९० वर्षका मानवीर विकले अस्पताल पुगेर पनि पाएनन् उपचार

९० वर्षका मानवीर विकले अस्पताल पुगेर पनि पाएनन् उपचार


३१ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामी उपचार पाउनबाट वञ्चित भएका छन् । उपचार पाउन वञ्चित बिरामीमध्ये एक हुन  ९० वर्षका मानवीर विक ।

स्वास्थ्यमा समस्या देखिएपछि ओखलढुंगाका उनलाई छोरा दुतमानले गंगालालमा ल्याएर जँचाएका थिए । गंगालालमा ३-४ महिना उपचार गरेपछि उनलाई फोक्सोमा पानी पनि जमेको भन्दै वीर अस्पताल रिफर गरिएको थियो ।

जसअनुसार उनलाई आज बिहानै छोराले पिठ्यूमा बोकेर वीर अस्पताल पुर्‍याएका थिए । तर वीर अस्पतालमा डाक्टहरुको हड्तालका कारण उपचार पाउन नसकेपछि बाबु छोरा नै निरास भए ।

‘बुबालाई जँचाउनु पर्‍यो भनेर काममै नगई बिहान बिहानै नाला (भक्तपुर)देखि आयौँ,’ दुतमानले भने, ‘यहाँ आउँदा पो थाहा भयो, आज त डाक्टरहरुले बिरामी नै नजाँच्ने भनेर ।’ कामको सिलसिलामा दुतमान भक्तपुरको नालामा बस्दै आएका छन् ।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै संघको आह्वानमा डाक्टरहरु बिरामी जाँच्न छाडेर आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल पुगेका मानवीरजस्ता बिरामी उपचार सेवा पाउनबाट वञ्चित भएका छन् ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्