गाडी चलेपछि उत्साहसँगै त्रास

गाडी चलेपछि उत्साहसँगै त्रास
Girl in a jacket

वीरेन्द्रनगर — दैलेखको नारायण नगरपालिकाकी हरिकला रावल शुक्रबार दिउँसो सुर्खेत बसपार्कमा भेटिइन् । करिब ३ महिनापछि घर जाँदै गरेकी उनी उत्साहीसँगै चिन्तित पनि देखिन्थिन् । ‘घर नजाउँ भने लामो समय यता (वीरेन्द्रनगर) बसेँ,’ उनले भनिन्, ‘गाडीमा घर जाँदा कोरोना लाग्ने हो कि भन्ने चिन्ता पनि छ, भगवान भरोसामा जाँदैछु ।’

कोरोना भाइरसको जोखिम बढ्न नदिन लकडाउन भएपछि लामो समय एकै ठाउँमा बसेका उनी मात्रै होइन, धेरै यात्रु आफ्नो घर तथा आफन्त कहाँ जान आतुर देखिन्थे । ‘धेरै पटक दिदीको घर जान खोजेँ, तर लकडाउनले गर्दा रोकिएको थिएँ,’ वीरेन्द्रनगरका रविन गुरुङले भने, ‘हिजो (बिहीबार) देखि गाडी चलेपछि नेपालगन्ज जाँदैछु ।’ नेपालगन्जमा धेरै कोरोना संक्रमित देखिएकाले डर पनि लागेको भन्दै उनले लामो समयसम्म एकै ठाउँ बस्नुभन्दा सावधानी अपनाउनुपर्ने बताए ।

बिहीबारदेखि सरकारले यातायात व्यवसाय सञ्चालन गर्न सकिने निर्णय गरेपछि यात्रुसँगै सवारीधनी तथा चालकहरु पनि उत्साहित थिए । लकडाउनका कारण झण्डै ६ महिनासम्म गाडी नचलेपछि गाडी चालक शिवराज विश्वकर्मालाई खर्च टार्नै मुस्किल परेको थियो । अब भने केही सहज हुने आशा उनको छ । ‘अस्तीको पटक लकडाउन खुलेको बेला अलिअलि गाडी त चलायौँ, तर सहज अवस्था थिएन,’ उनले भने, ‘तर अब नियमित गाडी चलेपछि घर खर्च टर्ने आम्दानी हुन्छ कि भन्ने आशा छ ।’ धेरै चालकलाई पनि कोरोना देखिएकाले डर पनि मनमा रहेको उनले बताए ।

यात्रु कम हुँदा चिन्तित

शुक्रबार सुर्खेत बसपार्कमा गाडी भरिभराउ भए पनि यात्रुको चहलपहल भने कम देखिन्थ्यो । बसपार्कबाट विभिन्न स्थानका लागि छुट्नका लागि तयारी अवस्थामा रहेका गाडीहरु धेरैजसो खाली नै देखिन्थे भने केही यात्रुको पर्खाइमा थिए ।

विभिन्न ठाउँका नाम लिँदै यात्रुहरु बोलाइरहेका चालक तथा सहचालक पनि चिन्तित देखिन्थे । ‘पहिलाजस्तो यात्रु आउँदैनन्,’ चालक विष्णु नेपालीले भने, ‘सरकारले आधा यात्रु हालेर गाडी चलाउन भनेको छ, तर डरले कोही पनि गाडी चढ्न मान्दैनन् ।’ सरकारले ५० प्रतिशत मात्रै यात्रु राखेर गाडी चलाउन भनेपछि थप ५० प्रतिशत भाडा लिइरहेको उनको भनाइ छ ।

काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले सार्वजनिक सवारी सञ्चालनमा आए पनि अपेक्षाअनुसार यात्रुहरु नभएको बताए । कुनै गाडीहरु फर्किँदा यात्रु पाउने आशमा रित्तै पनि जानुपरेको उनको भनाइ छ । उनका अनुसार सुर्खेतबाट रात्री सेवाका सवारी साधन भने सञ्चालनमा आएका छैनन् । ‘अधिकांश गाडीहरुको अवस्था जीर्ण छ,’ उनले भने, ‘गाडीधनीले मर्मतका लागि समय मागेकाले अहिले दिवा सेवाका गाडी मात्रै चलेका हुन् ।’ ६ गतेदेखि मात्रै लामो दुरीका यातायात सञ्चालनमा आउने उनले जानकारी दिए ।

 

Girl in a jacket