कर्णालीमा जोखिमको बस्ती मनसुन अवधिभर सारिने

कर्णालीमा जोखिमको बस्ती मनसुन अवधिभर सारिने
Girl in a jacket

कर्णाली प्रदेशमा बाढी र पहिरोको जोखिममा रहेकाहरुलाई मनसुन अवधिभर सुरक्षित स्थानमा सारिने भएको छ ।

सोमबार बसेको प्रदेश विपद व्यवस्थापन समितिको बैठकले स्थानीय तहको समन्वयमा सुरक्षित ठाउँ पहिचान गरी नदी किनार र बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीका वासिन्दालाई स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

उनीहरुलाई खाद्य आपुर्ति र आवास व्यवस्थापन कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले गर्नेछ ।

पीडितको तत्काल उद्धार र राहत वितरणका लागि कम्तीमा ३ महिना एउटा हेलिकप्टर तयारी अवस्थामा राख्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव विनोदकुमार गौतमले जानकारी दिए ।

‘संघीय सरकार र नेपाली सेनाको समन्वयमा कर्णालीकै लागि एउटा हेलिकप्टरसमेत तयारी अवस्थामा राख्ने तयारीमा छौं’ उनले भने ।

सुरक्षा निकाय पनि तयारी अवस्थामा

विपदमा परेकाहरुलाई तत्काल उद्धारका लागि सुरक्षा निकाय पनि तयारी अवस्थामा रहेका छन् । तीनै सुरक्षा निकायलाई निर्देशन दिनुका साथै आवश्यक उपकरणहरुको पनि जोहो गरिएको छ ।

‘सुरक्षाकर्मीलाई निर्देशन मात्र नभई, मानवीय क्षति कम गर्नका लागि पूर्वाभ्यास पनि गराएका छौं,’ कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले भने, ‘हामीले विपद व्यवस्थापनका लागि सम्पूर्ण तयारी थालेका छौं ।’

मन्त्रालयले उद्धारमा खटिने सुरक्षाकर्मीहरुलाई रबर बोट, लाइफ ज्याकेटलगायतका आवश्यक उपकरण उपलब्ध गराउने तयारी गरेको छ ।

उद्धार कार्यको लागि नेपाल प्रहरीको नेतृत्वमा हरेक स्थानीय तहमा उद्धार टोली निर्माण गरी सक्रिय बनाउने, उद्धारका लागि आवश्यक सामग्रीको व्यवस्था मिलाउने, विपद प्रभावित समुदायको लागि खाद्यान्न, लत्ताकपडालगायतका वन्दोबस्तीका सामग्री व्यवस्थापन गरिने भएको छ ।

स्थानीय तहमा ‘टास्क फोर्स’

प्रदेशका ७९ वटै स्थानीय तहमा विपदमा परेकाहरुको तत्काल उद्वारका लागि कार्यदल गठन गरिने भएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी, जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय युवा, स्वास्थ्यकर्मी र विभिन्न संघ संस्थाका प्रतिनिधि उक्त कार्यदल (टास्क फोर्स)मा रहनेछन् ।

राजमार्गमा स्काभेटर

पहिरोका राजमार्ग अवरुद्ध भए तुरुन्त खुलाउन निश्चित दूरीमा पायक पर्ने गरी स्काभेटर तयारी अवस्थामा राखिने भएको छ । राजमार्गको २० देखि ३० किलोमिटरभित्र स्काभेटर राखिनेछ ।

त्यस्तै सडक पुगेका प्रत्येक स्थानीय तहमा खाद्य सामग्री ढुवानीका लागि एउटा ट्रक तयारी अवस्थामा राखिने भएको छ । सडक नपुगेको ठाउँहरुमा हेलिकप्टरको प्रयोग गरिने छ ।

मुख्यमन्त्रीको निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ३ महिना विपद प्रतिकार्यमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

विपद प्रतिकार्यमा प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, दातृ निकायलगायतको एकीकृत प्रयास हुनुपर्ने उनको भनाइ छ ।

उद्धार तथा उपचारको लागि यातायात पहुँच भएका क्षेत्रमा एम्बुलेन्स र पहुँच नभएका क्षेत्रका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न पनि मुख्यमन्त्री शाहीले निर्देशन दिए ।

 

Girl in a jacket