मन्त्री लामाबारे एमालेले माग्यो सरकारको जवाफ – Online Khabar

मन्त्री लामाबारे एमालेले माग्यो सरकारको जवाफ – Online Khabar


एमाले नेता जगन्नाथ थपलिया

३० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा बाग्मती प्रदेशका मन्त्रीको नाम पनि जोडिएको भन्दै सरकारको जवाफ मागेको छ ।

शनिबार बसेको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले एक किलो सुन तस्करीमा प्रदेशका मन्त्रीको नाम जोडिएको भन्दै ध्यानाकर्षण गराएका छन् । केही दिन पहिले दुबईबाट काठमाडौं आएका तीन जनाले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुन बरामद भएको थियो ।

पक्राउ परेकाहरुको बयानबाट तस्करीमा काभ्रेका तरुण दलका नेता विकास लामाको संलग्नता खुलेको प्रहरीले बताएको छ । लामा, बागमती प्रदशेका खानेपानी उर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा निकट हुन् । एमाले संसदीय दलका नेता थपलियाले मन्त्रीको नाम त लिएनन्, तर उनको नाम उल्लेख गरेर सञ्चार माध्यमहरुमा समाचार आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘हाम्रै प्रदेश सरकारका मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करका सन्दर्भमा पत्रपत्रिकामा आएको छ । यो हो वा होइन ? सरकारले संसदलाई सुसूचित गराउनुपर्छ ।’

यदि निर्दोष हो भने सरकार र मन्त्रीले बोल्नुपर्ने उनले बताए । सरकार बेखबर भएर बस्न नहुने भन्दै उनले भने, ‘एउटा जनप्रतिनिधि र मन्त्रीका बारेमा प्रश्न उठिसकेपछि कारबाही भइज्यालसम्म मन्त्री पद छोड्नुपर्छ कि पर्दैन मन्त्रीले जान्ने कुरा हो ।’



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्