कोरोना भाइरस नेपाल: ९९ प्रतिशतभन्दा धेरै सङ्क्रमितमा लक्षण छैन, न्यूनमात्रै सघन उपचारमा

Girl in a jacket

[ad_1]

  • सञ्जय ढकाल
  • बीबीसी न्यूज नेपाली

नेपालमा माघमा देखापरेको कोरोनाभाइरस सङ्क्रमणले साउनमा आइपुग्दा साढे सत्र हजारलाई ग्रसित पारिसकेको छ।

तीमध्ये झन्डै बाह्र हजार निको भइसके भने ४० जनाको ज्यान गएको छ।

अर्थात् सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजारभन्दा केही कम रहेको छ।

तर अत्यधिक सङ्ख्यामा सङ्क्रमितहरूमा कुनै पनि किसिमको लक्षण नदेखिएका बताइएको छन्।

कस्तो छ स्थिति?

आइतवार बीबीसीसँग कुरा गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने, “अहिलेसम्मको आँकडा विश्लेषण गर्दा ९९.७ प्रतिशत सङ्क्रमित मानिसमा कुनै लक्षण देखिएको छैन।”

“सघन उपचार केन्द्रमा एकदमै न्यून सङ्ख्यामा बिरामी राख्नुपरेको छ। भेन्टिलेटरमा त अहिले कोही पनि राखिएको मलाई जानकारी आएको छैन।”

कोरोनाभाइरस सङ्क्रमणका धेरै घटना बेहोरेका सुदुरपश्चिम प्रदेश तथा प्रदेश नं. ५ का चिकित्सकहरूको अनुभव पनि उस्तै छ।

सुदुरपश्चिमको सेती प्रादेशिक अस्पतालको कोभिड-१९ उपचार विभागका प्रमुख डा. शेरबहादुर कुँवर भन्छन्, “हाम्रो अस्पतालमा एकजनालाई आईसीयूमा राखेर पछि भेन्टिलेटरमा राख्नु परेको थियो।”

“ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या भएर आएका तिनै बिरामी थिए। उनको ज्यान बचाउन सकिएन। बाँकी अत्यधिक सङ्ख्याका बिरामीमा कुनै लक्षण देखिएन।”

प्रदेश नं. ५ को प्रादेशिक अस्पतालका कोरोनाभाइरस उपचार केन्द्रका डा. सुदर्शन थापाका अनुसार त्यहाँ पनि भेन्टिलेटरमा एकजनालाई मात्रै राख्नुपरेको र उनको स्वास्थमा पछि सुधार आएको थियो।

“हामीले करिब १० जनालाई सघन उपचार कक्षमा राख्नुपरेको थियो। अहिले पनि एकजना बिरामी आईसीयूमै हुनुहुन्छ। अरू बाँकी बिरामीमा भने लक्षण देखिएन,” डा. थापाले बताए।

निगरानीका अन्य तरिका

लक्षण नदेखिनुको फाइदाका साथै बेफाइदा पनि हुन्छ।

लक्षण नदेखिएका मानिस सामान्य आवतजावत गरिरहेका हुन सक्छन् र नजानिँदो तवरले जोखिममा परेका समूहलाई सङ्क्रमण सारिरहेका हुन सक्छन्।

त्यसको परिणाम पनि अस्पतालमा बढेको भिड या मृत्युदरमा आएको अस्वाभाविक परिवर्तनमा देखिनु पर्छ। तर त्यसो नभएको अधिकारीहरू बताउँछन्।

डा. पाण्डे भन्छन्, “हामीकहाँ पूर्वसावधानी गराउने अर्ली वार्निङ रिपोर्टिङ प्रणाली विद्यमान छ जसअनुसार स्वासप्रस्वासका गम्भीर बिरामी आए त्यसको जानकारी अस्पतालहरूले गराउनु पर्छ।”

“तर उपलब्ध आँकडा विश्लेषण गर्दा विगतका वर्षका तुलनामा न्युमोनियाका बिरामीहरू पनि कम पाइएका छन्।”

महामारी रोगका विज्ञ डा. बाबुराम मरासिनी यस्तो पूर्वसावधानीको प्रणाली कत्तिको व्यवस्थित र विश्वसनीय रहेको छ भन्ने निर्क्योल गर्नुपर्ने सल्लाह दिन्छन्।

“यदि यसलाई विश्वसनीय र भरपर्दो बनाउन सकियो भने यसले निकै मद्दत गर्छ,” उनले भने।

तर उनले अब नेपालमा विगत छ महिनामा कोरोनाभाइरस सङ्क्रमणको प्रकृति र प्रवृत्तिलाई विस्तृत अध्ययन गर्न जरुरी भएको बताए।

“त्यसपछि मात्र अलि ढुक्क हुन सकिन्छ।”

अध्ययन गरिने

हाल नेपालमा कोरोनाभाइरस सङ्क्रमितमध्ये मृत्युदर ०.२ प्रतिशत रहेको छ।

प्रति दश लाख जनसङ्ख्यामा नेपालमा १.४ को मृत्यु भएको छ। यो सङ्ख्या भारतमा १९ छ भने बाङ्ग्लादेशमा १६ अनि श्रीलङ्कामा ०.५ रहेको छ।

नेपालमा प्रति दश लाख जनसङ्ख्यामा ६०० सङ्क्रमित पाइएका छन्। भारतमा यो सङ्ख्या ७८१ रहेको छ भने बाङ्ग्लादेशमा १,२२६ र श्रीलङ्कामा १२६ रहेको छ।

कुनैपनि स्थानमा सङ्क्रमण फैलन तीनवटा विषय मुख्य जिम्मेवार ठानिन्छन्।

तिनमा एजेन्ट वा सङ्क्रमणको कारक तत्व (वर्तमान सन्दर्भमा भाइरस), होस्ट वा सङ्क्रमित हुने शरीर र वातावरण पर्छन्।

भाइरस कत्तिको शक्तिशाली पाइएको छ, समुदायका सदस्यहरू माझ प्रतिरोधी क्षमता कस्तो छ तथा तापक्रम, उचाइजस्ता वातावरणीय पक्षको के प्रभाव छ भनेर अध्ययन नगरीकन कुनै निचोडमा पुग्न नसकिने वैज्ञानिकहरू बताउँछन्।

ती तीन तत्वकै विस्तृत अध्ययन गरेर मात्र कुनै स्थानमा किन सङ्क्रमण धेरै वा थोरै देखियो भन्न सकिन्छ।

त्यसको लागि तयारी थालिसकिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भनाइ छ।

परिषद्का सदस्य-सचिव डा. प्रदीप ज्ञवाली भन्छन्, “हामीले यो महामारीको उपचार तथा अध्ययनमा सामेल विभिन्न विज्ञ तथा निकायहरूसँग मिलेर समूह बनाएर अध्ययन थाल्दैछौँ।”

यो अध्ययनमा तीनवटा मुख्य पक्ष सामेल रहेको उनले बताए।

पहिलो क्लिनिकल परीक्षणमा कति बिरामी भए, कस्ता लक्षण देखिए, गम्भीर बिरामीहरू कस्ता थिए, कति समय अस्पतालमा भर्ना हुनुपर्‍यो, मृत्युदर, उमेर तथा स्थान सबै हेरिने बताइएको छ।

दोस्रो थ्रोट स्वाबबाट निकालिएका भाइरसको जीन सिक्वेन्सिङ् वा आनुवंशिक परीक्षण गरिने र तेस्रो, समुदायका मानिसहरूको प्रतिरोधी क्षमता जाँचिने बताइएको छ।

“यी तीनै पक्ष अन्तरसम्बन्धित हुन्छन्। भूगोल, वातावरण र खानपिन सबै हेरिन्छ। हामी चाँडै नै लक्षण कम भएका तथा लक्षण देखिएका, मृत्यु भएका अनि विभिन्न उमेर र स्थानका मिलाएर १५-२० वटा नमुना सङ्कलन गरि अध्ययन थाल्नेछौँ,” डा. ज्ञवालीले बताए।

उक्त अध्ययन देशभित्रै काठमाण्डू विश्वविद्यालय लगायत अन्य विज्ञ संस्था तथा व्यक्तिहरूको सहभागितामा गरिने बताइएको छ।

“नमुना परीक्षण गर्न थालेको १०-१५ दिनमा नतिजा आउँछ। यसले हामीलाई आगामी दिनमा यसको रोकथाम र नियन्त्रणमा कस्ता नीति अँगाल्नुपर्छ भनेर दिशानिर्देश गर्नसक्छ।”

[ad_2]

Source link

Girl in a jacket