पतिको हत्या आरोपमा पत्नी पक्राउ

पतिको हत्या आरोपमा पत्नी पक्राउ

सल्यान — पतिको हत्या आरोपमा प्रहरीले कपुरकोट गाउँपालिका–५ की ४३ वर्षीया ईश्वरी कामीलाई पक्राउ गरेको छ । उनलाई पति ५४ वर्षीय रामे कामीको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।
उनका पति रामे बुधबार मृत फेला परेका थिए । घरमै सामान्य विवाद हुँदा घाँटी थिची काठको पिर्काले टाउकोमा प्रहार गरेर उनले पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मृतकका बाबु पर्से कामीले दिएको किटानी जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । उनका अनुसार सन्तान नभएका दम्पतीबीच जग्गा बिक्रीको विषयमा विवाद भएको थियो । घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।