कोरोना भाइरस महामारीः लकडाउन खुले पनि शरद्‌याममा नेपाल घुम्न विदेशी पर्यटक आउलान् कि नआउलान्

Girl in a jacket

[ad_1]

  • प्रदीप बस्याल
  • बीबीसी न्यूज नेपाली

चार महिनापछि लकडाउन हटाउँदा सरकारले नेपालमा आसन्न शरद्‌यामको पर्यटकीय गतिविधिलाई लक्षित गर्दै पर्यटन क्षेत्र पनि खुला गरिने सङ्केत दिएको छ। तर पर्यटन व्यावसायी एवं विज्ञहरूले त्यसबारे थप स्पष्टता आवश्यक भएको औँल्याएका छन्।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले यसअघि गरिएका झन्डै ३० प्रतिशत पदयात्रा र पर्वतारोहणका बुकिङ नै रद्द नभएकोले शरदयामका लागि आफूहरू आशावादी भएको बीबीसीलाई बताए।

“लकडाउन खुलेपछि पहिलो चरणमा हामीले हिमाली भेगका पर्यटनलाई प्रोत्साहन गर्ने सोच बनाएका छौँ। त्यहाँ अहिलेको तथ्याङ्कले (त्यहाँ) सङ्क्रमण पनि निकै थोरै देखाएको छ।”

तर व्यावसायी एवं विज्ञहरूले पर्यटन निकै संवेदनशील क्षेत्र भएकाले नेपालले तय गरेका मापदण्ड र धरातलीय अवस्थाको स्पष्ट जानकारी दिने काममा जोड दिनुपर्ने बताउँछन्।

आउलान् त पर्यटक?

नेपालमा शरद्‌ऋतुका तीन महिना पदयात्रा र पर्वतारोहणका लागि पर्यटकहरूले रुचाउने समय हो।

विगतको वार्षिक तथ्याङ्क हेर्दा उक्त अवधिमा झन्डै एकतिहाइ पर्यटक आउने गरेको देखिन्छ।

“मुख्य कुरा नेपालले खुला गरेर मात्र हुँदैन, यो विशेष परिस्थिति भएकाले स्रोत मुलुकहरूले समेत आफ्ना नागरिकलाई कुन-कुन देश जान सुरक्षित छन् भनेर यात्रासम्बन्धी एड्भाईजरी (सुझाव) जारी गर्ने गर्छन्,” पर्यटन व्यावसायी अमरबहादुर शाही भन्छन्।

“त्यसको लागि यहाँको तयारी र क्षमताले उनीहरूको विश्वास जित्ने चुनौती हामीमाझ छ। दुई महिनामै सुरु हुन लागेको शरद्‌यामका लागि धेरै आशा गर्ने ठाउँ म देख्दिनँ।”

सगरमाथा आरोहणका लागि वसन्तऋतु धेरै उपयुक्त मानिन्छ। तर पदयात्रा गरेरै चढ्न सकिने साना हिमालदेखि मध्यमखाले र ८,००० माथिका केही हिमालका लागि शरद्‌याम रोजिने गरेको छ।

आरोही तथा पर्वतारोहण सञ्चालक मिङ्मा शेर्पा भन्छन्, “धवलागिरि, मनास्लु, मकालुजस्ता अग्ला हिमालका लागि धेरैले शरद्‌याम सहज मान्छन्। सरकारको निर्णयसँगै हामीलाई आरोहीहरूले सम्पर्क गर्न थालिसकेका छन्।”

पर्यटन बोर्डले जारी गरेको मापदण्डमा आरोहण वा पदयात्राका समूह १५ जनाभन्दा बढीको हुन नपाउने उल्लेख छ।

मिङ्मा शेर्पा भन्छन्, “हाम्रा पदयात्रा वा आरोहण दललाई हामीले पहिले झैँ अब अरूसँग भेटघाट गर्न दिनेछैनौँ। यात्राको योजना निकै सूक्ष्म र व्यवस्थित ढङ्गले बनाउनेछौँ। पोहोरको तुलनामा कम्तीमा आधा आरोहीहरू हुने हाम्रो अनुमान छ।”

नेपालमा बुकिङ गर्दा तिरेको रकम फिर्ता लैजान समस्या भएकाले कतिपयले पूर्वनिर्धारित योजना सारिरहेको बताइन्छ।

दैनिक सङ्क्रमण पुष्टि हुने क्रम जारी रहेकाले शरद्‍याममै नेपाल घुम्न आउन सम्भव नहुने व्यावसायीहरूको भनाइ छ।

तयारी

नेपाल पर्यटन बोर्डले नयाँ परिस्थितिसँग अनुकूल हुने सुरक्षाका मापदण्ड र शैली समेटिएको तालिम ३,००० जनाभन्दा बढीलाई दिइसकेको जनाएको छ।

त्यसमा सामाजिक दूरी कायम गर्नेदेखि पर्यटकहरूले प्रयोग गर्ने सामग्रीहरू निर्मलीकरण गर्ने कुरासम्म थियो।

त्यसले समूहमा रहेर सुविधाहरू साझेदारी गर्दै सस्तोमा घुमफिर गर्नेलाई भने मर्का पार्ने ठानिएको छ।

नेपाल आउने पर्यटकहरूको दैनिक खर्च विगतका वर्षमा दैनिक औसत ५० अमेरिकी डलर पाइनुले पनि सीमित पैसामा घुम्ने पर्यटकको सङ्ख्या उल्लेख्य भएको देखिन्छ।

“अन्तर्राष्ट्रिय उडानको सञ्जालमा देखिएको अवरोधले त्यसै पनि महँगो नेपाल आउने भाडादर झन् चर्को हुनसक्ने जोखिम छ,” व्यवसायी अमरबहादुर शाहीले भने।

तस्बिरको क्याप्शन,

लकडाउनले नेपालको पर्यटन उद्योग नराम्ररी प्रभावित भयो

तर पर्यटनविज्ञ खेम लकाई भने उद्योग ठप्प हुनुभन्दा आंशिक रूपमा नै भए पनि चलायमान हुने अवसरलाई राम्रो मान्नुपर्ने धारणा राख्छन्।

“यस्तो बेला खासगरी यसअघि नेपाल आइसकेका र यहाँको परिवेशलाई नजिकबाट चिनेकाहरू आउन खोजिरहेका छन्। अन्यको हकमा नेपालले प्रभावकारी सूचना र सहजीकरण गर्न आवश्यक छ,” लकाई भन्छन्।

“यस्तो महामारीका बीच पर्यटनको ब्रान्डिङ गर्ने काम भिन्न र विशेष चुनौती हो। यतिखेर हुने हाम्रो प्रचारशैलीको केन्द्रमा भाइरसबाट कसरी सुरक्षित रहेर घुम्न सकिन्छ भन्ने नै हुनुपर्छ।”

प्रभाव

विदेशी मुद्रा आर्जन गर्ने नेपालको दोस्रो प्रमुख क्षेत्र पर्यटन हो। सरकारले यो वर्षको २० लाख पर्यटक भित्र्याउने योजनासहित नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो।

निकै ठूलो लगानी गरिएको उक्त योजना महामारीका कारण स्थगित भयो।

यो वर्ष वसन्तऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि नखोलिँदा त्यसको मार सरकारी राजस्व र थुप्रै आरोहण सहयोगी शेर्पाहरूको नियमित जिविकोपार्जनसम्म परेको थियो।

नेपालको पर्यटन उद्योगमा पूर्णकालीन र मौसमी गरी १० लाखभन्दा बढी मानिसहरू आश्रित भएको बताइन्छ।

पदयात्रामा मात्र नेपालमा वार्षिक डेढ लाखभन्दा बढी पर्यटकहरू आउने गरेका थिए।

विज्ञहरूले अहिलेसम्म क्षतिको आकार एक खर्ब रुपैयाँभन्दा माथिको रहेको आकलन गरेका छन्।

यो पनि हेर्नुहोस्

कोरोनाभाइरस: अर्थतन्त्र जोगाउने कि जनता भन्ने द्विविधा

[ad_2]

Source link

Girl in a jacket