कोरोना भाइरस लकडाउन: हिमाचलमा स्याउ टिप्न नेपाली मजदुर लैजाने प्रयास, केही गए तर अहिले नेपाल-भारत सीमामा अवरोध

Girl in a jacket

[ad_1]

  • विष्णु पोखरेल
  • बीबीसी न्यूज नेपाली

नेपाल-भारत सीमा बन्द रहे पनि दुवै देशका स्थानीय प्रशासनसँग समन्वय गरेर अहिले केही नेपालीहरू भारतको हिमाचलस्थित स्याउ बगैँचामा काम गर्न जान थालेको नेपाली कामदार र हिमाचलस्थित भारतीय स्याउ कृषकहरूले बताएका छन्।

उनीहरूका अनुसार कामदारको अभाव भएपछि कतिपय भारतीय कृषक र स्याउ व्यवसायीहरूले नेपाल-भारत नाकासम्मै सवारीसाधन पठाएर मजदुरहरू लैजान थालेका हुन्। त्यसरी जान लागेका नेपालीहरूलाई “व्यावहारिकता हेरेर जान अनुमति दिइएको” सीमा क्षेत्रका कतिपय अधिकारीहरूले बीबीसी बताएका छन्।

तर केही दिनदेखि दुवै देशका सीमामा खटिएका सुरक्षाकर्मीले भारत प्रवेश गर्ने खोज्ने मानिसलाई अवरोध गरेको हिमाचल जान सीमासम्म पुगेका केही नेपालीहरूले बताएका छन्।

स्याउ पाक्ने मौसम सुरु हुनै लागेकाले अहिले हिमाचलमा मजदुरको व्यापक कमी भएको बताइन्छ।

जानकारहरूका अनुसार विगतमा हिमाचलस्थित स्याउ बगैँचामा काम गर्न नेपालीहरू चैततिरै त्यहाँ पुगिसक्थे। यो वर्ष भने कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सीमानाका बन्द गरिएकाले नेपाली मजदुरहरू जान सकेका थिएनन्।

नेपालीको खोजी

स्याउ पाक्नै लाग्दासम्म मजदुर नपाइने अवस्था आएपछि हिमाचलस्थित स्याउ कृषक र व्यापारीहरूले नेपाली मजदुरहरूको खोजी गर्न थालेको त्यहाँ कार्यरत नेपाली मजदुरहरूले बताए।

हिमाचलको सिमलामा स्याउ बगैँचामै कार्यरत बाँकेका दीपक बुढाक्षेत्रीले बीबीसीसँग टेलिफोन कुराकानीमा भने, “यस वर्ष नेपालबाट मानिसहरू आएका थिएनन्। पहिले जति आएका त्यति मात्र थिए। अहिले स्याउ टिप्ने समय भएकाले यहाँ नेपालीहरूको खोजी भयो अनि हामीले हाम्रो सम्पर्कमा भएका मानिसहरूलाई सोध्यौँ।”

“आउन इच्छुकहरूलाई यहाँबाट अनुमतिपत्र पठाएर ल्याउने काम भइरहेको छ। हामी काम गर्नेभन्दा अर्को क्षेत्रमा पाँच-छ लट मानिसहरू आइसकेका छन्।”

उनले आफू कार्यरत स्याउ बगैँचाका सञ्चालकले पनि केही मजदुर आवश्यक परेको बताएपछि बाँकेमै रहेका आफ्ना दाजु गणेश बुढाक्षेत्रीसहित ११ जनाका लागि यात्रा अनुमतिपत्र पठाएको जानकारी दिए।

उनका दाइ गणेश बुढाक्षेत्रीले पनि आफूहरूले भारत जानका लागि स्थानीय तहबाट र जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र पाइसकेको तर सोमवार सीमानाकामा पुगेपछि सुरक्षाकर्मीले जान नदिएको बताए।

उनले भने, “धेरै नेपालीहरू हिमाचल पुगिसकेकाले अझै पनि जान पाइन्छ कि भनेर हामी प्रयास गरिरहेका छौँ।”

हिमाचलबाट सीमासम्म गाडी

दीपक बुढाथोकी कार्यरत बगैँचाका मालिक तथा सिमलाका स्याउ व्यवसायी सुनिल अवस्टाले मजदुरको अभाव भएकाले हिमाचल राज्य सरकारको निर्देशनअनुसार स्थानीय प्रशासनबाट अनुमतिपत्र बनाएर नेपालबाट कामदार मगाइएको जानकारी दिए।

उनले हाल आफूले ११ जना कामदार ल्याउने प्रक्रिया सुरु गरेको जानकारी दिए।

सिमलास्थित क्षेत्रीय प्रशासनले जारी गरेको देखिएको र अवस्टाले बीबीसीलाई उपलब्ध गराएको यात्रा अनुमतिपत्रमा हिमाचल प्रदेश सरकारले तोकेको मार्गदर्शनअनुसार कामदारहरू ल्याइने उल्लेख छ।

त्यसमा नेपालगन्जको सीमावर्ती नाका रूपेडियासम्म सवारीसाधन आउने र त्यसमा सामाजिक दूरी कायम गरेर कामदारलाई हिमाचलसम्म पुर्‍याइने लेखिएको देखिन्छ।

त्यस्तै हिमाचल पुगेर कामदारले १४ दिन क्वारन्टीनमा पनि बस्नुपर्नेछ।

त्यसका अतिरिक्त सवारीसाधनमा स्यानिटाइजर र मास्क प्रयोग गरेर मात्र यात्रा गराइने र दूरी कायम गरेर उनीहरूलाई राख्नुपर्ने उक्त अनुमतिपत्रमा उल्लेख छ।

कार्यस्थलमा पनि सामाजिक दूरी कामय गरेर काम गराउनुपर्ने, एउटा समूहले कार्यस्थल छाडेको एक घण्टापछि मात्रै अर्को समूहलाई काममा लगाउनुपर्ने र मजदुरहरूको स्वास्थ्य बीमा गराउनुपर्ने व्यवस्था प्रावधान राखिएको छ।

नेपाली मजदुर खोज्नुको कारण

अवस्टाले हिमाचलमा नेपाली मजदुरको खोजी हुनुको कारणबारे भने, “नेपालीहरूसँग हामीलाई काम गर्न निकै सजिलो छ। उनीहरू पहाडी बाटोमा पनि राम्ररी हिँड्न र गह्रुँगो भारी बोक्न सक्छन्। उत्तर प्रदेश वा बिहारबाट आएका मजदुरले त्यस्तो गर्न सक्दैनन्।”

तर केहीलाई आउन दिएर अहिले केही दिनदेखि नेपाल र भारतका अधिकारीहरू सीमामै कामदारहरूलाई रोकिदिँदा आफूलाई घाटा लागेको उनले बताए।

“हामीले सीमासम्म गाडी पनि पठाएका थियौँ। अहिले बोर्डरमा रोकिदिएको छ भनेर दुवैतिरका सुरक्षाकर्मीले आउन दिएका छैनन् भन्ने कुरा आएको छ,” उनले भने, “पहिले चाहिँ आउन दिएर यसरी रोक्दा हामीलाई घाटा लाग्यो। बेकारमा यातायात खर्च मात्र दिनुपर्‍यो।”

हिमाचलमै स्याउ बगैँचामा कार्यरत दैलेखका नवीन केसीका अनुसार त्यहाँका स्याउ कृषकहरूले अन्यका भन्दा नेपाली कामदार नै खोज्ने गर्छन्।

“यहाँ नेपालीहरूकै धेरै माग हुने भएकाले अहिले लकडाउनका बेला पनि उतैबाट काम गर्ने मान्छे ल्याउन लागेका हुन्,” हिमाचलमै रहेका केसीले टेलिफोनमा बीबीसीसँग भने।

हिमाचल जाने नेपालीहरूले स्याउ टिप्ने, क्रेटमा राख्ने, भण्डारण गर्ने, त्यसलाई बजारसम्म पुर्‍याउने, त्यसलाई सवारीसाधनमा लोड र अन्लोड गर्ने आदि काम गर्छन्।

त्यहाँ कार्यरत नेपाली मजदुरहरूका अनुसार उनीहरूलाई दैनिक ज्यालादारीका हिसाबले तलब दिने गरिन्छ।

अहिले दैनिक रूपमा नेपालीहरूले न्यूनतम ५०० भारतीय रुपैयाँ पाइरहेको दीपक बुढाक्षेत्रीले बताए।

अहिले कामदार अभावले स्याउ कृषकलाई निकै समस्या भएको बताइन्छ।

तर स्याउ उत्पादक सङ्घ भारतका अध्यक्ष रबिन्दर चौहानले नेपाल सरकारले कोरोनाभाइरस परीक्षण गरेको प्रमाणपत्रधारीलाई मात्र त्यसरी ल्याउनुपर्ने बताए।

हिमाचलमै रहेका उनले बीबीसीसँग टेलिफोनमा भने, “स्याउ कृषकले नै त सीमासम्म गाडी पठाएर कामदार ल्याउन म सम्भव देख्दिनँ। व्यापारीहरूले ल्याएको हुनसक्छ तर त्यसरी ल्याउने हो भने पनि परीक्षण गराएर मात्र ल्याउनुपर्‍यो नत्र यहाँ समस्या हुनसक्छ।”

स्याउको मौसममा हिमाचलमा मात्र झन्डै दुई लाख नेपालीहरू काम गर्न जाने उनको दाबी छ।

नेपाली अधिकारीहरू के भन्छन्?

सीमा क्षेत्रका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीहरूका अनुसार भारत सरकारकै आधिकारिक निकायबाट अनुमतिपत्र जारी भएका केही नेपाली कामदारहरूलाई भारत जान दिइएको थियो।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पहिले केही कामदारका हकमा त्यस्तो अनुमति दिइएको भए पनि गत सातादेखि रोकिएको बताए।

उनले भने, “हामीले केहीलाई अनुमति दिएका थियौँ, तर अहिले धेरै रकम असुलेर नेपालीहरूलाई लगिएको खबर आएपछि हामीले कुनै गलत काम पो भइरहेको छ कि भनेर केही दिनदेखि रोकेका छौँ।”

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले पनि भारतको सरकारी निकायको आधिकारिक अनुमतिपत्र हेरेर केही नेपालीलाई भारतमा रोजगारीका लागि जान दिइएको जानकारी दिए।

तर स्याउ बगैँचामा काम गर्न जानका लागि भने कञ्चनपुरबाट अहिलेसम्म नेपालीलाई भारत जान अनुमति नदिइएको उनले बताए।

उपाध्यायले सीमासम्म रोजगारदाताले नै लिन आउनेलाई मात्र त्यस्तो अनुमति दिइएको जानकारी दिए।

सीमा क्षेत्रकै एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, “यो खासमा व्यावहारिकता हेरेर गरिएको निर्णय हो। हामीले अलि लामो समयसम्म उतै बस्नेलाई जान दिएका छौँ।”

रूपेडियाबाट हिमाचलसम्म कामदार पुर्‍याउने जिम्मा लिएर आएका चालक गङ्गाराम केसीले पहिले नेपाली कामदारहरूलाई लैजान दिइएको भए पनि गत शुक्रवारदेखि सुरक्षाकर्मीले रोकेको बताए।

हाल हरियाणाको अम्बालामा रहेका रोल्पाका उनले बीबीसीसँग भने, “पहिले नेपालीलाई हिमाचलसम्म लान दिइएको थियो। मैले नै एक पटक १४ जना र अर्को पटक १२ जनाई रूपेडियाबाट हिमाचल पुर्‍याइसकेँ। यो १५ दिनजति अघिको कुरा हो। अहिले किन हो नेपालीलाई वारि (रूपेडिया) आउन दिइएको छैन।”

उनले भारतमै एक दशकदेखि आफूले गाडी चलाउने काम गर्दै आएको जानकारी दिए।

गृह मन्त्रालयको विवरणले के भन्छ?

गृह मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार असार महिनाभित्र मात्र नेपालबाट ४५३ जना नेपाली नागरिकहरू भारततर्फ गएका छन्।

त्यसरी भारत जानेमा बिरामी, बिरामीका आफन्त, कूटनीतिक नियोगका कर्मचारी र मजदुरहरू रहेको अधिकारीहरू बताउँछन्।

गृह मन्त्रालयका अनुसार असार महिनामा झापाहुँदै १३१, मोरङबाट ६, रुपन्देहीबाट २७६, कपिलवस्तुबाट २३ र बाँकेबाट ३ जना नेपालीहरू भारततर्फ गएका छन्।

भारत सरकारको आधिकारिक निकायबाट अनुमतिपत्र जारी भएकाहरूलाई कतिपय नेपालका स्थानीय तहहरूले पनि भारततर्फ जान दिनका लागि अनुमतिपत्र जारी गरेका छन्।

[ad_2]

Source link

Girl in a jacket