कोरोना भाइरस महामारीः राष्ट्रसङ्घीय शान्ति सेना अदलीबदली आंशिक रूपमा खुल्यो, नेपाललाई पर्ने प्रभाव यस्तो

Girl in a jacket

[ad_1]

  • फणीन्द्र दाहाल
  • बीबीसी न्यूज नेपाली

कोरोनाभाइरस महामारीका कारण प्रभावित राष्ट्रसङ्घीय शान्ति अभियानमा खटिने फौजको अदलीबदली आंशिक रूपमा खुलेपछि नेपालबाट २१३ सैनिक मध्यअफ्रिकी गणतन्त्र र माली पठाइएको नेपाली सेनाले जनाएको छ।

शान्ति सेनामा खटिनुअघि पीसीआर विधिबाट कोभिड-१९ को परीक्षण गरी उनीहरूलाई १४ दिन क्वारन्टीनमा राखिएको नेपाली सेनाका प्रवक्ताले बीबीसीलाई बताए।

संयुक्त राष्ट्रसङ्घको शान्ति सेना हेर्ने निकाय डिपार्टमेन्ट अफ पीस कीपिङ अपरेशन्सका प्रवक्ताले ती सैनिकहरूलाई गन्तव्यमा पुगेपछि पनि क्वारन्टीनमा राखिएको र आवश्यकताअनुसार व्यक्तिगत सुरक्षाका सामग्री उपलब्ध गराइएको जनाएका छन्।

राष्ट्रसङ्घलाई शान्ति सैनिक उपलब्ध गराउने राष्ट्रमध्ये नेपाल चौथो स्थानमा छ। विभिन्न १३ वटा शान्ति मिशनमा ५,६००० भन्दा बढी नेपाली सुरक्षाकर्मी कार्यरत छन्।

फौज अदलीबदली

कोरोनाभाइरस महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा रोक लागेपछि गत चैतदेखि नै नेपालबाट शान्ति सैनिक जाने क्रम रोकिएको थियो।

राष्ट्रसङ्घले पनि एप्रिलदेखि जुन महिनासम्म सैनिक पठाउने प्रकिया निलम्बन गरेको थियो।

तर जुलाई महिनाको सुरूमा आंशिक रूपमा फौजको अदलीबदली गर्ने निर्णय भयो।

नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेल भन्छन्, “हालसम्म नेपाली सेनाले राष्ट्रसङ्घका दुईवटा मिशनमा तैनाथ फौज बदली गरेको छ। सैनिक प्रहरीका रूपमा मध्यअफ्रिकी गणतन्त्रमा ७१ जना र विस्फोटक सामग्री निष्क्रिय पार्ने विशेष एकाइमा रहने १४२ जना माली पठाइएको छ।”

पौडेल थप्छन्, “तैनाथ हुन गएका सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोभिड-१९ परीक्षण गराइएको थियो। चौध दिन पाँचखालस्थित शान्ति सैनिक तालिम केन्द्रमा बसेर कोभिड-१९ नेगेटिभ भएको प्रमाणपत्रसहित फौजहरू प्रस्थान गरेका हुन्।”

उनका अनुसार विगतमा जस्तो राष्ट्रसङ्घले चार्टर्ड विमानमा नभई यसपालि पहिलो पटक नेपाली राष्ट्रिय ध्वजावाहकको विमान प्रयोग गरिएको थियो।

उक्त विमानले १६८ जना नेपाली शान्ति सैनिकलाई स्वदेश फिर्ता ल्याएको छ र उनीहरू नेपालको सरकारी नियमानुसार विभिन्न आठ स्थानमा १४ दिन क्वारन्टीनमा बसिरहेको सैनिक प्रवक्ता पौडेल बताउँछन्।

राष्ट्रसङ्घ के भन्छ

संयुक्त राष्ट्रसङ्घको शान्ति सेना हेर्ने निकायका प्रवक्ता निक बर्नब्याकका अनुसार अहिले कोभिड-१९ महामारीले निम्त्याएको चुनौतीपूर्ण अवस्थालाई ध्यान दिँदै सावधानी अपनाइएको छ।

उनले सङ्क्रमणकालीन कदमका रूपमा जुलाई १ बाट डिसेम्बर अन्त्यसम्म आंशिक रूपमा राष्ट्रसङ्घीय शान्ति सैनिकहरूको अदलीबदली प्रक्रिया सुरु गरिएको र त्यस क्रममा जोखिमलाई कम गर्दै सकेसम्म बढी फौजलाई उक्त प्रकियामा समावेश गर्ने लक्ष्य राखिएको बताए।

उनी भन्छन्, “हामीले सबै शान्ति सैनिकका लागि स्वास्थ्य तथा सरसफाइको नीति र प्रक्रियाहरू (जस्तै हात धुने ठाउँ, मास्क लगाउने प्रावधान) लागु गरेका छौँ र हामीले हाम्रा अहिलेका सीमाहरू रहे पनि साझेदारहरूसँग मिलेर समुदायहरूलाई पनि सहयोग गरिरहेका छौँ।”

उनी थप्छन्, “शान्ति मिशनमा प्रस्थान गर्नुअघि र आइसकेपछि क्वारन्टीनमा बस्नुपर्ने, पीपीई उपलब्ध गराइने र स्वास्थ्य क्षमताको निरन्तर पुनरवलोकन गर्दै आपूर्तिमा देखिएका कमीलाई सम्बोधन गर्ने जस्ता कदम पनि चालिएको छ।”

उनका अनुसार सैनिकहरूलाई सङ्क्रमणबाट जोगिन गस्तीजस्ता गतिविधिमा संलग्न हुँदा अरू व्यक्तिलाई नछुन निर्देशन दिइएको छ।

आंशिक रूपमा फौज बदली हुने अहिलेको नीतिको समीक्षा आगामी अक्टोबर महिनामा गरिने राष्ट्रसङ्घले जनाएको छ। अहिले अनिवार्य क्वारन्टीनमा बस्नुपर्ने र त्यो अवधिमा लक्षण देखा परे त्यसलाई तत्काल पहिचान गरी एक्ल्याएर उपचार गरिने बर्नब्याकले बताए।

थपियो चुनौती

फोर्स कमान्डरका रूपमा गोलानहाइट्सस्थित मिशनको नेतृत्व गरेका रथी बलानन्द शर्मा कोभिड-१९ ले राष्ट्रसङ्घीय शान्ति अभियानमा अदलीबदली र तोकिएको जिम्मेवारी पूरा गर्न चुनौतीहरू थपेको बताउँछन्।

उनी भन्छन् “यहाँबाट गएको मानिसहरू उहाँ गएर पनि क्वारन्टीनमा बस्नुपर्ने हुन्छ किनभने उनीहरू अरूले गरेका परीक्षणहरू मान्दैनन्। राष्ट्रसङ्घको आफ्नै निकायले यस्ता विषय हेर्छ। त्यसबाहेक बिदामा बस्ने, अति जोखिमपूर्ण क्षेत्रमा खटिएकाहरूले आरामका लागि सहुलियतहरू पाउँथे… त्यो प्रयोग गर्न नपाउने देखिन्छ।”

शर्माका अनुसार चार्टड र सरकारी विमानमा दूरी कायम गरेर शान्ति सैनिक पठाउँदा राष्ट्रसङ्घलाई आर्थिक भार थपिन सक्छ।

त्यसबाहेक कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै सानो समूहमा राखेर शान्ति सैनिकहरूलाई काममा लगाउनुपर्ने हुनाले द्वन्द्वग्रस्त ठाउँमा तोकिएका कैयौँ जिम्मेवारी वहन गर्न अप्ठेरो आउन सक्ने उनको भनाइ छ।

पालो कुर्दै

नेपाली सेनाले दक्षिण सुडानमा बदली हुन लागेका ७०० सैनिकको नामावली अनुमोदनका पठाइएको बताएको छ।

पाँचखालस्थित तालिम केन्द्रमा शान्ति मिशनमा खटिन तालिम लिएका सैनिकहरू आफ्नो पालो कुरेर बसिरहेका छन्।

सैनिक प्रवक्ता पौडेल भन्छन्, “यसमा दुई-तीनवटा पक्षहरू संलग्न हुन्छन्। राष्ट्रसङ्घले नै फौज पठाउन सुरक्षित छ भनेपछि त्यसको शान्ति सेना हेर्ने निकायबाट समन्वय हुन्छ। त्यसले नै अदलीबदली स्वीकृत गर्ने र मिति निर्धारण गर्ने गर्छ।”

“अनि बदली गर्ने बेलामा जुन देशमा जाने हो त्यहाँको सरकारले उडानहरू स्वीकृति दिने या नदिने त्यो किसिमको प्रकियाहरू पूरा गर्छ। हाम्रा सैनिकहरू छनोट गरेर, तालिम गराएर तम्तयार अवस्थामा छँदैछन्।”

[ad_2]

Source link

Girl in a jacket