नेपालमा २१ वटा कुनै पनि बेला फुट्नसक्ने ‘सम्भावित खतरनाक’ हिमताल, यी क्षेत्रमा पर्छ बढी असर

नेपालमा २१ वटा कुनै पनि बेला फुट्नसक्ने ‘सम्भावित खतरनाक’ हिमताल, यी क्षेत्रमा पर्छ बढी असर
Girl in a jacket

हालै सार्वजनिक एउटा अध्ययन प्रतिवेदनले नेपाल, तिब्बत र भारतमा ४७ वटा ‘सम्भावित खतरनाक हिमताल’ रहेको देखाएको छ।

हिमालय क्षेत्रबारे काम गर्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसीमोड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपीको प्रतिवेदनमा ती हिमतालहरू फुट्नसक्ने जोखिम देखिएको हो।

त्यसमध्ये नेपालका च्छो रोल्पा र इम्जा हिमताल “सबैभन्दा बढी सम्भावित खतरनाक” रहेको इसीमोडले जनाएको छ।

उक्त प्रतिवेदनबारे इसीमोडले ट्वीट गर्दै लेखेको छ, “पछिल्लो प्रतिवेदनले नेपालका सबैभन्दा बढी सम्भावित खतरनाक हिमतालहरू च्छो रोल्पा र इम्जा रहेको पत्ता लगाएको छ। लगातारको संवेदनशील र नियमित अनुगमनको खाँचो देखिन्छ।”

यो Twitter पोस्ट छोड्नुहोस्, 1

Twitter पोस्ट समाप्त, 1

कहाँका कति ताल जोखिममा?

उक्त प्रतिवेदन अनुसार ४७ वटा ‘सम्भावित खतरनाक हिमतालहरू’ मध्ये सबैभन्दा बढी कोशी बेसिनका रहेका छन्।

तीनवटा गण्डकी र दुईवटा कर्णाली बेसिनका रहेको प्रतिवेदनमा उल्लेख छ।

राजनैतिक सीमाका हिसाबले यस्ता ‘खतरनाक’ हिमतालमध्ये सबैभन्दा बढी २५ वटा तिब्बतमा रहेका छन्।

त्यस्तै नेपालमा २१ वटा र भारतमा एउटा यस्ता हिमतालहरू रहेको प्रतिवेदनमा उल्लेख छ।

खतरा पहिचान कसरी गरियो?

उक्त अध्ययनका एकजना अनुसन्धानकर्ता एवम् प्रतिवेदनका लेखकमध्येका एक हिमताल विज्ञ समज्वलरत्न बज्राचार्यका अनुसार वैज्ञानिक विधि अनपाएर उक्त अध्ययन गरिएको हो।

अध्ययनका क्रममा भू-उपग्रहले खिँचेका कैयौँ तस्बिरहरूको विश्लेषण गरिएको थियो।

उनले भने, “हामीले सन् २०१५ देखि २०१८ सम्मका स्याटेलाइट तस्बिरहरूको विश्लेषण गरेका थियौँ। त्यसपछिको अवस्था हेर्न थप तस्बिरहरू पनि आइसकेका छन्।”

मुख्यत: तीनवटा कुराका आधारमा हिमतालहरूको खतराबारे पत्ता लगाइएको प्रतिवेदनमा उल्लेख छ।

ती तालहरूको विशेषता एवम् तालहरूको प्राकृतिक बाँध, स्रोत हिमतालको गतिविधि तथा वरिपरिको अवस्था हुन्।

त्यस्तै अन्य कुराहरू जस्तै: विषम मौसमको अवस्था, भौगर्भिक अवस्था र हिमताल वरपर हुने मानवीय गतिविधिलाई भने अध्ययनका क्रममा नहेरिएको प्रतिवेदनमा उल्लेख छ।

इम्जा
तस्बिरको क्याप्शन,इम्जा

कस्ता खतरा आउन सक्छन?

बज्राचार्यका अनुसार जोखिमपूर्ण अवस्थामा रहेका हिमतालहरू फुटे भने सबैभन्दा बढी असर पहाडी क्षेत्रमा देखिनेछ। किनकि पहाडी क्षेत्रमा पानीको गति तीव्र हुन्छ र त्यसले वरपरको भू-भागलाई बगाएर लानेछ।

त्यसको असर समथर भू-भागमा पुगेपछि कम हुँदै जानेछ। तर हिमताल फुटेमा त्यसको प्रभाव समुद्रको छेउसम्म पुग्ने बताइने गरेको छ।

उनी भन्छन्, “नेपालका लागि सबैभन्दा बढी जोखिम चाहिँ जलविद्युत आयोजनामा देखिएको छ, प्राय: जलविद्युत आयोजनाहरू पनि पहाडमै छन्। कति बन्दै र बन्ने क्रममा पनि छन्। तर हिमतालको जोखिमलाई खासै ख्याल गरिएको छैन।”

“यदि समयमै जोखिममा रहेका तालहरूको अनुगमन गर्ने प्रणाली विकास गरिएन भने त्यसले ठूलो जनधनको क्षति पुर्याउने खतरा देखिएको छ। यसतर्फ हामीले समयमै ध्यान दिनु आवश्यक छ।”

उनका अनुसार हिमनदी पग्लने क्रम बढिरहेको र नयाँ तालहरू बन्ने क्रम पनि बढिरहेकाले कैयौँ हिमताल फुट्ने जोखिम बढेको हो।

यो जोखिम न्यूनीकरणका लागि निरन्तरको अनुगमन बाहेक अर्को विकल्प नभएको उनको भनाइ छ।

त्यसका साथै पूर्वसूचना प्रणालीको विकास र जोखिम कम गर्ने अन्य उपायहरू अपनाउनुपर्ने बज्राचार्यले बताए।

कति हिमताल भेटिए?

उक्त अध्ययनका क्रममा कोशी, गण्डकी र कर्णाली बेसिनमा ३,६२४ वटा हिमताल पाइएको प्रतिवेदनमा उल्लेख छ।

त्यसमध्ये २,०७० वटा नेपाल, १,५०९ वटा तिब्बत र ४५ वटा भारतमा पाइएका छन्।

तीमध्ये १,४१० हिमताल ०.०२ वर्ग किलोमिटर वा त्योभन्दा ठूला रहेका छन्।

प्रतिवेदनमा भनिएको छ, “त्यो भनेको हिमताल फुटेर आउने बाढीका लागि पर्याप्त आकार हो।”

पूर्व सूचना प्रणाली
तस्बिरको क्याप्शन,पूर्व सूचना प्रणाली

सरकार के भन्छ?

नेपालकै कैयौँ हिमतालहरू फुट्ने जोखिममा रहेको अध्ययनले देखाएका बेला सरकारले भने त्यसप्रति खासै संवेदनशीलता नदेखाएको कतिपयले बताउने गरेका छन्।

यद्यपि सरकारी अधिकारी भने हिमतालहरूको जोखिम मूल्याङ्कनका लागि काम अघि बढाइसकिएको बताउँछन्।

जल तथा मौसम विज्ञान विभागको हिम तथा हिमनदी शाखाका प्रमुख सुवास तुलाधरका अनुसार यसै आर्थिक वर्षदेखि उच्च जोखिममा रहेका भनिएका च्छो रोल्पा र तल्लो वरुण हिमतालको स्थलगत अध्ययन गर्न लागिएको छ।

उनले भने, “जोखिमको यकिन अवस्था थाहा पाउन हामीले स्थलगत अध्ययनको काम अघि बढाएका छौँ। स्याटेलाइट तस्बिरहरूको मूल्याङ्कनले उच्च जोखिमयुक्त भनेर देखाएका हिमतालहरूको स्थलगत अध्ययन गर्ने कार्यक्रम छ।”

“केही स्थानमा पूर्वसूचना प्रणाली जडान कार्य पनि भएको छ। हामीले जोखिम न्यूनीकरणका लागि सबैसँग मिलेर कामहरू अघि बढाएका छौँ।”

Girl in a jacket