‘मेरै नेतृत्वमा ११ नम्बर सीमास्तम्भ मर्मत भएको थियो’

‘मेरै नेतृत्वमा ११ नम्बर सीमास्तम्भ मर्मत भएको थियो’
Girl in a jacket

नेपाल-चीनबीचको ११ नम्बर सीमास्तम्भ हराएको र पछि भेट्टायो भन्ने समाचार पढेँ । कतिपय सञ्चार माध्यममा त ५८ वर्षपछि फेला परेका भन्ने पनि लेखिएको रहेछ ।

२१ मार्च १९६० मा नेपाल-चीन सीमा सम्झौतामा हस्ताक्षर भएर संयुक्त सीमा समिति गठन भएको थियो । पाँच-पाँच जना सदस्य रहेको त्यो समितिमा नेपालको तर्फबाट मेजर जनरल पदमबहादुर खत्री र चिनीयाँ पक्षबाट राजदुत चाङ सी चेलेले नेतृत्व गरेका थिए ।

हुम्लाको ११ नम्बर सीमास्तम्भ ५८ वर्षपछि भेटियो भन्दा मलाई अचम्म लाग्नुको कारण छ । ११ नम्बर मात्रै होइन १० र १२ नम्बर सीमास्तम्भ पनि जमीनमै छन् ।

नेपाल-चीन तेस्रो संयुक्त सीमा निरीक्षण समितिले सन् २००७ मा हुम्ला लगायत सबै सीमास्तम्भको अनुगमन गरेको थियो । त्यसबेला नेपालतर्फबाट पाँचवटा टोली खटेका थियौं । टोलीमा नापी, परराष्ट्र, कानून, गृह र रक्षा मन्त्रालयका प्रतिनिधि संलग्न थियौं ।

एक नम्बर टोलीले दार्चुला, बझाङ र हुम्लाको जिम्मा पाएको थियो । त्यो टोलीको नेतृत्व मैले गरेको थिएँ । हामीलाई नभएको ठाउँमा सीमास्तम्भ गाड्ने र बिग्रे भत्केको भए मर्मत गरेर चुस्तदुरुस्त राख्ने जिम्मेवारी दिइएको थियो ।

अहिलेको सीमास्तम्भ भएको क्षेत्रमा हामी सेराबाट घोडामा र त्यसपछि हिंडेर गएका थियौं । ५२ सय मिटर उचाईमा रहेको त्यो ठाउँमा चिसोले मुटु नै फुट्ला जस्तो भएको थियो । हामीसँग गएकामध्ये दुई जनालाई त उद्धार नै गर्नुपरेको थियो । गोविन्द बराललाई हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । अर्को एक जनाको नाम बिर्सिएँ ।

सौभाग्यवश तेस्रो संयुक्त सीमा निरीक्षण टोलीमा कसैले पनि ज्यान गुमाएनौं । त्यसअघि २०३६ र २०४५ सालमा निरीक्षण गर्न गएको संयुक्त टोलीका कसै न कसैको चिसोले ज्यान लिएको थियो ।

हामी जाँदा माओवादीहरु शान्ति प्रक्रियामा आइसकेको भए पनि त्यसक्षेत्रमा उनीहरूको गतिविधि सकिएको थिएन । माओवादीहरु चन्दा उठाउन हिल्सामा बसेका थिए ।

उनीहरुलाई सीमा अनुगमनमा खटिएका नेपालीले निलो र चिनियाँहरूले पँहेलो ज्याकेट लगाएका छन् भन्ने जानकारी मैले नै दिएको थिएँ । यो उद्धेश्यले आएको भनेपछि माओवादीहरूले असहयोग गरेनन् ।

चिनियाँहरूले नसकेपछि उनीहरूको जिपिएस मेशिन मैले नै सेट गरिदिएको थिएँ । त्यसक्षेत्रमा करिब १२-१४ किलोमिटरको फरकमा सीमास्तम्भ छन् ।

टिंकरदेखि हुम्लासम्मको सीमास्तम्भ मर्मत सम्भार गरेर १०० दिनमा फर्केका थियौं । १३ वर्ष अगाडि मर्मत गरेको सीमास्तम्भ जमिन छ भन्नुको कारण त्यही हो । त्यसयता त्यो क्षेत्रमा पहिरो गएको छैन, ठूलो भूकम्प पनि आएको छैन ।

अहिले चिनले ९ वटा भवन बनायो भन्ने कुरा आईरहेको छ । त्यतिबेला भवन बनेको थिएन ।

अब स्थलगत निरीक्षणको लागि परराष्ट्रले सीमाको नक्सा, सीमा राखेको रुट कोर्डिनेट र जीपीएस लगायतका यन्त्रहरू लिएको नापी विभागका प्राविधिक सहितको टोली पठाउनु पर्दछ । यो काम द्विपक्षीय सहमतिमा हुनपर्छ ।

त्यहाँ जाने टोलीले सीमा प्रोटोकलको राम्रो अध्ययन गरेर सीमाराखेको प्रकृति बुझ्नु जरुरी छ ।

नेपाल-चीन सीमा रेखा नेपाल-भारतबीचको जस्तो पिलरबाट पिलरसम्म सोझो र छोटो दुरुमा नभई एउटा सीमास्तम्भबाट अर्को सीमास्तम्भसम्म लामो दुरीका साथै पानी ढलो, नदी र कहि कहि सोझो छ । ती स्थानहरूमा अहिले पैदल पनि जान सकिन्छ । स्थलगत निरीक्षणले अहिलेको चर्चालाई टुंगोमा पुर्‍याउँछ भन्ने लाग्छ ।

Girl in a jacket