१४ भदौ, पोखरा । १९ औं एसियन गेम्सका लागि आर्चरीका ४ खेलाडी झण्डै तीन महिनादेखि बन्द प्रशिक्षणमा छन् ।
चीनको हाङझाउमा हुने १९ औं एसियन गेम्समा आर्चरी कम्पाउन्डमा योगेन्द्र शेरचन र इमायुङ राई र रिकर्भ विधातर्फ तिलक पुनमगर र मञ्जु बजगाईंले प्रतिस्पर्धा गर्ने छन् । एसियन गेम्सका लागि काठमाडौंमा एक महिना प्रशिक्षण गरेका उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले १ साउनमा पोखरा पठाएको थियो ।
आर्चरीको तयारीका लागि काठमाडौं भन्दा पोखराको पूर्वाधार राम्रो छ । पानी परेको बेला रेस्ट गर्ने, अरु बेला पोखरा रंगशालामा बिहान, साँझ अभ्यास गर्ने गरिएको छ । तर खेलाडीहरु आफ्नो प्रशिक्षणप्रति सन्तुष्ट छैनन्, किनकी अभ्यास सामग्रीकै अभाव छ ।
कम्पाउन्ड विधामा प्रतिस्पर्धा गर्ने योगेन्द्र शेरचन बो, एरो लगायतका सामग्री आफैंले किनेर ल्याउनुपरेको बताउँछन् । ‘अहिले त परिषद्ले पनि मगाएको छ’, उनले भने, ‘हामीलाई बन्द प्रशिक्षणमा राखेदेखि नै उपलब्ध हुनुपर्थ्यो।’
नेपाल आर्चरी संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका प्रशिक्षक वसन्त गौचन एसियाड जस्तो प्रभावशाली प्रतियोगिताका लागि ढिलो गरी खेलाडी छनोट भएको र बन्द प्रशिक्षणमा पनि अभ्यास सामग्रीको अभाव रहेको बताउँछन् । ‘खेलाडीहरुले आफैंले सिंगापुर, मलेसिया, इन्डियाबाट मगाएर खेल्नुपरेको छ’ थकाली भन्छन्, ‘ट्रेनिङ सकिने बेला भइसक्यो, ‘एरो’हरु आउनै बाँकी छ ।’
खेलाडीहरुका अनुसार आर्चरीमा नयाँ खेल सामग्रीसँग अभ्यस्त हुन नै समय लाग्छ । खेल सामग्री अभावबारे बारम्बार जानकारी गराए पनि सुनुवाइ नभएको उनीहरुको गुनासो छ । आर्चरी कम्पाउन्डतर्फ नेपालको प्रतिनिधित्व गर्ने इमायुङ राई भन्छिन्, ‘एउटा इक्युप्मेन्टलाई बुझ्न कम्तीमा एक महिना लाग्छ ।’
ढिलो प्रशिक्षण सुरु भएको र खेल सामग्री अभाव भएकाले उनीहरुले एसियाडमा ठूलो आशा राखेका छैनन् । तर प्रदर्शन भने सुधार गर्ने लक्ष्य छ । शेरचन भन्छन्, ‘इक्युप्मेन्टहरु समयमै उपलब्ध गराइदिएको भए अझ राम्रो पर्फमेन्स गर्न सक्थ्यौं ।’
प्रशिक्षक थकाली पनि आफूहरुले गरेको ट्रेनिङ एसियाडका लागि पर्याप्त नभएको स्वीकार गर्छन् । ‘अरु देशले २/३ वर्षदेखि क्लोज क्याम्प चलाउँछन्’, उनी भन्छन्, ‘हाम्रो त्यो छैन । हामीले जे सक्छौं, जे पाउँछौं, त्यसरी नै चलिराखेको छ ।’
अहिलेसम्म पदक ल्याउन नसकेपनि प्रदर्शन सुधार्ने सुनाउँदै थकाली अगाडि भन्छन्, ‘तेस्रोसम्म हुन सकियो भने पनि राम्रो । नभए क्वार्टरफाइनलसम्म पुग्न सक्यौं भने पनि अर्को संस्करणमा सहभागी हुने खेलाडीहरुलाई हौसला मिल्छ ।’