७ काइदा, यसपाली तिहारमा घरलाई सजाऔं फरक शैलीले – Online Khabar

७ काइदा, यसपाली तिहारमा घरलाई सजाऔं फरक शैलीले – Online Khabar


घरलाई सफासुग्घर राख्दा, झिलीमिली बनाउँदा, दियो-बत्ती बाल्दा लक्ष्मी भित्रिन्छ भन्ने शास्त्रिय मान्यता छ । लक्ष्मी धन-ऐश्वर्यकी प्रतिक । त्यसो त घरसँग हाम्रो भावनात्मक सम्बन्ध हुन्छ, जहाँ हामी अधिकांश समय व्यतित गर्छौं । आफु बस्ने घरलाई चिरिच्याट्ट सजाउँदा हाम्रो मन पनि प्रफुल्ल हुने नै भयो ।

खासगरी तिहारमा घरलाई विशेष ढंगले सजाउने प्रचलन छ । बर्षौंदेखि हामीले यसलाई निरन्तरता दिदै आएका छौं ।

घरलाई फरक वा विगतका भन्दा फरक शैलीमा सजाउन सके नयाँपन महसुष गर्न सकिन्छ । यद्यपि तिहार एक सांस्कृतिक चाड भएकाले घरलाई पनि सोही अनुरुप सजाउनु उत्तम हुन्छ ।

फुलको सजावट

सयपत्रीको मालालाई झ्याल-ढोकासहित घरको अग्रभागमा लस्करै सजाउन सकिन्छ । यसमा एकसमान माला राख्न सकिन्छ वा लामो-छोटो क्रमबद्ध मिलाएर पनि राख्न सकिन्छ ।

यदि फूल उपलब्ध छ भने आँगन, बार्दलीसमेत फूलमालाले सजाउन सकिन्छ । त्यस्तै वैठक कोठा वा घरभित्रको फराकिलो ठाउँमा पनि मालालाई कलात्मक रुपमा सजाउन सकिन्छ ।

कोठाको भित्तामा फूलमाला झुन्डाउँदा कोठाको खाली भित्ता सुन्दर देखिन्छ । यसका लागि सयपत्री फूलको मालाको तल्लो भागमा कृत्रिम घण्टी वा ड्रिम क्याचर राखेर भित्तामा झुन्डाउन सकिन्छ ।

पूजा कोठाको सजावट

कतिपयको घरमा स्थायी पूजाकोठा हुन्छ । त्यसैलाई सजाउन सकिन्छ । कतिपयले भने अस्थायी रुपमा पनि लक्ष्मीको फोटो, प्रतिमा आदि राखेर पूजास्थल बनाउन सक्छन् ।

पूजास्थलमा दुईतिर केराको थाम राख्ने, फूलमाला र झिलीमिली बिजुली राख्ने, दियो कलस राख्ने, फूल अक्षता राख्ने । केराको थाम राख्ने र पहेँलो वा रातो कपडाको टुक्राहरू प्रयोग गर्न सकिन्छ । साथै झिलिमिली बत्तीले पनि सजाउन सकिन्छ । पूजास्थलले पनि घरको आकर्षण बढाउँछ ।

दियो वा मैनबत्ती

लस्करै बालिएको दियोले घरलाई निकै आकर्षक देखाउँछ । सामान्यत माटोको दियोलाई एकसमान लहरमा राखेर बाल्न सकिन्छ । अहिले बजारमा विभिन्न शैली एवं डिजाइनका दियो उपलब्ध छ, आफ्नो रुची अनुरुपको दियो सजाउन सकिन्छ ।

यसैगरी दियोको विकल्पमा मैनबत्ती पनि जलाउन सकिन्छ । थरीथरी शैलीका मैनबत्तीलाई कलात्मक ढंगले सजाउन सकिन्छ । अहिले सुगन्धित मैनबत्ती पनि बजारमा पाइन्छ ।

झिलीमिली बत्तीको सजावट

अधिकांशले तिहारमा झिलिमिली बत्ती सजाउने गर्छन् । त्यसो त तिहारलाई लक्षित गरेर अनेकथरी बिजुली बजारमा आएका छन् । आफ्नो घरको बनावट हेरेर पनि यस्तो बिजुली सजाउन सकिन्छ ।

धेरैथरी रंगको बिजुली भन्दा पनि रातो मात्र, निलो मात्र वा पहेंलो मात्र बिजुली राख्दा अझ भिन्न देखिन्छ ।

प्रवेशद्वारमा कलश र खड्कुँलोको सजावट

तिहारमा घरलाई आकर्षक बनाउन तामा, चाँदी आदिको कलश र खड्कुँलोमा पानी राखेर त्यसमाथि फूलहरु सजाउन सकिन्छ । पानीमाथि तैरिरहको फूल, सुगन्धित वनस्पति र बलिरहेको दियोले निकै आकर्षक देखाउँछ ।

आँगनमा रंगोली

अब घरको प्रवेशद्वार वा आँगनमा रंगोली बनाउन सकिन्छ । ठाउँ र अवस्था हेरेर रंगोली ठूलो वा सानो बनाउन सकिन्छ । रंग, अक्षता, फूल आदि जे उपलब्ध हुन्छ, त्यसैबाट रंगोली बनाउन सकिन्छ । अहिले रंगोलीको डिजाइन इन्टरनेटमा सहजै पाइन्छ । त्यसैलाई हेरेर पनि बनाउन सकिन्छ ।

रंगोली डिजाइन गर्नका लागि तयारी सामाग्री पनि अहिले बजारमा पाइन्छ । रंगोलीको माझमा वा हरेक कुनामा दियो सजाउन सकिन्छ ।

घर वरवर बगैँचा र रुखहरूको सजावट

यदि घर वरपर  बगैँचा छ, रूख छ भने त्यसलाई पनि सजाउन सकिन्छ । बगैँचामा भएको रुख बिरुवा र रुखमा बत्ती जडान गरेपछि घरलाई झलमल्ल बनाउन सकिन्छ ।

मक्की इभेन्टकी इभेन्ट म्यानेजर हुन् । 



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्