पढ्न पाउँदा मनै फुरुङ्ग

पढ्न पाउँदा मनै फुरुङ्ग
Girl in a jacket

कालीकोट/मुगु — कालीकोटको पचालझरना–४, राम्नाकोटस्थित ज्ञानोदय माविकी शिक्षक अमनाकुमारी शाहीको कोरोना कहरले ठप्प दैनिकी अहिले फेरिएको छ । लामो समय घरायसी काममा व्यस्त भएकी उनी असोज १ देखि नियमित विद्यालय जान थालेकी छिन् । ‘पहिलो दिन विद्यालय आउँदा उत्साहसँगै कोरोनाको डर पनि थियो,’ उनले भनिन्, ‘अहिले पठनपाठन नियमित बनाएका छौं ।’
गाउँपालिकाले विद्यालयलाई ५ महिनासम्म क्वारेन्टाइनका रूपमा प्रयोग गरेको थियो । गत चैत ६ गते वार्षिक परीक्षा दिएपछि घरै बसेकी कक्षा १० की छात्रा एलिना सेजुवाल पनि विद्यालय आउन पाउँदा दंग छिन् । ‘मलाई त कतिखेर स्कुल आऊँजस्तो भएको थियो,’ उनले भनिन्, ‘धेरै पछि साथीभाइ र शिक्षकसँग भेट हुँदा रमाइलो लाग्यो ।’ घरमा खाना पकाउने, मकै गोड्ने, धान रोप्ने र गाई चराउनेलगायत काम गरेकी उनले आजभोलि नियमित गृहकार्य गरिरहेको बताइन् । विद्यालयमा क्वारेन्टाइन राखिए पनि यहाँ बसेका कसैमा पनि कोरोना संक्रमण नदेखिएकाले ढुक्कसाथ विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक ममराज सेजुवालले बताए । उनका अनुसार भदौ १९ गतेदेखि समुदायमा ‘होमवर्क’ दिन र सहजीकरण गर्न टोलटोलमा शिक्षक खटाइएको थियो । उनले असोज १ देखि नियमित कक्षा सञ्चालन भइरहेको जानकारी दिए ।
कोरोना कहरमा समुदायमा सचेतना भए पनि सामाजिक दूरी कायम गर्ने र सतर्कता अपनाउनेबारे खासै चासो नभएको शिक्षक जय सेजुवालले बताए । उनका अनुसार उच्च सतर्कतासहित विद्यालयमा पठनपाठन भइरहेको छ । ‘विद्यार्थीहरू घरबाट पनि आवश्यक सतर्कता अपनाएर आउँछन्,’ उनले भने, ‘हामीले पनि सामाजिक दूरी कायम गरी कक्षा सञ्चालन गरिरहेका छौं ।’

गाउँपालिकाले आफ्नो सेवाक्षेत्रका २६ वटै विद्यालयलाई परिपत्र गरी असोज १ देखि पठनपाठन नियमित गर्न निर्देशन दिएको छ । गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालका अनुसार आवश्यक सतर्कता अपनाउँदै बालबालिकाको सिकाइलाई ध्यान दिएर विद्यालय सञ्चालन गरिएको हो ।

पढाइ नहुँदा ज्याला–मजदुरीमा व्यस्त बनेका शुभकालिका–१, छातीस्थित जनता माविका कक्षा १० का छात्र सुजन सुनार पनि नियमित विद्यालय आउन थालेका छन् । ‘यसअघि पढेका धेरै कुरा बिर्सिइएका थिए,’ उनले भने, ‘विद्यालय खुल्दा धेरै खुसी लागेको छ, अब नियमित पढ्न पाइने भयो ।’ उनका अनुसार विद्यालयमा साबुनपानीले हात धुन, मास्क लगाउन र साथीहरूसँग अलि टाढा भएर बस्न शिक्षकहरूले सुझाएका छन् । शुभकालिका गाउँपालिकाले असारमा घरमै गएर विद्यार्थी भर्ना गर्न लगाएको थियो । भदौदेखि टोलटोलमा कक्षा सञ्चालन गरेको जनता मावि छातीका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले बताए ।

Girl in a jacket