महिला र्‍याफ्टिङ गाइड : साहसीको एकमात्र चाहना


करिब १४ वर्षअघिसम्म नेपालमा र्‍याफ्टिङ गाइडमा पुरुषहरुको एकछत्र राज थियो । यो साहसिक पेशा पुरुषहरुको ‘पेवा’ जस्तै भएको थियो । तर त्यो भ्रमलाई चिर्ने प्रयासमा लागे अनु श्रेष्ठ र उनको समूह । त्यतिबेला एकैपटक ३ जना महिलाहरुले र्‍याफ्टिङ गाइडको लाइसेन्स पाएको नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी (नारा)का निवर्तमान अध्यक्ष मीन मगर बताउँछन् । उनीहरुले लाइसेन्स पाएसँगै र्‍याफ्टिङ क्षेत्र केटाहरुको लागि मात्रै हो भन्ने मान्यता खारेज भयो, उनीहरुले इतिहास रचे ।

अहिले र्‍याफ्टिङ गाइडको रुपमा नेपालमा १२ जनाले लाइसेन्स लिइसकेको नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी (नारा)ले जनाएको छ । उनीहरुमध्ये ३ जना विदेशमा काम गर्न जान्छन्, ३ जना भोटेकोशी, ३ जना त्रिशुली र ३ जना पोखरामा कार्यरत छन् ।

अनु अहिले काम गरिरहेकी अहिले कुनै संस्थासँग पनि पूर्ण रुपमा अनुबन्ध नभई स्वतन्त्र रुपमा र्‍याफ्टिङ स्टारको काम गरिरहेकी छन् । यो अवधिमा उनले नेपालका अधिकांश नदीका छालबाट र्‍याफ्टिङ गर्न आउनेहरुलाई बचाइसकेकी छन् । रिसोर्टमा सहयोगीको कामबाट शुरु गरेर अन्र्तराष्ट्रिय र्‍याफ्टिङ गाइडसम्म बनिसकेकी अनु नेपालबाहेक पनि जापान, जर्मनी, नर्वे, स्वीडेन जस्ता देशहरुमा पुगेर गाइड गरिसकेकी छन् । अनु नेपालको नदीहरु र्‍याफ्टिङका लागि उत्कृष्ट मानिने भएकाले नेपालका र्‍याफ्टिङ गाइडले पनि नेपाललाई विशेष महत्व दिने गरेको सुनाउँछिन् ।

यो वर्षपनि अनु र्‍याफ्टिङको लागि स्वीडेन जाने तयारीमा छिन् । महिला र्‍याफ्टिङ गाइडलाई यहि क्षेत्रका मानिसहरुले विश्वास गरेपनि समाजले भने अझै विश्वास नगर्ने गरेको अनुभव सुनाउँछिन् । अनु जस्तै परिवार र समाजबाट पर्याप्त सहयोग नपाइने गरेको अनुभव अरु महिला गाइडले पनि सुनाउने गरेको बताउँछन् एसोसिएसनका निवर्तमान अध्यक्ष मगर । समाजमा अझै पनि ‘तँ छोरी हो’ भन्ने मान्यता बढी भएकोले गाइड बन्न परिवारले सहज मान्दैनन् भन्ने गुनासो आउने गरेको मगर बताउँछन् । यसको लागि एसोसिएसनले पनि विभिन्न तालिम र सचेतना कार्यक्रमहरु गर्ने गरेको उनी सुनाउँछन् ।

अनु शुरुमा नेपालका आन्तरिक पर्यटकहरुले महिला र्‍याफ्टिङ गाइड भएको डुंगामा बस्नै हिचकिचाउने गरेको सुनाउँछिन् । तर अहिले त्यो समस्या कम हुँदै गएको छ । अहिलेका युवाहरुमा महिला र पुरुष समान हुन्छन् भन्ने मान्यता रहने भएकोले पछिल्लो समय त्यस्तो समस्या देखिन छाडेको उनको अनुभव छ । अनु भन्छिन् ‘हाम्रो आत्मविश्वास र काम देखेर यो क्षेत्रका मान्छेले विश्वास गर्न थालेका छन् । तर बाहिरका मान्छेले चाहिं छोरी मान्छेले खोलामा काम गर्न सक्छन् र भन्ने संशय बाँकी नै छ ।’ समाजले स्वीकार्न नसकेकोले नै दिदीबहिनीलाई यो पेशामा नलाग्न सुझाव दिने गरेको उनी सुनाउँछिन् ।

नेपालमा र्‍याफ्टिङ गाइडबीच विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु भइरहन्छ । प्रतियोगिता एउटा बोटमा ४ जना र एउटा बोटमा ६ जना बसेर गर्ने खालको हुन्छ । तर नेपालमा महिलाहरुको समूह नै नपुग्ने भएकोले भाग लिन नपाउने अवस्था रहेको महिला गाइडहरुको गुनासो छ । त्यसकारण अनुकै अग्रसरतामा तालिम दिएर पुराना चार जना र नयाँ चार जना गरी दुई समूह बनाएर गत माघको ६ देखि ९ गतेसम्म त्रिशुलीमा भएको नेपाल नेसनल र्‍याफ्टिङ च्याम्पियनसीप प्रतियोगितामा भाग लिएको उनी सुनाउँछिन् ।

यस्ता प्रतियोगितामा भाग लिँदा अलि बढी प्रचार प्रसार हुने भएकोले यो क्षेत्रमा महिलाको संख्या बढ्ने उनको बुझाइ छ । त्यसैले पनि प्रतियोगितामा भाग लिनको लागि समूह बनाएको उनी बताउँछिन् । भन्छिन् ‘यो साहसिक खेल हो । कतिपय आउन चाहेर पनि परिवारले दिँदैनन् । कतिपयलाई यस क्षेत्रमा पनि भविष्य छ भनेर थाहा नभएको हुन सक्छ । त्यसैले यस्ता प्रतियोगिताले परिवारलाई सकारात्मक धारणा बनाउन र धेरै जनाबीच पुर्‍याउन सहयोग पुग्छ जस्तो लाग्छ ।’

अनुले अन्तर्राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगितामा समेत भाग लिनको लागि महिला र्‍याफ्टिङ समूह बनाइरहेको बताइन् । ‘सपना त अन्तर्राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगितामा भाग लिने छ ।’ उनी भन्छिन् ‘तर, सफल भइन्छ कि भइँदैन हेर्न बाँकी छ ।’ तालिम आयोजनाको लागि आवश्यक बजेट जुटाउन, तालिम सञ्चालनका लागि कागजी प्रकि्रया लगायतका कुरामा ज्ञान नहुँदा समस्या भइरहेको उनी बताउँछिन् ।

भोटेकोशीमै र्‍याफ्टिङ गाइड छिन्, आकृति खपाङ्गी । उनी र्‍याफ्टिङ गाइड बनेको दुई वर्ष भयो । कायाकर हुँदै र्‍याफ्टिङ गाइड बनेकी आकृति र्‍याफ्टिङ स्टार नामक संस्थामा एक मात्र महिला र्‍याफ्टिङ गाइडको रुपमा कार्यरत छिन् । दाइहरुसँग भोटेकोशी पुगेकी आकृतिले दाइकै पछि लागेर र्‍याफ्टिङ सिकेको सुनाउँछिन् । उनलाई आफूले गर्छुभन्दा पनि अरूले हौसला दिएर यो क्षेत्रमा लाग्न उत्साहित गराएको उनी सुनाउँछिन् । कायाकिङ सिकेर दुई वर्ष कायाकारको रुपमा काम गरेकी उनले दुई वर्ष अघि र्‍याफ्टिङ गाइडको लाइसेन्स लिएर काम गर्दै आएकी छन् ।

उनी यो वर्ष जापान जानको लागि काठमाडौंमा बसेर भाषा पढिरहेकी छन् । हरेक शुक्रबार, शनिबार भने भोटेकोशी पुग्छिन् । यही पेशामा भविष्य खोजिरहेकी आकृति साहसिक काम गर्नुको मजा नै छुट्टै रहेको बताउँछिन् । उनी भन्छिन् ‘यो एडभेन्चर काम हो । जोखिम छ त्यसैमा रोमाञ्चक पनि । काम गर्दा कति रमाइलो हुन्छ भनेर शब्दमा भन्न सकिँदैन ।’ दैनिक पानीसँग खेल्नु मात्रै नभएर अरुलाई खुशी बनाउनुमा नै सन्तुष्टि मिल्ने अनु बताउँछिन् । भन्छिन् ‘अरू पेशामा जान्छु भन्ने कल्पना नै गरेकी छैन । यो क्षेत्रमा महिला कम छन् त्यही भएर पनि यो पेशामा म लागिरहनुपर्छ । मलाई देखेर अरू पनि आऊन् भन्ने लाग्छ ।’

चिनजानका मान्छे नै यो क्षेत्रमा भएकोले आकृतिलाई परिवारले गाइड बन्न रोकेन । तर, र्‍याफ्टिङ गर्न आउनेहरु कतिपयले भने ‘छोरी मान्छे भएर पनि यस्तो पेशामा ?’ भनेर संकोच मान्ने गरेको सुनाउँछिन् । त्यस्ता प्रतिकृयालाई बेवास्ता गर्नुपर्ने भन्दै उनी भन्छिन् ‘म मेरो कामबाट खुशी छु । अरूले जे सुकै भनोस् जस्तो लाग्छ र त्यस्तो भन्नेलाई नै गाइड गरेर खुशी बनाऊँ जस्तो लाग्छ ।’

साहसिक र रोमाञ्चक खेल भएकोले निरन्तरता दिन चाहे पनि अधिकांश महिला र्‍याफ्टिङ गाइडले पारिवारिक कारणले निरन्तरता दिन नसकेको उनी सुनाउँछिन् ।

त्यस्तै, नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)का अध्यक्ष गंगा प्रसाद नेपाल यो साहसिक खेलमा जोखिम पनि त्यत्तिकै हुने भएकोले पनि महिलाहरु आकषिर्त हुन नसकेको बताउँछन् । यो क्षेत्रमा आएका महिलाहरु पनि विवाहपछि पेशा छोड्न बाध्य हुने गरेको उनको भनाइ छ । नाराले अहिले तमोर र कालीगण्डकी गरी दुई ठाउँमा र्‍याफ्टिङ गाइड तालिम दिइरहेको छ । दुई ठाउँ गरी करिब ८० जना सहभागी छन् । तर महिला एक जना पनि नभएको अध्यक्ष नेपालले बताए । उनले भने ‘हामीले महिलालाई विशेष प्राथमिकता दिएका थियौं । तर कोही पनि आउनु नै भएन । अब हामी निःशुल्क तालिम सञ्चालन गर्ने सोचमा छौं ।’



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्