कर्णालीका दलितको पीडा : यसै विपन्‍न, उसैमाथि चारपैसे साहुको करकर !

सडक छ, गाडी चल्छ, तर बिरामीलाई अस्पताल पुर्‍याउन भाडा छैन

कर्णालीका दलितको पीडा : यसै विपन्‍न, उसैमाथि चारपैसे साहुको करकर !

जाजरकोट : रुकुम पश्चिम आठबीसकोट नगरपालिका घेत्मका १५ वर्षीय सालो रविन्द्र विक बिरामी परेपछि नलगाड नगरपालिका –८ काब्राबाट भिनाजु पातले नेपालीले पिठ्युँमा बोकेर राडीस्थित नगर अस्पताल पुर्‍याए।

 

 

यातायातका साधन चल्दा दुई घण्टामै पुगिने ठाउँसम्म बोकेर बिरामी ल्याउनुपरेको पातले बताउँछन्‌। अस्पतालसम्म बिरामी पुर्‍याउनका लागि सवारीसाधन चालक र सहचालकले पाँच सय रुपैयाँ माग्छन्, तर यहाँका विपन्न स्थानीयले त्यति रकम दिन सक्दैनन्‌।

गाउँदेखि नगर अस्पतालसम्म पुग्‍ने सडक र सवारीसाधन दुवै छन्, तर गरीबीको रेखामुनि रहेका यहाँका स्थानीयहरूसँग अस्पतालसम्म पुग्‍न गाडी चढ्न रकम पनि हुँदैन। यही अभावका कारण, कोही बिरामी परे पिठ्युँमा बोकेर दिनभर हिँड्दै अस्पताल पुग्नुको विकल्प छैन। 

नेपालीले भने, ‘हामी बिरामीसहित पाँच जना छौँ, सबैलाई भाडा हाल्दा धेरै खर्च हुन्छ, भाडा नपुगेर बोक्ने गरेका छौँ, एम्बुलेन्स त झन हाम्रो लागि आकाशको फल, आँखा तरी मर जस्तै छ।’

कोरोना महामारी नियन्त्रण गर्न भन्दै लगाइएको लकडाउनका कारण गाउँघरमा पाइने रोजगारी समेत गुमेपछि गाउँलेहरूले कमाई गर्न सकेका छैनन्‌। काम पाएपनि लगाउनेले तत्कालै ज्याला दिन सकेका छैनन्‌। दैनिकी चलाउन र बिरामी पर्दा उपचार गर्न ऋण काढ्नुपर्ने बाध्यता छ।

शक्ति बस्‍नेतलाई सिंहदरबार, जाजरकोटका विपन्‍न दलितको गयो घरबार !

आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणहरू बिरामी हुँदा डोको तथा पिठ्युँमा बिरामी बोकेर दिनभरी हिँडेर स्वास्थ्य संस्थामा जाने गरेका नलगाड नगरपालिका–८ स्वाराका जनक नेपालीले बताए। आफ्नी आमा बिरामी भएपनि आर्थिक अभावका कारण उपचारका लागि लिन नसकेको उनले दु:खेसो पोखे।

तिहार मानेर रोजगारीका लागि भारत जाने योजना बनाएका नेपालीले आमालाई समेत उतै लगेर उपचार गर्ने योजना बनाएका छन्‌। कर्णाली प्रदेशअन्तर्गत प्राय: सबैजसो जिल्लाका विपन्‍न दलितहरू आर्थिक अवस्था कमजोर भएकै कारण रोग पालेर बस्नुपर्ने र रकम जुटाएपछि मात्र अस्पतालको मुख देख्न पाउने बाध्यतामा छन्‌। आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले वर्षभरी खाना नपुग्ने र परिवार ठूलो भएका दलित समुदायको अहिलेको अवस्थामा कसरी ज्यान पाल्ने भन्ने ठूलो चिन्ता बढेको छ।

उपचार र परिवारको समस्य टार्नका लागि यहाँका अधिकांश तिहारभन्दा अगाडी र केही मानिसहरू तिहारभन्दा पछाडी भारत जाने तयारीमा रहेको नलगाड नगरपालिका-८ कै लालबहादुर नेपालीले बताए।

उनले भने, ‘पाँच वर्ष अघि छोरीको बिहे गर्दा लागेको दुई लाख रुपैयाँ ऋण तिर्न र उपचार गर्न नसक्दा यो पटक श्रीमती र कक्षा ७ मा पढ्दै गरेकी छोरीलाई समेत भारतमा लिएर भारतमा कमाइ गरी साहुको ऋण तिर्ने योजनामा रहेको छु, ३० प्रतिशत ब्याज तिर्नेगरी ऋण लिएकोमा सावाँब्याज गरी धेरै रकम तिर्नुपर्ने भइसकेको छ, यतिखेर मैले साहुको सो ऋण तिर्न र श्रीमतीको उपचार गर्नैपर्ने भएको छ।’ 

भेरी नगरपालिका-१२ कट्टी गाउँका १२५ घरधुरीले साहुको ऋण तिर्न नसकी गाउँ नै छाडेर भारत विस्थापित हुनुपरेको छ। गाउँमा रोजगारी छैन। खेतबारीमा उत्पादन भएको अन्नले वर्षभरी खन पुग्दैन।

परिवारको भरणपोषण गर्नका लागि यहाँका दलितहरूको निर्विकल्प गन्तव्य भारत नै बनिरहेको छ। ‘कालापार’ पनि भनिने पराया भूमिमाथिको निर्भरता कहिले अन्त्य होला भनी यहाँका सर्वसाधारणहरू प्रश्न गरिरहन्छन्‌। अझ, विदेशमा दु:ख गी कमाएर ल्याएको रकम बाटोमै लुटिँदा उनीहरूको पीडा बयान गरिसाध्य नै हुँदैन।