कोरोना जितेकाहरूको अनुभव : रोगसँग लड्न सजिलो, समाजसँग कठिन

कोरोना जितेकाहरूको अनुभव : रोगसँग लड्न सजिलो, समाजसँग कठिन
Girl in a jacket

जिल्ला प्रहरी कार्यालय कैलालीबाट ६ महिना अघि त्रिनगर भन्सार कार्यालय खटिएका प्रहरी हवल्दार तीर्थबहादुर खड्कालाई अहिले आफूले पुनर्जन्म पाएको महसुस भएको छ ।

कोरोना महामारीको जोखिम क्षेत्र मानिने सीमानाकामा भारतबाट आएका नेपालीहरूलाई व्यवस्थित ढंगले घर पुर्‍याउने जिम्मेवारी खड्काले पाएका थिए ।

मास्क लगाउन, स्यानिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम राख्न भन्दै पटक पटक भिडको बीचमा पनि पुगे उनी । तर उनलाई के थाहा अरूलाई सुरक्षित राख्ने प्रयास गर्दा आफैं जोखिममा परेको । २२ साउन देखि उनलाई हल्का ज्वरो देखिन थाल्यो । टाउको दुख्न थाल्यो र खानामा मन हरायो ।

ज्वरो बढ्दै गएपछि २७ साउनमा उनी लगायत अन्य २० जनाको स्वाब संकलन भयो । तीमध्ये ३ जना संक्रमित भए । साउन २९ गतेदेखि खड्का सेती प्रादेशिक अस्पताल भर्ना भए ।

कोरोना पुष्टि भइसकेपछि पनि खड्काले परिवारलाई भने जानकारी गराएनन् ‘म आइसोलेसनमै छु । मेरो स्वाब परीक्षण हुनै बाँकी छ भनेको थिएँ’ उनले भने ‘मलाई कोरोना लागेको छ भनेर परिवारका सदस्यहरूलाई भनेको भए सायद म भन्दा बढी पीर उनीहरूलाई हुन्थ्यो ।’

खड्कालाई त्यो बेला समस्या पर्‍यो जब रोगले च्याप्दै लग्यो । सहज रुपमा सास फेर्न सक्न छाडे । अक्सिजन दिनुपर्ने अवस्था आयो ।

‘त्यो पलमा त अब म बाँच्दिन कि भन्ने भयो । हे भगवान् मलाई बचाइदेऊँ, मेरो परिवार म बिना बाँच्न सक्दैन भन्दै बिनौला गर्न थालेँ’ भावुक हुँदै उनले भने ‘त्यो बेला अझै राम्रो अस्पतालमा पुर्‍याइदिए हुने नत्र म बाँच्दिन भन्ने लागेको थियो ।’

खड्काका बुवा, आमा, श्रीमती, २ छोरा र १ छोरी छन् । संक्रमणले च्याप्दा उनले ती सबैको सम्झना झलझली आयो ।

सेती प्रादेशिक अस्पताल भर्ना भएका खड्काले एक हप्ता खाना खाएनन् । ५ दिन दिशा खुलेन । ज्वरो १०४ डिग्री भन्दा बढी थियो । सास फेर्न कठिन भयो । कठिन २ हप्तापछि भने अहिले भने उनी कोरोनामुक्त भइसकेका छन् ।

भदौ ९ गते परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आयो र उनी घर फर्किए । आफूमा कोरोना नभएको पुष्टि भइसकेपछि मात्रै उनले परिवारलाई आफूमा कोरोना भएको जानकारी दिए । ‘म ठीक भइसकेपछि मात्रै घरमा भनेँ । त्यसपछि पनि १० दिन घरमा कसैको सम्पर्कमा नरही एक्लै बसेँ’ उनले सुनाए ।

निको भएर घर जाँदा पनि आफन्त र छिमेकीले फरक व्यवहार गरेको अमिलो अनुभव छ उनीसँग । ‘भन्नेहरूले नाना थरी भने । तर, मैले नसुनेझै गरेँ’ उनी फेरि मलिन भए ।

****

जनकसिंह धामी सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमित पहिलो स्वास्थ्यकर्मी हुन् । पर्याप्त सुरक्षाका साधन नहुँदा आफूमा संक्रमण भएको उनको भनाइ छ ।

पुनर्बास नगरपालिकाको प्रयोगशाला सम्हालिरहेका धामीले एउटा थर्मोमिटर लिएर व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) विनै ११ वडाका नागरिकको ज्वरो नापे ।

‘एउटा पीपीई सेट थियो । हामी २ जा थियौँ । पीपीई लगाएको भाइलाई कोरोना संक्रमण भएन । मैले सामान्य मास्क लगाएको थिएँ’ उनले भने ‘त्यही बेला सीमा क्षेत्रमा झडप भयो । त्यो बेला मास्क पनि छुटेछ । त्यहि बेला नै संक्रमण भयो भन्ने लाग्छ ।’

उनको जेठ १५ गते स्वाब संकलन गरियो २० गते संक्रमण पुष्टि भयो । असार २ गते निको भएर घर फर्किए ।

उनी संक्रमित हुँदा उनलाई सान्त्वना दिने भन्दा बढी आरोप लगाउनेहरू देखिए ।

‘पुनर्बास नगरपालिकाभरि यसैले संक्रमण सा¥यो भन्न थालेका थिए’ उनले भने ‘यो बदमास रहेछ पनि भन्दै हिँडे ।’

उनको घरमा पसलबाट सामान दिन पनि छाडियो । ‘घरमा हेर्दा पनि कोरोना संक्रमण हुन्छझैं गर्न थालेका थिए’ मन खिन्न पार्दै उनले भने, ‘हिजो काम गर्दा हाई हाई थियौँ । हामीमा संक्रमण भएको पुष्टि भएपछि छि..छि..दूरदूर गर्न थाले ।’

पुनर्बास नगरपालिका त्रिभुवन बस्ती स्वास्थ्य चौकीमा कार्यरत दुर्गादत्त भट्टलाई पनि कामकै सिलसिलामा संक्रमण भयो । गुणस्तरहीन पीपीईका कारण आफूलाई संक्रमण भएको उनको बुझाइ छ ।

‘स्वाब संकलन गर्ने र आरडीटी परीक्षण गर्ने काम गरिरहेको थिएँ । पीपीई पनि लगाएकै हुँ, त्यसको गुणस्तरमा प्रश्न गर्नुपर्ने बेला आयो’ उनले भने । धामीलाई जस्तै भट्टलाई पनि लक्षण नखेदिएरै कोरोना देखियो समस्या नदेखिएरै निको भए ।

 

Girl in a jacket