झगडा हुन पुग्यो । गफ गर्दै जाँदा जेठाबाले प्याच्च ‘यो कुवाको भ्यागुतोलाई के थाहा ? कहिल्यै गाउँ छाडेर देश, विदेश गएको भए पो’ भनिहाले । छिमेकीले पनि ‘तिमीहरूका जोइपोइ थाङ्ग्ने भिसामा विदेश गएम भनेर धेरै फूर्ती नलगाए हुन्छ’ भनेर दरो जवाफ फर्कायो । त्यसपछि बुढाको बोल्ति बन्द भयो । साँच्चि नै बुढाको हियो खस्यो । विदेशमा रहुञ्जेल निकै खुसी भएका जेठाबा विदेशबाट फर्किएपछि अलि मलिन देखिन थालेका थिए । सायद ट्रान्जिटमा भेट भएको मान्छेको कुरा र छिमेकीको खप्कीले होला । आजकल जेठाबा कहिलेकाहीँ घरमा हुँदा टोलाउने गरेको जेठीआमाले महसुस गरेकी थिइन् । तपाईंलाई के भयो भनेर जेठीआमाले सोध्दा बुढाले केही हैन भनेर टारिदिन्थे । छोरा बुहारीले विदेशबाट फोनमा बोल्न खोज्दा पनि खासै बोल्न खोज्थेनन् । एकदिन बुढाले बुढीलाई सोधे।

‘ए साँच्ची बुढी, एउटा कुरा भन त, हामीले छोरा बुहारी विदेश पठाएर ठीक गरेम त ?’

‘ठिकै त गरिए होला नी, अहिले आएर यस्ता कुरा गरेर साध्य लाग्छ र ? जे भयो सो भयो । बितेका कुरा सम्झेर दिमागमा धेरै जोर नलगाउनु ।’

‘आज मेरो छोरो यहाँ भएको भएर केही गरेको भए त्यो नाथे छिमेकीले मलाई त्यसरी थर्काउन सक्थेन । अझ थाङ्ग्ने भिसामा विदेश घुमेको रे (दाँत किट्दै) सम्झदा नि पारो तातेर आउँछ ।’

भविष्यको लागि अहिल्यै सम्झेर मन अमिलो बनाउनुभन्दा अहिले जे छ, त्यसैमा खुसी हुन सिक्नुपर्छ । पछि एउटा न एउटा केही पार लागि हाल्छ नि । हेर्नुस, आफ्नो मनलाई कन्ट्रोलमा राख्न सक्नुपर्छ

‘यदि कसैले थाङ्ग्ने भिसामा विदेश घुमेका भन्छन् भने त्यो हामी विदेश घुमेको इर्ष्याको पराकाष्ठा हो । जो हामी जसरी कहिल्यै विदेश जान सक्दैनन् । तिनीहरूको उक्त कुरालाई मतलब दिनु हुँदैन बुढा। एक कानले सुन्ने अर्को कानले उडाउने गर्दा राम्रो हुन्छ।’

(जेठाबा केहीबेर रोकिदै..) ‘अस्ति ट्रान्जिट भेटेको मान्छेको कुराले पनि मलाई चिन्ता बढाएको छ’

‘सबै त्यही मान्छेको छोरा जस्तो कहा होलान् र ? हाम्रो छोरो रत्तिभर पनि आत्मकेन्द्रित छैन । अवश्य हाम्रो ख्याल राख्नेछ। हामीले उसलाई राम्रो संस्कार दिएका छौ, बुढा ।’

(जेठाबा टोलाउँदै) ‘उसले वहाँ भर्खर आफ्नो गुँड बनाउँदै छ। बचेराहरु हुर्केन्जेल यता र उता दुवैतिर सम्हाल्न गारो होला नि ।’

‘के भयो त! उनीहरूको संसार बेग्लै छ। हामी पनि उनीहरूलाई स्वतन्त्र खुल्ला आकाशमा छाड्न सक्नुपर्छ । गुँडबाट उडेर जाने बचेराहरुलाई सधैं माउले पनि त रुँगेर बस्दैन । हामी पनि केही समयका लागि त हो । हाम्रो शेखपछि आफ्नो सम्हाल्न आइहाल्छन् नि ।’

(जेठाबाले लामो सुस्केरा हाल्दै) ‘बुढेसकालको हाम्रो सहारा आखिर उनीहरू नै यहाँ नभएपछि ।’

‘हेर्नुस् बुढा, भविष्यको लागि अहिल्यै सम्झेर मन अमिलो बनाउनुभन्दा अहिले जे छ, त्यसैमा खुसी हुन सिक्नुपर्छ । पछि एउटा न एउटा केही पार लागि हाल्छ नि । हेर्नुस, आफ्नो मनलाई कन्ट्रोलमा राख्न सक्नुपर्छ । (हाँस्दै) कि छोरा बुहारी यहाँ भएनन् भनेर वृद्धाश्रमतिर जाने विचार छ र ?’

(वृद्धाश्रम को कुरा सुनेर बुढाको झन मथिङ्गल हल्लिन्छ)

(जेठाबाले लामो सास तान्दै) ‘अन्तिम उपाय भनेकै त्यही त होला नि एक्लै बस्नुभन्दा ।’

‘तपाईं जेसुकै भन्नु बुढा, म त यो आफ्नो सारा सृष्टि छाडेर जान्न कतै । आखिर यतिका सम्पति जोडेको केका लागि ? वृद्धाश्रम जानका लागि ?’

(जेठाबाले बीचमा कुरा काट्दै) ‘के गर्ने त, हात गोडा चलुञ्जेल त ठीक होला । (एकछिन रोकिदै) तिऊरो, पाखुरो चल्दैन। मझेरीमा फल्दैन भने झैं पछि क्यै गरी बिरामी भएको बेला के गर्ने? हात,पाखुरा चल्न छाडे पछि के गर्ने अनि भोलि हामी दुई मध्ये कुनै एक तलमाथि भए के हालत होला सोच्दा पनि कहाली लाग्छ मलाई त ।’

‘हेर्नुस् बुढा, समय यस्तो चिज हो, जुन चलायमान छ। जसले बिस्तारै सबै कुराहरू ठीक ठाउँमा ल्याइदिन्छ। हामी समय भन्दा पहिल्यै आत्तिएर केही अर्थ रहँदैन र अर्को कुरा अविरल यो जिन्दगीमा, घर भित्रका हुन् वा घर बाहिरका कतिपय कुराहरूमा एडजस्ट गर्न पनि सक्नु पर्दछ भनेर तपाईंले नै सिकाएको कुरा हैन र? मलाई त यी सब कुराहरुमा केही चिन्ता हुँदैन।’

‘बाकी सबै त ठिकै हो तर अल्लि… (बिचमा कुरा रोक्दै)’

‘के तर अल्लि बुढा…?’

‘भैगो छाड यी कुरा, भित्र फोनको घण्टी बजिरहेको छ। कसको रहेछ ?’

जेठीआमा भित्र दुगुर्छिन्। जेठीआमाले फोन उठाउँदै हेल्लो भनिन् । विदेशबाट छोराले फोन गरेको रै’छ ।

‘आमा ! ढोग ।’

‘ल आशीर्वाद छ बाबु अनि सबैजना सञ्चै छौं ।’

‘सबैलाई सञ्चै छ अनि बा खै त आमा।’

‘यतै बाहिरतिर हुनुहुन्छ।’

‘बा’लाई आजकल के भएको छ र आमा ? खासै बोल्न खोज्नु हुन्न।’

‘तेरा बा’लाई बुढेसकालको मनोचिन्ते रोग लागेको छ बाबु ।’

(यतिकैमा फोनको लाइन काटिन्छ)



Source link