डोल्पाका किसानलाई स्याउ नबिक्ने चिन्ता

डोल्पाका किसानलाई स्याउ नबिक्ने चिन्ता
Girl in a jacket

डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने रंगगाउँ यतिखेर स्याउले रंगिएको छ। बस्तीको चारैतिर लगाइएका स्याउका रुखमा हाँगै नुहिने गरी लटरम्म फलेका स्याउ पाकेपछि गाउँनै रंगिएको हो। स्याउ टिप्ने सिजन सुरु भएसँगै किसानहरुलाई भ्याइनभ्याई छ। स्याउ टिपिसकेपछि परम्परागत तरिकाबाट स्थानीयस्तरमा बनाइएका भण्डारण गृहमा स्याउ राख्ने गरिन्छ। यसरी राखिएका स्याउ करिब चार महिनासम्म सुरक्षित रहने किसानहरु बताउँछन्। गाउँमा आधुनिक भण्डारण गृह नहुँदा बर्सेनि सयौं क्विन्टल स्याउ कुहियर जाने गरेको वडाध्यक्ष श्रीदल बुढाले बताए। स्थानीय सामग्री प्रयोग गरेर किसानले बनाएका भण्डारण घर त्यति भरपर्दो नहुने भएकाले लाखौं रुपैयाँ बराबरको स्याउ कुहियर जाने उनले बताए। २२० घरधुरी रहेको रंग गाउँका सबै किसानले व्यावसायिक स्याउ खेती गर्दै आएका छन्। एकै घरले ५० देखि ५०० बोटसम्म स्याउ रोपेका छन्। उनीहरुले परम्परागत रुपमा लगाइँदै आएको मकै, कोदो, चिनो, फापरलगायतको अन्नबालीको खेती घटाएर स्याउ खेतीमा जोड दिँदै आएका छन्। यस्तै, सुँ, जीँउ जुफाल, डाँगीबाडा, तिप्लालगायत गाउँमा पनि स्याउको व्यवसायिक खेती हुँदै आएको छ। तर, यातायातको सुविधा नहुँदा उत्पादन गरिएको स्याउ बिक्री नभएरै खेर जाने गरेको किसानहरुको गुनासो छ। जुफाल विमानस्थलबाट जहाजमा ढुवानी गर्दा भाडाकै चौगुणा मूल्य तिर्नुपर्ने र सडक मार्गबाट लैजाँदा आधा दजर्न ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने भएकाले स्याउ बाटोमै कुहिने गरेको उनीहरुको भनाइ छ। किसानको चिन्ता व्यावसायिक स्याउ खेती गरेर उदाहारण देखाउने रंगगाउँमा सबै किसानको पिरलो भने एउटै रहेका छ । स्याउकोे राजधानीको रुपमा चिनिने यस गाउँमा रहेका स्याउँ बगैँचाहरुमा लटरम्म स्याउ फले पनि त्यसको भण्डारण र बजार व्यवस्थापन नहुँदा उनीहरुलाई पिरलो छ। प्रत्येक वर्ष लटरम्म स्याउ फले पनि बजारसम्म लैजान यातायाताको सुविधा नहुँदा बिक्री नभएरै घरमै कुहिने गरेको किसान कमला बुढाले बताइन्। ‘आफैंले रोपेको स्याउ फल्दा जति खुशी हुन्छौं तर बिक्री नभएर केही बोटमै, केही घरमै कुहिँदा पीडा हुन्छ,’ उनले भनिन्, ‘कुहियर बाँकी रहेको स्याउ पनि इष्टमित्र पहिल्यायर सित्तैमा बाँड्नु पर्छ।’ केशर बुढाको पनि बगैंचामा रेड डेलिसियस, गोल्डेन, चक्लेटी लगायत जातका स्याउ छ। उनको बगैंचामा करिब ६० क्विन्टल फले पनि बिक्री नहुने बताए। ‘बिक्री हुँदैन, घरगोठमै कुहिने स्याउ लटरम्म फलेको देख्दा खुशीभन्दा चिन्ता धेरै लाग्छ,’ उनले भने, ‘स्याउको बुटा रोपेर फल दिनेसम्म बनाउँदा जति दुःख हुन्छ त्योभन्दा धेरै दुख स्याउ कुहिँदा लाग्दो रहेछ।’ स्याउ घरमा आएका पाहुनालाई दिने गरेको उनले बताए। जाजरकोट–डोल्पा सडकमा पुल बनेर सिधा यातायात जोडिएर गाउँसम्म मोटरबाटो पुगे स्याउले राम्रो बजार पाउने केशरको भनाइ छ। स्याउ बिक्री नभएपछि गाउँका कतिपय कृषकहरुले अन्नबालीसँग समेत साटफेर गर्ने गरेका छन्।  पुगेनन् व्यापारी देशभर महामारीको रुपमा फैलिको कोरोना भाइरसका कारण डोल्पामा स्याउ बिक्री घटेको छ। यस सिजनमा रुकुम र जारकोटका ब्यापारीहरु स्याउ किन्न रंग गाउँमा आउने गरे पनि कोरोनाका कारण यस वर्ष कोही पनि नआएको किसान धनमान बुढाले बताए। दुई जिल्लाका व्यापारीले मात्रै रंगको दश प्रतिशतसम्म स्याउ किन्ने गरेको र त्यसबाट प्रत्येक घरले २० देखि ५० हजार रुपैयाँसम्म कमाउने गरेको उनले बताए।  डोल्पामा १४ सय ८८ हेक्टर जमिनमा स्याउ लगाइएकोमा ४८६ हेक्टरका विरुवाले उत्पादन दिने कृषि विकास कार्यालयले जनाएको छ। जिल्लाभरि तीन हजार २९६ मेट्रिक टन स्याउ उत्पादन हुनुपर्ने भए पनि यस वर्ष घटेर ४०० मेट्रिक टन मात्रै उत्पादन हुने अुनमान गरिएको कार्यालयका सहायक प्राविधिक बुद्धि बुढाथोकीले बताए।

 

Girl in a jacket