मुगुका सबै खाद्य गोदाम रित्तिए

मुगुका सबै खाद्य गोदाम रित्तिए
Girl in a jacket

मुगु — चालु आर्थिक वर्षको चामल ढुवानी नहुँदा जिल्लाका सबै खाद्य गोदाम रित्तिएका छन् । गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयसहित सोरुकोट, पूलु, श्रीकोट, रातापानी, कालैलगायत खाद्य डिपो खाली भएका हुन् ।

जिल्लाका सबै खाद्य गोदाम रित्तिएपछि स्थानीयबासी बजारबाट मंहगो मूल्यमा चामल खरिद गरी उपभोग गर्न बाध्य छन् । मुगुमा सरकारले ढुवानी अनुदानमा चामल वितरण गरिरहेको छ । अहिले गमगढीस्थित खाद्य गोदाममा मात्र ५ सय क्विन्टल चामल मौज्दात छ । त्यो चामल पनि आपतकालीन अवस्थाका लागि राखिएको कम्पनीका शाखा प्रबन्धक कर्णबहादुर रावलले बताए । ‘गत वर्ष ढुवानी गरेको सबै चामल सकियो,’ उनले भने, ‘यो वर्षको चामल ढुवानी गर्न ठेक्का प्रक्रिया नै सुरु भएको छैन ।’ उनका अनुसार कोरोना महामारी र लकडाउनका कारण गत वर्षको चामल सकिएको हो ।

विगत वर्षहरुमा खाद्य गोदाम खाली भएको रेकर्ड नै थिएन । चामल सकिएपछि कम्पनीका सबै सेवा प्रवाह बन्द गरिएको प्रवन्धक रावलले बताए । ‘छिटो खाद्यान्न आपूर्ति गर्न क्षेत्रीय कार्यालयलाई पत्राचार गरिए पनि ठेक्का प्रक्रियामा ढिलाइ भइरहेको छ,’उनले भने, ‘२/३ साताभित्र चामल नआए जिल्लाभरि खाद्यान्न अभाव झेल्नुपर्ने देखियो ।’

खाद्य संस्थानमा चामल नहुँदा र नयाँ अन्न नपाक्दा गाउँमा खाद्यान्न अभाव भएको खत्याडका कमल शाहीले बताए । ‘हिउँदेबाली सकियो, वर्षेबाली पाकेको छैन,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा सडक बन्द हुँदा बजारको चामल ढुवानीमा पनि समस्या छ ।’ उनका अनुसार खाद्य गोदाममा जिरा मसिनो चामल ६२ रुपैयाँमा पाइने भए पनि बजारमा मोटो चामलसमेत ८० रुपैयाँ प्रतिकिलो खरिद गनुपर्ने बाध्यता छ ।

कम्पनीले गमगढीमा १० हजार, सोरुकोटमा २ हजार २ सय, पूलुमा १ हजार २ सय, श्रीकोटमा १ हजार २ सय र रातापानीमा ८ सय क्विन्टल वार्षिक खाद्यान्न कोटा निर्धारण गरेको छ ।

चालु आर्थिक वर्षका लागि गमगढी क्षेत्रमा मात्रै ११ हजार क्विन्टल खाद्यान्न माग गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । ‘वर्षाका कारण गमगढी–नाग्मा सडक अवरुद्ध हुँदा बजारमा पनि खाद्यान्नको मौज्दात सकिँदै गएको छ,’ उनले भने, ‘खाद्यान्न आपूर्ति सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।’

 

Girl in a jacket