इजरायल घटनाले चुडियो मन, बदलियो विदेश सपना – Online Khabar

इजरायल घटनाले चुडियो मन, बदलियो विदेश सपना – Online Khabar


२६ कात्तिक, काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत अमन मेहता पनि ‘पढ्दै सिक्दै कार्यक्रम’अन्तर्गत इजरायल जाने योजनामा थिए ।

पढाइसँगै राम्रो आम्दानी हुने आशमा इजरायलको सपना देख्दै आएका मेहता हमासको आक्रमणपश्चात भने हच्किएका छन् ।

‘पढ्दै सिक्दै कार्यक्रम’अन्तर्गत इजरायल पुगेका अग्रजसहितका साथी गुमाउनु पर्दा अमनको मन मात्रै चुडिएको छैन, वर्षौंदेखिको उनको सपनासमेत तुहिएको छ ।

पढ्दापढ्दै इजरायल गएका साथीहरु हमासको आक्रमणमा परी मृत्यु भएको घटनापश्चात भने अमनले सोच बदलेका छन् । पुरानो सपना त्यागेका छन्, नयाँ सपना देखेका छन् । विदेश नजाने निधोमा पुगेका छन् ।

इजरायल घटनापछि आफ्नो मन चुडिएको भन्दै उनले अब विदेशिने सपनालाई सपनामै सीमित गरेको बताए । ‘अब स्वदेशमै खेतीपाती गर्नेछु । रामपुरमा सिकेको ज्ञानलाई गाउँघरमै व्यवहारिकतामा उतार्दै स्वदेशमै श्रम बगाउँछु । गाउँमै बसेर आर्थिक उपार्जनको बाटो खोज्नेछु,’ उनले भने ।

हुनतः हरिनगर ३ गौतमपुर घर भएका अमन मेहताले कृषि विज्ञान अध्ययन थाल्दै गर्दा खेतीबाली लगाउन थालिसकेका थिए । त्यसबेला अनुसन्धान तथा सिकाईका रुपमा अघि बढाएको उक्त कार्यलाई अब भने उनी व्यवसायिक खेतीका रुपमा अंगाल्ने अठोटसाथ अघि बढेका छन् ।

गाउँमै खोलेको एलिसा कृषि र्फमलाई दीर्घकालीन रुपमा अघि बढाउने सोचमा उनी पुगेका छन् । घरमै खोलिएको कृषि र्फमलाई अमनका बुबा रामेश्वर मेहतासहित सिङ्गो परिवारले साथ दिएको छ ।
पछिल्ल्ाो घटनाक्रम पश्चात त अझ छोरो घरमै बसोस् र गाउँघरमै काम गरेर कमाओस् भन्नेमा पुगेको छ, अमनको परिवार ।

अमनले कृषि र्फममा यतिबेला सयपत्री फूल फुलाएका छन् । ड्रागन फल फलाएका छन् । ५ कट्ठा क्षेत्रफलमा ड्रागन फलसहित सयपत्री लगाएका अमन यही कृषि पेशालाई अघि बढाउने तयारीमा पुगेका छन् ।

आफू अध्ययनकै क्रममा रहेको र विदेशिने सोचमा रहँदा थोरै जग्गामा गरेको खेतीलाई अब भने विस्तार गर्ने सोचमा रहेको अमनले बताए ।

उनले विदेशिने सोच बदेलेर स्वदेशमै काम गरी कमाउने उद्देश्यसाथ लागिपर्ने आफ्नो योजना रहेको बताए ।

स्वदेशमै रोजगारी गर्ने वातावरण सरकारले मिलाउन नसकेकोप्रति चिन्तित युवा किसान अमनले कृषि नीतिमा समय सापेक्ष परिवर्तनको खाँचो रहेको औंल्याए ।

सरकारले किसानको हकहीतमुखी योजना लागू गर्नसके स्वदेशमै खेती किसानी गर्नेलाई राहत मिल्ने र व्यवसायिक रुपमा कृषि क्रान्ति सम्भव हुने धारणा राखे ।

 



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्