बर्मन बुढा: कम्युनिस्टका ‘आदर्श’, अरूका लागि ‘बहुलता विरोधी’

Girl in a jacket

[ad_1]

बर्मन बुढालाई पार्टीको झण्डा ओडाउँदै पुष्पकमल दाहाल

तस्बिरको क्याप्शन,

बर्मन बुढालाई पार्टीको झण्डा ओढाउँदै पुष्पकमल दाहाल

नेपालका कतिपय कम्युनिस्ट नेताहरूले “आदर्श” मान्ने एकजना पुराना कम्युनिस्ट नेता बर्मन बुढाको बुधवार निधन भएपश्चात् उनीबारे चर्चा परिचर्चा भइरहेको छ।

विशेषगरी कम्युनिस्ट र कम्युनिस्ट पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका नेताहरूले उनको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहालले उनको निधनले आफूहरू दु:खी भएको जनाएका छन्।

दाहालले उनको निधनले “नेपाली मुक्तिकामी आन्दोलनले अभिभावक गुमाएको” जनाएका छन्।

कसले के भने?

प्रधानमन्त्री ओलीले ट्विटरमार्फत् बुढा २०४८ सालमा सांसद हुँदा संसद्‌मा सँगै रहेको कुरा स्मरण गरेका छन्।

उनले लेखेका छन्, “उहाँ आफ्नो मौलिक परिचय र भेषसहित संसद्‌मा आइपुग्नु भएको म विशेष स्मरण गर्दछु।”

नेकपाका अर्का अध्यक्ष दाहालले ट्विटरमार्फत् नै बुढालाई “नेपाली मुक्तिकामी आन्दोलनका अथक र अविचलित योद्धा” भनेका छन्।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बुढाको घरमा बिताएको पलको सम्झना गरेका छन्।

उनले ट्वीट गर्दै भनेका छन्, “२०४९ सालको दशैँ थबाङस्थित वहाँको घरमा बिताएको र लामो सङ्गत गरेको सम्झना सधैँ भई रहनेछ।

पूर्व माओवादी नेता मोहन वैद्यले बुढाले रोल्पामा कम्युनिस्ट आन्दोलनलाई सङ्गठित बनाउन महत्त्वपूर्ण भूमिका खेलको बताए।

उनले बीबीसीसँग भने, “त्यहाँको वर्ग सङ्घर्ष, त्यहाँको जनसङ्घर्ष त्यहाँ कम्युनिस्ट पार्टीलाई रोल्पामा स्थापित गर्ने काममा कमरेड बर्मनको महत्त्वपूर्ण भूमिका रह्यो।”

उनले २०३२/३३ सालदेखि बुढासँग आफूले सहकार्य गरेको बताउँदै २०४१ सालमा नेकपा मसाल फुट्दाखेरि पनि बुढा आफ्नो पार्टीमै रहेको जानकारी दिए।

यसरी बने उनी कम्युनिस्ट

रोल्पाको थबाङका बुढा विद्रोही स्वभावका भए पनि सुरुमा उनलाई कम्युनिस्ट आन्दोलनबारे खासै केही थाहा नभएको बुढालाई कम्युनिस्ट बनाउन भूमिका खेल्नेमध्येका एकजना नेताले बताएका छन्।

आफूलाई अर्ध भूमिगत रहेको बताउने एकजना पुराना कम्युनिस्ट नेता मोहनविक्रम सिंहले बीबीसीसँग भने, “२०११ सालमा भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा हामी प्यूठान जेलमा परेका थियौँ। त्यसै क्रममा मनमोहन मिश्र भन्ने बडाहाकिमले उनलाई पक्राउको आदेश दिए र उहाँ पनि प्यूठान जेलमा पर्नुभयो। त्यसबेला हामीलाई भने पाल्पा जेलमा सारिएको थियो। तर उहाँको प्यूठान जेलमा हाम्रा तीनजना साथीसँग भेट भयो। त्यसबेलासम्म उहाँलाई कम्युनिस्टबारे जानकारी थिएन।”

मोहनविक्रमका अनुसार उनीहरू २०१३ सालमा जेलबाट छुटेपछि प्यूठानको जेलमा बस्दा बर्मनसँग सम्पर्कमा रहेका आफ्ना साथीहरूमार्फत् उनलाई कम्युनिस्ट पार्टीको सदस्यता दिइएको हो।

सुरुमा बुढा तत्कालिन गाउँका मुखियालाई हातपात गरेको आरोपमा जेलमा परेका थिए। तर जेलमा कम्युनिस्ट नेताहरूसँग भेट भएपछि मात्र उनी कम्युनिस्ट आन्दोलनतर्फ आकर्षित भएको मोहनविक्रमले बताए।

मोहनविक्रमहरूको समूहले बुढालाई कम्युनिस्ट बनाए पनि पछि पटक-पटक पार्टी फुट्ने क्रममा २०४१ सालमा नेकपा मसाल दुई टुक्रा भएपछि बुढाले मोहनविक्रमहरूको साथ छाडेका थिए।

“त्यसबेला उहाँले वैद्य (मोहन वैद्य) जीहरूलाई रोज्नुभयो तर हाम्रो कुराकानी र भेटघाट भइरहन्थ्यो,” मोहनविक्रमले भने।

कछाडमा संसद् भवन

पञ्चायती व्यवस्था अन्त्य भएर बहुदल आएपछि बुढा रोल्पा क्षेत्र नम्बर- १ बाट जनमोर्चाका तर्फबाट सांसद बनेका थिए।

त्यसक्रममा उनले मगरहरूले लगाउने परम्परागत पोसाक कछाड नै लगाएर संसद्‌ भवन प्रवेश गरेको कुराले त्यसबेला पनि निकै चर्चा पाएको जानकारहरू बताउँछन्।

प्रधानमन्त्री ओलीले पनि उक्त त्यसबेला उनी “आफ्नो मौलिक परिचय र भेषसहित” संसद्‌मा आएको उल्लेख गरेका छन्।

उनको सहपाठी रहेकाहरूले विभिन्न सञ्चारमाध्यमहरूमा सार्वजनिक गरेको विवरण अनुसार उनले राजाहरूसँगको भेटमा पनि कछाड नै लगाउने गरेका थिए।

सधैको विद्रोही

लामो समय एउटै पार्टीमा रहेर काम गरेका नेताहरू मोहनविक्रम र मोहन वैद्यका अनुसार उनी सधैँ विद्रोही स्वभावमा कायम रहे।

उनकै नेतृत्वमा थबाङमा कि त कम्युनिस्टलाई मात्र भोट हाल्ने कि त चुनावमा मतदान नै नगर्ने अवस्था आएको थियो।

“उहाँकै नेतृत्वमा थबाङ राज्यप्रतिको विद्रोह जीवित रहेको थियो,” मोहनविक्रम भन्छन्।

त्यस्तै माओवादी विद्रोहका बेला उनले हतियार नबोके पनि माओवादीलाई अभिभावक जसरी सहयोग गरेको वैद्य स्मरण गर्छन्।

रोल्पाकै कतिपय अन्य पार्टीका नेता तथा कार्यकर्ताहरू भने उनको सादगीको प्रशंसा गरे पनि उनले लिएको बाटोलाई समर्थन जनाउन नसकिने बताउँछन्।

रोल्पाको लिवाङ घर भएका नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थीसँगका पूर्व महामन्त्री तथा अहिले रोल्पाबाट नेपाली काङ्ग्रेसको महासमिति सदस्य रहेका मनोजमणि आचार्य पनि त्यस्तै मध्येका एक हुन्।

उनी भन्छन्, “उहाँको सादापनमा आलोचना गर्ने कुरा छैन तर उहाँले बहुलवादलाई स्वीकार्नु भएन। पञ्चायत कालको एउटा कुरा भयो तर बहुदलीय व्यवस्थामा पनि उहाँले अन्य पार्टीलाई थबाङमा सङ्गठन गर्न पनि दिनु भएन।”

उनको उक्त विचारलाई लोकतान्त्रिक मान्न नसकिने आचार्य बताउँछन्।

“कम्युनिस्टका हिसाबले हेर्दा उहाँको मूल्याङ्कन उच्च होला तर बहुलता नस्वीकारेको हिसाबले उहाँलाई अन्य दलले हेर्ने कुरा फरक पर्छ,” उनले भने।

तर बुढासँग आफ्नो भेटघाट हुने गरेको र उहाँको सादगीबाट आफू प्रभावित भएको आचार्यले बताए।

[ad_2]

Source link

Girl in a jacket