म त सोविताको प्रस्तावक बन्न आएको – Online Khabar

म त सोविताको प्रस्तावक बन्न आएको – Online Khabar


राजनीतिमा आउने हामी कानुनका विद्यार्थीका लागि सुवास नेम्वाङ आदर्श हुनुहुन्थ्यो । उहाँ पनि कानुनी पृष्ठभूमिबाट सक्रिय राजनीतिमा आउनुभएको थियो । पृष्ठभूमिको समानताले हामीमा उहाँप्रति छुट्टै सम्मान र विश्वासको भावना हुन भइहाल्यो ।

जब म प्रतिनिधिसभा सदस्य निर्वाचित भएँ, प्रतिनिधिसभाको उ सभामुखमा मेरो उम्मेदवारी रहने चर्चा सुरु भयो । हुन त संसद भवनमा त्यसअघि पनि अप्रत्यक्ष रूपमा भेटघाट भइरहेका थिए । उहाँसँग यादगार हुनेगरी पहिलो संवाद उपसभापतिमा उम्मेदवारी दिने सन्दर्भमा भयो । म कानुन पढेको विद्यार्थी भएकोले पनि एकप्रकारको भावनात्मक निकटता हुँदोरहेछ ।

उहाँले मेरो उम्मेदवारीमा प्रस्तावक बन्ने भन्नुभयो । तर बीचमा केही राजनीतिक परिवर्तन भयो । उम्मेदवार म नभएर हाम्रो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) बाट इन्दिरा रानामगर हुनुभयो । उहाँ मेरो प्रस्तावक बन्न सही गर्न आउनेबेलासम्म उम्मेदवार म नै हो भन्ने सोच्नुभएको रहेछ ।

त्यसअघि उहाँले मलाई व्यक्तिगत रूपमा चिन्नुभएको थिएन । म उहाँसामु गएर परिचय दिएँ । उहाँले छक्क पर्दै सोध्नुभयो– ‘म आफैं शोबिता माननीयको प्रस्तावक बस्न आएको तर यहाँ आइपुग्दासम्म साथीहरू अरूकै नाम लिन्छन् त ?’

सोविता गौतम

कहाँ पढेको, कसको विद्यार्थी लगायतका प्रश्न सोध्नुभयो । हाम्रो कानुनी समाज सानो छ । एकअर्काप्रति रुचि हुन्छ । उहाँले राजनीतिमा युवा पुस्ता आएकोमा खुशी व्यक्त गर्नुभयो । आफ्ना अनुभव साट्नुभयो ।

उहाँ कुनै सन्देश दिनुपर्‍यो भने अप्रत्यक्ष सञ्चार अर्थात् घुमाएर कुरा गर्नुहुन्थ्यो । उहाँले पहिलो संविधानसभापछि मा‌ओवादी अध्यक्ष प्रचण्डसँगको संवाद सुनाउनुभयो । पहिलो संविधानसभामा माओवादी सर्वाधिक ठूलो पार्टी बन्यो तर दोस्रोमा माओवादीको आकार निकै खुम्चियो । यसै प्रसंगमा प्रचण्डलाई उहाँले भन्नुभएको रहेछ, ‘जनमतलाई थामिखान सक्नुपर्छ । सकिएन भने अझै साँघुरिंदै जानुहुन्छ । दोस्रोपटकको चुनावमा प्राप्त मत र विश्वासलाई थामिखान सक्नुहोस् ।’

उहाँले हामी एउटा उभारसहित आएको शक्तिलाई उस्तै सन्देश दिन खोज्नुभएको मैले बुझें । उहाँले सन्देश दिनुभयो, ‘जनताले दिएको मत र विश्वासलाई थामिखान सक्नुहोस् ।’

हामीले त्यही दिन फोन नम्बर साटासाट गरेका थियौं ।

संक्रमणकालीन न्यायको विषय पेचिलो बनिरहेको थियो । हामी दुवैजना कानुन समितिमा पर्‍यौं । टीआरसीको विषयमा हामी सबै दलका साथीहरू भेटघाट र संवाद गरिरहन्थ्यौं । यहीक्रममा एकपटक उहाँसँग बाक्लो संवाद भयो ।

एकदिन संसद भवनको लबीमा हाम्रो लामो गफ भयो । मैले पुराना राजनीतिक घटनाक्रम बारे बुझ्न इतिहास कोट्याएर सोध्थें । ‘त्यतिबेला के भएको थियो, फलानो घटनामा के कसो भएको थियो आदि ।’

उहाँको जवाफ दिने तरिका अनौठो थियो । उहाँ घुमाएर कुरा राख्नुहुन्थ्यो । मैले भनें, ‘हामी नयाँ पुस्ता आएका छौं र तपाईंहरूलाई यसरी इतिहासबारे कोट्याइकोट्याई सोध्ने मान्छे छन् ।’

शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र नेपालका महत्वपूर्ण राजनीतिक घटनाक्रममा उहाँ सधैं केन्द्रभागमा रहनुभयो । राजनीतिक उतारचढावका घटनाक्रम बारेमा उहाँको संवादबाट मैले धेरै कुरा थाहा पाएँ ।

संविधान  निर्माण हुन नदिन कहाँबाट के के चलखेल भए, कति चुनौती पाखा लगाउँदै संविधान बनाइयो भनेर उहाँले आफूले पेलेको पापडबारे बताउनुहुन्थ्यो । ‘म जुनसुकै हालतमा पनि संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा थिएँ’ भन्नुहुन्थ्यो । त्यसो त, उहाँ दुई कार्यकाल नै संविधानसभा अध्यक्ष बन्नुभयो । यो उहाँको प्रमुख जिम्मेवारी थियो । उहाँले संविधान निर्माणक्रमका राजनीतिक/कुटनीतिक कसरतका फेहरिस्त सुनाउनुहुन्थ्यो ।

राजनीतिमा फरक मत हुन्छन्, फरक विश्वास हुन्छन् । सबै पक्षलाई विमतिका बावजुद पनि एक ठाउँमा ल्याएर संवादको वातावरण बनाउनु चुनौतीपूर्ण काम हो । तर उहाँले एउटा कुशल व्यवस्थापक/नेताका रूपमा प्रभावकारी भूमिका खेल्नुभएको छ । उहाँको अभावमा राजनीतिक सहमति निर्माणमा केही समय राजनीतिले अप्ठ्यारा झेल्नेछ । पछिल्ला राजनीतिक/संसदीय घटनाक्रममा पनि उहाँले खेल्नुभएको अभिभावकीय भूमिका र मिलाउनुभएको संवादको वातावरण राजनीतिमा सक्रिय नेतृत्व पंक्ति जानकार नै छ ।

उहाँसँग बाक्लो भेटघाट हुन्थ्यो । भेट नहुँदा पनि म्यासेज गरेर सोध्ने/बुझ्ने काम हुन्थ्यो । पार्टी फरक भए पनि उहाँ मेरा लागि एकजना कुशल अभिभावक हुनुहुन्थ्यो । नबुझेका/नजानेका कुरामा उहाँ हुनुहुन्छ भन्ने आडभरोसा हुनुहुन्थ्यो ।

पार्टीगत कुरामा म कतिपय सन्दर्भमा युवा आवेगसहित आलोचनात्मक चेतसहित कुरा राख्थें । असमति प्रकट गर्थें । संसद  निरन्तर अवरुद्ध भइराख्दा तपाईंहरूले यसरी संसद कब्जा गर्न मिल्छ भनेर प्रश्न गर्थें । उहाँको अभिभावकीय भूमिका र सहज पहुँचले पनि हामीलाई चित्त नबुझेका कुरा मज्जाले भन्न सक्ने वातावरण थियो । एकजना अभिभावकका रूपमा विश्वासको सम्बन्धले पनि यी सबै कुरा सम्भव हुन्थ्यो ।

संसदीय गतिविधि लगायतका सन्दर्भमा मैले प्रतिवाद गर्दा उहाँले सहज तरिकाले सुन्नुहुन्थ्यो । म विधिको शासनको पक्षमा तर्क गर्थें । त्यसैले पनि उहाँले सहजै सुन्नुहुन्थ्यो होला ।

उहाँले सहज रूपमा यो राजनीतिक विषयवस्तु हो, हाम्रो पार्टीमा संवाद हुँदैछ । मिलाउँदैछौं भन्नुहुन्थ्यो । कहिलेकाँही त उहाँ भन्नुहुन्थ्यो, ‘तपाईंको अहसमतिबारे तपाईंको नामै उल्लेख गरेर मैले हाम्रो पार्टीमा छलफल गरें र समाधान निकाल्यौं पनि’ भन्नुहुन्थ्यो ।

मैले प्रतिवाद गरेका विषयमा उहाँले प्रायशः सहमति नै जनाउनुभयो । मिटर ब्याज पीडित सम्बन्धी विधेयकको सन्दर्भमा अन्तिम दिन संसदमा पेश हुँदा संसद अवरुद्ध हुने अवस्था आयो । यसमा रास्वपाको फरक मत थियो ।

हामीले संसदमा बोल्न पनि पाएनौं । हामीले कम्तिमा विधेयकलाई अगाडि बढाएर मात्र संसद अवरोध गरौं भन्ने मत राखेका थियौं । एमालेको अवरोधले विधेयक प्रभावित भयो ।

प्रधानमन्त्रीको अरु विषयको अभिव्यक्तिलाई लिएर मिटर ब्याज पीडितको विधेयक नरोकौं भन्ने हाम्रो मत मैले उहाँसँग व्यक्तिगत रूपमा पनि राखें । अलि कडा रूपमै प्रस्तुत भएँ होला । तैपनि उहाँले मज्जाले सुन्नुभयो ।

‘संसदीय अभ्यासमा एमाले र तपाईं जत्तिको नेता भएको पार्टीले किन यस्तो गैरजिम्मेवार काम गरेको ? राजनीतिमा जनतालाई यसरी मिच्न मिल्छ ?’ मैले यसरी आवेगात्मक प्रश्न राखेको थिएँ एकजना अभिभावकलाई चित्त दुखाई र गुनासोको रूपमा । मैले लगभग १० मिनेटजति एक्लै बोलेर उहाँसँग गुनासो गरें ।

तपाईंहरू प्रमुख प्रतिपक्ष भएर संसद नै कब्जा गर्ने ? अरू प्रतिपक्षलाई बन्धक बनाउने ? भन्ने मेरो गुनासो थियो ।

अर्को संसदमा एमालेसँग रास्वपासँग सहकार्य गर्‍यो । उक्त विधेयक अगाडि बढाउनै पर्ने प्रस्ताव हाम्रो पार्टी सभापतिले संसदमा राख्नुभयो । त्यसपछि संसदमा हामीलाई बोल्न दिइयो । अवरुद्ध गर्नुभन्दा अघि फरक मत राख्न पाउने वातावरण पनि बन्यो ।

मेरो कतिपय आवाज आवेगपूर्ण पनि सुनिन्थ्यो होला । मलाई पछि उहाँले स्नेहपूर्वक भन्नुहुन्थ्यो, ‘माननीयको सबै कुरा मैले सुनें । हाँसेर संसार जित्न सकिन्छ, विनम्रताले संसार जितिन्छ । जति मनमा चित्त दुखे पनि रिस उठे पनि संसार जित्ने विनम्रताले नै हो । माननीय सोबिताले यसरी काम गर्न सक्नहुन्छ ।’ उहाँ सुझाव भन्ने शब्द प्रयोग नगरी सुझाव दिनुहुन्थ्यो ।

मैले असहमति राखेको विषयमा पार्टीभित्र समाधान निस्केपछि उहाँले सन्देश पठाउनुहुन्थ्यो, ‘आज त सबै पार्टीलाई बोल्न दिएर संसद अवरुद्ध गरियो, कुरा बुझियो होला नि ?’

उहाँले प्रत्यक्ष अप्रत्यक्ष रूपमा मलाई धेरै ग्रुमिङ गर्नुभएको अनुभूति छ । अभिभावकीय स्नेह र सद्भाव प्रदान गर्नुभएको छ । उहाँ फरक पार्टीमा हुनुभए पनि टाढा अनुभूति गर्नुपरेन । उहाँ मेरो असल राजनीतिक अभिभावक हुनुहुन्थ्यो ।

केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा मैले अनलाइनखबरमा लेखेको थिएँ । त्यसमा पनि उहाँको र मेरो समान धारणा थियो । सुरुमा यसबारे म उहाँसँगै गुनासो गर्न गएको थिएँ कि यो के गरेको हो ? तपाईंहरूले पहिलादेखि नै यस्तै अभ्यास गर्दै आउनुभएको थियो र ?

मैले यसरी प्रश्न गर्दा उहाँले भन्नुहुन्थ्यो, ‘जेन्युन कुरा उठाउनुभएको छ सोबिता माननीयले ।’ उहाँले अरु धेरै शीर्ष नेताहरूसँग पनि यसबारे कुरा गर्नुभएको थियो ।

जननिर्वाचित सांसद अधिवक्ताको रूपमा अदालतमा बहस गर्न जानु हुन्छ कि हुँदैन भन्ने बारे विवाद छ । ‍उहाँले धारा २९२ सम्झाउँदै म अदालतमा बहस गर्न गएकोमा उहाँले भेटेरै बधाइ दिनुभएको थियो । उक्त धारामा संसदीय सुनुवाइमा भएको सदस्यले मात्रै अदालतमा त्यो पनि सर्वोच्च अदालतमा बहस गर्न मिल्दैन भन्ने व्यवस्था छ ।

उहाँले भन्नुहुन्थ्यो, ‘धारा २९२ मा ती प्रावधान यत्तिकै राखिएको होइन । हामी बहसको पक्षमा मज्जाले तर्क गर्न सक्छौं ।’

हरेक राजनीतिक कानुनी गाँठाहरूमा उहाँलाई म अभिभावकका रूपमा सम्झन्थें । उहाँले आफ्ना छोराछोरीलाई जस्तै स्नेहसहित दिशानिर्देश गर्नुहुन्थ्यो । सल्लाह सुझाव दिनुहुन्थ्यो ।

पछिल्लो समय म बंगलादेश गएको थिएँ । फर्कंदै गर्दा उहाँ पूर्वी नेपालको यात्रामा हुनुहुन्थ्यो । हामी म्यासेजमार्फत् संवादमै थियौं । मैलै वातावरणीय मुद्दामा हामीले बंगलादेशमा अगाडि सारेको एजेन्डा र विचार उहाँलाई सुनाएँ । अस्तिको दिन मात्र मेरो उहाँसँग लगभग १४ मिनेट संवाद भएको थियो ।

नेपालमा पनि वातावरण सम्बन्धी सम्मेलन गर्नुपर्छ । यो मुद्दामा हामीले लिनुपर्ने अडानबारे भनें । उहाँले भन्नुभयो, ‘विकसित राष्ट्रहरूले प्रदूषण गर्नुसम्म गरे तर समस्या हामीले व्यहोर्नुपरेको छ । यो मुद्दामा तपाईं युवा पुस्ताले नेतृत्व लिनुपर्छ ।’

उहाँले छिट्टै भेट्ने कुरा गर्नुभएको थियो । अब त्यो ‘छिट्टो’ समय अनन्त लम्बेतान बनेको छ । हामीले उहाँलाई भौतिक रूपमा कहिल्यै भेट्न पाउने छैनौं ।

प्रतिनिधिसभा सदस्य गौतमसँग कुराकानीमा आधारित



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्