कोरोना भाइरस नेपालः लकडाउन हटाउने निर्णय ‘राजनीतिक’, अवस्था बिग्रिए ‘फेरि लाग्न सक्छ’

Girl in a jacket

[ad_1]

  • प्रदीप बस्याल
  • बीबीसी न्यूज नेपाली

सरकारले मङ्गलवार मध्यरातबाट ‘लकडाउन अन्त्य’ गर्ने निर्णय गरे पनि त्यससँगै सचेतनाको काम पर्याप्त नभएको भन्दै विज्ञहरूले प्राप्त उपलब्धि गुम्न सक्ने चिन्ता गरेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने सूचकहरू सुधारोन्मुख देखिएको र लकडाउन धेरै लामो हुँदा राज्यका अन्य गतिविधि ठप्प भएको व्यावहारिक कठिनाइलाई पनि ख्याल गरिएको बताएका छन्।

नेपालमा साउन ६ गतेसम्ममा झन्डै १८,००० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकोमा सक्रिय सङ्क्रमितको सङ्ख्या साढे पाँच हजारजति भएको सरकारी तथ्याङ्क छ।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा देखिएको छ।

लकडाउन अन्त्य गर्ने आधार के?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा फेला परेका सङ्क्रमितमध्ये झन्डै ९७ प्रतिशत नेपालबाहिरबाट आएका व्यक्ति हुन्।

विदेशबाट आउने अधिकांश व्यक्तिको पहिचान र परीक्षणको काम भइसकेको भन्दै एकै पटक ठूलो स्वरूपमा अवस्था बिग्रिन नसक्ने आकलन गरिएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

“जाँचको क्षमता हामीसँग यतिखेर दैनिक १०,००० को छ। र, अवस्था नराम्ररी बदलिए पुन: लकडाउन लगाउने अवस्था सधैँ रहन्छ।”

स्वास्थ्य मन्त्रालयका अनुसार जाँचका लागि पठाइएका नमुनामा कोरोनाभाइरस देखिने दर उच्चतम १६ प्रतिशत र औसतमा ८ देखि ९ प्रतिशत देखिएकोमा डेढ सातादेखि ४ प्रतिशत पनि नाघेको छैन।

तर अब अन्तर्राष्ट्रिय उडान पनि खोल्ने निर्णय भएकाले थप सावधानी र जाँचको आवश्यकता पर्ने विज्ञहरूको भनाइ छ।

सर्वसाधारणका लागि लागि सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात धोइरहने वा स्यानिटाइजर प्रयोग गर्ने कुरा यतिखेर पालना गर्नुपर्ने आधारभूत मापदण्ड रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन्।

‘राजनीतिक निर्णय’

झन्डै चार महिना लागेको लकडाउन खुलाइए पनि जनस्वास्थ्यविज्ञहरूले नेपाल जोखिममुक्त अवस्थामा पुगिनसकेकोले आवश्यक सतर्कता अनिवार्य भएको धारणा राख्छन्।

तीमध्येका एक डा. शरद वन्त भन्छन्, “यो राजनीतिक निर्णय हो। कोभिड-१९ को आँखाबाट हामी सतर्क हुने ठाउँहरू अझै निकै धेरै छन्।”

वन्तका अनुसार ‘लकडाउन अन्त्य’ भन्ने शब्दावली जसरी चर्चित बनेको छ र त्यति नै बेला थप जोखिम बढ्ने एवम् उच्च सावधानी चाहिने कुरा ओझेलमा देखिँदा सर्वसाधारण मानिसमा गलत सन्देश जान सक्छ।

तस्बिरको क्याप्शन,

नेपालमा सङ्क्रमणको सुरुमै लकडाउन गरिएको थियो

यसबीचमा विज्ञहरूले सरकारलाई कतिपय देशमा सङ्क्रमणको दर घटेपछि प्रतिबन्ध खुलाउँदा पुन: बढेको पृष्ठभूमि स्मरण गराएका थिए।

“ती अनुभवले सङ्क्रमणको दोस्रो लहर आउन सक्ने जोखिमलाई हामीले गम्भीरतापूर्वक हेर्नुपर्छ,” उनले भने।

के लकडाउन मात्र विकल्प हो?

लकडाउन एउटा बिन्दुमा पुगेपछि खोल्नुको विकल्प थिएन भन्नेमा अधिकारीहरू र विज्ञहरू दुवै सहमत छन्।

अझै विद्यालय, सभा-सेमिनार, पार्टीप्यालेस, डान्सबार, व्यायामशाला, चिडियाखाना, सामाजिक र धार्मिक स्थलजस्ता धेरै भिडभाड हुने ठाउँहरू खोल्ने मिति तोकिएको छैन।

त्यसैले लकडाउन अन्त्य भएको जसरी प्रचार गर्नु गलत भएको विज्ञहरूको भनाइ छ।

डा. वन्तको भनाइ छ: “लकडाउन खुल्नुलाई नियमित जीवनशैलीमा फर्किएको सन्देश गयो भने त्यो गलत हुनेछ।”

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम लकडाउन विशेष उद्देश्यले लगाइएको धारणा राख्छन्।

“यसबीचमा हामीले मानिसहरूलाई सचेत गराउनुका साथै हाम्रो स्रोत, पूर्वाधार र संयन्त्र विकास गरेका छौँ। खासमा लकडाउन त्यसको तयारी गर्न समयको जोहो गर्ने तरिका पनि थियो भनेर हामीले बुझ्नुपर्छ।”

तर अब अन्तर्राष्ट्रिय उडान खुला भएपछि नेपाल आउन खोजिरहेका मानिसहरूको व्यवस्थापन यतिखेर अर्को चुनौती हुनसक्ने बताइएको छ।

“तीनको जाँच र व्यवस्थापन हाम्रो अबको चुनौती हुनेछ। हामीलाई राम्रोसँग थाहा छ – एउटै सङ्क्रमित व्यक्तिले पनि महामारी फैलाउन आगोको झिल्कोजसरी काम गर्न सक्छ।”

[ad_2]

Source link

Girl in a jacket