दलहरूले समेत बेवास्ता गरेको गैरीगाउँ – Online Khabar


२८ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका १४-गैरिगाउँकी ४० वर्षीया संगीता प्रजा स्थानीय खहरेखोलामा बालुवा चाल्छिन् । उनी जान्ने भएदेखि यही काम गरेर उनले गुजरा चलाउन थालेकी हुन् । बालुवा चालेर एउटा ट्रयाक्टर भर्न उनलाई तीन दिन लाग्छ । तीन दिनमा उनको हातमा पर्छ १५ सय रुपैयाँ । संगीता मात्रै होइन, गैरिगाउँका धेरैको दैनिकी यस्तै हो । खहरे खोलामा बालुवा चालेर जीवन चलाउने संगीता र उनीजस्तै अरु नागरिकको दु:खको दर भने एकनासको छ । सम्भवत त्यसैकारण उनीहरूलाई आउनेजाने चुनावको खासै वास्ता लाग्दैन ।

‘मलाई चुनावको त्यति वास्ता लाग्दैन । हाम्रो आफ्नै दुःख छ । आफ्नै पीडा छ,’ बिहीबार बिहान हेटौंडा-१९ को गैरीगाउँमा पुग्दा चर्च जान हातारिएकी संगीताले भनिन् ।

उसो त हेटौंडा उपमहानगरको मुख्य बजार क्षेत्रमा चुनावी चहलपल गरिरहेका राजनीतिक दलहरू पनि उनको गाउँमा मत माग्न पसेका छैनन् । राजनीतिक दलले समेत बेवास्ता गरेको गाउँका मतदातालाई चुनाव लाग्ने कुरा पनि भएन । धेरैले मतदाता परिचयपत्रधरी बनाएका छैन । संगीताको पनि मतदाता परिचयपत्र छैन । उनका अनुसार, संगीतालाई मतदाता परिचयपत्र बनाउने फुर्सद पनि भएन ।

संगीता प्रजा

भीमफेदी ३ की चन्द्रमाया प्रजा ६२ वर्ष भइन । उनी बसाइँ सरेर गैरीगाउँ पुगेको ३ वर्ष भयो । छोरी कमाउन कुवेत गएकाले नातिनातिनाको हेरचाका लागि उनी यतै बस्न थालेकी हुन् । जताततै चुनावको रन्को चढेका बेला उनलाई पनि आफू बसेको गाउँ चकमन्न लाग्छ । ‘भोट माग्न कोही पनि आएको छैन्’ भनिन्, ‘तपाईंहरू नै हो अहिलेसम्म आउनेमा पहिलो ।’

गाउँ नजिकैको खहरे खोला यो गाउँको समाधान पनि हो, समस्या पनि । दैनिक रोजिरोटीको थलो बनेको खहेर बर्खामा उर्लेर आउँदा गाउँले वारपार गर्न सक्दैनन । बर्खामा बालुवा चाल्ने कुरा भएन, त्यतिखेर वैकल्पिक उपार्जनको माध्यम दाउरा खोज्न जाने काम बाढीले रोकिदिन्छ, खोलामा पुल छैन ।

‘खहरे खोलमा पुल बने राम्रै हुन्थ्यो नि’ ३४ वर्षकी सम्झना प्रजा भन्छिन्, ‘बर्खामा बाढी आएर खोला तर्न सकिन्न ।’ तर यो विषयमा उनीहरू बाहेक कोही पनि गम्भीर छैन । आफूहरू एकजुट हुन नसकाले पुल नबनाइदिएको सम्झनाको बुझाइ छ। ‘गाउँ घरमा एक जुट भएर बोल्ने कोही छैन’ उनी भन्छिन्, ‘के को पुल बनाइदिन्थे ?’

गाउँ गाउँको सिंहदरबार पुगेको भने पनि चुनाव जितेपछि नेताहरू गाउँमा खासै पस्दैनन् । महानगरभित्रको यो गाउँ एक हिसाबले नेताहरूको बेवास्तामा छ । निर्वाचित भएपछि मेयरले त यो गाउँमा पाइलासमेत टेकेका छैनन् । वडाध्यक्षहरू पनि खासै गाउँ आउने नगरेको सम्झनाको भनाइ छ । ‘कहिलेकाँही वडासदस्य आउनुहुन्छ, अरु कोही पनि आउनु भएको छैन्,’ उनले भनिन्।

पुलपछि स्ल्याब ढलान यो गाउँका लागि अर्को महत्वपूर्ण आवश्यता हो । गाउँको मागपछि आधाउधी काम भएको छ । गत फागुन १२ गते सम्झौता भएर केही कामै काम भएको छ । आयोजना स्थलमा राखिएको सूचनामा यो ६ लाखको आयोजना भएको उल्लेख छ । तर, कति काम भयो? कि अपुरो छाडियो भन्ने स्थानीयलाई कसैले जानकारी गराइएको छैन् ।

४५ वर्षका शंकर प्रजा यसबारे आफूलाई केही पनि जानकारी नभएको बताउँछन् । ‘हामीलाई त थाहै हुन्न’ उनी भन्छन्, ‘उनीहरूको हातको कुरो हो, उनीहरुले बनाइदिए पनि, नबनाइदिए पनि ।’ जनमश्रमदान समेत गर्ने भनिएकाले शंकरसहित धेरै गाउले स्ल्याब विच्छ्याउँदा काम गरेका थिए ।

शंकरको घरमा उनको मात्रै मतदाता नामावलीमा नाम छ । श्रीमतीको बिहे दर्ता र नागरिकताको समस्या भएकाले उनको मतदाता नामावलीमा नामै चढ्न सकेन ।

शंकरले अघिल्लो पटक मत दिएका उम्मेदवार दीपक खड्काले नै चुनाव जिते । तर, शंकर उनको कामप्रति खासै खुसी छैनन् । ‘वडाध्यक्षले चेपाङ टोललाई स्वीट्जरल्याण्ड बनाइदिन्छु भन्नुभएको थियो’ वडाध्यक्षको कामप्रति कटाक्ष गर्दै उनले भने, ‘बाटोमा स्ल्याब त हाल्नु भयो तर आधा मात्रै।’

हामी गैरीगाउँ पुग्दा ३६ वर्षकी मिरा प्रजा चार छोरीहरूसँग खेलेर बसिरहेकी थिइन । तीनवटा बाख्रा पालेकी छिन् उनले । तर ती उनका हैनन, अधियाँमा पालेका हुन्। ‘अधियाँमा बाख्रा पालेकी छु’ उनले भनिन्, ‘२ वटा ल्याएकी थिएँ, अहिलेल तीनवटा भएको छ ।’

उनका श्रीमान हालसालै गैलैचा उद्योगमा काम गर्न काठमाडौं गएका छन् । १७, १५, १२, ७ वर्षका ४ छोरीको लालनपालनका लागि उनी श्रम गर्छिन । नजिकैको खहरे खोलमा गएर बालुवा चाल्ने, जंगलमा गएर दाउरा ल्याएर बेच्ने उनको दैनिकी हो । यति नगरे ४ छोरी र आफूले खाने अन्नपात जुट्दैन ।

उनको पनि मतदाता नामावलीमा नाम पनि छैन् । वडासदस्यले मतदता कार्ड बनाउन जानलाई खबर गरेका थिए, तर उनले भ्याइनन् । ‘वडासदस्यले चाहिँ गएर भोटिङ कार्ड बनाउन भन्नुभएको थियो’ मिराले सुनाइन, ‘उहाँको समयमा मैले भ्याइनँ । हामी त ज्यालापानी गरेर खाने मान्छे, जान भ्याइनँ।’

मतदाता परिचयपत्रका कारण उनले मत दिन नपाउने भए पनि सरकारको हिसाब-किताब भने राखेकी छिन् । सरकारसँग उनको विशेष चाहाना केही छैन । चुनावका बेला गरेका वाचा पुरा होस् भन्ने मात्रै उनी चाहान्छिन् । ‘उहाँहरुले जे बचन बोल्नुहुन्छ, त्यो गरिदियोस् जस्तो लाग्छ’ मिराको भनाइ छ, ‘भोट माग्ने बेलमा मात्रै होइन, अरु बेलामा पनि त्यो व्यवहार पुरा गर्दै लानुपर्‍यो ।’

औपचारिक लेखपढ नगरेकी भए पनि जनताको शक्ति कतिहुन्छ भन्ने उनले बुझेकी छिन् । ‘जनता सधै रहिरहन्छौं, उहाँ त पाँच वर्षको हो’ उनी भन्छिन्, ‘तर, उहाँहरू राम्रो भयो भने अर्को वर्ष पनि टिक्नुहुन्छ । अर्को साल पनि टिक्नुहुन्छ ।’

‘बचन पूरा गरे त अर्को पाँच वर्षका लागि हामीले नै फेरि चुन्ने हो नि त,’ उनी भन्छिन्, ‘मान्छेको रुप हेर्ने होइन । उहाँको व्यहार हेर्ने हो । काम हेर्ने हो ।’

तस्वीर : शंकर गिरी /अनलाइनखबर

स्थलगत १ – नेतालाई चुनावको चिन्ता, मतदातालाई गुजाराकै पीर !

स्थलगत २ – भरतपुर महानगर : विभाजित मतदातालाई गठबन्धनको भारी

स्थलगत ३- नेताहरुले आशा देखाए, भरोसा दिएनन्

स्थलगत ४ – रातो कागज !

स्थलगत ५ – सुकुम्बासीको सन्देश : मत दिन तयार छौं, मन बुझिदिनुहोस्

स्थलगत ६ – धवलशमशेरले मैदान छोडेपछि नेपालगञ्जले खोजेको विकल्प

स्थलगत ७ – देशकै गरिब स्थानीय तहमा गरिबी देखाएर भोट माग्छन् नेता

स्थलगत ८ – धरानमा पानी सधैंको चुनावी एजेण्डा, समस्या उस्तै

स्थलगत ९ – नेपालगञ्जको राजनीति : जो पनि केन्द्रकै मुख ताक्ने

स्थलगत १० – तथ्यको तराजुमा विकासको ‘भरतपुर मोडल’

स्थलगत ११ – हेटौंडा उपमहानगर : एमाले विश्वस्त, गठबन्धन आशावादी

स्थलगत १२ – धरानमा धर्मराएको वाम बिरासत

स्थलगत १३ – मेचीपारिको गाउँ : नेताले भोट देखे

स्थलगत १४ – पहिले लालपूर्जा देऊ, अनि मात्र भोट

स्थलगत १५ – संघीयताले फेरेको नरैनापुर



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्