कोरोनाभन्दा कडा सामाजिक दुर्व्यवहार

कोरोनाभन्दा कडा सामाजिक दुर्व्यवहार
Girl in a jacket

सुर्खेत — वीरेन्द्रनगर–१, प्रगतिशील टोलका जीवन विकले वैशाखमा २० हजार रूपैयाँ ऋण काढेर घरमै फ्रेस हाउस (कुखुराको मासु पसल) खोलेका थिए । पसल राम्रै चलेको थियो । असार २८ गते उनका दाइलाई कोरोना संक्रमण देखियो । २ हप्तामै उनी कोरोनामुक्त भए पनि जीवनको फ्रेस हाउसको ढोका अझै खुल्न सकेको छैन ।

‘मान्छेहरू कोरोना भएको घर भनेर नजिक आउनै डराउँछन्, घर अगाडिबाट समेत नाक थुनेर हिँड्छन्,’ उनले भने, ‘यस्तो अवस्थामा घाटाको व्यापार के गर्नु भनेर पसलै बन्द गरेको छु ।’

उक्त गाउँमा जीवनका दाजु र सामाजिक अभियन्ता सजना सुनारलाई असार अन्तिममा कोरोना संक्रमण देखिएको थियो । सजनाले त आफू पोजिटिभ भएकोबारे सार्वजनिक रूपमै जानकारी गराएकी थिइन् । उनीहरू तीन साताअघि कोरोनामुक्तसमेत भइसके । समाजले उनीहरूलाई गर्ने दुर्व्यवहार भने अझै बदलिएको छैन ।

जीवनको फ्रेस हाउस मात्र बन्द भएन, आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको दूध व्यवसाय पनि सुकेको छ । आमा लीला आफ्नै घरमा पालेको भैंसीको दूध बेच्थिन् । दैनिक ६ माना दूध बेचेर महिनामा करिब ९ हजार रूपैयाँ कमाइ हुन्थ्यो । ‘छोरालाई कोरोना भएपछि त मान्छेले दूध लिनै छोडे, अहिले पनि दूध बिक्री हुँदैन,’ उनले भनिन्, ‘छोरो बिरामी नभए (लक्षणविहीन) पनि बजार ( आइसोलेसन) मै बस्यो, हामीलाई पनि त्यो रोग देखिएन, तर मान्छेको हामीलाई हेर्ने सोच फेरिएको छैन ।’

लीलाले कोरोना जित्न सजिलो तर कोरोनाले पारेको छाप मेट्न निकै गाह्रो भएको बताइन् । ‘कोरोना भएको घर’ भन्दै मान्छेहरू नाक थुनेर अगाडिबाट हिँड्दा निकै पीडाबोध हुने गरेको उनको भनाइ छ । छोरा बजारको आइसोलेसनमा बसेको बेला त घर छिमेकीहरूसमेत अगाडिको सडकमै हिँड्न छाडेका उनले बताइन् । सर्वसाधारणले नबुझेर आवश्यकताभन्दा बढी सामाजिक दूरी कायम गरेको ठानेकी उनी वडा कार्यालयले पनि त्यस्तै व्यवहार गर्दा आश्चर्यचकित भएकी छन् । ‘सुरुमा त फोहोर उठाउने गाडी टोलमै आएन, बल्लतल्ल आए पनि हाम्रो घरको फोहोर उठाउन मानेनन्,’ उनले भनिन्, ‘धेरै कराएपछि मात्र दुई दिनअघि फोहोर उठायो ।’

सजनाको घरको फोहोर त अझैसम्म उठेको छैन । उनकी आमा पार्वतीले ‘पैसा दिन्छौं’ भन्दा पनि फोहोर उठाउन नआएको गुनासो गरिन् । उनको घरअगाडि फोहोर संकलन गरिएका चारवटा बोरो अझै पनि छन् । ‘केही फोहोर त माटोले पुर्‍यौं, अरू यहीँ छन्,’ उनले भनिन्, ‘सुरुमा त फोहोर किन उठेन भनेर थाहा भएन, छोरीलाई कोरोना भएको भनेर नआएका रहेछन् ।’

कोरोना पुष्टि भएपछि सजना होम आइसोलेसनमै बसिन् । उनलाई घरका मान्छे मात्र होइन, समुदायलाई समेत कोरोना सरिहाल्छ कि भन्ने चिन्ताले सताएको थियो । यस्तोमा उनी घरबाहिर निस्किने कुरै भएन । तर, उनको परिवारले खानेपानीको सार्वजनिक धारा पनि छुन पाएन । यही व्यवहार सहन नसकेर छुट्टै धारा जोडेको सजनाले सुनाइन् । ‘म कोठाबाटसमेत बाहिर निस्केकी थिइनँ, तैपनि मान्छेहरूले परिवारका सदस्यलाई कोरोना भएजसरी दुर्व्यवहार गरे,’ उनले भनिन्, ‘कोरोना भएको मान्छेसँग सुरक्षित व्यवहार गर्नुपर्छ, सामाजिक विभेद होइन भन्ने कुरा अहिलेसम्म बुझाउन सकिएको छैन ।’

सजना सुनार र उनका एक साथी कोरोना संक्रमित भएको वीरेन्द्रनगर–१ को प्रगतिशील टोल । तस्बिर : कलेन्द्र सेजुवाल

सजनाले जेठ–असारमा क्वारेन्टाइन र आइसोलेसनमा बसेकाहरूलाई उत्प्रेरणा दिन सांगीतिक अभियान चलाएकी थिइन् । सोही क्रममा असार २६ गते उनमा कोरोना पुष्टि भयो । टिमका अन्य ६ जनालाई पनि संक्रमण देखियो । साउन ४ गते गरिएको दोस्रो परीक्षणमा सजनाको रिपोर्ट नेगेटिभ आयो । कोरोनामुक्त भएको करिब एक महिना पुगे पनि उनले सामाजिक दुर्व्यवहारबाट छुटकारा पाउन सकेकी छैनन् । केही दिनअघि उनी मोबाइलको सिम काट्न बजारको एक पसलमा गएकी थिइन् । पसलेले ‘तिमीलाई त कोरोना भएको हैन र ?’ भन्दै सिम छुनै मानेनन् । उनले आफू कोरोनामुक्त भइसकेको बताउँदै उनकै अगाडि सिम ‘स्यानिटाइज’ गरिन् । तैपनि उनको सिम छोइएन । ‘यसले गर्दा कहिलेकाहीँ आफैंलाई पनि हतोत्साही बनाउँदो रहेछ,’ उनले भनिन्, ‘तैपनि मान्छेलाई कोरोनाबाट कसरी बच्ने, संक्रमण भइहालेमा कसरी जित्ने भनेर सम्झाउने–बुझाउने काम गरिरहेकी छु ।’

कोरोना तीव्र गतिमा सर्ने रोग भएकाले उच्च सतर्कता अपनाउन आवश्यक भए पनि संक्रमण भएकालाई नकारात्मक दृष्टिले हेर्न नहुने उनको भनाइ छ । ‘यसले संक्रमण भएका व्यक्तिलाई मनोसामाजिक समस्यामा पनि पार्न सक्छ,’ उनले भनिन्, ‘सरकारले यो पक्षलाई बेलैमा मन् गरेर आवश्यक कदम चाल्नुपर्छ ।’

होम आइसोलेसनमा बसेर एक महिनाअघि नियमित काममा फर्केका वीरेन्द्रनगर–१० का एक युवकले आफ्ना वर्षौं पुराना सेवाग्राहीसमेत तर्किने गरेका गुनासो गरे । ‘सेवाग्राहीको काम गर्ने क्रममै कोरोना संक्रमण देखियो, लक्षण नदेखिएर संक्रमणबाट मुक्त पनि भइसकेँ,’ उनले भने, ‘म पहिलेभन्दा अझ सुरक्षित भएर काममा फर्केको छु, तैपनि मान्छेले ‘तिमीलाई त कोरोना भएको’ भन्दै असहज व्यवहार गर्दा दुःख लाग्छ ।’

स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्ले संक्रमणमुक्त भएकाहरूलाई दुर्व्यवहार नभई सामाजिक दूरी कायम गरेर व्यवहार गर्न समुदायमा चेतनामूलक कार्यक्रमको आवश्यकता औंल्याउँछन् । आइसोलेसनमा रहेका र संक्रमित भएर निको भएकालाई मनोसामाजिक परामर्श पनि जरुरी रहेको उनको भनाइ छ । कर्णाली प्रदेशमा हालसम्म २ हजार ६७ जनामा कोरोना पुष्टि भएकोमा १ हजार ९ सय १४ जना निको भइसकेका छन् । वरिष्ठ जनस्वास्थ्य अधिकृत वाग्ले संक्रमित व्यक्तिको हितका लागि नाम गोप्य राख्ने गरिए पनि समुदायको हितका लागि स्थानीय जनप्रतिनिधि वा प्रहरीलाई जानकारी दिने गरिएको बताउँछन् । ‘कोरोना संक्रमणको चुनौती एकातिर छँदै छ, अर्कोतिर डिस्चार्ज भएर घर फर्केकाहरूलाई समाजमा हुने गरेको दुर्व्यवहार पनि नयाँ चुनौतीका रूपमा आएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा सबैले सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउनु पर्छ ।’ सुर्खेतमा संक्रमणमुक्त भएका स्वास्थ्यकर्मीले सहज रूपमा सेवा प्रवाहसमेत गर्न थालिसकेको उनले बताए ।

 

Girl in a jacket