ढल पसेपछि टौदहका माछा सखाप – Online Khabar

ढल पसेपछि टौदहका माछा सखाप – Online Khabar


१ भदौ, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा पर्ने टौदह अहिले दुर्गन्धित छ । गतसाता काठमाडौंमा परेको भीषण वर्षापछि टौदह वरिपरिको ढल सबै पोखरीमा छिर्दा माछाहरु मरे । जसले गर्दा टौदह दुर्गन्धित बनेको हो ।

उपत्यकाको आन्तरिक पर्यटनको केन्द्र रहेको धार्मिक पोखरी टौदहमा २ हजार भन्दा बढी माछा मरेका हुन् ।

टौदह व्यवस्थापन समितिका अनुसार वरपरका खेतमा हालेको रासायनिक मल, रेष्टुरेन्ट तथा पसलहरुबाट निस्कने फोहोर, वाथरुमबाट निस्कने फोहोर पानीहरु जाने ढल वर्षाको कारण पोखरीमा पसेपछि माछा मरेका हुन् ।

व्यवस्थापन समितिका सचिव राम आचार्य भन्छन्, ‘टौदहमा वर्षेनि वर्षामा माछा मर्ने गरेका छन्, वर्षाको भेलसँगै फोहोरहरु दहमा छिर्दा विषाक्त पानी पचाउन सक्ने क्षमता नभएकाले माछा मर्छन् ।’

उनले यो पटक रैथाने भन्दा पनि दुई ठूला प्रजातिका माछाहरु मरेको बताए । ‘ग्रास कार्प र सिल्भर कार्प जातका माछाहरु ब्रोइलर कुखुरा जस्तै हुन्छन्, विषाक्त पानी पचाउन नसक्ने भएपछि मरेका हुन् । तर रैथाने माछाहरु भने खासै मरेका छैनन्’, उनले भने ।

आचार्यका अनुसार यी दुई जातका माछाहरु धार्मिक रुपमा मनोकामना पूरा हुने उद्देश्यले धर्मावलम्बीहरुले ल्याएर छोडेका हुन् ।

‘विशेषगरी यहाँ बौद्ध धर्मावलम्बीहरुले माछालाई पोखरीमा छोड्ने गरेका छन्, यहाँ छोड्ने प्राय: माछा बजारमा पाइने हाइब्रिड जातका हुने भएकोले यिनीहरुको वृद्धि विकास छिट्टै हुन्छ तर प्रतिकूल वातावरणमा बाँच्ने क्षमता पनि हुँदैन’, उनले भने ।

मरेका माछा तीन दिन लगाएर पोखरीबाट निकालेर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको उनले जनाए । ‘केही माछाहरु अहिले पनि मर्दैछन्, ती माछाहरुलाई यहीं एउटा इनार बनाएर व्यवस्थापन गरिरहेका छौं’, आचार्यले भने ।

टौदहले वर्षेनि वर्षा लागेपछि ठुलो संख्यामा मरेको माछाहरु व्यवस्थापन गर्नुपर्ने बाध्यता भोग्दै आएको छ । कीर्तिपुर नगरपालिकाले भने वर्षेनि एउटै समस्याको कारण माछा मरेको बताएको छ ।

नगर उपप्रमुख सुनिता शाक्यले वर्षाको भेल पस्दा अघिल्लो वर्ष झैं यो वर्ष पनि माछा मरेको बताइन् । ‘माछा किन मरिरहेको छ भनेर मत्स्य विकास केन्द्रले समेत अनुसन्धान गर्दा विषाक्त पानीकै कारण भन्ने देखिएको छ । खेतमा प्रयोग भएको रसायन र ढल पोखरीमा जाँदा माछा मरेको भन्ने निष्कर्ष छ’, शाक्यले भनिन् ।

पोखरीमा अधिक माछा

टौदहमा पोखरीमा अहिले पनि क्षमता भन्दा धेरै माछा रहेको आचार्य बताउँछन् । ‘पोखरीमा माछा धेरै हुँदा यहाँको माछालाई अक्सिजन समेत नपुग्ने अवस्था रहेको छ । माछाको लागि पानीमा अक्सिजन लेभल ५ हुनुपर्नेमा अहिले २.५ मात्रै छ’, अक्सिजन लेभल पुर्याउन पानीको फोहोराहरु चलाइएको उनले बताए ।

टौदहमा माछा धेरै कसरी भयो भन्ने अनलाइनखबरको प्रश्नमा आचार्य जवाफ दिन्छन् ‘टौदहमा माछा क्षमता भन्दा धेरै हुनुको तीन वटा कारण छन्, एउटा माछा झिक्न वा बेच्न नपाइने, अर्को धार्मिक आस्थाको कारण माछा धेरै राख्ने, अर्को चराहरुको संख्या कमी भएको छ ।’

टौदहमा जति माछा भए पनि यहाँको माछा झिक्न पाइँदैन । पोखरीको आफ्नै धार्मिक मान्यता छ ।

किंवदन्ती अनुसार भगवान कृष्णले दहका रुपमा काठमाडौं उपत्यकाको पानी कटुवाल दह नजिकैको पर्वत काटेर बगाउन थालेपछि त्यहाँ रहेका नाग पनि पानीसँगै बगेर जान थाले ।

त्यसपछि कृष्णले ती नागहरुलाई आश्रय दिन टौदह सृष्टि गरेका हुन् भन्ने किंवदन्ती छ ।

प्रत्येक वर्ष नागपञ्चमीमा यहाँ ठूलो मेला लाग्ने गरेको छ । धार्मिक आस्थाको कारण यहाँका सर्प वा माछा मार्न र झिक्न निषेध गरिएको छ ।

नेवारी भाषामा ‘टौ दह’ भनेको ‘ठूलो पोखरी’ हो । पछि ‘तः दह’ को अपभ्रंश हुँदै ‘टौदह’ भएको मानिन्छ ।

व्यवस्थापन समितिका आचार्यका अनुसार टौदह उपत्यकाकै सबैभन्दा ठूलो पोखरी समेत हो । बाग्मती नदी पहिले टौदह हुँदै बग्ने गरे पनि कालान्तरमा गहिरिंदै गएर टौदह एउटा अक्सबो लेक हुन सक्ने बताउँछन् ।

माछा धेरै हुनुको अर्को कारण बौद्ध धर्मावलम्बीले माछाको भुरा अनगिन्ती ल्याएर छोड्नुपनि हो । ‘धार्मिक आस्थाको कारण माछाको भुराहरु ल्याएर छोड्ने गरिन्छ, त्यस्तो माछा प्रायः उन्नत जातका हुने गर्छन्, उनीहरुको वृद्धि धेरै हुँदा पोखरीमा भएको पानीले धान्नै नसक्ने माछा छन् ।’

आचार्यका अनुसार माछालाई अक्सिजन र पर्याप्त स्थान नपुग्दा उकुसमुकुस भएर समेत मर्ने गरेका छन् । ‘अधिक माछा भएकै कारण अन्य समयमा दैनिक दुई चार वटा माछा मर्ने गरेका छन्’, आचार्य भन्छन् ।

माछाको लागि टौदह घुम्न आउनेहरुले मस्यौरा, भुजा र माछाको दाना धेरै दिंदा पनि माछाको संख्या थेगिनसक्नु भएको हो ।

अहिले शनिबार ५ किलो र अन्यबेला दैनिक ३ किलो भन्दा धेरै माछाको आहार बेच्न नपाइने नियम व्यवस्थापन समितिले राखेको छ ।

उनले साइबेरियन र अन्य पाहुना चराहरुको संख्या कम हुँदा माछाको संख्या बढेको अर्को कारण बताए । ‘पहिले पहिले हिउँदमा चराहरुको हुल नै आएर माछा टिप्थे, अहिले माछा खाने चराहरु एकदम कम आउँछन्’, उनी भन्छन् ।

पोखरी वरिपरि घना बस्ती र हो–हल्ला हुँदा पाहुना चराहरु आउन छोडेको आचार्यको बुझाइ छ । ‘चखेवा, हाँसका विभिन्न प्रजाति, राजहंसहरु, मौसमी चराहरु आएर माछा खाने गर्थे, चरा नआएपछि माछाको संख्या बढिरहेको छ ।’

आचार्यले माछा व्यवस्थापन गर्न वैकल्पिक उपायहरुमा छलफल गर्नुपर्ने समेत बताए । ‘चराहरु धेरै ल्याउने वातावरण सिर्जना गर्नुपर्नेछ, अहिले हामीले माछा हाल्न नपाइने नियम पनि राखेका छौं । अब यहाँका माछाहरु अर्को पोखरीमा जीवितै लैजान सकिन्छ कि भनेर धार्मिक व्यक्तिहरुसँग छलफल पनि गरिरहेका छौं ।’

भिडियो तथा तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्