जो पनि अर्थसचिव, जतिबेलै सरुवा

जो पनि अर्थसचिव, जतिबेलै सरुवा


१ असोज, काठमाडौं । पछिल्लो करिब डेढ वर्षमा अर्थ मन्त्रालयमा पाँच जना अर्थ सचिव फेरिइसकेका छनन् । नयाँ अर्थसचिवका रुपमा २९ भदौमा कृष्णहरि पुष्कर सरुवा भएका छन् । त्यतिमात्र होइन डा. प्रकाशशरण महत अर्थमन्त्री बनेको पाँच महिनामा ३ जना अर्थसचिव फेरिइसकेका छन् ।

अर्थतन्त्र समस्यामा रहेका बेला मुलुकको अर्थतन्त्र सन्तुलनमा राख्नुपर्ने दायित्व बोकेको अर्थ मन्त्रालयको कर्मचारी नेतृत्व ‘म्युजिकल चेयर’ जस्तो बन्न पुगेको छ ।

पुष्कर अर्थसचिवमा सरुवा हुनुअघिसम्म अर्जुनकुमार पोखरेल अर्थसचिव थिए । २० वैशाख २०८० मा पोखरेल अर्थसचिवमा सरुवा हुनुअघि तोयाम रायाले करिब चार महिना यो जिम्मेवारी सम्हालेका थिए । तोयामअघि भने पुष्कर नै अर्थसचिव थिए ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदा अर्थसचिव रहेका मधु मरासिनी अनधिकृत व्यक्तिको प्रवेशबाट बजेटमा करको दर हेरफेर गराएको विवादमा मुछिएपछि सरुवा भएका थिए । त्यसपछि २६ साउन २०७९ मा आएका पुष्करलाई २१ पुस २०७९ मा रायाले विस्थापित गरेका थिए ।

अर्थ मन्त्रालयमा पछिल्लो डेढ वर्ष मात्र होइन, एक दशकदेखि नै यस्तो अस्थिरता देखिँदै आएको छ । ‘कम्तीमा सचिवको सरुवा २ वर्ष नपुगी गर्नु नै हुँदैन’, पूर्वमुख्यसचिव विमल कोइराला भन्छन्, ‘२ वर्ष काम गरेपछि त्यसको मूल्यांकन गरेर सरुवा वा निरन्तरताको टुंगो लगाउनुपर्छ ।’

विगतमा एकपटक अर्थसचिव भएको व्यक्ति त्यही पदबाट अवकाश हुने प्रचलन रहेको कोइराला बताउँछन् । ‘अर्थ सचिवको स्थायित्व अर्थमन्त्रालयको सुन्दर पक्ष थियो’, पूर्वअर्थसचिव रहेका रहेका उनी भन्छन्, ‘त्यो आज पनि जरुरी छ ।’

सम्वेदनशील मानिन्छ अर्थसचिव

मन्त्रालयहरुमध्ये सबैभन्दा महत्वपूर्ण अर्थ मन्त्रालय नै मानिन्छ । सरकारको सबै आम्दानी र खर्चको व्यवस्थापन गर्ने यो मन्त्रालयले नै अरु मन्त्रालय र निकायहरुको काम र सेवालाई दिशानिर्देश गर्छ । अर्थ मन्त्रालय बलियो भएन अरु मन्त्रालयले समेत नियमित कार्यासम्पादन र प्रभावकारी सेवा दिन नसक्ने पूर्व प्रशासकहरु बताउँछन् ।

अरु मन्त्रालयहरुले पनि आफ्नो क्षमता देखाउन मुलुकको ढुकुटीको चाबी बोकेको अर्थ मन्त्रालयतिरै आशाले हेर्छन् । त्यसै कारण नेपाल सरकारका सबै सचिवहरु समान तहका भएपनि अर्थसचिवप्रति विशेष सम्मान दिने प्रचलन छ ।

धेरै मन्त्रालय र निकायका सचिवहरु कतिपय प्रक्रियागत गाँठा फुकाउन अर्थ सचिवकोमा धाउनु सामान्य मानिन्छ । विशिष्ट क्षमता र व्यावसायिक संस्कारयुक्त हुन्छन् भन्ने मान्यताका कारण सचिवहरुमा मुख्यसचिवपछिको महत्वपूर्ण पद अर्थसचिवको मानिन्छ ।

पञ्चायतकालमा ६ महिनामा सरुवा भएका नरकान्त अधिकारीलाई छाड्ने हो भने सबैजसो अर्थसचिवले कार्यकाल पूरा गरेका थिए । बहुदलीय व्यवस्थापछि पनि लामो समयसम्म अर्थ सचिव पद तुलनात्मक रुपमा स्थिर नै मानिन्थ्यो । निजामती सेवाका जानकारहरु २०६७ सालमा रामेश्वर खनालले राजीनामा दिएपछि अर्थसचिव पद अस्थिर हुन थालेको बताउँछन् ।

रामेश्वर खनाल, विद्याधर मल्लिक, बिमल कोइराला, रामशरण भट्टराई ठाकुरनाथ पन्त, लगायतका अर्थसचिवहरु अहिले पनि अर्थ मन्त्रालयको प्रतिष्ठाका रुपमा चिनिन्छन् । ‘अहिले इमानदार हुुनपर्छ भन्ने सिद्धान्त गयो, बोलकबोलका आधारमा अर्थ सचिव नियुक्त हुने अवस्था आयो’, पूर्व सचिव भन्छन् ।

तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीसँगको मतभेदका कारण खनालले राजीनामा दिएका थिए । त्यसपछि भने रोजी–रोजी अर्थसचिव बन्ने र बनाउने क्रम बढेको हो ।

‘राजनीतिक नेतृत्वले व्यावसायिक व्यक्ति आए अडान राख्ने, भनेको अनुसार नगर्ने, विधि प्रक्रिया भनेर रोक्ने गर्ला भन्ने डर बोकेकाले यस्तो अवस्था आएको हो’ पूर्वसचिव गोपीनाथ मैनाली भन्छन् ।

पूर्वसचिवहरु नेपालमा अर्थतन्त्रमा समस्या देखिनुको एउटा कारण अर्थसचिवमा सही व्यक्ति छनोट नहुनुलाई मान्छन् । अर्थतन्त्र समस्या रहेका बेला मनोमानी ढंगले भइरहेका निर्णयले परिणममा पनि नकारात्मक नै दिने उनीहरुको भनाइ छ ।

‘हेर्नुहोला कि त ३–४ महिनामा पुष्करजीले अर्थ मन्त्रालय छाड्नुपर्छ’, एक पूर्वसचिव भन्छन्, ‘नभएर अर्थतन्त्रको अवस्था थप बिग्रिएर डा. महतले सिंहदरबारबाटै विदा लिनुपर्छ ।’

मन्त्री पद राजनीतिक भएकाले अर्थतन्त्र बुझेको व्यक्ति नै मन्त्री बन्छ भन्ने ग्यारेन्टी हुँदैन । धेरै दलहरु मिलेर सरकार बनाउनुपर्ने भएकाले राजनीतिक भागवण्डामा अर्थ मन्त्रालयमा विज्ञ व्यक्ति नै मन्त्री आउँछन् भन्ने निश्चित हुँदैन ।

‘अर्थसचिवमा क्षमता, व्यावसायिकता र स्थिरता अति जरुरी छ’ पूर्वसचिव रामेश्वर खनाल भन्छन्, ‘यस्तो मनपरी ढंगले अर्थसचिव फेर्ने अभ्यास विकसित देशमा मात्रै हैन, सार्क क्षेत्रकै धेरै मुलुकमा छैन, हाम्रोमा पनि हुनुहुँदैन ।’

पूर्व अर्थसचिव रामेश्वर खनाल

गतिलो अर्थसचिवले पूरा कार्यकाल काम गर्न पाएमा अर्थतन्त्र धेरै नबिग्रिने पूर्वप्रशासकहरु बताउँछन् । अर्थसचिवले समयमै पहल लिएर कोरोना महामारीपछि निजी क्षेत्रलाई दिइएको आर्थिक सहुलियतहरु बेलैमा हटाएको भए अर्थतन्त्रले आजको अवस्था नै भोग्नुनपर्ने उनीहरुको मत छ ।

‘अर्थसचिवले नै प्रतिनिधित्व गर्ने राष्ट्र बैंकको सञ्चालक समितिले लिएका निर्णयहरुले पनि अर्थतन्त्र समस्यामा पर्नुको कारक बनेका छन्’, एक पूर्वसचिव भन्छन्, ‘यता अर्थमन्त्रीलाई गभर्नरविरुद्ध उक्साउने र राष्ट्र बैंकको बोर्डमा पुगेर केही बोल्न नसक्ने अर्थसचिवको असन्तुलित भूमिकाले पनि आजको अवस्था आएको हो ।’

त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख अर्थविद् डा. शिवराज अधिकारी पछिल्लो समयमा मन्त्रीको सहजताका लागि सचिव फेर्ने प्रवृत्ति देखिएको बताउँछन् । ‘क्षमता हेरेर ल्याएको हो भने फरक हो, राजनीतिक नेतृत्वले सहजता हेरेर ल्याउने अवस्था हुनुहुँदैन’, उनले भने ।

सीमित मात्र हुन्छन् अर्थसचिवमा योग्य

निजामती सेवाभित्र अर्थसचिव हुन योग्य, लायक, दख्खल तथा खुबी भएको व्यक्ति पाउन सजिलो छैन । जुनसुकै विषयमा निर्धारित योग्यता हासिल गरेको व्यक्ति निजामती सेवामा प्रवेश गर्न सक्छ । तर अर्थ मन्त्रालयका लागि अर्थशास्त्र पढेको, अर्थ मन्त्रालय अन्तर्गतकै निकायहरुमा काम गरेको व्यक्ति उपयुक्त मानिन्छ । यसै अनुसार अर्थसचिव छान्ने अभ्यास पछिल्लो समय बिथोलिएको छ ।

अहिलेका अर्थसचिव पुष्कर अर्थ मन्त्रालयका ‘क्याडर’ होइनन् । गृह मन्त्रालय अन्तर्गतका निकायमा काम गरेका उनले अख्तियार र परराष्ट्र मन्त्रालयमा पनि काम गरे । उनी १९ भदौ २०७८ मा राजस्व सचिवका रुपमा अर्थ मन्त्रालयमा आएका थिए । अर्थसचिवसमेत भएका पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र हालै सरुवा भएका अर्जुन पोखरेल पनि अर्थमा विशिष्टता हासिल गरेका कर्मचारी होइनन् । एक दशकका बीचमा यस्ता थुप्रै उदाहरण छन् ।

पछिल्लो समयमा अर्थसचिवका लागि बढी योग्य मानिएका हालका मुख्यसचिव डा. बैकुण्ठ अयार्लले सचिव भइन्जेल अर्थ मन्त्रालयमा प्रवेश नै पाएनन्, भने अवकासको मुखमा रहेका केबलप्रसाद भण्डारी श्रम मन्त्रालयमा खुम्चिएर बसेका छन् ।

अर्थसचिव दातृ निकायसँग आफ्ना कुरा स्पष्ट राख्न सक्ने र अन्तर्राष्ट्रिय मञ्चमा देशको आर्थिक अवस्था र सम्भावनाबारे तर्कपूर्ण प्रस्तुति दिनुपर्ने पद हो । पूर्वसचिवहरुका अनुसार विगतमा निजी क्षेत्र पनि नयाँ अर्थसचिवसँग सतर्क रहन्थे ।

अर्थमन्त्रीहरुले पनि काबिल, दक्ष, इमानदार कर्मचारी छान्न छाडे । सजिलो र लचिलो, जे भन्दा पनि मान्ने सचिवको खोजीले अर्थ मन्त्रालयभित्रको असल अभ्यास पनि तोडिन पुग्यो ।

यतिसम्म कि खानेपानीमा विशिष्टता हासिल गरेका इन्जिनियर सुमन शर्मा समेत अर्थसचिव बन्ने मौका पाए । ‘अर्थमन्त्रीलाई सबै कुराको ज्ञान हुँदैन, धेरै कुरामा अर्थसचिवकै भर पर्नुपर्छ’, एक पूर्वसचिवले भने, ‘आफ्ना मुद्दा लिएर आएका सबै मान्छेले अर्थमन्त्रीलाई भेट्न पाउँदैनन्, त्यसैले अर्थसचिवले अर्थमन्त्रीको प्रतिनिधिकै रुपमा मान्छेहरुसँग कुरा गर्ने र समस्याहरुलाई हल गर्न कदम चाल्नुपर्ने हुन्छ ।’

सर्वसाधारण, दलका नेता–कार्यकर्ता, सांसददेखि उद्योगी व्यापारीसम्मले बजेट र योजना माग्दै धाउने ठाउँ हो अर्थ मन्त्रालय । अहिले अर्थ मन्त्रालयका नीतिगत विषय समेत लिएर उद्योगी व्यापारीहरु प्रधानमन्त्रीसमक्ष पुगिरहेका छन् । एक पूर्वसचिव भन्छन्, ‘विगतमा उद्योगी व्यवसायीले अर्थसचिवसँग नै आफ्ना माग र मुद्दा राख्थे, अहिले साना साना मुद्दा लिएर प्रधानमन्त्रीकोमा पुगिरहेका छन् ।’

पूर्वअर्थसचिव रामेश्वर खनाल अरु मुलुकहरुमा अर्थसचिव पदमा एक पटक नियुक्त व्यक्तिलाई ठूलै भ्रष्टाचार अभियोग लागेको अवस्थामा बाहेक सरुवा गर्ने प्रचलन नरहेको बताउँछन् ।

‘सबै विकास र सुशासनका नीतिहरु आर्थिक नीतिकै पेरिफेरिमा घुम्छन्, आर्थिक नीति परिचालक नै अस्थिर भयो भने अरु नीतिहरु प्रभावित हुन्छन्’, खनाल भन्छन्, ‘त्यसैले अर्थसचिवमा स्थायित्वलाई धेरै देशले महत्व दिएका छन् ।’

अर्थसचिव पदलाई अस्थिर बनाउँदा निजी क्षेत्रको मनोबल गिर्ने र विकास साझेदारहरुसँगको सम्बन्ध समेत खलबलिने उनको भनाइ छ ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्