सहकारी ठगीको फरार सूचीमा रहेका ढोरपाटनका मेयरले भने–बचतकर्तालाई आफ्नो सम्पत्ति हस्तान्तरण गर्न तयार छु

सहकारी ठगीको फरार सूचीमा रहेका ढोरपाटनका मेयरले भने–बचतकर्तालाई आफ्नो सम्पत्ति हस्तान्तरण गर्न तयार छु


प्रहरीको फरार सूचीमा रहेका इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली ।

५ मंसिर, काठमाडौं । बागलुङ र पोखरामा सञ्चालित इमेज सहकारी संस्थाबाट बचतकर्ताहरूको बचत रकम अपचलन गरेको आरोप लागेपछि फरार रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको बताएका छन् ।

सहकारीमा देखिएको समस्या समाधान गर्न तयार रहेको भन्दै सामाजिक सञ्जाल मार्फत मेयर नेपालीले सम्पत्ति विवरण सार्वजनिक गर्दै बचतकर्तालाई फिर्ता गर्न तयार रहेको बताएका हुन् ।

दुवै सहकारीका संस्थापक अध्यक्ष समेत रहेका नेपालीले आफूलाई घरमै आएर हतियार सहित ६ लाख बचत भएका बचतकर्ताले ५ करोडको घर पास गर्न धम्की दिएपछि आफू घर बाहिर हुन परेका बताएका छन् ।

उनीविरुद्ध हजारौं बचतकर्ताले करोडौं ठगी गरिएको भन्दै उजुरी परेको छ । आफू मेयर भएकाले सहकारीमा समय दिन नसकेको कारण र सबै बचत कर्ताले एकै पटक बचत फिर्ता माग्न आउँदा सहकारीमा समस्या भएको बताएका छन् ।

उनले कतिपय बचतकर्ताले खातामा १० हजार हुँदा पनि १० लाखको निवेदन दिएको बताएका छन् । ‘कतिपयले ५० लाख फिक्समा भएकाले ९० प्रतिशत कर्जा मार्फत फिर्ता लगेका छन् । तर, ५० लाखकै दाबी निवेदन गरेका छन् । त्यसै कारणले इमेजमा २ अर्ब को डिपोजिटको हल्ला छ,त्यो सत्य होइन,’ नेपालीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

उनले सहकारी समस्या को समाधान तथा हिसाब मिलाउनका आफ्नो सम्पत्ति बेचेर हिसाब मिलान गर्ने समय माग्दा पनि समय नपाएपछि आफू घर छोडेर हिँड्न बाध्य भएको बताएका छन् ।

१८ वटा घर ४४ कित्ता जग्गा सम्पत्ति

फरार मेयर नेपालीले आफू र श्रीमतीको नाममा भएको ३ अर्ब भन्दा बढी सम्पत्ति मालपोत कार्यालयमा गएर हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

मेयर नेपालीका अनुसार बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा रहेका ४५ कित्ताहरुमध्ये बुर्तिबाङ मा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरा मा ३ वटा घर, काठमाडौंमा ६ वटा घर गरी जम्मा १८ वटा घर छन् ।

प्रहरी भन्छ-खाेजीकार्य जारी छ

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले सहकारी ठगी मुद्दामा फरार सूचीमा रहेका मेयर नेपालीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिबारे प्रहरी अनभिज्ञ रहेको प्रतिक्रिया दिए ।

‘उहाँ (मेयर नेपाली)ले लेख्नुभएको विषय हामीलाई केही आएको छैन । कानुन अनुसार फरार सूचीमा रहेका व्यक्तिहरुलाई प्रहरीले खोजिरहेको छ,’ विकले भने ।

उनले सहकारीका बचतकर्ताहरुले प्रहरी कार्यालयमा आएर उजुरी बारे समय समयमा जानकारी लिने गरेको समेत बताए ।

हेर्नुहोस् मेयरको वक्तव्यः



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्