मुबारक बेगम: नेपाल-अङ्ग्रेज युद्धमा सहभागी ब्रिटिश जेनरलकी ‘पत्नी’ले बनाएको मस्जिद अहिले किन चर्चामा?

Girl in a jacket

[ad_1]

  • अमृता कदम र नामदेव अञ्जना
  • बीबीसी मराठी प्रतिनिधि

तस्बिरको क्याप्शन,

मुबारक बेगम मस्जिद

आइतवार दिल्लीमा ठूलो वर्षा भएको थियो। त्यो वर्षाका कारण पुरानो दिल्लीमा रहेको एउटा मस्जिदको गुम्बजमा क्षति पुग्यो। अन्तत: त्यो गुम्बज ढल्यो।

पुरानो दिल्लीको छिमेकी चावडी बजारस्थित साँघुरो गल्लीमा रहेको उक्त मस्जिद रातो चट्टानले बनेको छ। मस्जिद रहेको स्थानलाई हौज काजी चोक भनिन्छ।

इस्वी संवत् १९औँ शताब्दीमा उक्त मस्जिदलाई ‘रन्डीको मस्जिद’का रूपमा चिनिन्थ्यो। आजका दिनमा पनि कैयौँ मानिसहरू यसलाई सोही नामबाट चिन्छन्।

गालीगलौजको अर्थमा ‘रन्डी’ यौन व्यवसायी महिलालाई भन्ने गरिन्छ। एउटी यौनकर्मी महिलाको नाममा मस्जिद कसरी बन्यो भनेर अचम्म लाग्न सक्छ। ‘रन्डीको मस्जिद’का रूपमा चिनिए पनि त्यसको वास्तविक नाम भने ‘मुबारक बेगमको मस्जिद’ हो।

सन् १८२३ मा बनेको उक्त मस्जिद मुबारक बेगमले बनाएकी थिइन् वा उनको स्मृतिमा बनाइएको थियो भन्ने स्पष्ट छैन।

उक्त मस्जिदका मौलवीले बीबीसी मराठीसँग कुराकानी गर्दा दाबी गर्दै भने, “यो मस्जिद मुबारक बेगम स्वयंले बनाएकी हुन्। उनी एकदमै असल महिला थिइन्।”

यद्यपि त्यो मस्जिद कसले बनायो भन्ने दोधार रहेको छ। तर के चाहिँ निश्चित छ भने उक्त मस्जिद कि त यौनकर्मी महिलाले बनाएको हो वा उनको स्मृतिमा निर्माण गरिएको हो। त्यस बेला बादशाह, उनीहरूका पत्नी वा सम्भ्रान्तहरूले मात्र मस्जिद बनाउने गर्थे।

यो पनि हेर्नुहोस्

यसले मुबारक बेगम निकै प्रभावशाली थिइन् भन्ने देखाउँछ। यद्यपि इतिहासले उनीबारे खासै बताउँदैन। तर जेजति ऐतिहासिक सूचना उपलब्ध छन्, त्यसले धेरै रोचक कुराहरू उजागर गर्छन्।

त्यसमध्येको एउटा हो- उनको नाम मुबारक भएको र उनी दिल्लीमा बसोबास गर्ने भए पनि उनी वास्तवमा मराठी हिन्दू हुन्। उनी पुणेबाट आएकी थिइन्।

केही स्थानहरूमा उनको नाम चम्पा भएको पनि उल्लेख छ। तर त्यसलाई पुष्टि गर्ने धेरै सूचना उपलब्ध छैनन्।

उनी कसरी मुबारक बेगम बनिन् त? उनी कसरी दिल्ली गइन् र कसरी उनको नाममा मुगल संस्कृतिको झल्को दिने पुरानो दिल्लीमा मस्जिद बन्यो?

मुबारक बेगमको जीवन

मुबारक बेगमको जन्म ब्राह्मण परिवारमा भएको थियो। तर पछि धर्मान्तरण गरेर उनी मुस्लिम बनिन्। उनको नयाँ नाम बिबी महरतून मुबारक-उल-निसा-बेगम भयो। तर उनी ‘मुबारक बेगम’का नामले चिनिन थालिन्।

उनले ब्रिटिश आवासीय जेनरल डेभिड अक्टर्लोनीसँग विवाह गरिन्। कतिपयले भने उनलाई डेभिडकी ‘रखौटी’ पनि भन्ने गरेका छन्।

जेनरल डेभिड अकबर शाह-द्वितीयका राज्यकालमा दिल्लीका लागि आवासीय अधिकारी थिए। डेभिडको जीवनमा मुबारक बेगमको स्थान निकै महत्त्वपूर्ण थियो। मौलवी जफर मसान, मुबारक बेगमबारे द हिन्दू पत्रिकामा लेख्छन्- मुबारक बेगम डेभिडकी अत्यन्त प्यारी थिइन्।

उनका १३ वटी पत्नी थिए र मुबारक बेगम पनि त्यसमध्ये एक थिइन्। उनी डेभिडको सबैभन्दा कान्छो छोराकी आमा पनि थिइन्।

मुबारक र डेभिडले विवाह गरे पनि उनी डेभिडभन्दा निकै कान्छी थिइन्। तर उनको धेरै प्रभाव थियो भन्ने देखिन्छ।

त्यसै कारणले जेनरल डेभिडले मुबारक बेगमका छोराछोरीलाई मुस्लिम शैलीमै हुर्कन दिए। उनी स्वयम् पनि मानिसहरूलाई निजार (उपहार) र खिलत (सम्मानपूर्वक दिइने लुगा) दिने गर्थिन्।

दिल्ली विश्वविद्यालयका इतिहासका सहप्राध्यापक अनिरुद्ध देशपाण्डे भन्छन्, “ब्रिटिश र मुगल दुवै खेमाले मुबारक बेगमलाई घृणा गर्थे। उनी आफूलाई लेडी अक्टर्लोनी भन्थिन्, जुन ब्रिटिशहरूलाई मन पर्दैन थियो। उनी आफूलाई आफैँले ‘कुदासिया बेगम’ (सम्राटकी माता) पनि भन्थिन् त्यो कुरा मुगललाई मन पर्दैन थियो। अक्टर्लोनीले उनको नाममा एउटा बगैँचा बनाए त्यसमा मुगलहरू जाने गर्दैनथे।”

उनी आफ्नै हिसाबले बाँचिन्। यद्यपि रन्डी र वेश्याजस्ता शब्द अहिलेको प्रणालीमा निकै अपमानजनक मानिन्छन् तर मुगलकालमा यौनकर्मीलाई यो हदसम्मको अपमानपूर्वक हेरिँदैन थियो।

मुबारक बेगम पनि त्यस बेला निकै चर्चित नाम थियो भनिन्छ। दिल्लीको अन्तिम सबैभन्दा ठूलो मुशायरा पनि मुबारक बेगमको दरबारले आयोजना गरेको थियो। त्यसमा ४० जना शायरहरू सहभागी भएका थिए र तीमध्ये मिर्जा गालिब पनि थिए।

‘श्वेत मुगल’ डेभिड अक्टर्लोनी

इन्साईक्लोपीडीआ ब्रिटानिकाका अनुसार सर डेभिड अक्टर्लोनी सन् १७५८ मा बोस्टनमा जन्मिएका थिए।

उनी सन् १७७७ मा भारत आए। उनी लर्ड लेकको नेतृत्वमा कोइल, अलिगढ र दिल्लीको लडाइँमा सहभागी भए।

सन् १८०३ मा उनी दिल्लीको आवासीय अधिकारीका रूपमा नियुक्त भए। अर्को वर्ष उनी मेजर जेनरलका रूपमा बढुवा भए।

जब होल्करहरूले दिल्लीमा आक्रमण गरे उनले दिल्लीको रक्षाका लागि सहयोग गरे। उनले धेरैवटा लडाइँमा ब्रिटिश फौजको नेतृत्व गरे। त्यसमा नेपाल-अङ्ग्रेज युद्ध पनि पर्छ। उनको सन् १८२५ मा निधन भयो।

दिल्लीमा बस्दा डेभिड अक्टर्लोनीले इन्डो-फारसी मुगल संस्कृति स्वीकारेका थिए। “त्यसैले गर्दा डेभिड अक्टर्लोनीलाई ‘श्वेत मुगल’ भनिन्छ,” देशपाण्डे भन्छन्।

देशपाण्डेका अनुसार नेपाल-अङ्ग्रेज युद्ध, अङ्ग्रेज-मराठा युद्धलगायतमा अक्टर्लोनी स्वयम् सहभागी भएका थिए।

फरक विवरण

जिया उस सलाम आफ्नो पुस्तक ‘वुमन इन मस्जिद’मा भने अलि फरक विवरण दिएकी छन्।

बीबीसी मराठीसँग कुराकानी गर्दै उनले भनिन्, “ती महिला पहिले यौनकर्मी थिइन्। विगतबाट बाहिर आउन र समाजको कुलीन वर्गमा आफूलाई सहभागी गराउन उनले ठूलो प्रयास गरिरहेकी थिइन्। त्यसै कारणले उनले सुरुमा ब्रिटिश जेनरल डेभिडसँग विवाह गरिन्। उनको निधनपश्चात् उनले मुस्लिम सरदारसँग विवाह गरिन्।”

“मस्जिद बनाउने काम पनि सम्भ्रान्त वर्गले उनलाई स्वीकार गरून् भन्ने एउटा प्रयास थियो। एउटा संस्करणले उक्त मस्जिद मुबारक बेगमले बनाएको जनाउँछ भने अर्को संस्करणले जेनरल डेभिडले उक्त मस्जिद बनाए र मुबारक बेगमको नाम दिए। तर उक्त मस्जिद वास्तवमै मुबारक बेगमद्वारा बनाइएको हो। डेभिडले त्यसका लागि रकम दिएका हुन्।”

मध्ययुगमा धेरै मस्जिदहरू महिलाले बनाउन लगाएका छन्। उनीहरूले मदरसा पनि स्थापना गरेका छन्। दिल्लीको फत्तेपुरी मस्जिद शाहजाँहकी पत्नीद्वारा बनाइएको थियो। उनी राजाकी पत्नी थिइन् तर मुबारक बेगम यौनकर्मी थिइन्। त्यो कुरालाई ध्यान दिनुपर्ने जियाको धारणा छ।

मस्जिदको बनावट कस्तो?

प्रवेशद्वारमा एउटा प्लेटमा ‘मस्जिद मुबारक बेगम’ लेखेको देखिन्छ।

वास्तविक मस्जिद दुईतले छ। भुइँ तलमा अहिले विभिन्नखाले पसलहरू छन्। मस्जिदको मुख्य द्वारसम्म जानका लागि साँघुरो बाटो छ।

पहिलो तला भने मस्जिदले ओगटेको छ। त्यहाँ प्रार्थनाकक्ष छ। कुल तीनवट गुम्बज रहेको उक्त मस्जिदको एउटा गुम्बज आइतवार खसेको हो।

पूरै मस्जिद रातो बलौटे पत्थरबाट बनाइएको छ। आइतवार ढलेको गुम्बजमा पनि त्यो रहेको देखिएको छ।

केही वर्षमै २०० वर्ष पुग्न लागेको उक्त मस्जिदको एउटा गुम्बज खसे पनि अन्यत्र कतै पनि कुनै क्षति पुगेको देखिँदैन।

देशपाण्डे हौज काजी क्षेत्रका मानिसहरूले अहिले पनि उक्त मस्जिदलाई ‘रन्डीको मस्जिद’ नै भन्ने गरेको बताउँछन्। त्यस्तो शब्द उच्चारण गर्न कोही पनि हिचकिचाउँदैनन्। यो उनीहरूका लागि सामान्यजस्तो भएको छ।

[ad_2]

Source link

Girl in a jacket