दशगजामा छटपटाएरै बिते वीरेन्द्र

सरकारले काठमाडौंमा विदेशबाट फर्किनेहरूलाई सुरक्षित तरिकाले भित्र्याउने र सुविधासहितको क्वारेन्टाइनमा राखेर घर फर्काउने निर्णय गरिरहेका बेला धनुषाको सहिदनगर–९ का वीरेन्द्र गुर्मैता यादवको दशगजामै सास गयो । भारतका कैयौं ठाउँमा हन्डर र ठक्कर खाँदै आफ्नो भूमि छिर्ने बेलामा वीरेन्द्रहरूले पाएका दु:खको कुनै लेखाजोखा छैन ।

दशगजामा छटपटाएरै बिते वीरेन्द्र
Girl in a jacket

गोठकोयलपुर, धनुषा — केन्द्र सरकारजस्तै प्रदेश २ सरकारसँग पनि जीविकोपार्जनका लागि आफ्ना कति नागरिक भारत भासिन्छन् भन्ने यकिन तथ्यांक छैन तर गरिबीको मारमा रहेका अधिकांशको रोजीरोटी भारतबाटै चल्छ भन्नेचाहिँ थाहा छ । प्रदेश २ को करिब ६२ लाख जनसंख्याको ४७ दशमलव ९ प्रतिशत अर्थात् करिब ३० लाख जनसंख्या गरिबीको रेखामुनि रहेको आँकडा योजना आयोगको छ ।

यिनैमध्येको एक हो– सहिदनगर नगरपालिका–९, गोठकोयलपुरका वीरेन्द्र गुर्मैता यादवको परिवार । वीरेन्द्र दुई वर्षअघि ऋणपान गरेर कतार गए, काम गर्दागर्दैको कम्पनी टुट्यो तर कतार जाँदा लागेको ऋणको भारी बिसाउन सकेनन् । त्यही ऋणको ब्याज बढेर घाँटी–घाँटी आउन थालेकाले उनी फर्किएको झन्डै एक वर्षपछि गत फागुनमा भारतको सुरत पुगे । ‘फेरि उतै जान खोजेको थियो, पहिलेकै ऋण तिर्न नसकेपछि भारत गएको हो,’ वीरेन्द्रका भाइ धीरेन्द्रले कान्तिपुरसँग भने, ‘तर फर्किएर आएन ।’

वीरेन्द्रले सुरतको एउटा होटलमा काम पाएका थिए । त्यहाँ झन्डै महिना दिन उनले राम्रैसँग काम गरे । चैत ११ देखि भारतमा लकडाउन सुरु भयो, त्यसको असर वीरेन्द्रले काम गर्ने होटललाई पनि पर्‍यो । होटलका साहू मनकारी रहेछन्, काम नभएका बेलामा समेत उनीहरूसँग झर्कोफर्को गरेनन् । ‘काम केही नभए पनि बिहान–बेलुका पेटभरि खाना दिन्छन् भन्थ्यो,’ वीरेन्द्रसँगको फोन संवाद सम्झिँदै उनका बुबा रामजतन यादवले भने ।

कोभिड–१९ को भय बढिरहेकै बेलामा भारत सरकारले वैशाख ३० गते श्रमिक विशेष रेल सञ्चालन गर्न दिने निर्णय गर्‍यो, उनलाई पनि तीन वर्षको छोरा र जन्मिएको दुई महिनामै छाडेर हिँडेको सानी छोरीलाई कतिखेर देखौं, भेटौं लागिरहन्थ्यो । श्रीमती सविता यादवसँग भएको अन्तिम फोनमा वीरेन्द्रले छोराछोरीकै हालखबर सोधेका थिए । त्यही फोन संवादमा सविताले वीरेन्द्रलाई जसरी भए पनि आउनु भनेकी थिइन् ।

अरू १० जना साथीहरूसँगै नेपाल फर्किने निधोमा पुगेपछि उनले घरमा बुबा र श्रीमतीलाई फोन गरेर आफू आउन लागेको बताए । वीरेन्द्र आउने खबरले परिवारका सदस्य खुसी भए किनभने नौ सदस्यीय परिवारमा वीरेन्द्र मात्रै टाढा थिए । परिवारका सदस्यका अनुसार वीरेन्द्र सुरतबाट सही सलामत निस्किएका हुन् । तर कहिले गाडी र कहिले पैदल गर्दै करिब १८ सय किलोमिटर यात्रा तय गरेर छैटौं दिनमा दरभंगा आइपुग्दा वीरेन्द्र बिमारले आलसतालस परे । गत जेठ १३ गते दरभंगाबाट उनका भाइ धीरेन्द्रलाई फोन आयो, फोनसँगै आयो वीरेन्द्र बिमार परेको खबर पनि । साथीहरूले परिवारका सदस्यलाई दिएको जानकारीअनुसार उनीहरूले त्यो यात्रामा राम्ररी पानीसम्म पिउन पाएनन् ।

बाटो खर्चसमेत नभएको वीरेन्द्रको टोलीसँग उनलाई उपचार गराउन पैसा हुने कुरै भएन । फेरि यता घरको गरिबी पनि त रेखामुनि नै छ । त्यसैले धीरेन्द्रले आफ्ना काका रामहरि यादवसँग अब के गर्ने भनेर सरसल्लाह गरे । उनीहरूले जति रकम लागे पनि जुटाएर पठाउने आश्वासन वीरेन्द्रका साथीहरूलाई दिए र दरभंगाकै अस्पताल लैजान आग्रह गरे । तर सुरतदेखि आएका वीरेन्द्रलाई दरभंगाका कुनै पनि अस्पतालले भर्ना लिन मानेनन् ।

जेठको यो घाममा वीरेन्द्र घरी होस र घरी अर्धहोसमा सडकमै लडे, साथीहरूले उपचारको उपाय खोज्न दौडधुप गरे । करिब ३ घण्टाको प्रयासपछि एउटा एम्बुलेन्स फेला पर्‍यो, एम्बुलेन्सले ८ हजार भारतीय रुपैयाँमा उनीहरूलाई नेपाली सीमासम्म ल्याइदिन तयार भयो । यता धनुषामा परिवारका सदस्यले एम्बुलेन्सलाई तिर्नका लागि रकम जुटाउन थाले । वीरेन्द्रलाई राखेको एम्बुलेन्स राति १० बजे सीमावर्ती गाउँ पिपरौन आइपुग्यो ।

पिपरौनबाट धनुषाको जटही नाका जम्मा दुई किलोमिटर वरमात्रै हो तर भारतीय सीमा सुरक्षा बल एसएसबीले एम्बुलेन्सलाई वारि आउनै दिएन । एसएसबीले लखेट्दा एम्बुलेन्स घरी खेततिर कुद्यो, घरी पिच सडकमा चक्कर मार्‍यो । वीरेन्द्रका साथीहरूले धेरैपटक भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग उनी सिकिस्तै भएकाले नेपाल छिर्न दिन आग्रह गरे तर ढुंगा पग्लिएला प्रहरीको मन पग्लिएन ।

उनलाई लिन राति १ बजे नै जटही नाका पुगेका भाइ धीरेन्द्र र काका रामहरि रातभरि सीमा रुँघेरै बसे । त्यसबीचमा उनीहरूले एसएसबीसँग समन्वय गरिदिन नेपाली सीमा नाकामा रहेका सुरक्षाकर्मीसँग आग्रह गरे, नगर प्रमुख उदय बरबरिया यादवलाई फोन गरे, जिल्ला प्रशासन प्रमुख कोषहरि निरौलासँग सम्पर्कको कोसिस गरे । सुरक्षाकर्मीले ‘माथि जाहेर गरेका छौं’ बाहेक अर्काे जवाफ दिन सकेनन्, नगरपालिका प्रमुख यादव र जिल्ला प्रशासन कार्यालय प्रमुख निरौलाको फोन उठेन । पिपरौनबाट वारि एम्बुलेन्स आउन सकेन, एम्बुलेन्सको भाडा पारिसम्म पुर्‍याउनुपर्नेमा त्यो पनि सकिएन । वीरेन्द्रका आफन्तले एम्बुलेन्सको भाडा लगिदिन भारतीय प्रहरीसँग आग्रह गरे । ‘तर उनीहरूले हामी तिमीहरूको नोकर हौं र भनेर थर्काए,’ काका रामहरिले भने ।

रामहरिले एम्बुलेन्स चालकलाई बैंक अकाउन्टमा भाडाबापतको रकम डिपोजिट गरिदिने वचन दिएपछि उनीहरूलाई पिपरौनमै छोडेर दरभंगातिर फर्किए किनभने वारि आउन भारतीय सीमा सुरक्षा बलले रोकेको थियो । ‘उहाँले त्यति धेरै खतरा हुँदाहुँदै पनि वीरेन्द्रलाई ल्याइदिनुभयो, हामीले अहिलेसम्म पारिश्रमिक पनि पठाउन सकेका छैनौं, सबैभन्दा ठूलो दु:ख यसैमा लागेको छ,’ रामहरिले भने, ‘अकाउन्ट नम्बर पठाइदिनुस् भनेका थियौं, अब वीरेन्द्र नै नरहेको खबर पाएर हो कि उहाँले पठाउनुभएन ।’

त्यसपछि वीरेन्द्रलाई उनका साथीहरूले पालैपालो बोकेर करिब २ किलोमिटरयता जटही नाकामा ल्याइपुर्‍याए । उनलाई १४ गते बिहान ६ बजे जटही नाकामा ल्याइपुर्‍याइएको थियो । त्यो दिन भारतबाट फर्किएका अरू करिब २ सय जनाको भीड सिमानामा लागिसकेको थियो ।

यता वीरेन्द्रका गाउँलेले एम्बुलेन्स खोज्न थाले । बिमारले आलसतालस उनी सडकमै झोलाको सिरानी लगाएर लमतन्न परे । तर सीमावारि देशमा उनलाई बोक्नका लागि कुनै एम्बुलेन्स तयार भएनन् । प्रहरीले सहिदनगर नगरपालिकाका मान्छे किन जटही नाकाबाट आएको भन्दै उल्टै हप्कीदप्की गरे । कतिसम्म भने रेडक्रसमा फोन गर्दासमेत आफूहरूसँगको पीपीई सेट राम्रो नभएकाले भारतबाट आएका बिरामी बोक्न नजाने जवाफ आयो । नगरपालिका प्रमुखको फोन बिहान पनि उठेन ।

नातिसँग वीरेन्द्रका बुवा रामजतन तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

‘कतिले फोन काटे, कतिले उठाएनन्,’ वीरेन्द्रका छिमेकी रूपेश यादवले भने, ‘रेडक्रसका महाशंकर ठाकुरलाई फोन गर्दा आफूहरूसँग राम्रो पीपीई नभएकाले जान नसकिने जवाफ दिनुभयो ।’ विपत्का बेला घर सम्झिएर फर्किएका वीरेन्द्र उनलाई लिन जान कुनै एम्बुलेन्स तयार नभएपछि करिब २ घण्टा जटही नाकाको पिच रोडमै छटपटाए । आफ्नो नागरिक सिमानामा जीवन र मरणको दोसाँधमा छन् भन्ने थाहा पाएका प्रहरी र प्रशासन तैं चुप मै चुपको अवस्थामा रहे । यद्यपि नेपाल प्रहरीका प्रदेश २ प्रमुख धीरजप्रताप सिंहले भने भारतीय पक्षले उनीहरूलाई छोड्न ढिलाइ गरेका कारण वीरेन्द्रलाई समयमै उद्धार गर्न नसकेको दाबी गरे ।

०००

दाइलाई नाकासम्म ल्याइपुर्‍याइएको छ भन्ने थाहा पाएपछि भाइ धीरेन्द्र पनि जटही पुगे । यता छिमेकी र आफन्तले एम्बुलेन्स खोज्न थाले । चारैतिर हारगुहार गरेपछि करिब २ घण्टापछि बल्लबल्ल रेडक्रसकै एम्बुलेन्स उनलाई लिन जान तयार भयो र जटही नाकातिर कुद्यो । तर वीरेन्द्रको सास भने रोकियो ।

एम्बुलेन्स नगराइननिर पुग्दा वीरेन्द्रले संसार छोडेको खबर सुनेपछि काका रामहरि खङ्ग्रङ्ग परे, भाइ धीरेन्द्रको ओठतालु सुक्यो । ‘बिरामी दाइलाई टाढाबाट हेरेर बसें, उसले कतिबेला कतिबेला आँखा खोलिराथ्यो, मलाई पनि देख्यो होला,’ धीरेन्द्रले कान्तिपुरसँग भने, ‘तर उसले अन्तिम सास फेर्दा पनि छेउमा पुग्न सकिनँ ।’

सुरुमा भोकै प्यासै र पछि बिमारसहित आफ्नो भूमिमा आइपुगेर १४ गते बिहान ८ बजे मृत्युवरण गरेका वीरेन्द्रको शव दिउँसो साढे २ बजेसम्म दशगजाबाट उठेन ।

यता उनको मृत्युको खबरले गोठकोयलपुर शोकमग्न भयो । २७ वर्षीया श्रीमती सविता र ६० वर्षीय बुवा रामजतन यादव मुर्छा परे । सविता आइतबार मृत्युपछिको १२ औं दिनको संस्कार भइरहँदा पनि बेहोस नै छिन्, रामजतनको आँखा ओभाउन सकेका छैनन् । तीन वर्षको नाति र चार महिनाकी नातिनीको अनुहार हेरेपछि उनी झन् कहालिन्छन्, बुहारीको भविष्यले अत्याउँछ । ‘जे भयो भयो अब सहनैपर्छ भनेर सम्झाइबुझाइ त गर्छु तर भाउजू कि मुर्छा पर्नुहुन्छ, कि रोएरै बस्नुहुन्छ,’ धीरेन्द्रले भने, ‘बुवा र भाउजूलाई सम्हाल्न बहुत कठिन परिरहेको छ ।’

चार महिनाकी छोरीसँगै वीरेन्द्रकी श्रीमती सविता । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

सरकारले काठमाडौंमा विदेशबाट फर्किनेहरूलाई सुरक्षित तरिकाले भित्र्याउने र सुविधासहितको क्वारेन्टाइनमा राखेर घर फर्काउने निर्णय गरिरहेका बेला दशगजामा वीरेन्द्रको सास गएको हो । लकडाउनयताको तथ्यांक हेर्दा दिनहुँ कम्तीमा ३ सयदेखि बढीमा २१ सय युवा प्रदेश २ का नाकाबाट नेपाल भित्रिरहेका छन् । भारतकै कयौं ठाउँमा हन्डर ठक्कर खाँदै आफ्नो भूमि छिर्ने बेलामा उनीहरूले पाउने दु:खको कुनै लेखाजोखा छैन ।

भारतीय प्रहरी र प्रशासनको त के कुरा भयो र उनीहरूलाई आफ्नै सरकारसँग ठूलो गुनासो छ । ‘बिहान ६ बजे जटही नाकामा आइपुगेको वीरेन्द्रलाई तुरुन्तै ल्याएर अस्पतालमात्रै भर्ना गर्न पाएको भए पनि त हुन्थ्यो,’ काका रामहरिले भने, ‘उपचार गर्दागर्दै ज्यान गयो भनेर चित्त बुझाउने मौका पनि पाएनौं ।’ आफ्नो नागरिक बिरामी भएर सिमानामा छटपटाउँदासमेत उद्धार गर्न तत्पर नहुने सरकारी संयन्त्र देखेर अहिले गोठकोयलपुर गाउँ उद्वेलित छ ।

वीरेन्द्रका बुवा रामजतनको आक्रोश जनप्रतिनिधिसँग पनि छ । ‘चुनावका बेला हात जोड्दै भोट माग्न नेता घरमै आइपुग्छन्,’ उनले भने, ‘हामीलाई दु:ख पर्दा फोनसम्म उठाउँदैनन् ।’ उनको नौ सदस्यीय परिवारले दुई कोठे कच्ची घरमा जसोतसो जिन्दगी चलाइरहेको छ । जेठो छोरा वीरेन्द्र र कान्छो छोरा धीरेन्द्रको परिवारलाई बस्न एक–एक कोठा सुम्पेर रामजतन गोठसँगै रहेको खाटमा रात धकेल्छन् । तनर कट्ठा खेती हुने जग्गा र घडेरीले मात्रै उनको परिवारको दुई छाक टर्दैन । रामजतनका दुवै छोरा परिवारको त्यही गर्जो टार्न विदेश जान बाध्य भएका हुन् ।

शरीर थलिँदै गएका बेला, अब छोराहरूकै आडभरोसामा बाँच्ने दिन आएका बेला जेठो सन्तान गुमाउँदा उनलाई जति पीडा भएको छ, शब्दभन्दा धेरै त उनको आँसुले नै व्याख्या गरिरहेको थियो । सायद छोराको तिर्सना मेट्न हो, रामजतन नाति सुरजलाई हमेसा छातीमा टाँसिरहन्छन् । वीरेन्द्रलाई दागबत्ती दिएका सुरजलाई खोइ कसले सिकायो थाहा छैन तर उनले बारम्बार ‘पाप्पा त भगवान्को पासमा जानुभयो’ भनिरहन्छन् । फागुनमा भारत जाँदा वीरेन्द्रले बुवालाई सम्झाएका थिए, अब हाम्रा पनि दिन फर्किन्छन् भनेका थिए ।

‘उसले दु:खको दिन जान्छ भन्थ्यो, सबैलाई दु:खी बनाएर आफैं गयो,’ रामजतनले भने, ‘छोरा बिरामी परेको सुनेपछि ३० हजार रुपैयाँ ऋण लिएर नाकामा पठाएको हुँ तर लासमात्रै आयो ।’

 

Girl in a jacket