प्रेमको पासवर्ड – Online Khabar


मलाई मेरा बाबुआमाले घरमा बोलाउने नाम सुनयना हो । तर फेसबुके नाम चाहिं सुनिता चौहान हो । केही महिनादेखि म एउटा केटासँग फेसबुके प्रेममा छु । फेसबुके प्रेम फेसबुक जस्तै अस्थायी हुन्छ भन्ने मेरो बुझाइ छ । तर बुझ्दाबुझ्दै पनि मैले मेरो मनलाई बुझाउन सकेकी छैन र अनियन्त्रित रूपमा अगाडि बढिरहेकी छु ।

नवीन र मेरो प्रेम फेसबुकको माध्यमबाट झाँगिएको थियो । डेढ महिने हाम्रो फेसबुके प्रेमले सबै अव्यक्त कुरा व्यक्त गरिसकेका थिए । भन्न बाँकी केही थिएनन् । बोल्न बाँकी पनि केही थिएनन् । फेसबुक नै सर्वस्व भयो हाम्रो । फेसबुकमै बिहे गरिसकेका थियौं हामीले । अब सुहागरात मान्ने काम मात्रै बाँकी थियो ।

म एउटा हाइस्कुलमा म्याथको टिचर थिए । प्रायः गाउँमा म्याथ पढाउनेको निकै महत्व हुन्छ । एउटा गैरसरकारी संस्थाले म्याथ टिचरहरुलाई ‘टिचिङ मेथोड फर हाइअर सेकेन्डरी स्कुल’ नामक तालिम दिइरहेको थियो । त्यही तालिममा भाग लिन म काठमाडौं जाँदै थिए । यो कुरा मैले मेरो फेसबुके प्रेमी नवीनलाई भनेकी थिएँ कि म राजधानी आउँदै छु भनेर ।

यो न्युज पाएको केही दिनदेखि उसको निद्रा खल्बलिएको थियो । ऊ मेरो आगमनलाई अधैर्य भएर कुरिरहेको थियो । ऊ हरेक च्याटमा अनेकौं सपना बुन्ने गर्थ्यो र मलाई भन्थ्यो- ‘तिमी आएपछि म तिमीलाई यस्तो माया गर्छु कि यस्तो माया कसैले पनि आजसम्म नगरेको होस् । तिम्रो तालिम अवधिभर हामी होटलमा सँगै बस्ने । मैले तिम्रो लागि धेरै सपना थाँती राखेको छु ।’

उसको प्रायः हरेक कुराको पछाडि कहीं न कहीं यौन जोडिएको हुन्थ्यो । उसको त्यो छटपटीमा म पनि सरिक भइदिन्थें । उसको कुराले प्रष्ट हुन्थ्यो कि ऊ निकै कामातुर छ । ऊ मलाई छुन निकै हतारिएको छ । मलाई पाउन निकै तड्पिरहेको छ । ऊ प्रायः च्याटमा मेरा शारीरिक अंगहरू देखाउन भन्थ्यो । म पनि उसका कुरा मानिदिन्थे । मैले यो विषयलाई गम्भीरतापूर्वक लिइन । तर हरेक च्याटमा ऊ मेरो बैंसलाई परख गर्थ्यो । कस्तो मात्तिन्थ्यो र उत्तेजनामा खै के के भन्थ्यो ।

मैले बुझेकी थिएँ जिन्दगीलाई । र, यो पनि बुझिरहेकी थिएँ हामीले समयलाई दुरुपयोग गरिरहेका छौं । पहिलो प्रेम ब्रेकअप भएपछि निकै तनावमा थिएँ म । त्यही तनावको आवेग कम गर्न ममा फेसबुक चलाउने र नयाँ साथी (प्रायः केटा) बनाउने आदत पर्दै गयो । यो भन्दा अगाडि एउटा टिचर (सुरज)सँग प्रेममा थिए करिब डेढ वर्ष ।

टिचरका लागि स्कुलमै छुट्टै आवास थियो । सुरज अंग्रेजी पढाउँथ्यो । गाउँमा खुलेर प्रेम गर्न गाह्रो हुन्छ त्यहाँको वातावरण नै त्यस्तै हुन्छ । हेड टिचरको नियम कडा थियो । महिला आवास छुट्टै थियो । उसलाई मेरोमा आउन अलि कठिन हुने भएकाले म नै उसकहाँ जान्थें राति नै वा बिहानै झिसमिसेमा आफ्नो रुममा र्फकन्थे । विद्यार्थीहरु बिहान सुतिरहेका हुन्थे । एक दिन १० कक्षाकी विद्यार्थी बाँस्नाले सुरजको कोठाबाट बाहिर निस्किंदै गरेको अवस्थामा देखी । तर मैले उसलाई यति सबेरै विद्यार्थी भएर किन बाहिर निस्किएको भनेर हप्काएँ ।

ऊ पनि लजाई, म पनि लजाएँ । उसलाई फकाएँ चुप लाग है भनेर । उसले पनि भनी- ‘मिस म बाहिर निस्केको कुरा पनि कसैलाई नभन्दिनु है ।’

यसो सोचें बास्ना पनि कसैको बास्नामा छे । ऊ अरु विद्यार्थीभन्दा अलि उत्ताउली थिई । हेड सरले थाहा पाउलान् कि भन्ने ठूलो डर थियो । त्यस्तो कडा नियन्त्रणमा पनि हामीले प्रेम गर्‍यौं डेढ वर्षसम्म । दुईचोटि त एबोर्सन गर्न म पहिल्यै सुरजसँग काठमाडौं आइसकेकी थिएँ ।

स्कुलमा धेरै पिरियड लिनुपर्दा सुरज कतिन्जेल यो जाबो अस्थायी शिक्षकको जागिर खाइरहने भनेर गुनासो पोख्थ्यो र आफैंदेखि बिरक्तिन्थ्यो । पछि उसले भारतीय दूतावासबाट छात्रवृत्ति पाएँ भन्यो । बाहिर जान पनि कोशिश गर्दैथ्यो, तर दुई-दुई पटक अमेरिकी दूतावासले भिसा रिजेक्ट गर्दा भएको एक-दुई लाख पनि रित्तिएपछि निकै भौतारिरहेको थियो सुरज ।

अन्ततः उसले स्कुल छाड्ने निर्णय गर्‍यो । स्कुलबाट बिदा भएपछि काठमाडौं पुगेकोसम्म खबर गर्‍यो, त्यसपछि हरायो । मोबाइल स्वीच अफ भयो उसको । पछि हामीले एकअर्कालाई बिर्सिंदै गयौं । हाम्रो प्रेममा प्रेम कम वास्ना ज्यादा थियो । मायामा कुनै वाचा बन्धन पनि थिएन । भोलि समय र परिस्थितिले छुट्टनिुपर्ने अवस्था सिर्जना भयो भने चुपचाप अलग्गिने भन्ने मौन स्वीकृति थियो हामीबीच । र, छुट्टयिौं पनि ।

ऊ गइसकेपछि एकान्तबोध भयो मलाई । केही दिन गाह्रो भो । र, सहारा बन्दै गयो फेसबुक अनि योभित्रको अर्कै संसार । फेसबुक फेसन बन्दै गइरहेको थियो । यो मेरो फेसबुक एकाउन्ट सुरजले नै खोलिदिएको हो । ऊ पनि मेरो फेसबुक साथी थियो, तर उता गएपछि उसले कहिले हेलो भनेन र मेरो मेसेजको रिप्लाई पनि गरेन । सायद ऊ अनलाइन आएको थिएन वा आएर पनि मेसेन्जरको मेरो मेसेजलाई रिड गरेन । सात-आठ महिना नाघिसक्यो । म फेसबुकमा यसरी रमाउन थालेछु कि समय बितेको पत्तो नै भएन ।

एक दिन वास्नाको पनि नराम्रो कुरा सुनें । एक जना सरसँग भागी छे ऊ । अरु विद्यार्थी भन्ने गर्थे, वास्नाको काम नै मेसेन्जरमा च्याट गर्ने । उसले आफ्नो पढाइलाई बर्बाद गरी । सेन्टअप परीक्षा नजिक आउँदा शिक्षकले विद्यार्थी लिएर भाग्नु कति नैतिकता थियो कुन्नि ? । स्कुलको पनि बदनाम भयो । त्यो घटनापछि बोर्डस गरिएका सबै विद्यार्थीकमे मोबाइल खोसियो । र, विद्यालयमा मोबाइल लैजान पूर्णतया बन्देज गरियो ।

स्कुलको त्यो परिवर्तनले सबै विद्यार्थीलाई गाह्रो पारेको थियो । बोलचाल हुन छाडेपछि घनिष्ठ मित्रतामा पनि छायाँ पर्दै जाँदोरहेछ । फेसबुकमा भेटिने कति केटा साथी बौद्धिक भएपनि कुरा गर्दै जाँदा अन्ततः उनीहरूका उद्दे्श्य केवल यौन मात्रै हुन्थ्यो ।

यौनलाई जिन्दगीबाट झिकिदिने यदि हो भने मलाई लाग्छ यो दुनियाँ यति धेरै निरस र मरुभूमितुल्य हुन्छ कि तपाईं अनुमान लगाउन सक्नुहुन्न । डेढ वर्षसम्म लगातार एक रात नबिराइ ओछ्यान साटेको पुरुष विदेश पुगेपछि एकाएक हराउँछ भने उसलाई के भन्ने ? दया लाग्यो ऊप्रति कि यति छिटो नै रंग बदल्न सक्ने छेपारो बनेकोमा । मलाई रिस उठ्यो र उसलाई ब्लक हान्दिएँ ।

फेसबुकमा दिनकै दुई-चार जना केटा साथी जोडिनु र दुई-चार जना ब्ल्कमा पर्नु सामान्य थियो मेरा लागि । केटीका नाम राखेर खोलिएका कतिपय फेसबुक एकाउन्ट केटाका हुन्छन् । अपरिचित केटीहरुको तस्वीर डाउनलोड गरेर त्यसबाट केटीकै नाममा एकाउन्ट खोलेर विकृति फैलाउने जमात पनि छ ।

केटी बनेर केटीसँग गफ गर्ने र बिस्तारै यौनका कुरा गर्ने गोप्य कुरा खोतल्ने अनौठो खालको यौनिक हर्कत देख्थंे प्रायः केटीका नाममा खोलिएका फेसबुकमा । करिब पचास प्रतिशत फेसबुक आईडी फेक हुन्छन् भन्ने कुरा मलाई एकजना साथीले कुरा गथ्र्यो । त्यस्तै एउटा फेक आईडी मैले पनि बनाएकी थिएँ ।

म यस विषयमा धेरै परिचित छु । केटी भनेर गफ गर्दै गएपछि म केटा हुँ मायालु, आई लभ यु भन्न थालिहाल्छन् । म त्यस्तोमा धेरैपटक झुक्किएकी छु । त्यसकारण पनि मैले केटीको फ्रेण्ड रिक्वेस्ट आयो भने डिलिट हान्दिहाल्छु ।

नपरुन्जेल त रहेछ नि कस्तो होला भन्ने कौतूहलता हुने, तर जब पर्छ अनि असामान्य कुरा पनि सामान्य लाग्न थाल्दोरहेछ । समयले बनाएको घाउ समयले नै सेकेर निको बनाउँदो रहेछ ।

स्कुल छाडेको केही दिनपछि सुरजको मोबाइल स्वीच अफ भयो । सम्झें सायद ऊ छात्रवृत्ति पाएर इण्डिया अध्ययन गर्न गयो ।
पुरुषहरु सजिलोसँग परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्न सक्छन् भने हामी महिला मात्रै किन तिनकै सम्झना र रोदनमा रित्तिने ? माया त बराबरीमा मात्रै फुल्न सक्छ । उसले बिर्सन सक्छ भने म पनि सक्छु भन्ने सोचें । त्यसपछि मैले पनि सजिलै बिर्सिदिए सुरजको अनुहार । सम्झिने कोशिश पनि गरिनँ । किन सम्झिऊँ म ? के छ त्यस्तो गुणको भारी उसलाई सम्झिनुपर्ने ?

यौन सम्बन्धकै कारण सम्झिनुपर्ने के बाध्यता छ र ? उसो भए विवश भएर यौन पेशा अँगाल्ने स्त्रीहरु दुई चार जना पुरुषसँग दिनकै सम्बन्ध गाँस्छन् । के ती सबै बज्रस्वाँठहरुलाई सम्झेर बस्नु ?

सबै वाहियात हुन् लेनदेनको सम्बन्ध । मायामा विश्वास लाग्दैन अब, नाटक गर्न चाहिं मज्जा आउँछ ।

कुनै पनि सम्बन्ध स्थायी हुँदैन । समयको भेलमा बग्नु सिवाय जिन्दगी अर्थोक केही होइन । त्यसैकारण जिन्दगीलाई गम्भीरतापूर्वक लिएर अलि्झरहनु भन्दा रमाइलोसँग बिताउने निर्णय गरेकी थिएँ मैले । म म्याथको टिचर । म्याथ निरस विषय हो । बर्सेनि धेरे विद्यार्थीहरु म्याथमै अनुतीर्ण हुन्थे । किनकि यसमा कुनै रमाइलो छैन, यसमा कुनै आनन्द छैन, यसमा कुनै जीवन छैन र यसमा कुनै रस छैन ।

‘अफसनल म्याथ’का फर्मूलासँग जीवनको फर्मूला म्याच नहुँदा विद्यार्थीमा आउने नैराश्यता न्यून गर्न म तिनीहरुलाई साथीहरुसँग घुलमिल हुन, सामाजिक सञ्जालमा विचरण गर्न र नयाँ नयाँ साथी बनाउन सुझाव दिन्थें ।

मनलाई नियन्त्रण गर्ने होइन, बरु यसलाई कञ्चन नदीझैं बग्न दिनुपर्छ भन्ने मान्यता राख्छु म । मनलाई नियन्त्रणमा राखेपछि मानिसहरू जीवनमा आउने खुसी र आनन्द मिल्ने कुराहरूलाई पनि नियन्त्रणमा राख्छन र तिनीहरू कहिले खुसी हुन सक्दैनन् ।

रहृयो नैतिकता, अनैतिकता र चरित्रका कुरा । आकाशमा उड्ने स्वतन्त्र पन्छीलाई कुनै चरित्रको दोष लाग्दैन । जंगलमा चरण गर्ने स्वतन्त्र चौपायालाई कसले चरित्रहीन भन्ने ? तिनीहरू स्वतन्त्र छन् । आफूले आफैंलाई नियन्त्रण गर्न छोडेको दिन सायद मानिस पनि पशुपन्छी जस्तै निर्भयपूर्वक खुसीले बाँच्न जान्ने छ । यो दुनियाँमा को नैतिक को अनैतिक, यी कुराहरु बकवास लाग्छ अहिले मलाई ।

अमेरिकाका रास्ट्रपति जस्ता व्यक्तित्व पनि यौनका मामिलामा चुके र झुके । मानिस यौनको मामिलामा आफ्नो पदीय मर्यादा पनि बिर्सन्छ । त्यसकारण म अच्युत छु, यदि कुनै पुरुष वा स्त्रीले भन्छन् भने मेरा कन्सिरिका रौं तातेर आउँछन् ।

यता मेरा फेसबुके प्रेमी नवीनसँग म रमाउन थालेछु । सुरुको कुरा गराइले म ऊप्रति नजिकिएकी थिएँ । ऊ सरस्वती कलेजमा पोलिटिकल साइन्सको लेक्चर छ । मैले नवीनमा आफ्नोपन देखें र त नजिकिएकी थिएँ ।

राजनीतिशास्त्रको विद्यार्थी हुँदा पनि ऊ त्यस्तै आक्रमण गर्थ्यो, कहिले त कहिले भने छिल्लड । कहिलेकाहीं बियर पिएर मात्तिएर लाइभ च्याट गर्दा पनि खोइ किन पो हो मन पथ्र्यो मलाई । एकैपटक आठ-दश जना केटालाई म्यासेन्जरमा अल्मलाउन सक्थें म । एकछिन प्रतिउत्तर दिन ढिलो भयो भने नवीन शंका गरिहाल्थ्यो र भन्थ्यो ओइ कोसँग कुरा गर्दैछेस् भनेर । म अरु केटासँग कुरा गरेको ऊ पत्ता लगाइहाल्थ्यो ।

मलाई उसको कुरा गर्ने शैली मन पथ्र्यो । ऊ आफू अविवाहित रहेको बताउँछ, तर मलाई शंका लाग्छ ३८ वर्षको उमेरसम्म पनि कोही अविवाहित रहन्छ होला र ? हुनसक्छ उसले आफ्नो करिअरमा ध्यान दिएर छिटो बिहे गर्ने सोच त्यागेको ।

तर मैले हाम्रो यो फेसबुके प्रेमलाए गम्भीर रूपमा लिएकी छैन । जिस्किने र रमाइलो गर्ने लतका कारण उसले मलाई च्याटमा बुढी भनेर सम्बोधन गरिसकेपछि मैले पनि भनेकी थिएँ- ‘बिहे नै नगरी त्यसै अर्काकी छोरीलाई बुढी भन्न पाइन्छ ?’ अनि उसले एकदिन मेसेन्जरको भिडियो च्याटमै मेरो सिउँदोमा सिन्दूर हालेको थियो । अनि निर्धक्कसँग बुढी भन्न थाल्यो र मैले पनि बुढा भन्न थालें ।

वास्तविक श्रीमान श्रीमतीभन्दा फेसबुके यो साइनोमा खै किन पो हो मलाई रोमाञ्चक लाग्यो र तालिम लिन आउँदा तिमीलाई भेट्छु है भनेकी थिएँ, कुरैकुराको तालमा ।

त्यसको पन्” दिनपछि बसबाट ओर्लिनासाथ उसले मलाई झ्याम्म अँगालो हाल्यो । पहिलोचोटि भेटेको उसलाई । कस्तो लाज लाग्यो आफूलाई । वरिपरि हेरें, मानिस थिए । ती सबैले हामीलाई नै हेरे जस्तो लाग्यो । उसको अँगालोबाट जबर्जस्ती फुत्किएँ म । माथि छतमा सामान थियो । उसलाई संकेत गरें कि माथि छतमा सामान छ भनेर । नवीन सामान झिक्न बसमा उक्लियो । म तल उभिएँ ।

तालिम भक्तपुरमा थियो र सबै प्रशिक्षार्थीलाई आवास सुविधा उपलब्ध गराइएको थियो । होटेल बुक गर्नुपर्ने झन्झट पनि थिएन । पाल्पाबाट बिहान ७ बजे हिंडेको बस साँझ ६ बजे बल्ल बसपार्क आइपुग्यो । ज्यान थाकेर आफ्नो हो कि अर्काको हो हल न चल भएको थियो । बेलुकी साढे ८ बजेसम्म सबै प्रशिक्षार्थी एकै ठाँउमा भेला भइसक्नुपर्ने थियो ।

नवीनले बसबाट सामान झार्‍यो । बसका सबै यात्रु आ-आफ्ना गन्तव्यतर्फ लागिसकेका थिए । हामी दुई बसको आडमा उभिएर गफ गर्न थाल्यौं । मैले साढे ८ बजेभित्र भक्तपुर तालिम केन्द्रको आवास भवनमा छिरिसक्नु पर्ने कुरा बताए । यो भनिसकेपछि नवीनले नमज्जा फिल गर्‍यो र भन्यो- हृया, के भनेकी बुढी आज त हामीसँगै बस्ने हो, उसले बागबजारको एउटा होटलमा कोठा बुक गरिसकेको रहेछ ।

खोइ के गर्ने के नगर्ने म अलमलमा परेकी थिएँ । नवीनले कर गर्‍यो । मैले उसको वचन हार्न सकिनँ । भोलि बिहान ८ बजे तालिम सुरु हुनुभन्दा अगाडि नै नवीनले पुर्‍याइदिने वाचा गर्‍यो । एउटा कलेजको जिम्मेवार लेक्चरले भनेको कुरालाई कसरी विश्वास नगर्नु । उसले ट्याक्सी रोक्यो । हामी बागबजारको एउटा होटलमा पुग्यौं । काउन्टरमा उसले मेरो परिचयपत्र राख्यो । हामी दुवै कोठाभित्र गयौं ।

२०५ नम्बरको कोठा । भित्रै अट्याच बाथरुम रहेछ । सुरजसँग पहिला दुईचोटि आउँदा हामी सुन्धारा लजमा बसेका थियौं । उताभन्दा यता अलि सफा र शान्त रहेछ होटल ।

असाध्य भोक र थकाइ लागेको थियोे । म फ्रेस हुन बाथरुम छिरें । तातोपानीमा मज्जाले नुहाएँ । मनमा अलिकति डर अलिकति त्रास अलिकति चिन्ता र व्यग्रता बढेको थियो ।

भोलि बिहान भक्तपुर समयमा पुग्नकै लागि भनेर नवीनले यता बागबजार ल्याएको रहेछ । फेसबुक म्यासेन्जरमा जति खुलेर कुरा गर्थें म, अहिले चाहिं कस्तो अड लागिरहेछ । नवीनको अनुहार सिधा गरेर हेर्न पनि सकिरहेकी छैन । नुहाउँदा आफूले म्यासेन्जर लाइभ च्याटमा गरेको हर्कत सम्झिएँ । आफैंलाई लाज लागेर आयो ।

जाडो महिना तातोपानी छाडेर निस्कनै मन लागेन फेरि । जिउ एकसरो नुहाइसकेकी थिएँ । कपाल भिजाएकी थिइनँ । कपाल पनि नुहाउँ जस्तो लाग्यो । स्याम्पो पनि राम्रो थियो, कपाल नुहाउन थालें । बाहिर खाना आइसकेको रहेछ । नवीन करायो । छिटो छिटो नुहाएर रुमालले कपाल पुछ्दै बाहिर निस्किएँ ।

मेरो भिजेको शरीर देखेर नवीन लोभिए जस्तो लाग्यो । टेबुल खानेकुराले सजिएको थियो । म कहिलेकाहीं सुरजसँग उता होस्टेलमा टुबर्ग बियर पिउँथें, आज नवीनले पनि दुई बोतल टुबर्ग बियर मगाएको रहेछ । म सोफामा बसें । खानेकुरा देखेर झन् भोक बढ्यो ।

नवीनले दुवै गिलासमा बियर राख्यो र पिउन अनुरोध गर्‍यो । सुरजलाई सम्झिएँ सगै बियर पिउँदै रानीमहलतिर हेर्दै असंख्य सपना बुनेको । नवीन त सुरजको अगाडि केही पनि होइन । फेसबुके फ्रेण्ड त हो ऊ । तर धेरै नजिक्यायो मेसेन्जरको लाइभ गफले । बियर हातमा थमायो नवीनले ।

मेरो निधारमा म्वाइँ खायो । पिउँदिन भन्न पनि सकिनँ । चिकेन लेगबाट तातो बाफ उड्दै थियो । बियरसँगै हामीले चिकेन लेग खायौं । दुई बोतल बियर सक्कियो । फेरि पिउन मन लाग्यो भन्यो नवीनले । एउटा बियरले मलाई चाहिं खोइ खाली पेटमा पिएर हो कि राम्रै लाग्यो ।

वेटर अर्को दुई बोतल बियर लिएर आयो । हामीसँगै बसेर पिउन थाल्यौं । पिएको सुरमा नवीन मेरो शरीरसँग खेल्न थाल्यो । वेटर बाहिरिएपछि हामीले ढोकामा चुकुल लगाउन बिर्सिएछौं । एक्कासी प्रहरीले ढोकामा ढकढक गर्दै बोलायो ।

ढोकामा उभिएको असई चिनेजस्तो लाग्यो । दुई जना प्रहरी भित्र आए । असई ढोकामै उभियो । मेरो होस त्यतिबेला खुल्यो कि ढोकामा उभिने असई सुरज थियोे । मेरो भूपू प्रेमी जो छात्रवृत्ति मिल्यो भनेर काठमाडौं आएको थियो । ओठबाट कुनै शब्द निस्केन । म स्तब्ध भएँ । एउटा लाचार वेश्याजस्तो सम्झिएँ आफैंलाई र धिक्कारें कि म किन बहकिएँ ।

मनभित्र अतीतको बाढी आयो । प्रहरीले नवीनलाई केरकार गर्न थाल्यो । एक थप्पड गालामा कसेर हिर्कायो । एकै क्षण अगाडिको त्यो रोमाञ्चक पल एकाएक यसरी दुःखमा बदलियो । के रहेछ र, यही हो त जीवनको नियमित आकस्मिकता ? सँगै उभिएको होटलको भित्ता पनि गल्र्यामगुर्लुम भत्किए जस्तो लाग्यो ।

प्रहरीले यस्तो व्यवहार गरे कि हामीले कुनै मान्छेको हत्या गरेर यहाँ लुक्न आएका छौं । छापा हान्दा तल काउन्टरमा मेरो परिचयपत्र देखेर सुरज मलाई भेट्न आएको रहेछ । नवीनलाई प्रहरीले आफ्नो परिचयपत्र देखाउन र हामीबीचको साइनोको बारेमा स्पष्टीकरण माग्यो । उसले भन्यो हामी श्रीमान श्रीमती । नवीनसँग कुनै परिचयपत्र पनि रहेनछ । क्याम्पसको लेक्चर भन्नेले त कमसेकम एउटा परिचयपत्र खल्तीमा हाल्नु पर्छ नि । यो भन्दा अगाडि पनि प्रहरीले उसलाई यही होटलबाट पक्रिएको रहेछ ।

प्रहरीले नवीनलाइ समातेर लग्यो । नवीनसँगै सुरज पनि तल गयो । म आफैं स्तब्ध थिएँ । के बोल्ने, के नबोल्ने भन्ने होस गुम्यो । हिंड्ने बेलामा देखें, सुरजको आँखाबाट आँसु तप्किरहेको थियो । आफू निस्किन पनि सकिनँ ढोकाबाट र सुरजको अनुहार राम्रोसँग निहाल्न पनि सकिनँ । चुकुल पनि हालिनँ । ढोका खुलै राखें, रातभर जाग्राम बसें । नवीन आउने हो कि वा सुरज आउने हो, तर कोही आएनन् ।

बिहान सबेरै उठे । काउन्टरमा गएँ । हिसाब सोधें । सबै पैसा असई सा’बले तिर्नु भयो भन्यो वेटरले ।

तालिममा पनि जान मन लागेन । अवाक् लाग्यो जिन्दगी देखेर । आफ्ना यिनै दुई उदास आँखा लिएर पुनः बसपार्क फर्किएँ । पाल्पा जाने बसको टिकट काटें । निर्मल आकाशमा आफैंले आज थुके जस्तो लाग्यो । सजिलो छ भन्नलाई र उपदेश दिन त अरुलाई कि हाँसीखुसी बाँच्नुपर्छ भनेर तर यथार्थमा खुसी ल्याइदिने को हो त जिन्दगीमा आफैंले हो वा अरु कसैले ? मैले यो कुरा सोच्नै सकिनँ ।

घोत्लिरहें पाल्पा जाने बसभित्रको एउटा कुनाको सिटमा बसेर । खलासी भाइ चिनेकी थिएँ । ऊ नजिक आयो र भन्यो- किन दिदी आज चुपचाप ? वाइफाइ फ्री नि चलाउनु होला । यी लिनुस् पासवर्ड भन्दै एउटा सानो कागज थमायो हातमा । यसो हेरे पासवर्ड थियो ‘एन ए बी आई एन अर्थात् नवीन । आफैंदेखि रिस उठ्यो । मोबाइल स्वीच अफ गरेर नालीमा फालिदिएँ ।

बस गुड्न थाल्यो । मोबाइल फालेपछि खोइ किन पो हो फेरि त्यही नालीमा एकचोटि र्फकेर हेरें । यस्तो लाग्यो कि मैले आज नवीनलाई त्यही नालीको पानीमा बगाइदिएँ । बल्ल मन शान्त भयो र पुनः सम्झिएँ आफ्नै प्यारो पाल्पा, ती विद्यार्थी भाइबहिनी र एकान्त एक्लो बाँचिरहेको त्यो रानीमहल ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्