[ad_1]
एक : लावालस्करसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली उडेको प्रचार हुँदैगर्दा भ्रमण दलको सूचीमा यो संवाददाताको समेत नाम समावेश थियो । भारतीय विदेश मन्त्रालयको तर्फबाट जारी गरिने हैदरावाद हाउस प्रवेश पास प्रयोजनका लागि हाम्रो नाम उल्लेख थियो । हामी भ्रमण मण्डलको सूचीमा समावेश भएपनि खासमा भ्रमण मण्डलका सदस्य होइनौं, बरु आफ्नो संस्थाबाट भ्रमणको रिपोर्टिङका लागि सम्पूर्ण खर्चसहित खटाइएका रिपोर्टर हौं । यहाँबाट छापेर पठाइएको भ्रमण पुस्तिकामा नाम राखिएपनि हामीलाई वितरण गरिएको पासमा भ्रमण मण्डल सदस्य भनेर लेखिएको छैन । तैपनि हाम्रो प्रचार हुन गयो प्रधानमन्त्रीकै टोलीका रुपमा । यस्तो गर्नु उचित हो र ?
दुई : यति हुँदाहुँदै पनि त्यही पास समेत समयमा पाइएन । हैदरावाद हाउसको गेट नम्बर तीनमा रहेका कर्मचारीसँग अस्थायी पासका लागि अनुरोध गर्यौं । काठमाडौंबाट गएको प्रधानमन्त्रीको टिमका सदस्य भन्छन्, दिल्लीस्थित नेपाली दूतावासले समयमा काम गर्न नसक्दा तपाईंहरुले असुविधा भोग्नुपर्यो । दूतावासका कर्मचारी भने आफूहरुलाई विदेश मन्त्रालयले समयमा पास नदिएको, अझ केही नाम काठमाडौंबाट फाइनल हुन बाँकी समेत रहेको भन्दै आफ्नो दोष पन्छाउँछन् । सामाजिक सञ्जालमा पत्रकारको खिसिट्युरी देख्दा कतिपय पत्रकार नै खुसी छन् ।
जे होस् हामी त्यहाँका कर्मचारीलाई अनुरोध गर्दै समयमै भित्र पस्न सक्यौं । हैदरावाद हाउसभित्रका कतिपय आन्तरिक गतिविधि नियाल्ने अवसर थियो त्यो । भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ता सकेर प्रधानमन्त्री प्रचण्ड बाहिर निस्कँदा हाम्रो आधिकारिक कार्ड तयार थियो । प्रवेश पास नभई निस्कासन पासका रुपमा त्यसलाई हातमा लिन पाउनुमा कम्तिमा हाम्रो दोष थिएन ।
तीन : भ्रमण मण्डलमा गएका उच्च तहका केही नेपाली नेता नै भ्रमणमा उठ्ने एजेन्डाहरुबारे बिलकुल अनभिज्ञ रहेको पाइयो । प्रधानमन्त्रीका रुपमा आफ्नो चौथो भ्रमण सक्दो सार्थक बनाउन बरु प्रचण्ड आफैं अतिरिक्त खटिरहँदा तालुकदार परराष्ट्र मन्त्रालय सम्हालेका एनपी साउद विषयहरुमा एक हदसम्म बेखबर देखिए । समग्र भ्रमण एजेन्डा निर्धारणमा परराष्ट्रमन्त्रीलाई बाहिर पारिएको हो या उनी स्वयं उदासीन देखिएका हुन् ? यसको जवाफ उनैले देलान् ।
चार : प्रधानमन्त्री प्रचण्ड बसेको होटल मौर्यको चौधौं तलामा बुधबार अपराह्न भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेश सचिव विनयमोहन क्वात्रा एकैसाथ पुग्नु आफैंमा अनौठो थियो । उनीहरुलाई स्वागत गर्न यताका समकक्षी त्यहाँ थिएनन् । मूख्यसचिव शंकरदास वैरागी र परराष्ट्र सचिव भरतराज पौडेल डोभाल र क्वात्राको आगमनबारे बिलकुल बेखबर भएर चाणक्यपुरीकै आसपास बसिरहेका थिए । कारकेडसम्म चियो गर्न पठाउँदा पनि उनीहरु नभेटिएपछि मौर्यको बैठक हलमा उनीहरुलाई स्वागत गर्न पुगिन् प्रधानमन्त्रीकी प्रमुख स्वकीय सचिव रहेकी छोरी गंगा दाहाल ।
बैठकको निकैपछि मात्रै मुख्य सचिव शंकरदास वैरागी र परराष्ट्र सचिव भरतराज पौडेल आइपुगे । त्यस बेलासम्म कुरा निकै अघि बढिसकेको थियो । भोलिपल्ट मोदी, प्रचण्ड भेटका लागि निर्णायक तयारीको अन्तिम क्षणमा सम्बन्धित नेपाली अधिकारी नहुनुले हाम्रो लापरबाही दर्शाउँछ ।
पाँच : प्रधानमन्त्रीको औपचारिक भ्रमणमा सँगै गएका शिष्टाचार महापालको मूख्य काम कर्तव्य हुन्छ, भ्रमणका सबै प्रोटोकलहरुबारे आफू अवगत हुनु, त्यसै अनुसार प्रधानमन्त्रीका लागि इन्तिजाम गर्नु । उच्च तहका संवेदनशील बैठकहरुमा प्रधानमन्त्री प्रचण्डकी प्रमुख स्वकीय सचिवका तस्वीर सर्वत्र भाइरल हुँदै गर्दा नेपाली पक्षका परराष्ट्रमन्त्री साउद या परराष्ट्र सचिव या प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको उपस्थिति देखिँदैन । उनी त्यतै भएपनि तस्वीरहरुमा त्यो प्रतिविम्बित हुँदैन । यो तरिका मिलेन । यस्तो बेला कत्ति पनि धक नमानी शिष्टाचार महापाल सुधिर भट्टराईले प्रधानमन्त्री र भ्रमण मण्डललाई गर्न हुने, नहुने कुराको बोध गराइदिनुपर्छ ।
छ : तस्वीर खिच्नै पर्छ र ? जस्तो कि दिल्लीको मेट्रोमा अहिले तस्वीर खिच्न निषेध गरिएको रहेछ । कारण मेट्रो स्टेशन र लाइनमै फोटो भिडियो खिच्ने हुँदा दुर्घटनाहरु हुन थालेछन् । कति चिजलाई तस्वीरभन्दा पर्तिर रहन दिएकै बेस ।
तर हाम्रो भ्रमण मण्डलका केही सदस्यलाई महात्मा गान्धीको समाधिस्थलमा गएर पनि फोटो नै खिच्ने रहर जाग्यो । नेपालमा हुन्थ्यो भने आफूले शहीदको सम्मानमा मौनधारण गर्दा पनि सेल्फी हान्न खोज्ने प्रवृत्ति छ । केही प्रतिनिधिले एकातिर गान्धीको बेइज्जती गरे, अर्कातिर देशको । आफ्नै इज्जतको बारेमा चाहिँ उनीहरु स्वयं जानुन् ।
सात : नेपाल दूतावासको रात्रिभोजमा वरिष्ठ पत्रकार भारत भुषणको बिजोग कसैले देखेको भए उसले भन्ने थियो, भाग भारत भाग । नेपालका पत्रकारहरुबीच असाध्यै सम्मानित भारत भुषण आफ्नो सम्पूर्ण विनयशीलतासहित यो पंक्तिकारसँग एउटा टेबुलमा भलाकुसारी गरिरहेका थिए । त्यही बेला लाइभ घुसपैठ आइपुगे नेपाली टीभी प्रस्तोता । तपाईंले जसको नाम अनुमान गर्नुभयो, उनी तिनै हुन् । ऋषि धमलाले हमारे पास भारतका जानेमाने पत्रकार भारत भुषण है भनेर बुम तेस्याउँदा भारत भुषण भाग्न पो थाले । अन्त कहाँ जाने ? उनी हाम्रै टेबुल वरिपरि फनफनी घुम्न थाले । भारत अघिअघि, ऋषि पछिपछि ।
आठ : भारतीय राष्ट्रपति द्रौपदी मुर्मु भेट्न प्रधानमन्त्री मौर्यबाट प्रस्थान गर्ने निर्धारित समयमा केही उच्च अधिकारी नै छुट्न पुगे । चौधौं तलाबाट ओर्लेर प्रचण्ड लबीमा धेरैसँग फूलमाला ग्रहण गरिसक्दा पनि उनीहरु आइपुगेनन् । प्रचण्ड राष्ट्रपति भेट्न हिँडेको १५ मिनेटपछि भुइँतलामा आइपुगे ती उच्च अधिकारी । त्यसपछि उनका लागि कठिन भयो, फुर्सद व्यवस्थापन गर्न ।
नौ : सञ्चारमाध्यममा खबर फैलिइसकेको थियो, काठमाडौं रक्सौल अन्तरदेशीय रेलमार्गको फाइनल लोकेसन सर्वे प्रतिवेदन नेपाली पक्षलाई बुझाउन अस्वीकार गर्यो । यो सूचना प्रवाह गरेका थिए, स्वयं नेपाली पक्षका अधिकारीहरुले ।
प्रधानमन्त्रीको सचिवालयले यसबारे विस्तृत चासो राख्यो । जबकि बुझ्दैजाँदा थाहा भयो, भारतीय पक्षले प्रधानमन्त्रीको भ्रमणभन्दा पहिले नै उक्त प्रतिवेदन नेपाल दूतावासलाई बुझाइसकेको रहेछ । नेपाली पक्षबाट कमेन्ट पठाउनै बाँकी भएपछि प्रतिवेदन बुझाउने कार्यसूची नै अलपत्र पर्न गयो । नेपाली पक्षले यस्ता कमजोरीहरुको आत्मसमीक्षा गर्ने कि ?
दस : हैदरावाद हाउसको दुईपक्षीय सम्झौता, उद्घाटन, शिलान्यास आदिमा पत्रकारले प्रधानमन्त्रीहरुलाई प्रश्न सोध्न पाउँदैनन् । सोही अनुरुप मोदी र प्रचण्डले बोलेपछि कार्यक्रम स्वतः सकियो ।
तर त्यसको एकैछिनमा भारतीय विदेश सचिव क्वात्राले दुई प्रधानमन्त्रीहरुको बैठकका छलफल र निर्णयबारे साउथ ब्लकमा पत्रकार सम्मेलन गरेर सबै बताइदिए । प्रश्नोत्तर पनि भयो ।
नेपालबाट परराष्ट्रमन्त्री, परराष्ट्र सचिव, प्रधानमन्त्रीका मूख्य सल्लाहकार सबै गएका थिए । चाहेको भए उनीहरुले पनि दुई प्रधानमन्त्रीको भेटबारे नेपाली पक्षको बुझाई व्यक्त गर्न सक्थे । त्यस्तो कुनै प्रयास भएन । बरु प्रचण्ड आफैंले शुक्रबार बिहान इन्दोर उड्नुअघि केही सम्पादकसँग दिल्लीमा ब्रिफिङ गर्न पुगे । उनको उच्चस्तरीय टिम केवल पर्यवेक्षकमात्रै प्रतित हुन्थ्यो ।
एघार : सामान्य अवस्थामा ईपीजी प्रतिवेदन भारतीय प्रधानमन्त्रीले बुझ्ने छैनन् । ईपीजीको शब्द सुनिसक्दा भारतका नेता, अधिकारी बिच्किँदा रहेछन् । यो पंक्तिकारले भारतको सत्तापक्षका नेता, अनि उच्च तहका अधिकारी र पूर्वराजदूत तथा कर्मचारीहरुसँग गरेका छलफलहरुको निष्कर्ष के हो भने अब १९५० को सन्धि पुनरावलोकनका विषयमा हुने छलफल प्रबुद्ध व्यक्तिहरुको समूह इपिजीको साझा निष्कर्ष र सुझावभन्दा भिन्न शिराबाट हुनसक्छ । नेपालका लागि पूर्वराजदूत रणजित रायले त मुखै फोरेर भने, अहिले प्रतिवेदन बुझ्न सम्भव छैन भन्ने बुझिसकेपछि पाँच वर्षदेखि एउटै रटना लगाएको लगायै गर्नुको अर्थ छैन ।
एकातिर मोदी स्वयंले भारत र नेपालबीच सीमा लगायत समस्या रहेको यथार्थबोध गर्नु, अर्कातिर उनको टोलीले यसबारेमा दुवै देशको तर्फबाट गठन गरिएको टोलीले तयार पारेको साझा निष्कर्षलाई ग्रहण समेत गर्न नचाहनुको अर्थ के होला ? यस्तो शैलीले सम्बन्ध सुपरहिट होला ?
बाह्र : सिमाना कृत्रिम हो, तर यथार्थ हो । नेपाली सिमानामा वर्षौयता भारतीय बलमिच्याइँ छ भन्ने तथ्य खोज्न टाढा जानुपर्दैन । नक्साहरुलाई यथार्थपरक भएर तथ्यगत अध्ययन गर्ने हो भने यसबारे प्रष्ट भइहालिन्छ । आशा गरौं, भारतीय पक्षले पनि तथ्य र प्रमाणहरुलाई पर्गेल्ने अवसरबाट बन्चित नहोस् ।
सिमाना समस्याबारे मोदीले मुखै फोरेर स्वीकार गर्नु, अब संयन्त्र बनाएर हल खोज्ने आकांक्षा राख्नु मनासिब छ । यही बेला नेपालका प्रधानमन्त्री प्रचण्डले अति उत्साही भएर अतिक्रमित कालापानी क्षेत्र छाड्नसक्ने, बरु त्यसको विकल्पमा बंगलादेश छिर्ने पूर्वी नाकामा निर्बाध नेपाली प्रवेशको विकल्पबारे सोच्न सकिने बताउन पुगे । जबकि भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजराल हुँदाको बखतमै नेपालले बंगलादेशको बाटोमा पहुँच पाइसकेको थियो । यसमा भारतले अतिरिक्त केही गर्नुपर्दैन । विगतको सरकारको अविच्छिन्न उत्तराधिकारीका रुपमा कार्यान्वयन र थप सहजीकरण गरिदिए पुग्छ । कालापानीसँग सट्टापट्टा गर्ने कुरा होइन यो ।
सम्झौताको टेबुलमा बस्दा व्यावहारिक हुनु राम्रो हो, व्यवहारवादी हुँदा चाहिँ मूल्य चुकाउनुपर्ने हुन सक्छ । विगतमा कहिले चेकपोस्ट राखेर, कहिले अरु कुनै बहानामा भूमि अतिक्रमण गरेको भारतले कालापानीमा नयाँ स्वीकारोक्ति सहित आउनुपर्ने हुन्छ । किनभने त्यो इतिहासका तथ्यहरुमा आधारित विषय हो । यसबारे नेपालका प्रधानमन्त्री किन हतारमा बोल्न पुगेका होलान् ? कतै हिमालयको उचाईमा नेपाल भारत सम्बन्ध पुगेको व्याख्यामा उनी बढ्तै फकिएका त होइनन् ? उनले नेपाल फर्केर यसबारे प्रष्ट पार्नैपर्छ ।
[ad_2]
Source link