क्‍वारेन्टाइन नामको प्लास्टिक पालभित्र बाँचिरहेका छन्

क्‍वारेन्टाइन नामको प्लास्टिक पालभित्र बाँचिरहेका छन्
Girl in a jacket

मुगु : आफना गाँउपालिकाका स्थानीयलाई उद्धार गरी घर ल्याएर वाहवाही कमाएको खत्याड गाउँपालिका यतिबेला पनि बदनाम बनेको छ।  कोरोना भाइरस सक्रमण हुन सक्ने भन्दै रोकथाममा तथा नियन्त्रणका लागि सचेत बन्दै गाउँपालिकाले स्थानीलाई बसेकै ठाउँमा राहतसमेत उपलब्ध गराएको थियो। तर भारतबाट भित्रिएका ती नागरिकलाई गाउँपालिकाले पलास्टिकको पालभित्र पशुसरह राखेको छ। जुन कार्यको यतिबेला सर्वत्र विरोध भइरहेको छ। उक्त पाललाई गाउँपालिकाले ‘क्‍वारेन्टाइन’ भनेको छ। १० स्थानमा त्यस्ता पाल टाँगिएका छन्। जहाँ भारतबाट फर्किएका बस्न विवश पारिएको छ। सोही गाउँपालिका ५ हलेखाडा र छोटेमा स्थापना गरिएको ती टाँगिएका पाल वर्षायाममा भेडाबाख्रा राख्ने पाटन क्षेत्रमा पर्दछन्। क्‍वारेन्टाइनको नाममा गाउँपालिकाले आफूहरुलाई भेडाबाख्रासरह राखेको त्यहाँ बस्नेहरु बताउँछन्। समुद्री सतहबाट करिब २ हजार ६ सय मिटर उचाइमा उनीहरुलाई राखिएको छ। हलेखाडा र छोटेमा स्थापना गरिएका ती नाम मात्रका क्‍वारेन्टाइन तरकारी खेतीका लागि प्रयोग गरिने पलास्टिकले बनाइएका छन्।  हलेखाडा ४८ र छोटेका १ सय १९ जना त्यस्ता पालमुनि बाध्यतावश बसरिहेका छन्।  एउटा पालमुनि २० देखि २५ जना छन्। पाटन क्षेत्र जिल्लाका अन्य भेगका तुलनामा अत्यधिक पानी पर्ने ठाउँ हो। पालमुनि बसेका एक जना भन्छन्, ‘आगो ताप्न जंगलबाट दाउरासमेत ल्याउन दिँदैनन, दूधे बालबालिका समेत यहाँ छन्।’  चिसोले ज्यान जाने खतरा उनीहरु चिसो भुईंमाथि एकसरो लुगा ओछ्याएर सुत्छन्। जसका कारण यो चिसोमा उनीहरुमा निमोनिया तथा रुघाखोकीको खतरा उच्च छ। हेल्थ डेक्स त परैको कुरा, क्‍वारेन्टाइनमा बसेदेखि उनीहरुको तापमानसमेत कसैले जाँचेको छैन। आरडिटी र पिसिआर परीक्षण त सपना भइसक्यो उनीहरुका लागि।  शौचालय र खानेपानीको प्रबन्ध केही पनि छैन। सरसफाइका सामग्री उनीहरुले देख्नसमेत पाएका छैनन्। बिहान–बेलुका एक छाक भात खान भने पाएका बताउँछन्।  ‘हामीलाई त पशुभन्दा तल्लो व्यवहार गरेर राखिएको छ,’ भारतको नैनीतलबाट फर्किएका खत्याड ३ का रविन बानियाँ बताउँछन्। ‘सबैभन्दा समस्या खानेपानीको समस्या छ,’ उनले भने,  ‘क्‍वारेन्टाइन व्यवस्थापनको जिम्मा पाएकाले समेत मास्क, सेनिटाइजर पाएका छैनन् हाम्रो के कुरा।’  क्‍वारेन्टाइन व्यवस्थापनमा खटिएका युवामा समेत कोरोना संक्रमणको खतरा बढेको हलेखाडा व्यवस्थापन समितिका संयोजक कलबहादुर रोकाया बताउँछन्।पछिल्लो समय भारतबाट आउनेको संख्या धेरै भएकाले क्‍वारेन्टाइन व्यस्थापन गर्न गाह्रो भएको र भारतबाट आउनेले समस्या पारेका गाउँपालिकाका उपाध्यक्ष जयनन्दा रावलले बताइन्।  भारतबाट आउनेका लागि झुगला, हलेखाडा, छोटेमा क्‍वारेन्टाइन बनाइएको र त्यसबारे बुझ्न आफू त्यसतर्फ जान लागेको पनि उनले जानकारी दिइन्। रोगभन्दा पनि चिसो, सरसफाइ नहुँदा आफूहरुको ज्यान नै खतरमा परेको पालमा बस्नेहरुले बताइरहेका छन्। आफूहरुलाई भेडाबाख्रा जस्तै राखिएको र बसेकामध्ये  कसैमा कोरोना सबैमा सरिसकेको उनीहरु बताउँछन्।

 

Girl in a jacket