सरकारले फेरि थप्यो सहायक रथी यमबहादुर अधिकारीको पदावधि

सरकारले फेरि थप्यो सहायक रथी यमबहादुर अधिकारीको पदावधि


सहायक रथीमा बढुवा भएपछि यमबहादुर अधिकारीलाई दर्ज्यानी चिह्न लगाइदिंदै तत्कालीन प्रधान सेनापति गौरव शम्शेर जबरा ।

२ असोज, काठमाडौं । माओवादीका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी (प्रतीक्षा)को पदावधि सरकारले तीन वर्ष थपिदिएको छ ।

असोज १ गतेदेखि अवकाशमा जान लागेका अधिकारीको पदावधि अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयबाट थप गरिएको हो । धादिङ घर भएका अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत छन् ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले रक्षा मन्त्रालयबाट अधिकारीको पदावधि मन्त्रिपरिषद् बैठकबाट थपिएको जानकारीसहितको पत्र नेपाली सेनालाई प्राप्त भएको जानकारी दिए ।

‘उहाँको विशेष पद सिर्जना गरेर सहायक रथीमा पदोन्नती भएको थियो । चार वर्षे त्यो पदावधि असोज १ गते सकिने भए पनि पुनः तीन वर्ष थपिएको पत्र मन्त्रालयबाट प्राप्त भएको छ,’ सैनिक प्रवक्ता एवम् सहायक रथी भण्डारीले अनलाइनखबरसँग भने ।

यसअघि सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दा अधिकारीको पदावधि थपिएकोबारे जानकारी दिएकी थिइनन् ।

माओवादी लडाकुहरुको सेनामा समायोजन हुँदा अधिकारीले उपसेनानीको दर्जा पाएका थिए । माओवादी लडाकुहरुले पाएको यो सबैभन्दा उपल्लो दर्जा हो ।

नेपाली सेनामा समायोजन भएका माओवादी पूर्वलडाकुहरु ।

त्यसको केही समयपछि नै अधिकारी महासेनानी (कर्णेल) बनेका थिए । २०७६ असोज १ गतेको मन्त्रिपरिषद बैठकले उनलाई सहायक रथीमा बढुवा गरेको थियो ।

त्यतिबेला नेकपा माओवादी केन्द्रसहितको सरकारको प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थिए । ओली नेतृत्वको सरकारले सैनिक नियमावली अनुसार एकपटकका लागि सहायक

रथीमा बढुवा दिन सकिने व्यवस्थामा टेकेर अधिकारीलाई विशेष पद सिर्जना गरी बढुवा गरेको थियो ।

अधिकारीको पदावधि सकिएपछि विशेष पद स्वतः खारेज हुने भए पनि सरकारले उनको जागिर पुनः तीन वर्ष थपिदिएको छ ।

को हुन् अधिकारी ?

उत्तरी धादिङको मार्पाकमा बाबु बोरसिंह अधिकारी र आमा खड्ककुमारीको कान्छो छोरोका रुपमा २०२९ असार १ गते जन्मिएका अधिकारीले २०४६ सालमा एसएलसी पास गरेपछि क्याम्पस पढ्न काठमाडौं आएका थिए ।

सुरुमा मशालको विद्यार्थी राजनीतिमा सक्रिय उनी जनयुद्ध सुरु भएपछि माओवादी पार्टीका संलग्न भई पूर्णकालीन भएका थिए । पूर्णकालीन भएदेखि उनले जनमिलिसिया, स्क्वायड, प्लाटुन, कम्पनी, बटालियन, ब्रिगेड हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गरेका थिए । माओवादी लडाकुभित्र उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वासपात्र कमाण्डर भनेर चिनिन्थे ।

धादिङको कृष्णभीरमा नेपाली सेनासँगको लडाइँको नेतृत्व उनै अधिकारीले गरेका थिए । त्यतिबेला नेपाली सेनालाई एम्बुसमा पारेर ठूलो परिमाणमा हतियार कब्जा गर्न सफल भएको प्रचार माओवादीहरुले गरेका थिए ।

०६३ मंसिर ५ को शान्ति सम्झौतापछि नवलपरासीको झ्याल्टुङडाँडास्थित चौथो डिभिजनमा अधिकारी सहायक कमाण्डर बनेका थिए । त्यतिबेला डिभिजन कमाण्डर गणेशमान पुन थिए । पुनलाई वाईसीएल अध्यक्ष बनाएर माओवादीले काठमाडौं केन्द्रित राजनीतिमा सक्रिय बनाएपछि अधिकारी स्वतः डिभिजन कमाण्डरमा बढुवा भएका थिए । डिभिजनमा कमाण्डरहरुको कार्यक्षेत्र फेरबदल हुँदा उनले इलामको चुलाचुलीस्थित पहिलो डिभिजनको कमाण्ड सम्हालेका थिए ।

२०६३ मंसिर ५ गते सरकार र तत्कालीन माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार ७ मुख्य र २१ सहायक शिविरमा बस्दै आएका माओवादी पूर्वलडाकुहरु ०६९ चैत ३० गतेदेखि औपचारिक रुपमा नेपाली सेनामा समायोजन भएका थिए । सेनामा समायोजन भएका १ हजार ३१३ जना माओवादी लडाकुहरुमध्येबाट उनले सबैभन्दा उपल्लो दर्जा (उपसेनानी) पद पाएका थिए । यसैगरी बासुदेव घिमिरे र पदम तामाङले प्रमुख सेनानी र वीरेन्द्र बीएमलगायतले सेनानी पद पाएका थिए ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्