‘च्याउ भनेर विष खाइएछ’

‘च्याउ भनेर विष खाइएछ’
Girl in a jacket

वीरेन्द्रनगर — घाँस काट्न जंगल गएको बेला कुशे गाउँपालिका–१ स्याँक्री, जाजरकोटका टेकबहादुर चलाउनले मुढे च्याउ टिपेर ल्याए । साँझ तरकारीको रुपमा पकाएर खाए । तर, उनको जीवनमा च्याउको मूल्य यति महँगो भयो कि, छोरा–छोरी र नातिनी गरी ५ जनालाई  गुमाउनुपर्‍यो । उनी आफै पनि अस्पतालको शय्यामा मृत्युसँग संघर्ष गरिरहेका छन् ।

असार ९ गते राति टिपेर ल्याएको च्याउ खाँदा २३ वर्षीय छोरा ललित, छोरीहरु १६ वर्षीया औसरा र १३ वर्षीया धनसरा तथा नातिनीहरु ११ वर्षीया निरुता सिंह (भाइकी नातिनी) र २ वर्षीया अन्जनाको मृत्यु भयो । उनीसहित बुहारी कल्पना र भतिजी पशुपतिको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । ‘हेर्दै खाउँखाउँ लागेर वनबाट टिपेर ल्याएँ, त्यो त के को च्याउ हुनु, बिख पो रहेछ,’ अस्पतालको बेडमा रहेका टेकबहादुरले बुधबार कान्तिपुरसँग भने, ‘राम्ररी नचिनेको चिज खाँदा अहिले यस्तो अवस्थामा पुग्नुपर्‍यो ।’ अहिले उनी आईसीयुमै रहेका छन् ।
५५ वर्षीय टेकबहादुर परिवारका मुली हुन् । श्रीमतीले पहिल्यैदेखि ज्वरो आएर बिरामी भएकीले च्याउ खाइनन् । कान्छो छोरा–बुहारी माइतीमा र जेठो छोरा घरबाहिर रहेकाले उनीहरु पनि च्याउ खानबाट जोगिए । घरमा रहेका टेकबहादुरसहित अन्य ८ सदस्यले भने च्याउ खाए । च्याउ खाएको भोलिपल्ट (शनिबार) बिहानैदेखि पेट दुख्ने, पैतलाको माथिल्लो भाग र आँखा सुन्निने तथा श्वास फेर्न अप्ठेरो हुनेजस्ता लक्षण देखिए । च्याउ खाएका सबैमा यस्ता लक्षण देखिएपछि टेकबहादुरलाई विषालु च्याउ रहेछ भन्ने लाग्यो । त्यसैले हतार–हतार छिमेकीको सहयोगमा उनीहरु गाउँकै बाटुलेचौरस्थित मेडिकलमा पुगे । उपचारको क्रममै आइतबार २ वर्षीया नातिनी अन्जनाको मृत्यु भयो । अन्यको अवस्था पनि गम्भीर बन्दै गएपछि सोमबार गाउँपालिकाको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमा ७ जनालाई सुर्खेत ल्याइयो । तैपनि सबैको ज्यान जोगिएन । सोमबार राति १६ वर्षीया छोरी औसरा, मंगलबार दिउँसो १३ वर्षीया छोरी धनसरा तथा ११ वर्षीया नातिनी निरुता र शुक्रबार बिहान छोरा ललितको मुत्यु भयो ।

 

Girl in a jacket