नेपाल मनसुन: अविरल वर्षाका कारण धेरै ठाउँमा सडक अवरुद्ध; ‘वर्षा अझै केही दिन नरोकिने’

Girl in a jacket

[ad_1]

वर्षा

तस्बिरको क्याप्शन,

देशभरका ठूला-साना दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन्

आइतवारदेखि सुरु भएको मनसुनी वर्षाले निम्त्याएको बाढी र पहिरोजन्य विपद्‍बाट तीन दिनमा कम्तीमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ।

प्रवक्ता डीआईजी निरजबहादुर शाहीले भने: “पानी पर्ने मौसम सुरु भएको जेठ ३० देखि ज्यान गुमाउनेहरूको सङ्ख्या १२० पुगेको छ।”

पहिरोका कारण काठमाण्डू जोड्ने एउटा प्रमुख सडक पृथ्वी राजमार्ग सहित ठूला-साना दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएको अधिकारीले बताएका छन्।

पछिल्लोपटक जल तथा मौसम विज्ञान विभागले साउन ४ गतेबाट वर्षाको क्रम बढ्दै जाने एवम् साउन ५ र ६ गते उच्च विन्दूमा पुग्ने अनुमान गरेको थियो।

वर्षा ‘नरोकिने सङ्केत’

मङ्गलवार साँझबाट वर्षाको मात्रा घट्ने देखिए पनि थप केही दिन पानी पर्न सक्ने देखिएको विभागका वरिष्ठ जलविद् विक्रम श्रेष्ठ जुवा बताउँछन्।

उनले भने: “अहिलेको अवस्थामा न्यून चापीय रेखा नेपालतर्फ नै रहेकाले कुनै न कुनै रूपले वर्षा जारी नै रहने देखिन्छ।”

“मौसमी सङ्केतहरूले पुन: यस्तो भारी वर्षा अर्को सातातिर पनि हुन सक्ने देखाउँछ।”

आगामी साताको वर्षाबारे केही दिनपछि मात्र प्रस्ट पूर्वानुमान गर्न सकिने मौसमविद्को भनाइ छ।

गत २४ घण्टामा रूपन्देहीको सूर्यपूरामा सबैभन्दा उच्च १९२.८ मिलिमिटर वर्षा मापन गरिएको छ।

त्यसबाहेक गोरखा, बारा, मकवानपुर र कास्कीमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।

सडक अवरुद्ध

पहिरोका कारण काठमाण्डू जोड्ने एउटा प्रमुख सडक पृथ्वी राजमार्ग सहित ठूला-साना दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएको अधिकारीले बताएका छन्।

पृथ्वी राजमार्गको मोवाखोला पुल छेउको सडक बगाएरका कारण सडक अवरुद्ध छ भने पुल जोखिममा परेको छ।

उक्त राजमार्गमा थुप्रै स्थानमा पहिरो गएको बताइएको छ।

हालसम्म बेनी-जोमसोम खण्डमा म्याग्दीको गलेश्वर नजिक पुल बाढीले बगाएको छ भने अरनिको राजमार्गमा झ्यालेको पुल बगाइदिएको छ।

पुल तत्कालै बनाउन नसकिने अवस्थामा यातायात सञ्चालनमा ल्याउन प्रयोग हुने २८ वटा अस्थायी पुल बेलीब्रीज सरकारसँग रहेको अधिकारीहरूको भनाइ छ।

सडक विभागको पुल महाशाखा प्रमुख दिपक भट्टराई भन्छन्: “पुल भत्किएका वा बगाएका ठाउँमा हामीले एक-डेढ साताभित्रै तिनलाई राख्न सक्छौँ।”

पूर्व-पश्चिम राजमार्गमा केही पुल जोखिममा रहेको सडक विभागका भट्टराई बताउँछन्।

सिद्धार्थ राजमार्गमा दुई ठाउँमा आएको ठूलो पहिरोको कारण अवरुद्ध हुन पुगेको हाम्रा बुटवल सम्वाददाता माधव नेपाल बताउँछन्।

उनका अनुसार बुटवल भएर बग्ने तिनाउ नदीमा पानीको सतह बढिरहेकोले आसपासका बासिन्दालाई सतर्क रहन सचेत गराइएको छ।

भोटेकोसी ‘निगरानीमा’

सोमवार चीनको खासा क्षेत्रमा पर्ने ‘केरूङ च्छो’ पोखरी भरिएर फुट्न सक्ने जोखिममा रहेको भन्दै चिनियाँ अधिकारीहरूले नेपाललाई जानकारी गराएको अधिकारीहरू बताउँछन्।

सो पोखरी फुटेमा भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका र किनारको बस्तीमा ठूलो बाढी आउन सक्ने भन्दै सचेत गराइएको छ।

जलविद् श्रेष्ठ जुवा भन्छन्: “त्यस क्षेत्रलाई चौबिसै घण्टा निगरानीमा राखिएको छ। अवस्था बिग्रनासाथ नदीको तल्लो तटीय क्षेत्रमा पर्ने हजारौँलाई एसएमएसबाट सचेत गराउने तयारी गरिएको छ।”

त्यसबाहेक पूर्वी र मध्य नेपालका ठूला र तिनका सहायक नदीको तहले सोमवारदेखि नै सतर्कताको तह पार गरेको देखिएको छ।

“नारायणी नदीमा सोमवार साँझ नै खतराको तहमा पानी पुगिसकेको छ भने कोशी नदीमा अझै पानीको उच्च नै छ,” उनले भने।

कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खुला गरिएका छन् भने नारायणीको पानी मिसिने ठाउँमा रहेको गण्डक ब्यारेजका पूरै ३६ वटा ढोला खोलिएको अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

प्रमुख नदीहरूको प्रत्यक्ष अवस्था देखाउने विभागको प्रणाली अनुसार मङ्गलवार बिहान नारायणी नदीको देवघाट, अरुण नदीको सिम्ले र सप्तकोशीको चतरामा पानीले खतराको तह पार गरेको देखिन्छ।

हाम्रा नारायणगढ सम्वाददाता ईश्वर जोशी भन्छन्: “यहाँका मानिसहरू नारायणी पुल र त्यस आसपास बनाइएका मूर्तिलाई आधार मानेर पानीको तह बढेको सहजै तुलना गर्छन्।”

“शहर आसपास र तल्लो तटीय क्षेत्रका मानिसहरूलाई त्यसले झन् बढी त्रसित बनाउँछ।”

उक्त बाढीबाट चितवनको झनझने, भगडी र सिचई एवम् नवलपरासीतर्फ गैँडाकोटका केही बस्तीहरू डुबानमा परेका छन्।

भरतपुर महानगरका करिब १०० परिवार बाढीबाट विस्थापित भएको जोशी बताउँछन्।

पूर्वी राप्तीको रजैया र नारायणी नदीको मुख्य पुलमा समेत पानीको तह बढ्ने क्रममा देखिन्छ।

झापा गाउँपालिकामा एक सय भन्दा बढि परिवार कन्काई नदिको निम्त्याएको बाढीबाट विस्थापित भएका छन्।

उनीहरूलाई स्थानिय विद्यालयका भवनहरूमा राखिएको छ।

हाम्रा झापा संवाददाता उमाकान्त खनालका अनुसार कन्काइ नदिमा आउने बाढिले पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणतर्फका गाउँमा नदि तट आसपासमा बढि क्षति पुर्‍याउने गरेको छ।

वर्षाका कारण चेतावनी दिने संयन्त्र नभएका साना र खहरे खोलाहरू वरपर सचेत रहन आवश्यक रहेको विज्ञ बताउँछन्।

[ad_2]

Source link

Girl in a jacket