हरेक जीवनको एउटै खोज : सुख र शान्ति

हरेक जीवनको एउटै खोज : सुख र शान्ति
Girl in a jacket

मान्छेले जीवनभर जे-जति गर्छन्, त्यसको एउटै निचोड हो सुख र शान्तिको खोजी । तर मृत्युशय्यामा पुग्दासम्म मान्छेले सुख र शान्ति प्राप्त गरेका हुँदैनन् । किन ? किनभने मान्छेले गलत बाटोबाट यसको खोज गरिरहेका छन्। यसै सन्दर्भमा हिन्दीमा प्रकाशित यो आलेखको भावनुवाद यहाँ साभार गरिएको छ । 

सुख र शान्तिको खोजी

आज मान्छे कुन कुराको खोजीमा छ ? सुख–सयल, भोग–विलास, ऐश–आराम, भौतिक उन्नति, उपलब्धि, यश, ख्याती । वास्तवमा यी अनेक माध्यम हुन्। खासमा मान्छे शान्ति र खुसीको खोजीमा छ।

कतिपय मान्छे भौतिक चिजमा शान्ति र खुसी खोजिरहेका छन्, कति व्यक्ति आफ्नो प्रतिष्ठामा । कतिले मनोरञ्जनलाई यसको माध्यम बनाएका छन् त कतिले खेलकुद, सिनेमा, पर्यटनबाट यसको खोज गरिरहेका छन् । अधिकांश मान्छेलाई के लाग्छ भने आफ्नो इच्छा एवं मनोकामनाको पूर्ति नै खुसी र शान्ति हो । मान्छेहरू जिन्दगीभर एउटा इच्छापूर्ति भएपछि अर्को कुरा पाउने आशामा बाँचिरहन्छन् । उनीहरू त्यही प्राप्तिलाई वास्तविक शान्ति र खुसी मान्छन् । के सत्य यही हो ?

वास्तविक शान्ति के हो ? यसका लागि आफ्नो अतीतमा फर्कनु उचित हुन्छ । के गुमायौं, के पायौं यस गणितको प्रश्नमा वास्तविक शान्तिको स्वरुप निहित छ । आगामी समयको रचनात्मक तस्वीरको रेखाङ्कनको प्रेरक क्षण हो, शान्ति । आज, अहिले, यही क्षणलाई पूर्णताका साथ जिउनका लागि जागृत अभ्यास हो, शान्ति।

हाम्रो पनि केही न केही संकल्प हुन सक्छ कि स्वयं शान्तिपूर्ण जीवन जिउनका लागि। साथै सबैका लागि शान्तिपूर्ण जीवनको कामना गर्नका लागि । यस्तो संकल्पले नै वास्तवमा जीवनलाई सार्थक बनाउन सक्छ ।

ग्रोचो मार्क्सले भनेका छन्, ‘हरेक बिहान जब म आँखा खोल्छु तब आफूले आफैँलाई भन्छु कि आजको दिनलाई खुसी राख्ने वा उदास ? यसलाई छनौट गर्ने पूर्ण सामर्थ्य  छ मसँग । मसँग एक दिन छ र म दिनभर प्रसन्न रहनेछु।’

आज हरेक मान्छे चाहन्छन् कि हरेक दिन मेरा लागि शुभ, शान्तिपूर्ण एवं मगंलकारी होस्। संसारमा सात अर्ब बढी मान्छे छन् । यसमध्ये कोही पनि यस्ता हुँदैनन् जसले शान्तिको चाहना राख्दैन । मान्छे मात्र होइन पशुपन्छीदेखि किराफट्यांग्रासम्म शान्तिपूर्ण जीवन चाहन्छन् ।

यजुर्वेदमा प्रार्थना छ, ‘स्वर्ग, अन्तरिक्ष र पृथ्वी शान्तिको रुप हो। जल, औषधि, वनस्पति, विश्व देव, परब्रम्हा र सबै संसार शान्तिको रुप हो ।’ यो प्रार्थना तब सार्थक हुन्छ जब हामी संयम, सन्तोषको व्रत अङ्गीकार गर्छौं । किनभने सच्चा शान्ति भोगमा होइन, त्यागमा छ । मान्छे जसै सच्चा हृदयले त्यागका लागि अग्रसर हुन्छन्, त्यसैगरी शान्ति उनको सामुन्नेमा आइपुग्छ। अल्बर्ट गिल्बर्टले भनेका छन्, ‘जब हामी कठिन कार्यलाई चुनौतीको रुपमा स्वीकार गछौं र त्यसलाई खुसी र उत्साहमा निष्पादित गर्छौं, तब चमत्कार हुन सक्छ ।’

शान्तिको अमोघ साधन हो, सन्तोष । मान्छेले शान्तिको खोजी त गरिरहेको हुन्छ तर सही बाटो पहिल्याउन सकिरहेका हुँदैनन् । सही बाटो पहिल्याउनै नसकेपछि गन्तव्यमा कसरी पुगिन्छ ?

मानिससँग धन, वैभव, परिवार, घर, व्यवसाय, कम्प्युटर, कार सबैकुरा छ । सुखसुविधा जति-जति उपलब्ध हुँदैछ उत्तिनै मान्छे अशान्ति हुँदै गएको छ । अर्थात् मान्छेले शान्ति गुमाउँदै गएका छन् । सबैतर्फ अशान्तिले घेरा हालेको छ । सन्त्रास, भय, हिंसा, इर्ष्या, कुण्ठा र तनावको साम्राज्य छ । किन यस्तो भएको छ ? धन र वैभवले मान्छेको न्यूनतम आवश्यकता छाना, नाना र माना सुलभ बनाउन सक्छ । तर आजको आवश्यकता छाना, नाना र माना मात्र होइन, शान्ति हो । तर शान्तिको पाठ गर्दैमा शान्ति प्राप्त हुँदैन ।

शान्ति बजार, उद्योग, मिल, कारखानाबाट उत्पादन हुने पनि होइन । शान्तिको उत्पादन स्वयं‌ मानिसमा हुन्छ। यसैले मान्छेले आफैँभित्र नैतिकता, पवित्रता र जीवनको मूल्य विकास गर्नुपर्छ । एचएम टोमलिसन भन्छन्, ‘संसार त्यस्तै छ, जस्तो हामी सोच्छौं । यदि हामीले आफ्नो विस्तारलाई बदल्न सक्छौं भने संसार बदल्न सक्छौं ।’

पश्चिमी विद्वान टेनिसनले लखेका छन्, ‘शान्तिको अतिरिक्त अर्को आनन्द छैन ।’ वास्तवमै यदि मन व्यथित, उद्वेलित, सन्त्रस्त, अशान्त छ भने मखमलको पुलको खुस र शयनमा पनि आनन्द प्राप्त हुँदैन। जबसम्म मन स्वस्थ र शान्त  हुँदैन, जस्तोसुकै भौतिक सुखसुविधामा पनि मन रमाउन सक्दैन । यसको अर्थ के हो भने शान्ति बाहिरको सुख सुविधामा छैन, भित्र मनमा छ । आध्यात्मिक गुरु चिदानन्दका अनुसार शान्तिको सोझो सम्बन्ध हाम्रो हृदयबाट सहृदय हुँदै शन्ति खोज्न सम्भव छ ।

शान्तिपूर्ण जीवनको रहस्य प्रकट गर्दै महान दार्शनिक सन्त आचार्यश्री महाप्रज्ञ भन्छन्, ‘यदि हामी अरूसँग शान्तिपूर्ण रुपमा बाँच्न चाहन्छौं भने हाम्रो पहिलो आवश्यकता हो आध्यात्मिक चेतनाको विकास ।’ अध्यात्मको उपेक्षा गरेर जतिसुकै शान्तिको खोजी गरे पनि त्यो प्राप्त हुँदैन ।

शान्तिका लागि सबैभन्दा ठूलो जरुरत हुन्छ, मानवीय मूल्यको विकास । सत्य, अहिंसा, पवित्रिता र नैतिकता जस्तो शाश्वत मूल्य अपनाएर हामीले वास्तविक शान्ति प्राप्त गर्न सक्छौं । हरेक मान्छेले प्रेम, करुणा, सौहर्द, सहिष्णुता, समता, सहृदयता, सरलता, सजगता, सहानुभूति, शन्ति जस्ता मानवीय गुण धारणा गर्नुपर्छ ।

आफ्नो समय, श्रम र शक्ति यी गुणलाई आर्जनमा लगाउनुपर्छ । जबसम्म मान्छेको हाँस्ने–खेल्ने उर्वर बगैँचामा शान्तिको बीज, स्नेहको सिँचन, अनुशासनको घाम, नैतिकताको पदचाप, मैत्रीको वायु, निस्वार्थताको कुशल संरक्षण-सम्पोषण दिँइदैन, तबसम्म आत्मिक सखु र शान्तिको खेती फस्टाउँदैन ।

शान्तिको शुभारम्भ त्यहीँबाट हुन्छ, जहाँबाट महत्वाकांक्षाको अन्त हुन्छ।

शान्ति सबै धर्मको मर्म हो । यसका लागि हिन्दुले गीता पढ्छन्, मुलसमानले कुरान । बौद्धहरूले धम्मपद पढ्छन्, जैनले आगम शास्त्र । शिख गुरुग्रन्थ साबिह पढ्छ, क्रिश्चियनले बाइबल । नाम, रुप, शब्द, सिद्धान्त, शास्त्र, संस्कृति, संस्कारका विविधता भए पनि यी सबैको एउटै सार हो, शान्तिको खोज।

 

Girl in a jacket