हामी मान्छे कहिले बन्ने ?

मेरो समाज रुकुम घटनामा दोष कसको, कति भनेर केलाउँदै छ, गल्ती कसको भनेर बहस गर्दै छ । विवाद गर्दै गरौँला तर अहिलेका लागि एउटा कुरामा सहमत भइदिऊँ– हामी मान्छे बन्नै बाँकी रहेछ । आशा छ, कुनै दिन त पक्का हामी मान्छे बन्नेछौँ । प्रयास जारी राखौँ ।

हामी मान्छे कहिले बन्ने ?
Girl in a jacket

मेरो एउटा साथी छ । चिटिक्क परेको, अलि होचो कदको अनि गोरो । ऊ मृदुभाषी छ, उस्तै मिहिनेती र मिलनसार पनि । स्नातकदेखि स्नातकोत्तरसम्म सँगै पढेको । कहिले शिवपुरीका जंगलमा कार्बन कति छ भनेर नाप्न गयौँ त कहिले देउसी–भैलो खेल्न रातभरि हिँड्याैं। सहयोग मागे ऊ विरलै नाइँ भन्थ्यो । थेसिस गर्न जाऊँ भन्दा ऊ सहर्ष स्वीकार गरेर एक साताभन्दा बढी शिवपुरीकै जंगलमा मसँगै बसेथ्यो । हामी कहिले मातेर हिँड्यौँ त कहिले हाँसेर ।

उसले बनाएका नोट कलेजमै चर्चित थिए । केही समस्या परे वा जानिएन भने कसलाई सोध्ने १ पहिलो नाम उसैको आउँथ्यो । ऊ दिल खोलेर सिकाउँथ्यो । जिन्दगी त उसको मेरोभन्दा सुखी छ भन्ने लाग्थ्यो मलाई । कम्तीमा उसको काठमाडौं खाल्डोमा घर थियो, जुन मेरो सपनामा पनि थिएन । गितार बजाउँथ्यो । गीत गाउँथ्यो । हामीले एउटै खाटमा पल्टिएर पनि रात काट्यौँ । एउटै थालमा बाँडेर पनि खायौँ ।

सब चलेकै थियो । घामले पोलेकै थियो । जूनले शीतल बनाएकै थियो । पानी परेकै थियो । बादल उडेकै थिए । पहाड उभिएकै थिए । नदी बगेकै थिए । चरा चिर्बिराएकै थिए । हावा लागेकै थियो । विज्ञानको भाषामा हामी एउटै प्रजाति थियौँ । हाम्रो उस्तै खालको जिन थियो । उस्तै खालको बनोट । हामी अन्न नै खान्थ्याँै, पानी नै पिउँथ्यौँ । तर, एउटा कुरा फरक थियो, उसको थर ‘प’ बाट सुरु हुन्थ्यो भने मेरो ‘भ’ बाट । यो देशका मानिसहरूले उसको नामपछाडिको थरलाई दलित वा ‘दमाईं’ भनेर बुझ्थे, अझै पनि बुझ्छन् र भोलि पनि बुझ्नेछन् । मेरो थरलाई ‘बाहुन’ भनेर । यो न त उसले राखेको थर थियो न त मैले । पुख्र्यौली पहिचानको रूपमा आएको यो थर वा अक्षरको झुन्डले हामी दुईलाई नितान्त फरक हुन् भन्ने बुझाउँछ, कम्तीमा पनि म अहिले बसिरहेको समाजमा । हाँस्दा, खेल्दा, पढ्दा, नाँच्दा, गाउँदा यसले खासै फरक पारेको थिएन । लागेको थियो सब ठीकठाक चलिरहेकै छ ।

मैले सहपाठी युवती मन पराएँ, जसलाई मेरो समाजले मभन्दा अलिमुनिको जात भनेर बुझ्छ– क्षत्री । मलाई त्यसको न त कुनै पर्वाह थियो न त उसलाई । तर, उसको र मेरोबीचमा अर्को फरक थियो । म विकट पहाडबाट आएको केटो, जसको काठमाडौंमा केही छैन । ऊ काठमाडौंमा जन्मेकी हुने–खाने नै तर परिस्थितिले अत्यन्त सकसपूर्ण बनाएको जिन्दगीमा सधैँ लडेर हुर्केकी । तर, हाम्रो कुरा मिल्यो वा प्रेम भयो । मेरो त्यो साथीले पनि त्यस्तै समूहको अर्की केटी मन परायो, जो हाम्री सहपाठी थिइन्, जसलाई यो समाजले क्षत्री भनेर बुझ्छ । उनीहरू पनि प्रेममा परे ।

विश्वविद्यालयबाट राम्रो अंकसहित पास भएका हामी सबै जागिर खान थाल्यौँ । वातावरण विज्ञानको स्नातकोत्तर सानो पढाइ होइन, कम्तीमा यो देशमा जहाँ त्यति पढ्ने अवसर कमैले पाउँछन् । मेरो साथी अनुसन्धानमा लाग्यो, म सञ्चारमा । हाम्रा प्रेमिकाहरूले पनि जागिर खान थाले । अब प्रेमलाई विवाहमा बदल्नुपर्ने दिन आयो । मसँग केही थिएन । न त पुख्र्यौली सम्पत्ति, न त भरपर्दो जागिर, बिहे गरेर जीवन कसरी धान्ने ? हामीले धेरैपटक आफैँले आफैँलाई प्रश्न गर्‍यौँ । तर, हामीसँग आँट थियो, एकअर्काको भरोसा थियो अनि केही थान सपना । यी सबैलाई बटुलेर हामीले बिहे गर्‍यौं ।

मलाई पक्का छ, यदि मैले ‘क्षत्रिनी’ नभएर ‘दमिनी’ वा ‘कमिनी’ बिहे गरेको भए मेरा अधिकांश आफन्त मेरो घरमा पनि छिर्दैनथे, बिहेमा आउने त परको कुरा । म यसमा पनि पक्का छु– यदि म ‘दमाई’ वा ‘कामी’ भएको भए मेरी प्रेमिकाका परिवारले उसलाई मसँग बिहे गर्ने स्वीकृति मरेकाटे दिँदैनथे । उनीहरूका नजरमा आफू माथिल्लो जातका र ‘दमाई’ वा ‘कामी’ चाहिँ तल्लो जातका !

हाम्रा छोराहरू–छोरीहरू हुर्कंदै छन् । तिनीहरूले पनि सायद हामीले जस्तै प्रेम गर्नेछन् । तर, के तिनीहरूले पनि भागेर सात समुद्रपारि आफ्नो घरबार बसाउनुपर्नेछ ? के तिनीहरूले पनि कुटिनु–पिटिनुपर्नेछ ? के तिनीहरूले पनि मारिनुपर्नेछ वा नदीमा हेलिनुपर्नेछ ? मलाई थाहा छैन तर संकेत निको छैन ।

अरू साथीहरूले पनि भटाभट बिहे गर्न थाले । तर, मेरो त्यो साथीलेचाहिँ बिहे गरेको थिएन । बिहे गर्ने होइन भनेर सोध्दा ऊ भन्थ्यो, ‘कसरी गर्ने, उसको परिवारले मान्दैन ।’ म भन्थेँ, ‘मन्दिरमा जाने विवाह गर्ने हामी साक्षी बस्छौँ ।’ यसो भन्दा ऊ हाँस्थ्यो मात्र ।

संघर्ष मेरो पनि सानो थिएन । दु:खको त हामीसँग सागर नै थियो । ‘विधवा’ को छोरो हुँदाका आफ्नै पीडा छन् । गरिब हुनुपर्दाको पीडा उस्तै छ । तर, मलाई कसैले पनि ‘तँलाई छुन हुन्न’ भनेको थिएन, जुन उसलाई भनिन्थ्यो । हो हामी भन्दैनथ्यौँ तर उसले मन पराएकी केटीको समाजले भन्थ्यो । मेरो समाजले भन्थ्यो । अझै पनि भन्छ । सके कुट्छ । अझै रिस उठे मार्छ ।

सब चलेकै थियो । घामले पोलेकै थियो । जूनले शीतल बनाएकै थियो । पानी परेकै थियो । बादल उडेकै थिए । पहाड उभिएकै थिए । नदी बगेकै थिए । चरा चिर्बिराएकै थिए । हावा लागेकै थियो । हेर्दा सब ठीकठाक थियो ।

‘प्रयास जारी छ’, ऊ भन्थ्यो । ऊ हाँसेकै थियो । भृकुटीमण्डपमा दिनहुँ चिया–भेला हुँदा रमाएकै देखिन्थ्यो । सबै जागिरे भएपछि चिया–भेला अलि कम भयो । बिहेवारी भएपछि त त्यस्ता भेट विरलै हुन थाले । १२–१५ बाट ४–५ जनामा झरेको त्यो चिया–भेला अहिले अस्तित्वमा छैन । बिस्तारै सबै छरिए । कोही देशभित्रै त कोही बाहिर । कतिले प्रेम गरे तर एकतर्फी भएर बिहे गर्न सकेनन् । केहीको प्रेम बीचमै टुट्यो । कसैले प्रेम नै गर्न सकेनन् वा जानेनन् वा गर्न चाहेनन् । जसले सकेनन् तिनलाई बा–आमाले वा आफन्तले श्रीमती खोजिदिए । भकाभक बिहे भइरहँदा उसले भने ‘प्रयास’ मात्रै गरिरहेको थियो । ऊ न खुलेर भन्थ्यो न त त्यसबारे धेरै कुरा नै गथ्र्यो । तर, हामीलाई थाहा थियो, ऊ प्रेममा छ । उनीहरू संघर्षरत छन् ।

अनेकन प्रयास गर्‍यो तर मेरो साथीले केटीको परिवारलाई मनाउन सकेन सायद । एउटै कारण थियो– उसको थर, जसलाई यो हिमालय पर्वतको नेपाल देशका नागरिकले ‘अछुत’ भनेर बुझ्छन् । परियारको सट्टा उसको थर पोखरेल भएको भए यो देशमा मानिसहरूले बाहुन भनेर बुझ्थे, शाही भएको भए ठकुरी वा राना भएको भए मगर ।

प्रयास जारी रहँदै गर्दा उसले युरोपमा स्कलरसिप पायो । ऊ युरोप गयो तर प्रेमलाई यतै छाडेर । फर्केर आयो । विश्वविद्यालय पढायो । प्रेममा उसको भरोसा थियो । अनेकन प्रयास गरे पनि उसले बिहे गर्न सकिरहेको थिएन ।

दिन कट्दै गए । वर्ष फेरिँदै गए । ऊ फेरि युरोप गयो विद्यावारिधि गर्न, तैपनि अझै बिहे गरेको थिएन । केटीले पनि बिहे गरेकी थिइन । आशा बाँकी नै थियो सायद भन्ने बुझ्न सकिन्थ्यो ।

एक दिन मैले थाहा पाएँ, उसले प्रेमिकालाई पनि उतै बोलाएछ । सायद उनीहरूले निष्कर्ष निकाले– यहाँ बिहे गर्न सकिन्न, त्यसैले सात समुद्र पार गर्नुपर्छ । फेसबुकमा उसले आफ्नो नामको पछाडी थर राखेको छैन । उसलाई यदि केहीले पछि पारेको छ भने केवल ती चार अक्षरको थरले । नभए ऊ केहीमा कम छैन– न त रूपमा, न बुद्धिमा, न त इमानमा, न त प्रेममा । तर, मेरो साथीले यो हिमालको छेल पारेर फेरो लाउन सकेन । यो कस्तो समाज हो, जहाँ कसैलाई उसको नामपछाडिका अक्षरले यति धेरै पिरोल्छन् ! म कस्तो समाजको सदस्य हुँ, जहाँ नामपछाडिका केही अक्षरका कारण कसैले यति अपमानित हुनुपर्छ !

साथीहरू सबैको पहिलो सन्तान जन्मिन थाले । फेसबुकमा फोटा हाल्दा बधाई ओइरिन थाले । हाम्री पनि छोरी जन्मिई । पछिल्ला केही वर्षमा साथीहरूको दोस्रो सन्तान जन्मिन सुरु भयो । दोस्रो सन्तान जन्माउनेहरूले पनि फेसबुकमा फोटो हाल्न थाले । मेरो कथित अछुत साथीले बल्लबल्ल तीन वर्षअघि बिहे गरेको सूचना फेसबुकमा अपडेट गर्‍यो । न त बिहेको निम्तो आयो, न त भोज १ केही महिनाअघि छोरी जन्मिएको फोटो हाल्यो । बिरानो ठाउँमा उसले आफ्नो परिवार बसायो ।

दिन कटेकै थिए । घाम लागेकै थियो, जून पनि । हामीले आफ्नो घरबार बसाएका थियौँ । जिन्दगी अगाडि बढेकै थियो । तर, जसै हामी अर्को पुस्ता निर्माणमा लागिरहेका थियौँ, एक्कासि अघिल्लो साता रूकुमबाट डाक आयो । मेरो साथीको जस्तै थर भएका एक जना प्रेमीलाई मारियो । ऊसँगै गएका साथीहरू भेरीमा हेलिए । कोही मरे, कोही बाँच्न सफल भए । म छाँगाबाट खसेजस्तो भएँ । मन पोल्यो । मैले त्यो साथीलाई खुब सम्झिएँ ।

जाजरकोटबाट रूकुममा प्रेम खोज्न हिँडेका नवराज विकलाई गाउँलेहरूले लखेटी–लखेटी मारे, उनका साथीहरूलाई पनि छाडेनन् । उनी आफ्नो प्रेम खोज्न गएका थिए । के मेरो साथीले पहिला नै थाहा पाएको थियो कि यहाँ उसलाई पनि बाँच्न दिनेछैनन् ? त्यसैले ऊ भाग्यो ? ऊ साथीहरूसँगै केटी लिन गएन र सायद मलाई पनि बचायो । यदि हामी पनि मिलेर केटी लिन गएको भए के थाहा, ‘डुमको साथी’ भनेर मलाई पनि मार्ने थिए कि ? उसले सोच्यो– जहाज चढेर, समुद्र काटेर यो दरिद्र समाजले नचिन्ने भूगोलमा जान्छु र मेरो प्रेमलाई उतै बोलाउँछु । उसले आफ्नो प्रेमलाई लिएर गयो । कम्तीमा उसले जहाज चढ्ने हैसियत बनाएको थियो । हातमा डिग्री थियो । तर, नवराजसँग त्यो हैसियत पनि थिएन । उनी रुँदै मरे । मेरो साथी पनि सायद मन मारेर सात समुद्रपारि बसेको छ । म सोध्ने आँट गर्दिनँ ।

आज पनि घाम लागेकै छ । जून पनि । पहाड उस्तै उभिएका छन् । नदी बगिरहेका छन् । हावा पनि चलिरहेकै छ । तर, अहिले कोरोना कहरले हामी सबै अछुत भएका छौँ, मेरो साथी र ऊजस्ता लाखौँ मानिस जिन्दगीभरि अछुत भएर बस्न बाध्य बनाइएका थिए । त्यो कस्तो र कत्रो पीडा हो, सायद भोग्नेलाई थाहा होला । म त अनुमान मात्रै गर्न सक्छु । उसले निकै लामो संघर्ष गर्नुपर्‍यो र कतै टाढा पुगेर घर बसायो । फरक यही हो– आँट र भरोसाले हामीले हाम्रो जिन्दगी यहीँ चलायौं तर उसका लागि त्यतिले पुग्दैनथ्यो । ऊसँग आफ्नै समाज थिएन, जुन हामीसँग थियो । अरूको समाजमा एक्लै बस्न सकिएला तर आफ्नो समाजमा एक्लिएर बस्नुजस्तो सकस अर्को केही हुँदैन । त्यसैले उसले अर्काको समाजमा सात समुद्रपारि गएर आफ्नो घर बसायो, जहाँका मानिसहरूले उसलाई एसियाली भनेर बुझ्लान्, गरिब देशको नागरिक भनेर बुझ्लान् तर अछुत भनेर बुझ्दैनन् । त्यो उसका लागि ठूलो सुख हो ।

यो एकादेशको कथा होइन । यो चौरजहारीको कथा होइन । यो भेरी नदी किनारको कथा पनि होइन । यो त वाग्मती किनारको कथा हो । पढे–लेखेका अनि संसार घुम्न सक्ने हामीजस्ता पुस्ताको कथा हो । यो आदिमकालको कथा होइन । यो त हामीजस्तै मानिसले रकेटमा उडेर चन्द्रमा टेकेको पचास वर्षपछिको कथा हो । जहाज उडेको सय वर्षपछिको कथा । यो त हात–हातमा मोबाइल र इन्टरनेट भएको युगको कथा हो ।

हामी कस्तो समाज निर्माण गर्दै छौँ ? म र मेरो साथीका छोरी वा छोराहरूले कस्तो समाजमा बाँच्नुपर्ला ? यस्ता प्रश्नले मन आन्दोलित गर्छन् । तर, तितो यथार्थ के हो भने अबको २० वर्षपछि पनि मेरो साथी ‘डुम’ नै हुनेछ र म ‘बाहुन’ । किनभने उसले फेसबुकमा लुकाउन बाध्य पारेको थरले उसलाई अर्को पहिचान दिने छैन । दरिद्र सोचले ग्रसित समाजको सदस्य हुनुपरेकोमा बितेका केही दिन परेली भिजाएँ । हाम्रा छोरीहरू हुर्कंदै छन् । अरू साथीका छोराहरू हुर्कंदै छन् । तिनीहरूले पनि सायद हामीले जस्तै प्रेम गर्नेछन् । तर, के तिनीहरूले पनि भागेर सात समुद्रपारि आफ्नो घरबार बसाउनुपर्नेछ ? के तिनीहरूले पनि कुटिनु–पिटिनुपर्नेछ ? के तिनीहरूले पनि मारिनुपर्नेछ वा नदीमा हेलिनुपर्नेछ ? मलाई थाहा छैन तर संकेत निको छैन ।

कर्नाली नदीको शिर तिब्बतबाट भारतको गंगासम्म पुग्दै गर्दा सुर्खेतको घाटगाउँमुन्तिर कञ्चन बगिरहेको भेरी नदीमा मैले मुख धोएको दुई वर्ष पनि कटेको छैन । हामी भेरी नदी बगाउने पहाडहरूलाई हेरेर केही समय बसेका थियौँ । भेरी कर्णालीभन्दा पनि निकै सफा देखिन्थ्यो । छपछप पानी उबाएर मुख धोएको त्यो भेरीमा अहिले नवराजहरूको रगत मिसिएको छ । मुख धुँदा लागेको थियो– सब ठीकठाक छ । घामले पोलेकै छ । बादल उडेकै छ । पहाड उभिएकै छन् । नदी बगेकै छन् । चरा चिर्बिराएकै छन् । हावा लागेकै छ । तर, होइन रहेछ । सब ठीकठाक छैन रहेछ । यो सोचको दरिद्रताविरुद्धको युद्ध अरूसँग होइन, आफैंसँग गर्नुपर्ने रहेछ । यसका विरुद्ध बन्दुकले लडेर पनि हुँदोरहेनछ । कानुनमा लेखेर पनि हुँदोरहेनछ । संविधान नै लेखे पनि पारलाग्दो रहेनछ । भागेर पनि पार लाग्नेवाला छैन । यो सोचविरुद्ध आफ्नै दिमागलाई खलबल्याउनुबाहेक अर्को ओखती छैन ।

तर, दिक्कलाग्दो कुरा के छ भने अझै पनि मेरो समाज रूकुम घटनामा दोष कसको, कति भनेर केलाउँदै छ, गल्ती कसको भनेर बहस गर्दै छ । विवाद गर्दै गरौँला तर अहिलेका लागि एउटा कुरामा सहमत भइदिऊँ– हामी मान्छे बन्नै बाँकी रहेछ । आशा छ, कुनै दिन त पक्का हामी मान्छे बन्नेछौँ । प्रयास जारी राखौँ ।

Girl in a jacket