‘दशैं किताब पढ्ने भन्दा, पारिवारिक जमघटलाई उत्सवमय बनाउने पर्व हो’

‘दशैं किताब पढ्ने भन्दा, पारिवारिक जमघटलाई उत्सवमय बनाउने पर्व हो’


‘दशैंमा पढ्नैपर्ने पुस्तकको सूची’, ‘दशैंमा हेर्नुहोस् यी फिल्म’, ‘दशैंमा घुम्नका लागि जानैपर्ने गन्तव्य’ । यस्तै–यस्तै व्यहोराको जानकारी सामाजिक सञ्जालतिर भेटिन्छन् ।

तर, दशैंको छोटो विदामा आफन्तसँग भेटघाट, भलाकुसारी गर्ने, मान्यजनकहाँ  जाने, मीठो मसिनो खान पर्व हो । खासमा यो पारिवारिक जमघटलाई उत्सवमय बनाउने पर्व हो । यतिबेला हामी उन्मुक्त रमाउनुपर्छ, खुसी साट्नुपर्छ र आपसी सद्भावलाई मिठासपूर्ण बनाउनुपर्छ ।

खासमा दशैं पुस्तक पढ्ने चाड होइन । न फिल्म हेरेर बिताउने नै । यस्तो अवसर त अरुबेला जति पनि पाइन्छ । तर, पारिवारिक जमघटको अनमोल अवसर त्यती सजिलै मिल्दैन । दशैं नै एकमात्र यस्तो पर्व हो, जसले परिवारका सबैलाई एकै ठाउँमा जमघट गराएर रमाइलो गराउँछ ।

अहिले हामी जागिरको सिलसिलामा, पढाईको सिलसिलामा, काम–व्यवहारको सिलसिलामा घर–परिवारबाट टाढा छौं । आफ्नै आमा र छोराबी, आफ्नै दाजु र भाईबीच, आफ्नै हजुरआमा र नातिनीबीच पनि भेटघाट भइरहेको हुँदैन । त्यो पनि महिनौंसम्म । यस्तो स्थितीमा हामी परिवारबाट क्रसम टाढिदै, एक्लिदै गएका हुन्छौं । अहिलेको मूल समस्या पनि यही छ ।

अहिले धेरैजसो कुनै न कुनै मानसिक समस्याले ग्रस्त छन् । मानसिक समस्याले शारीरलाई पनि रोगी बनाएको छ । यी सबैको एउटा जड हो, हाम्रो पारिवारिक एवं सामाजिक एक्लोपन पनि ।

समाज र परिवारबाट अलग हुँदै जाँदा हामी मानसिक रुपले बलियो हुनै सक्दैनौं । मान्छेको एक्लोपन र उदासिनता हटाउनका लागि पारिवारिक मिलन र सामाजिक सद्भाव एकदमै जरुरी हुन्छ । यसैको एउटा मेलो हो, दशैं ।

तनाव, एक्लोपन, उदासीको लागि दशैं राम्रो हिलिङ हो ।

आज मान्छे असामाजिक बन्दै गएको छ । परिवार र आफन्तबाट बिमुख हुँदै गएको छ । यसले मान्छेलाई भावनात्मक रुपमा कमजोर र सिथिल बनाउने जोखिम हुन्छ । त्यही जोखिम आउन नदिन चाडपर्वले काम गर्छ ।

चाडपर्व एक उत्साह

मान्छेले कुनबेला आत्महत्याबारे सोच्छ ? मान्छे कुनबेला उदास र निरास हुन्छ ? जब उसको जीवनमा आशा र उत्साह हुँदैन । मान्छेलाई सधै बँचाइराख्ने वा बाँच्नका लागि प्रेरित गरिरहने एउटै कुरा हो, उत्साह ।

चाडपर्वले मान्छेमा उत्साह ल्याउने काम गर्छ । दशैं आयो भनेर दिनगन्ती सुरु गरेपछि, मंगल धुन बज्न थालेपछि, आकासमा चङ्गा उड्न थालेपछि, किनमेल सुरु भएपछि, घर लिपपोत गर्न थालेपछि हामीमा एक किसिमको खुसी र उत्साह संचार हुन्छ ।

चाहे नेपालको दूरदराजमा बसेका मान्छे होस् वा विश्वको कुनैपनि भूगोलमा, दशैं भन्नसाथ सबैमा एक किसिमको उत्साह फैलिन्छ । हो, चाडपर्वले जगाउने भनेकै बाँच्नका लागि उत्साह हो ।

चाडपर्व  एक थेरापी

मानसिक स्वास्थ्यको लागि एउटा थेरापीको काम गर्छ, हाम्रो चाडपर्वले ।

दशैंमा अपनाइने जतिपनि विधि विधान छन्, त्यसले मान्छेलाई समाज वा परिवारमा घुलमिल हुन, आपसी सद्भाव बाढ्न, खुसी साट्नका लागि सहयोग गर्छ । यसले मान्छेको मनमा हुने अनेकौ हलचललाई शान्त तुल्याउँछ ।

अहिले हामी सबै व्यस्त र भागदौडको दैनिकीमा छौं । जिम्मेवारी, कामको तनाव, त्यसमाथि एकल परिवार । यस्तोमा एक्लोपन डरलाग्दो समस्या बनेको छ ।

यो एक्लोपनबाट मुक्त रहनका लागि पारिवारिक जमघट जरुरी छ । यसले परिवारमा मिलाप बढाउँछ भने सामाजिक अन्र्तघुलन गराउँछ ।

अहिलेको सबैको दैनिकसबैको व्यस्त र भागदौडले भरिएको छ । जिम्मेवारी, कामको तनाव त्यहीमाथि एकल परिवार हुने संख्या बढ्दो छ । यस्तोमा दशैँको जमघटले मान्छेमा प्रेम, सद्भाव, हार्दिकता जस्ता भाव पैदा गरिदिन्छ । यस्तो भावले मनोविकार पखाल्छ । मनलाई चंगा र खुसी बनाउँछ ।

चाडपर्व एक मनोरञ्जन

हामीलाई बाँच्नका लागि मनोरन्ज जरुरी हुन्छ । यो मान्छे मात्र होइन प्राणी जगतको आफ्नो मूल स्वभाव हो । कुनै न कुनै कुराबाट मनोरञ्जन लिने ।

कतिले भनिरहेका हुन्छन्, दशैंमा म फलानो किताब पढ्छु । कतिले भनिरहेका हुन्छन्, म फलानो फिल्म हेरेर सिध्याउँछु । हुनसक्छ, कतिपय मान्छे एक्लो होलान् । परिवारसँग भेटघाट गर्न अनुकुलता नहोला । उनीहरुले त्यो विदामा फुर्सदको समय कटाउन पुस्तक पढ्न सक्छन् । वा मोबाइल, टिभीमा फिल्म हेर्न सक्छन् ।

तर, कोही आफ्नो मूलघरमा गएका छन् । घरमा पारिवारिक जमघट चलिरहेको छ । त्यसबेला म पुस्तक पढेर बस्छु, फिल्म हेरेर बस्छु भन्छ भने उसमा परिवारसँग घुलमिल हुन कठिन भइरहेको हुनसक्छ भनेर बुझ्नुपर्छ ।

हुनसक्छ, कतिपयलाई भिडभाड मनपर्दैन । उनीहरु एक्लै बसेर पढ्न सक्छन् । कसैले परिवारसहित सिनेमा हलमा गएर फिल्म हेर्न सक्छन् । यी दुबै स्वभाविक अवस्था हुन् । यद्यपि पारिवारिक जमघट, सामाजिक मेलमिलापबाट अलग भएर कोही पुस्तकमा एकोेहोरिन्छन्, फिल्ममा एकोहोरिन्छन् भने त्यो समस्या हो ।

चाडपर्व अझ भनौं दशैं आफैमा एक पूर्ण प्याकेज हो, मनोरञ्जनको ।

चाडपर्व एक पाठ

दशैं विदासँगै धेरैजसो विद्यालयले बालबालिकालाई होमवर्कको भारी बोकाएर पठाएका छन् । विद्यालयलाई लाग्छ, होमवर्क दिएपछि उसको पढाईको लय टुट्दैन । चाडपर्वमा पनि पढेर, लेखेर बस्छ ।

यो कुरा आमाबुवालाई पनि ठीकै लाग्छ । बालबच्चा यत्तिकै खेल्ने वा बरालिने भन्दा पढेर वा लेखेर बसे हुन्थ्यो । यसका लागि विद्यालयले जतिधेरै होमवर्क दिन्छ, उत्तिनै बालबच्चा पढाईबाट विमुख हुँदैनन् ।

तर, दशैं आफैमा पाठ हो । यसको सांस्कृति, सामाजिक महत्व छ । यस्तो चाडपर्व जीवन पद्धती पनि हो ।

त्यसैले चाडपर्वमा बालबालिकालाई होमवर्कको भारी बोकाउनुभन्दा चाडपर्वमा उन्मुक्त रमाउन दिनुपर्छ । आफन्तसँग घुलमिल हुन, चिनजान गर्न दिनुपर्छ । मान्यजनसँग टिका थाप्ने, आर्शिवाद लिने, आपसी भेटघाट गर्ने जस्ता कुराले पनि बालबालिकालाई धेरै कुरा सिकाइरहेको हुन्छ ।

फेरी बालबालिका भन्नसाथ उनीहरुले जहिले पनि सिक्नुपर्छ भन्ने होइन । उन्मुक्त रमाउन पनि दिनुपर्छ । पढाईको ह्याङओभरबाट मुक्त भएर स्वच्छन्द रमाउन दिनुपर्छ ।

तर, देखासेखी नगरौं

चाडपर्व सबैका लागि उल्लासमय बन्छ भन्ने चाहिँ छैन । किनभने हामी बढी देखावटी बन्दैछौं र देखासेखीकै कारण हाम्रो व्यायभार पनि बढ्दैछ । यस्तो अवस्थामा चाडपर्व कतिका लागि बोझिलो बन्न सक्छ ।

पाहुनापात टार्नुपर्ने, खर्च जोहो गर्नुपर्ने, अन्नपात ल्याउनुपर्ने जस्ता कुराले पनि कतिपयमा तनाव थपेको हुनसक्छ । वास्तवमा यो एक सांस्कृतिक पर्व हो र यसलाई आफ्नो गच्छे अनुसार मनाउने हो । अरुलाई देखाउन होइन, आफैलाई रमाउन मनाउने हो ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्