कोरोना भाइरस महामारी: विश्वव्यापी रूपमा अहिले नेपाल कस्तो अवस्थामा छ?

Girl in a jacket

[ad_1]


कोरोनाभाइरस

तस्वीर कपीराइट
RSS

ज्यानुअरीमा कोरोनाभाइरस सङ्क्रमण भएका पहिलो व्यक्ति भेटिएको नेपालमा अहिले सङ्क्रमितको सङ्ख्या ११,००० नाघेको छ।

केही हप्तादेखि सङ्क्रमण पुष्टि हुने दर बढेको छ। अहिलेको कुल सङ्ख्याका आधारमा जोन्स हप्किन्स यूनिभर्सिटीले नेपाललाई ६७ औँ स्थानमा राखेको छ।

कोभिड-१९ बारे विवरण निरन्तर अद्यावधिक भइरहने हुँदा त्यो स्थान भने केही तलमाथि भइरहन्छ।

गत वर्ष चीनको वुहान प्रान्तबाट सुरु भएको महामारी १८८ देश र क्षेत्रमा फैलिसकेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कमा देखिन्छ।

नेपालसँग सयौँ किलोमिटर लामो खुला सीमा भएको भारत अहिले सर्वाधिक प्रभावित देशमध्ये चौथो स्थानमा छ।

केही हप्तायता नेपालमा प्रत्येक दिन सरदर ५०० जना नयाँ सङ्क्रमित फेला परिरहेका छन्। अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ।

नेपालको अवस्था के छ?

सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी विश्वव्यापी रूपमा तुलना गर्दा धेरै देश फरकफरक अवस्थामा रहेको विषय ख्याल गर्नुपर्ने बताउँछन्।

विश्वका अरू देशसँग तुलना गर्दै उनले भने, “कहीँ सङ्क्रमण चरम बिन्दुमा पुगेर घट्न थालेको छ, कहीँ लगभग नियन्त्रणमा आएर लकडाउन खुकुलो पार्दै लगिएको छ।”

“हाम्रोमा सङ्क्रमण बढ्दो चरणमा छ। नेपालमा विभिन्न सङ्केत हेर्दा सङ्क्रमण समुदायमा फैलिएको जस्तो देखिन्छ।”

तस्वीर कपीराइट
RSS

विश्वव्यापी रूपमा कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा बढी अमेरिकामा देखिएको छ।

तेइस लाख ८० हजारभन्दा बढी सङ्क्रमितहरू रहेको अमेरिकामा एक लाख २१ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ। करिब ५४ हजारको मृत्यु भएको ब्रजिलमा १२ लाखको हाराहारीमा सङ्क्रमितहरू छन्।

सङ्क्रमितहरूको सङ्ख्याका हिसाबले तेस्रो स्थानमा रुस छ। चीनमा सङ्क्रमण फैलिने क्रम सुस्ताएको छ। सङ्क्रमितको सङ्ख्याका हिसाबले हेर्दा चीन २१ औँ स्थानमा छ।

नेपालमा कति सङ्क्रमित थपिएलान्?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सरकारले नेपालमा अगस्ट महिनाको पहिलो हप्तासम्ममा ३० देखि ४० हजार सङ्क्रमित हुने प्रक्षेपण गरेको छ।

त्यसको आधारमा उपचारको तयारी भइरहेको उनी बताउँछन्।

“सङ्ख्या बढी भयो भने रणनीति परिवर्तन गर्नुपर्ने हुन्छ,” उनले भने, “तीस हजारका लागि भने काम भइरहेको छ।”

तस्वीर कपीराइट
Getty Images

केही समययता भारतबाट नेपाल फर्किने मानिसको सङ्ख्या घटिरहेको हुँदा अब क्वारन्टीनमा थप ५,००० सङ्क्रमित भेटिन सक्ने सम्भावना भएको उनी बताउँछन्।

“क्वारन्टीन लगभग खाली हुँदासम्म सङ्क्रमितहरूको सङ्ख्या १७,००० देखि १८,००० पुग्ने देखिन्छ,” उनले भने।

बुधवार अपराह्णसम्म देशभरि ७८,००० जना भन्दा बढी मानिस क्वारन्टीनमा थिए। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।

दक्षिण एशियाको अवस्था के छ?

दक्षिण एशियामा मात्रै हेर्ने हो भने सङ्क्रमितहरूको सङ्ख्याका हिसाबले नेपाल पाँचौँ स्थानमा छ।

चार लाख ५६ हजार भन्दा बढी सङ्क्रमित रहेको भारतमा झन्डै १४,५०० ले ज्यान गुमाएका छन्।

भारतपछि पाकिस्तानमा सङ्क्रमितहरूको सङ्ख्या बढी छ। एक लाख ८८ हजार जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको पाकिस्तानमा ३,७०० जनाभन्दा बढीको ज्यान गएको छ।

सङ्क्रमितहरूको सङ्ख्या एक लाखभन्दा नाघ्ने दक्षिण एशियाली मुलुकमा बाङ्ग्लादेश पनि छ। त्यहाँ एक लाख २२ हजार जनाभन्दा बढी सङ्क्रमित छन् भने झन्डै १,६०० को मृत्यु भएको छ।

अफगानिस्तानमा नेपालमा भन्दा बढी सङ्क्रमण देखिएको छ।

माल्दिभ्स, श्रीलङ्का र भुटानमा भने सङ्क्रमितहरूको सङ्ख्या कम छ। माल्दिभ्स र श्रीलङ्कामा सङ्क्रमितहरूको सङ्ख्या दुई हजारभन्दा केही बढी छ।

भुटानमा भने ७० जना सङ्क्रमित छन्। त्यहाँ कोभिड-१९ बाट हालसम्म कसैको पनि मृत्यु भएको छैन।

नेपालमा कोरोनाभाइरस समुदायमा फैलिएको हो त?

डा. सुवेदीका अनुसार नेपालमा सङ्क्रमण उत्कर्षमा पुग्न अझै केही समय लाग्ने देखिन्छ।

लामो समयसम्म लकडाउन गरिएका कारण सङ्क्रमण फैलिन नपाएको र अस्पतालहरू भरिभराउ हुने अवस्था उत्पन्न नभए पनि नयाँ केही सङ्क्रमितहरू सङ्क्रमण भएकाहरूको सम्पर्कमा नआएको देखिनुले फरक अवस्था देखाएको सुवेदी बताउँछन्।

“कति जनाको मृत्यु भइसक्यो। सामान्य महामारीशास्त्रका केही अङ्कगणित गर्दा धेरै जनामा सङ्क्रमण भइसकेको अनुमान गर्न सकिन्छ,” उनले भने।

तस्वीर कपीराइट
RSS

Image caption

पछिल्ला दिनहरूमा विदेशबाट नेपालीहरूलाई फर्किने क्रम बढेको छ

त्यसको यकिन भने कन्ट्याक्ट ट्रेसिङ अर्थात् सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरूको पहिचानका आधारमा गर्न सकिने उनी बताउँछन्।

उनी भन्छन्, “कुनकुन घटनाको स्रोत पत्ता लाग्न सकेन भन्ने गर्नुपर्ने हो। तर हामीकहाँ त्यसरी हुन सकेको छैन। गरिएको भनिएका कन्ट्याक्ट ट्रेसिङको पनि आँकडा हेर्न पाइँदैन। विभिन्न देशहरूमा भने बिरामीको पहिचान नखुलाई त्यस्तो तथ्याङ्क सार्वजनिक गरिन्छ।”

विश्व स्वास्थ्य सङ्गठनले गत हप्ता सार्वजनिक गरेको नेपालसम्बन्धी विवरणमा नेपालमा कोरोनाभाइरस केही सीमित स्थानमा दोस्रो चरणमा समुदायमा फैलिएको सङ्केत देखिएको उल्लेख छ।

“स्रोत नखुलेको धेरै मान्छे भेटिएको अवस्थामा व्यापक रूपमा समुदाय स्तरमा फैलिसकेको भन्ने होला। एक-दुईवटा सङ्क्रमणका घटनाबाट समुदायमा फैलिएको तर सङ्ख्या सीमित भएको अवस्थामा उहाँहरूले सीमित भनेको हुनसक्छ,” उनले भने।

तर विश्व स्वास्थ्य सङ्गठनले दिने तथ्याङ्क सरकारी सूचनामा आधारित हुने हुँदा त्यसबाट धेरै कुरा स्पष्ट हुने विषयमा आशङ्का रहेको उनको धारणा छ।

के भन्छ सरकार?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार नेपालमा सङ्क्रमितमध्ये करिब ९५ प्रतिशत विदेशबाट आएका छन्।

त्यसमध्ये धेरै भारतबाट आएका व्यक्तिहरू छन्। उनी नेपालमा हालसम्म समुदाय स्तरमा यो रोग नसरेको बताउँछन्।

Image caption

नेपालमा सङ्क्रमणको सुरुमै लकडाउन गरिएको थियो

“उहाँहरू श्रमका लागि विदेश जानुभएको छ र फर्किँदा सङ्क्रमित भएर नेपाल आएको देखिन्छ,” उनले भने।

सङ्क्रमितमध्ये झन्डै ९८ प्रतिशतमा लक्षण नदेखिएको पाण्डेले बताए।

“अहिलेको अवस्था छोटो समयको एउटा ग्राफ हो र जब हामी क्वारन्टीनमा रहेका सबैको जाँच गर्छौँ, त्यसपछि यो सङ्ख्या घट्दै जान्छ।”

केही समयअघि बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यान्डिलियरले ‘हटस्पट’ भन्ने गरेको ठाउँमा मात्रै सङ्क्रमणको दर उच्च देखिएको बताएका थिए।

के सिक्न सकिन्छ?

सङ्क्रमणदर नियन्त्रण गर्न सफल देखिएका श्रीलङ्का र भियतनामजस्ता राष्ट्रबाट नेपालले सिक्न सक्ने विषयहरूमा सरकारले ध्यान दिनुपर्ने जानकारहरूको धारणा छ।

ती दुई मुलुकले विदेशबाट आएका व्यक्तिलाई निगरानीमा राख्न जोड दिएको सुवेदी बताउँछन्।

तस्वीर कपीराइट
RSS

Image caption

अहिले नेपालभरि हजारौँ मानिसहरू क्वारन्टीनमा छन्

परीक्षणको दायरा बढाउनुका साथै उनीहरूले क्वारन्टीनमा ध्यान दिएको र त्यसको परिणाम अझ देखिएको उनको बुझाइ छ।

“हामीसँग परीक्षणका लागि किट नहोलान्, पर्याप्त परीक्षणस्थल नहोलान्, तर क्वारन्टीन भनेको त जनशक्ति परिचालन गरेर व्यवस्थापन गर्न सकिने कुरा हो। यसका लागि ठूलो प्राविधिक शिक्षा पनि चाहिँदैन,” सुवेदीले भने।

क्वारन्टीनबाट घर फर्किएपछि सङ्क्रमण देखिनुले त्यहाँ उचित र सुरक्षित व्यवस्थापन हुन नसकेको सङ्केत गर्ने उनको तर्क छ।

त्यसबाहेक कन्ट्याक्ट ट्रेसिङमा पनि विशेष ध्यान दिइनुपर्ने विज्ञहरूको मत छ।

यो पनि हेर्नुहोस्

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कोरोनाभाइरस उपचार: चिकित्सकको सिफारिसबिना डेक्सामेथासोन प्रयोग नगर्न चेतावनी

[ad_2]

Source link

Girl in a jacket